कुराकानी - “अपांगताको प्रकृति अनुसार शिक्षा दिनु नै विशेष शिक्षा हो”

गणेश राई
माघ ७, २०७३- त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङहोङ युनिभर्सिटीको सहकार्यमा दुई वर्षदेखि त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत नयाँ विषयका रुपमा बहुअपांगता शिक्षासम्बन्धी पठनपाठन चलिरहेको छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत सुचारू स्नातकोत्तर (एमएड) र स्नातक (बीएड) तह उत्तीर्ण गरेपछि विशेष शिक्षा पठनपाठन गर्ने विद्यालयमा अवसर दिलाउने सरकारको योजना छ । अपांगता भएका बालबालिकालाई पढाउने विद्यालय मुलुकभरिमा ३४ वटा छन् । शिक्षा मन्त्रालयले भर्खरै पारित गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) ले ‘गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने’ प्रतिबद्धता जनाएको छ, जसमा जोखिममा परेका, अपांगता भएका तथा निसहायलगायतका विद्यार्थीको भिन्न सिकाइ आवश्यकताको सम्बोधनका लागि खुला, वैकल्पिक, आवासीय तथा विशेष शिक्षाको व्यवस्था गर्ने उल्लेख छ । प्रस्तुत छ,  चाङवान नेसनल युनिभर्सिटी, दक्षिण कोरियाका प्राध्यापक दाय योङ जङ लुपिकबारे कुराकानी ः

 नेपालमा सुचारु अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) ले कस्तो उपलब्धि देला ? 
अपांगता भएका नागरिकमा प्रारम्भिकदेखि उच्च शिक्षासम्म सकारात्मक परिवर्तन ल्याउन कोरिया सरकारले नेपाललाई सहयोग गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कोरियाको चाङवान नेसनल युनिभर्सिटीको सहकार्यमा लुपिक सुचारू छ । कोरिया सरकारले पहिलो पटक विशेष शिक्षाका लागि नेपाललाई सहयोग गरेको हो । विशेष शिक्षा भन्नाले अपांगता भएका व्यक्तिहरूलाई प्रदान गर्ने शिक्षा हो भने त्यस प्रकारमा मानिसलाई पढाउने जनशक्ति प्रवद्र्धनका निम्ति काम गर्दै छौं । लुपिक एउटा बीउ (सिड) जस्तै हो । यसले सामाजिक चेतना जगाउने कार्य गर्नुका साथै सरकारलाई तत्सम्बन्धी नीति परिवर्तन गर्न सहयोग गर्न सक्छ । यस परियोजनाले राम्रै योगदान दिने कुरामा म विश्वस्त छु । 
अपांगतालाई कसरी परिभाषित गर्नुहुन्छ ? 
सन् १९८० मा डब्लूएचओ (विश्व स्वास्थ्य संगठन) ले शारीरिक रूपमा समस्या भएकाहरूलाई अपांगताको रूपमा परिभाषित गर्‍यो । हाम्रो धारणा पनि त्यही हो । पहिलेपहिले अपांगताप्रति समाजमा नकारात्मक धारणा थियो । डब्लूएचओले २००१ मा अपांगताको परिभाषामा परिवर्तन गर्‍यो, त्यसलाई। अपांगतामा मात्र सीमित नगरी बृहत् बनायो । विस्तृत रूपमा परिभाषित भएपछि फरक–फरक अपांगता भएकालाई अवसर दिने काम थपिँदै गएको हो । मान्छेपिच्छे फरक क्षमता हुन्छ । अपांगता भएका सबै अक्षम मात्र हुन्नन्, क्षमतावान् पनि हुन्छन् । कोरियामा केही व्यक्ति अपांग भए पनि राम्रो अवसर पाएर चिकित्सक बनेका पनि छन् । त्यसैले अपांगता भएका व्यक्तिको क्षमता मापन गरेर शिक्षामा अवसर दिने गरिएको छ । अपांगताको पहिचान गरेर एउटै ठाउँमा राखेर समान शिक्षा दिनु यसको महत्त्वपूर्ण पक्ष हो । दृष्टिविहीनलाई जतिसुकै गर्दा पनि हेर्न सक्न बनाउन सकिन्न, तर सुन्न सक्ने बनाउन सकिन्छ । त्यसैगरी सुन्न नसक्नेले हेर्न त सक्छ । व्यक्तिविशेषलाई अपांगताको प्रकृतिअनुसार शिक्षा दिनु नै विशेष शिक्षा हो । 
समावेशी शिक्षा र विशेष शिक्षामा के भिन्नता छ ? 
समावेशी शिक्षाको दुई अर्थ हुन सक्छ । बृहत् रूपमा भन्नुपर्दा यसमा आर्थिक विपन्न, अल्पसंख्यक, लैंगिक, जातीय, दुर्गम पिछडिएका, अपांगता भएका लगायत बालबालिकाको शिक्षा पर्छ । सबैखाले बच्चालाई एकै किसिमले शिक्षाको अवसर दिनु हो । नेपालमा १२५ जातजाति र १२३ भाषा छन् । यसमा फरक समूह छन् । सबैलाई एउटै शिक्षा दिनु समावेशी शिक्षा हो । विशेष शिक्षा अलि फरक छ । सय विद्यार्थी एउटा कक्षामा छन् । एकातर्फ राम्रोसँग पढ्न सक्ने १६ जना र सामान्य रूपमा पढ्न नसक्ने १६ जना अर्कोतर्फ हुन्छन् । बीचमा ६८ जना जना छन् । शिक्षकले सामान्य रूपमा कार्य गर्न नसक्ने अपांगता भएकालाई सिकाउनु नै विशेष शिक्षा हो । विशेष शिक्षाभित्र पनि समावेशी शिक्षा हुन सक्छ । सबैका लागि शिक्षा भनेको बृहत् भयो तर सबै किसिमका अपांगता भएकालाई पहिचान गरेर दिइने अवसर समावेशी शिक्षा हो । यो बालबालिकाको आवश्यकताअनुसार दिइन्छ ।

कस्तो शिक्षा कसरी दिने हो ?
जन्मदेखि मृत्युअघिसम्म सिकाइ जारी रहन्छ । यसलाई तीन भागमा विभाजन गरेर हेर्ने गरिन्छ । आमाको गर्भदेखि नै बच्चाको हेरचाह हुनुपर्छ । बच्चा जन्मिँदा एक वर्षको हुन्छ । जन्मेदेखि २ वर्षसम्मका बालबालिकालाई शिशु स्याहारको सेवा प्रदान गरिन्छ । ३–५ वर्षकालाई प्रि–प्राइमरी शिक्षा र ६–१२ वर्षकालाई आधारभूत शिक्षा दिने अवस्था हो । तर जब कुनै बालबालिकामा अपांगता भएको थाहा हुन्छ, त्यतिखेरै तत्काल विशेष सेवा र शिक्षाको सुरू गराउनुपर्छ । अटिजम र बौद्धिक अपांगता भएका बालबालिका केही पछि पहिचान हुन्छ । बालबालिकालाई पढ्नका लागि के चाहिन्छ त्यसको विकास हुनुपर्छ । आधारभूत सिकाइ खुबी हासिल गराउनुपर्छ । क्षमता विकाससँगै तहगत रूपमा सिकाइ गर्नुपर्छ । व्यक्तिगत आवश्यकताअनुसार सिकाइ हुनुपर्छ । 
कोरियाले समावेशी शिक्षा कहिले लागू गरेको हो ?
कोरिया १९५०–६० तिर गरिब नै थियो । सुरुमा आर्थिक विकासलाई मात्र जोड दियो । पछि आएर समावेशी शिक्षा र विशेष शिक्षाको विकास गरेको हो । कोरियाले शिक्षामा एक सय वर्षको योजना निर्माण गरेको छ । नेपालमा पनि सबैका लागि शिक्षा लागू भएको छ । अहिले कक्षा ८ सम्म आधारभूत तह र १२ सम्म माध्यमिक तह भनेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षाको संरचना लागू गरेको छ । यो सुधारको शुभसंकेत हो । यस संरचनामा बहुअपांगता भएका बच्चाहरूलाई पढाउनका निम्ति शिक्षक राम्रो हुनुपर्छ । सम्बन्धित विषय पढेको हुनुपर्छ । राम्रो मानव संसाधन निर्माणका लागि हाम्रो प्रोजेक्टले विशेष आवश्यकता शिक्षामा मास्टर्स डिग्री र ब्याचलर डिग्री कार्यक्रमलाई सहयोग गरेको हो । विशेष आवश्यकता शिक्षाको विकास र विस्तारका लागि सरकारले विशेष पहल गर्नुपर्छ । दस वर्षमा धेरै विकास हुनेछ ।

नेपालको विकास कस्तो देख्नुभएको छ ?
म बीसौं पटक नेपाल आएको छु । यहाँ विकास तीव्र गतिमा भएको पाएको छु । गाडीको संख्या बढेको छ । ठुल्ठूला घरहरू बनिरहेका छन् । सहरदेखि गाउँसम्मै सडक विस्तार भइरहेका छन् । साधारण शिक्षामा सबैको पहुँच बढेको तथ्यांकले देखाउँछ । तर नेपाल सरकारले विशेष शिक्षालाई प्राथमिकतामा राखेको पाइएन । तसर्थ, साधारण बच्चाजत्तिकै अपांगता भएका बच्चाको मानवअधिकार हुन्छ । अपांगता भएका बच्चाहरूको शिक्षालाई समेत सँगै लैजानुपर्छ । सँगै लग्यो भने सन्तुलन मिल्छ ।
लुपिक प्रोजेक्टको परिणाम कहिले आउला ?
यो चार वर्षको प्रोजेक्ट हो । अब मे २०१८ मा सकिन्छ । हाम्रो मुख्य लक्ष्य तीनवटा छन् । पहिलो, मास्टर्स र ब्याचलर्स कोर्स सञ्चालन गरी शिक्षकहरू उत्पादन गर्ने हो । दोस्रो, विज्ञहरू उत्पादन गर्ने हो । त्यसका निम्ति त्रिभुवन विश्वविद्यालयका शिक्षकहरूलाई चाङवान नेसनल युनिभर्सिटीमा विशेष शिक्षासम्बन्धी तालिम र विशेषज्ञता हासिल गराउने शिक्षा प्रदान गरिरहेको छ । अहिले आठजना नेपाली शिक्षक/विद्यार्थीहरू पढिरहेका छन् । उनीहरूलाई नेपाल फर्काएर सेवा गराउने लक्ष्य रहेको छ । तेस्रो, नेपालको विशेष आवश्यकता शिक्षा क्षेत्रमा सुधार ल्याउने रहेको छ । त्यसनिम्ति शिक्षा मन्त्रालयले विशेष आवश्यकता शिक्षा विकासका लागि स्वामित्व लिनुपर्छ । विशेष शिक्षाका निम्ति गुरुयोजना बनाउनुपर्छ । त्यसो हुन सके लुपिक प्रोजेक्टको अवधि पूरा भएपछि पनि कार्यक्रम निरन्तर चलिरहन्छ । यो प्रोजेक्ट बढीमा एक वर्ष लम्बिन सक्छ । तत्कालै कोरियन सहयोग नियोग (कोइका) ले शारीरिक अपांगता भएकालाई फिजियोथेरापिस्ट तयार गर्न सहयोग गर्नेछ ।
प्रकाशित: माघ ७, २०७३

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि