फिचर - आत्मबल दरिलो बनाउँदै ज्येष्ठ नागरिक
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बूढाबूढीलाई कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भन्ने त्रास चौतर्फी छ । त्यसैले ज्येष्ठ नागरिक रहेका घरपरिवारले सतर्कता अपनाएका छन् । जेष्ठ ९, २०७७ गणेश राई काठमाडौँ — साँझ–बिहान एकदुई किलोमिटर हिँड्ने उनी कोभिड–१९ संक्रमणको जोखिमले घरबाट टाढा गएका छैनन् । गण्डकी प्रदेशको म्यादी नाङ्गीमा जन्मिएका ९८ वर्षीय गेरु पुन (गर्बुजा) भन्छन्, ‘घर वरिपरि हिँड्ने, टीभीमा लोकदोहोरी हेर्ने, भजनकीर्तनका किताब पढ्ने गरेरै दुई महिना बित्यो ।’ उनी अहिले ललितपुरको ढोलाहिटीमा कान्छी बुहारी र नातिनीका साथ बस्दै आएका छन् । हीराशोभा तुलाधर पुन भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक हुन् । आँखाको तेज, कानको सुन्ने शक्ति र आत्मबल बलियो भएको उनको कथन छ । बुढ्यौली लाग्दै गरेपछि रक्तचाप, युरिक एसिड, सुगर, नसासम्बन्धी समस्या आउनु स्वाभाविक हो । तालिकाअनुसार औषधि सेवन गर्ने गरेको उनकी बुहारी प्रतिभा पुनले सुनाइन् । ‘लकडाउन भएपछि बीचमा बुबालाई रुघाखोकी लागेको थियो तर बेसार, ज्वानो पानी एक साता पिउनु भएपछि सबै ठीकठाक छ,’ उनले भनिन् । गेरु...