लुङखिम भाषा लोप हुनै लागेपछि...
इलामको सूर्योदय नगरपालिकामा सञ्चालित लुङखिम भाषाको आधारभूत कक्षाका सहभागी। तस्बिर : सचित राई सचित राई / तोयानाथ भट्टराई समाज १४ माघ २०७८ ०९:२७:०० केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्। ‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्यो। एक–दुई कुरा सिकिन्छ कि भन्ने आस छ।’ सूर्योदय नगरपालिका–११ केराबारीमा पुस पहिलो साता सुरु भएको कक्षा ४५ दिनसम्म चल्नेछ। चार महिलासहित ३० जनाले कक्षा लिइरहेको लुङखिम राई समाजका अध्यक्ष जंगबहादुर लुङखिम राई बताउँछन्। जसमा युवादेखि ज्येष्ठ नागरिकसम्म छन्। राई जातिमा पर्ने लुङखिम भाषिक समुदायकै अगुवा दुर्गामान राई भन्छन्, ‘हामीले त यो भाषा बिर्सेका थियौं, अहिले सामान्य बोलचालको शब्द सिकिरहेका छौं।’ स्थानीयवासी ३२ वर्षीय गंगाबहादुर राईलाई अब य...