अन्तर्वार्ता : ‘इतिहास लेखनमा भुइँमान्छेको आवाज छुटेको छ’ - संस्कृतिविद् वीणा पौड्याल

वीणा पौड्याल इतिहास, संस्कृति र पुरातत्त्व विषयकी प्राध्यापक हुन्। उनका थुप्रै पुस्तक र अनुसन्धानमूलक सामग्री प्रकाशित छन्। सांस्कृतिक र ऐतिहासिक आलोकमा लैंगिक सवालहरूलाई सम्बोधन गर्नु उनको खास विशेषता हो। संस्कृतितर्फको राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित पौडेलले त्रिभुवन विश्वविद्यालयमा झन्डै ४० वर्ष प्राध्यापन गरिन्। सेवानिवृत्तिपछि पनि संस्कृति र पुरातत्त्व विषयका दर्शनाचार्य र विद्यावारिधि तहका शोधार्थीलाई पढाउँदै आएकी छन्। उनीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको परिवारका तीन पुस्ता गोरखापत्रको सम्पादक हुनुभयो। आफ्नो पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न। मेरो जिजुबुबा चिरञ्जीवी शर्मा पौडेल गोरखापत्रका प्रथम सम्पादक हुनुहुन्थ्यो। मेरा हजुरबा प्रेमराज र बुबा रामराज पौडेल पनि गोरखापत्रका सम्पादक हुनुभयो। यो एउटा दुर्लभ संयोग हो। गोरखापत्रमा उहाँहरूले लेख्नुभएका कविता पनि प्रकाशित छन्। हजुरबुबाकै प्रेरणामा मेरा हजुरआमाहरूले घरमै पढ्ने अवसर पाउनुभयो। परिवारमा पढ्ने माहोल निकै राम्रो थियो। त्यसैले मेरो शैक्षिक उन्नयनमा पनि मद्दत पुर्यायो। जिजुबुबा युवाकवि म...