जनगणना २०७८ : चर्पीदेखि स्मार्ट फोनसम्मका प्रश्न
वैशाख १६, २०७८ गणेश राई काठमाडौँ — ‘तपाईंको परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ?’ यो प्रश्नको जवाफ दिन तपाईं तयार भएर बस्नुपर्नेछ किनकि जेठ २५ देखि गणकहरू यस्तै प्रश्न लिएर तपाईंको घर आइपुग्नेछन् । जवाफ भने उनीहरूले कोड नम्बरमा लेख्नेछन् । फ्लस भएको र सार्वजनिक ढलसँग जोडिएको भए १ लेखिनेछ । फ्लस भएको तर सेफ्टी ट्याङ्कीमा जमाइएको भए २, साधारण भए ३, सार्वजनिक भए ४ र नभएमा ५ नम्बर प्रयोग हुनेछ । चर्पी नबनाउने र छोरोछोरी विद्यालयमा पढ्न नपठाउने परिवारलाई सुविधाबाट वञ्चित गर्न सकिने भन्दै सरकारले सूचित गरेको धेरै समय भयो । ‘खुला दिसा मुक्त क्षेत्र’ घोषणा अभियान पनि पुरानो भइसकेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांकअनुसार ५६ लाख ६० हजार घरधुरीमा शौचालय बनिसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अनुसार २०७२ को भूकम्पपछि बनेका विद्यालयमा ५ हजार ३६ शौचालय छन् । यसपटक देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना हुनेछ । यसमा मुख्य ८० वटा प्रश्न रहनेछन् । ‘जनगणना सुरु हुन अब ६ सातामात्र बाँकी छ,’ केन्द्रीय तथ्यांक विभागका...