विचार - सिकाइको कमजोर धरातल
नवराज खतिवडा काठमाडौँ — एक प्रतिष्ठित निजी उच्चमाध्यमिक विद्यालयमा ‘ग्रोथ माइन्डसेट’ शीर्षकमा गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा २ सय अभिभावक र १ सय जना शिक्षकशिक्षिका थिए । गोष्ठीका संयोजकले फोन गरेर गोष्ठीमा प्रमुख वक्ता बन्न प्रस्ताव रँख्दै भनेका थिए, ‘प्रवचनलाई साढे एक घण्टा समय उपलब्ध हुनेछ ।’ यस्तो कार्यक्रममा म स्लाइड प्रस्तुत गर्ने गर्छु । ३ सय जना श्रोतालाई डेढ घण्टा त्यस्तो गहन विषयमा प्रवचन दिनु चानचुने थिएन । ‘सर, केही समयअघि यस्तै कार्यक्रममा एक जना डाक्टरसाबले स्लाइड प्रस्तुत गर्दा अभिभावकले खल्लो अनुभव गरे । प्रवचनतिरै जाँदा कसो होला ?’ ‘प्रस्तुतिबारे चिन्ता नलिनोस् । बरु श्रोता र सभाकक्षको व्यवस्थापन मिलाउनुस्,’ मैले भनेँ । समकालीन नेपालका विज्ञ पगरी गुथेका अधिकांश अध्येतालाई वक्ता बन्न निम्तो आउँछ । तर, श्रोताको स्तर र रुचि पर्वाह नगर्दा पहिलो निमन्त्रणा अन्तिम बन्न पुग्छ । यस्तो पटके प्रवचनको बजार ठूलो छ । गोष्ठीमा मलाई मेरा समकक्षीले बिगारेको छवि सुधारगर्नुपर्ने थप चुनौती थियो । म एक दिनअघि नै विद्यालय पुगेँ । कार्यक्रम हुने प्रज्ञा–कक्ष...