मातृभाषा पत्रकारिताको आयाम
नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । जातीय विविधताले भरिएको देश भएकाले यहाँ मातृभाषाका वक्ता र पाठक धेरै छन् । १४२ जाति रहेको नेपालमा १२४ भाषा बोलिने गरेको जनगणना २०७८ को तथ्याङ्क छ । अध्ययन अनुसार कुल जनसङ्ख्याको ४४.९ प्रतिशतले सम्पर्क भाषा खस नेपाली बोल्छन् । बाँकी ५५.१ प्रतिशतले आफ्नै मातृभाषामा सञ्चारको काम गर्छन् । यसर्थ खस नेपाली र अङ्ग्रेजीमा मात्र पत्रकारिता गरेर सबैका लागि पत्रकारिता गरेको मान्न सकिँदैन । स्थानीयस्तरमा दूरदराजका नागरिकका लागि सूचनाको स्रोत मातृभाषा पत्रकारिता नै हो । मातृभाषा पत्रकारिताको पहुँच जन जनमा छ । स्थानीय सरकार जस्तै मातृभाषा पत्रकारिताले स्थानीय नागरिकलाई सुसूचित गर्ने गरेको छ । त्यही कारण मातृभाषा पत्रकारिताको आज पनि आवश्यकता छ । यसको प्रवर्धनमा सरकारको लगानी आवश्यक छ ।
लेख्य रूपमा प्रयोग हुने भाषा
नेपालमा बोलिने १२४ भाषामध्ये १६ भाषा मात्र लेख्य परम्परामा बढी प्रयोगमा छन्; जसमा नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ, नेपाल भाषा (नेवारी), अवधी, डोटेली, बज्जिका, उर्दु, मगर, गुरुङ, लिम्बू, किँरात राई, शेर्पा छन् । लेख्य रूपमा प्रयोग हुने भाषा भन्नाले बोलीचालीसँगै लेखन, प्रकाशन, शिक्षा, प्रशासन, साहित्य, सञ्चार तथा डिजिटल माध्यममा लिखित रूपमा प्रयोग हुने भाषालाई बुझिन्छ । अन्य भाषाको अझै लेख्य रूपमा प्रयोग भएको मानिँदैन । लेख्य भाषा र मातृभाषा फरक विषय हो । नेपालमा धेरै मातृभाषा बोलिन्छ तर सबै भाषा मानकीकृत भएको छैन । भाषा लेखिनका लागि व्याकरण, शब्दकोश, लिपि, पाठ्यपुस्तक, साहित्य, सञ्चार माध्यम र डिजिटल सामग्री समान रूपमा विकसित भएको हुनु पर्छ । अझै धेरै भाषा मौखिक परम्परामै सीमित छन् ।
पत्रकारितामा मातृभाषा
नेपालमा सम्पर्क भाषा नेपालीबाहेक मैथिली, मगर, थारू, भोजपुरी, नेपाल भाषा, तामाङ, उर्दु, लिम्बू, गुरुङलगायत भाषामा मातृभाषा पत्रकारिता गरिन्छ । प्रेस काउन्सिल नेपालको तथ्याङ्क अनुसार करिब १५० जति मातृभाषाका पत्रपत्रिका (साहित्यसहित) दर्तामा छन् । त्यसमध्ये करिब ५० भाषाका पत्रपत्रिका मात्र नियमित छन् । मातृभाषा पत्रकारिताको सबैभन्दा पहुँचयुक्त क्षेत्र रेडियो हो । स्थानीयस्तरमा सामुदायिक रेडियोले मैथिली, भोजपुरी, थारू, अवधी, मगर, तामाङ, गुरुङ, नेपाल भाषा, लिम्बूलगायतका मातृभाषामा कार्यक्रम तथा समाचार बुलेटिन प्रसारण गर्ने गरेका छन् ।
सोही अनुसार सरकारी तथा केही निजी टेलिभिजनबाट पनि नेपालीबाहेक विभिन्न मातृभाषामा समाचार, संवाद, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम प्रसारण हुँदै आएको छ । यद्यपि रेडियोको तुलनामा टेलिभिजनमा मातृभाषाका कार्यक्रमको पहुँच कमजोर छ । स्थानीयस्तरमा मातृभाषाका टेलिभिजनसमेत सञ्चालनमा छन् । सोमध्ये कैलालीको धनगढीबाट सञ्चालनमा रहेको थारू टेलिभिजन एक हो । पछिल्लो समय डिजिटल प्रविधिको विकास भएसँगै अनलाइन पत्रकारितामा मातृभाषाको प्रयोग बढी हुन थालेको छ । नेपाली पत्रकारिताको नयाँ क्षेत्रका रूपमा मातृभाषा पत्रकारिता स्थापित हुँदै गएको छ । अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जालमा मातृभाषाको प्रयोग हुन थालेपछि यसको भविष्य उज्ज्वल देखिन्छ । सामाजिक सञ्जालसँगै युट्युब च्यानलमा समेत मातृभाषाका सामग्री प्रसारण हुन थालेको छ ।
त्यस्तै सरकारी सञ्चार माध्यम गोरखापत्रमा नोपलीबाहेक ४९ राष्ट्र भाषामा सामग्री उत्पादन र प्रकाशन हुन्छ । रेडियो नेपाल र नेपाल टेलिभिजन (पिएसबी) मा विभिन्न २७ भाषाका समाचार उत्पादन र प्रसारण हुने गर्छ । राष्ट्रिय समाचार समिति (रासस) मा विभिन्न पाँच भाषामा समाचार बुलेटिन निर्माण हुन्छ । यसले भाषिक समावेशीकरणमा महत्वपूर्ण योगदान दिएको छ ।
विश्वमा मातृभाषाको प्रयोग
विश्व पत्रकारितामा चिनियाँ मन्दारिन, अङ्ग्रेजी र हिन्दी भाषाका पत्रपत्रिकाले वर्चश्व कायम गरेका छन् । विश्वका करिब ४० देशमा मात्र मातृभाषा पत्रकारिता गर्ने गरिएको तथ्याङ्क छ । यद्यपि मातृभाषा पत्रकारिताको अवस्था कमजोर छ । ठुलो जनसङ्ख्या भएको उत्तरी छिमेकी देश चीनमा त्यहाँको राष्ट्रिय भाषा मन्दारिन, मान्चु भाषामा पत्रकारिता गरिन्छ । केही स्वायत्त क्षेत्रमा तिब्बती, उइगुर र मङ्गोलियन भाषामा मातृभाषा पत्रकारिता गरेको देखिन्छ । त्यहाँ पत्रकारिता राज्यको नियन्त्रणमा रहेकाले मातृभाषा पत्रकारिता खुम्चिँदै गएको छ ।
अर्को दक्षिणी छिमेकी मुलुक भारतमा पनि ठुलो जनसङ्ख्या छ । चीनको तुलनामा भारतमा मातृभाषा पत्रकारिताको सम्भावना फराकिलो छ । भारतीय संविधानले मान्यता दिएको हिन्दी, तेलुगु, मराठी, तमिल, बङ्गाली जस्ता भाषाका पत्रपत्रिकाको दबदबा छ ।
भारतीय प्रेस रजिस्ट्रार अनलर अफ इन्डियाको कार्यालयको तथ्याङ्क अनुसार त्यहाँ करिब एक सय जति मातृभाषाका सञ्चार माध्यम सञ्चालनमा छन् । मुख्यतः आसामी, उर्दु, पन्जाबी, काश्मीरी, सिन्धी, डोग्री, बोडो, मरिपुरी, तेलुगु, कन्नड, मलयालम, मराठी, गुजराती, बङ्गाली, भोजपुरी, मैथिली, मगही, सन्थाली मुण्डारी, गारो, खासी, मिजो जस्ता मातृभाषामा पत्रपत्रिका सञ्चालनमा छन् ।
क्यानडामा इनुकटिटुट, क्री, उत्तरी स्लाभी, ग्विचिनलगायतका मातृभाषामा सञ्चार माध्यम सञ्चालनमा छन् । त्यहाँका सञ्चार माध्यमले माथि उल्लिखित मातृभाषामा समाचार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण गरी नागरिकलाई सुसूचित गर्ने गरेका छन् । त्यसै गरी न्युजिल्यान्डमा माओरी भाषामा सञ्चार माध्यम सञ्चालनमा छन् । नर्वे, स्वीडेन र फिनल्यान्डमा सामी भाषाको प्रयोग बढी हुन्छ । अन्य देशमा पनि मातृभाषाका सञ्चार माध्यम सञ्चालनमा छन् ।
मातृभाषा पत्रकारिता सम्मेलन
मातृभाषी पत्रकारलाई एक थलोमा भेला गरी मातृभाषा पत्रकारिता सम्मेलन अहिलेसम्म नेपालमा मात्र हुने गरेको छ । यसअघि विसं २०८१ र २०८२ मा भएको पहिलो र दोस्रो सम्मेलनमा केही देशका मातृभाषी पत्रकारको सहभागिता थियो । २०८३ साउन २५ देखि २७ गतेसम्म काठमाडौँमा आयोजित तेस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा २७ देशबाट ५० जना मातृभाषी पत्रकारको सक्रिय सहभागिता रह्यो । देशबाहिर र देशभित्रका गरी करिब चार सय मातृभाषी पत्रकार एकै मञ्चमा मातृभाषा पत्रकारिता, यसका चुनौती र अवसरबारे गहन संवाद गरेका छन् । यसले मातृभाषा पत्रकारिताको उपस्थिति र सम्भावनालाई दरिलो बनाएको छ । विश्वभर मातृभाषी पत्रकारको समस्या, चुनौती र अवसर समान रहेको मातृभाषी पत्रकारको बुझाइ छ । सरकारी तवरबाट मातृभाषी पत्रकार र सञ्चारगृहमा लगानी न्यून रहेको तथ्याङ्क छ । यद्यपि नेपालमा मातृभाषी पत्रकार र सञ्चार माध्यमको उपस्थिति बलियो रहेकाले नेपाल मातृभाषा पत्रकारिताको उर्वर भूमि हो ।
मातृभाषा पत्रकारिता सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै मूलतः सात वटा सन्देश दिएको छ । पहिलो, मातृभाषी पत्रकारलाई एक ठाउँमा भेला गरी मातृभाषी पत्रकारबिच एकताको सन्देश प्रवाह गर्ने गरेको छ । दोस्रो, मातृभाषा पत्रकारिताले भाषाको संरक्षण मात्र गर्दैन, दूरदराजका मातृभाषी नागरिकलाई सरकारसँग जोड्ने र स्थानीय भाषामा सूचना प्रवाह गरी सुसूचित गर्ने गरेको छ । तेस्रो, मातृभाषा पत्रकारितामार्फत भाषा तथा साहित्यको श्रीवृद्धिमा भूमिका खेल्ने गरेको छ । चौथो, मातृभाषा पत्रकारिताको समस्या, चुनौती र अवसरको पहिचान गरी राज्यलाई त्यसबारे ठोस नीति बनाई कार्यान्वयनका लागि दबाब दिने गरेको छ । पाँचौँ, परम्परागत रूपमा अभ्यासमा रहेका आदिवासी ज्ञान, सिप र परम्परालाई पुस्तान्तरण गर्न सहयोग गर्ने गरेको छ । छैटौँ, मातृभाषाको लेख्य परम्परालाई थप बलियो बनाई भाषाको मानकीकरण गर्नमा सहयोग गर्ने गरेको छ । सातौँ, मातृभाषा पत्रकारितामा राज्यको लगानी बढाई मातृभाषी पत्रकारको क्षमता वृद्धि गरी पत्रकारितामा टिकाउने र बिकाउने वातावरण निर्माण गर्ने गरेको छ ।
चुनौती र अवसर
नेपालमा मातृभाषा पत्रकारिताको सम्भावना ठुलो छ तर राज्यको लगानी न्यून हुँदा मातृभाषा पत्रकारिता चुनौतीसँग जुधिरहेको छ । नेपालमा बोलिने सबै मातृभाषाको लेख्य मानकीकरण, पत्रकार उत्पादन, आर्थिक स्रोत, नियमित प्रकाशन, डिजिटल सामग्री, पाठक÷दर्शक, बजारको समान रूपमा विकास नहुँदा यसको प्रवर्धनमा समस्या छ । मातृभाषामा पत्रकारिता गर्नु भनेको अनुवाद पत्रकारिता गर्नु मात्र होइन, सम्बन्धित समुदायको भाषा, संस्कृति, ज्ञान, सिप, कला, आवश्यकता र दृष्टिकोणलाई आफ्नै भाषामा सार्वजनिक विमर्शको वातावरण निर्माण गर्नु हो । मातृभाषा पत्रकारिताको प्रमुख चुनौतीमा भाषाको मानकीकरण समस्या, दक्ष जनशक्तिको अभाव, आर्थिक स्रोतको कमी, पाठक, श्रोता र सीमित बजार, प्रविधि र डिजिटल सामग्रीको कमी, सरकारी न्यून लगानी, समाचार स्रोत र अभिलेखको कमी आदि हो ।
त्यस्तै मातृभाषा पत्रकारिताको अवसर र सम्भावना राम्रो छ । यसका अवसरमा मूलतः संविधानले दिएको भाषिक अधिकारको प्रवर्धन गर्नु, सामुदायिक सञ्चारको विस्तार तथा मातृभाषाका सञ्चार माध्यमको प्रवर्धन गर्नु, डिजिटल पत्रकारिताको सम्भावना वृद्धि गर्नु, स्थानीय विषयवस्तुको माग बढाउनु, भाषिक तथा सांस्कृतिक संरक्षण गर्नु, मातृभाषाका पत्रकार उत्पादन तथा रोजगारी बढाउनु, सार्वजनिक सहभागिता बढाउनु आदि हो । मातृभाषा पत्रकारिताको उद्देश्य सूचनामा सबैको समान पहुँच बनाउनु हो । सामाजिक समावेशीकरण, सांस्कृतिक अधिकार र लोकतान्त्रिक सहभागिताको आधार तयार गर्नु पनि यसको अर्को ध्येय हो ।
नेपाल बहुभाषिक देश भएकाले नागरिकलाई सुसूचित गर्न मातृभाषा पत्रकारिता अपरिहार्य छ । रेडियो, टेलिभिजन र डिजिटल माध्यमबाट यसको प्रयोग बढे पनि लेख्य मानकीकरण, दक्ष जनशक्ति र राज्यको न्यून लगानी यसका मुख्य चुनौती हुन् । भाषिक अधिकारको संरक्षण, स्थानीय सुशासन र समावेशीकरणका लागि यसको प्रवर्धन र विकास गर्नु अति आवश्यक छ ।
https://gorkhapatraonline.com/news/219244

Comments
Post a Comment