काव्यमहर्षि दुर्गालाल

 


blog

‘न जि लः खः न जि सुपाँय हे खः

छुं मखुगु छु खः, जि वहे खः ’

(‘न त म पानी नै हुँ, न म बादल नै 

केही नहुनुमा जे छ, हो, त्यही नै हुँ म’)


यिनै निर्गुण भावका सर्जक दुर्गालाल श्रेष्ठ बिते । उनका जे जति भौतिक साकार स्वरूप थिए, अब हामीबिच रहेनन् । विसं १९९१ साउनमा जन्मेका श्रेष्ठले २०८३ साउन ३१ गते सदाका लागि विश्राम लिए । अब केवल स्मृति मात्र ! ९३ वर्षका जीवनकालमा आठ दशकभन्दा बढी उनले सिर्जनामै बिताए । अविरल, अश्रान्त अक्षरयात्रामा समर्पित एउटा निष्ठावान् पात्र थिए उनी । 

आफ्नो जन्मथलो काठमाडौँको न्हैकन्तलासँगै बाङ्गेमुढा टोलको पाटीमा प्रत्येक साँझ पण्डितद्वारा कथा वाचन गरिन्थे, विसर्जनसँगै टीका र प्रसादका लागि भर्खरकी यौवना भक्तजनमाझ पुग्थिन् । माथामा टीका लगाइदिँदा उनको कोमल हातको स्पर्शमै मोहित हुने ठिटो थिए दुर्गालाल । चुपचाप एकोहोरो प्रेमभावको त्यस अनुभूतिले उनको हृदयलाई कलिलो अवस्थामै भावुक बनाइदियो । केही जागरुक स्थानीय युवाका जमातले त्यसताका गठन गरिएको एक सव्रिmय समूह थियो– विद्यार्थी साहित्यमण्डल । बेलाबखतमा जमघट गर्थे, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम आदिलाई अतिथि बनाइन्थे अनि आपसमा साहित्य वाचन गर्थे । विश्व निकेतन हाइस्कुलमा पछि प्रधानाध्यापक बनेका थिए गम्भीरमान मास्के । उनी त्यस समूहका अध्यक्ष थिए । डा. कमलप्रकाश मल्ल सचिव । बाङ्गेमुढास्थित मल्लकै निवास स्थानको चोकमा साहित्यिक जमघटमा दुर्गालालले जीवनको पहिलो लेखनी ‘मत’ (दियो) कविता वाचन गर्ने अवसर पाए । सम्भवतः त्यो २००८ सालको कुरा थियो । त्यस विन्दुबाट आरम्भ भएको दुर्गालालको सिर्जनायात्रा अविचलित र अनवरत रह्यो । 

रमाइलो कुरा, त्यही बाङ्गेमुढा टोलमा स्थानीय युवा जमातले सार्वजनिक प्रदर्शनका लागि दन्त्यकथाका आधारमा ‘सत्तलसिंह राजकुमार’ नाटक तयार गर्दै गरेको थियो,  लुकीछिपी हेर्न पुग्दा ढोका थुनेर बाहिर धकेलेर पठाए, जस्केलोबाट आँखाले चेवा गर्दैगर्दा पनि औँला घोचेर चोटपटक पु¥याइदिए । अपमान गरे । त्यही हेला, होचो र दुव्र्यवहारमा सन्तप्त दुर्गालालले प्रतिशोध भावमा आफैँले कनीकुथी नाटक लेख्न थाले । न कागज थियो, न कापी । चुरोट सल्काएर बाटोमा मिल्काइएका चुरोटका बट्टामा संवाद लेख्दै आफ्ना दौँतरीलाई बोल्न लगाए, अभिनय गर्न लगाए उनले । त्यसका लागि आवश्यक गीतको बोल पनि कोरे । आफैँ निर्देशक, आफ्नै अभिनय पनि । ‘प्रेम जीवन अपराध’ नाटकको शीर्षक । नायिका बनिन् पे्रमध्वज प्रधान । त्यतिखेर दुर्गालाल ११÷१२ वर्षका नाबालिग नै थिए । गाईजात्रा पर्वमा टोल टोलमा प्रदर्शन गरिने उनको त्यो नाटक पर्व सकिएर पनि महिना दिनसम्मै निरन्तर जारी रह्यो । त्यसपछि त उनले बर्सेनि नाटक लेख्ने र देखाउने गरे । नाटकमै गाइने गीत पनि आफैँले रचना गरे । कलिलो बैँसका त्यो आवेगले उनीभित्रको काव्य प्रतिभा प्रस्फुटित हुने अवसर पायो । 

विरही पीडा

कोमल हृदय अनि युवा बेलाको चञ्चलतामा आफ्नै टोल छिमेकी, सङ्गीत निर्देशककी बहिनीसँग मन मिल्यो तर विपन्न परिवारका दुर्गालालले सम्पन्न घरकी छोरी लग्ने आँट गर्न सकेनन् । अन्ततः अर्कैसँग विवाह भयो । यसै पे्रम वियोगमा उनको हृदय कुँजियो । भावुक मानिस झन् विचलित भए । खण्डित मायापे्रमका वियोग भावमा पोखिएका रचनासङ्ग्रह ‘झसुका’ (सुस्केरा) उनको पहिलो कृति बन्यो तर विरही पीडाको आँसुमा ओसिएको त्यस सङ्ग्रह पढ्ने पाठकले उनलाई दुर्गालाल मात्र भनेनन्, ‘ख्वबिलु’ (रुन्चे) कै उपाधि थम्याए । त्यसपछि साहित्यिक वृत्तमा ‘ख्वबिलु’ उनको एक भिन्न परिचय नै बन्यो । यद्यपि कालान्तरमा त्यो व्रmम रोकियो । सिर्जनाको मात लागिसकेका उनले काव्य विधालाई भने आफ्नो नित्य कर्म बनाए । 

छरपस्ट उनका थुपै्र कविता भए, पछि डा. कमलप्रकाश मल्लले तिनलाई सम्पादन गरेर ‘लिसं’ (रसायन) पुस्तकका रूपमा पाठकसामु प्रस्तुत गरिदिँदा दुर्गालाल साहित्य वृत्तमा दरिलोसँग स्थापित सर्जकका रूपमै चिनिए । तत्पश्चात् उनी काव्यात्मक यात्रामा निरन्तर लम्के, आफ्नै सुरमा, आफ्नै धुनमा !

स्थानीय कन्या मन्दिर हाइस्कुल उनको रोजीरोटीको केन्द्र मात्र थिएन, भाषा शिक्षकका रूपमा त्यहाँ अध्यापन गराउँदा ससाना नानीहरूसँगको उठबस अनि कलिला मनका भावलाई नजिकबाट बुझ्ने अवसर पनि पाए । तब उनको कवि हृदय बालसाहित्य सिर्जनाका लागि उर्वर बने । ‘चिनियाम्ह किसिचा’ (चिनीको हात्ती) बाल कवितासङ्ग्रह त्यसैको प्रतिफल थियो । त्यसपश्चात् थुप्रै बालसाहित्य रचे । ‘चिनियाम्ह किसिचा’ बजारमा पुगेको दुई महिनामै दुई हजार प्रति बिक्यो । पछि आठौँ संस्करणसम्म निकाल्न प¥यो । नेपाल भाषाको पुस्तक यति ठुलो सङ्ख्यामा पाठकका हात हातमा अरू पुगेका थिएनन् । त्यस बालपुस्तक यतिविघ्न लोकप्रिय बन्यो कि त्यसका अधिकांश रचना बालगीतका रूपमा व्यक्ति व्यक्तिका मुखमा झुन्डिए ।

सौम्य, शिष्ट, सरल अनि सरसता उनको काव्यको शैलीगत प्रवृत्ति रहे । लालित्ययुक्त शब्द चयनले लेखनीको विशिष्टता थिए । चित्तरञ्जन ‘नेपाली’ को सङ्गतबाट शास्त्रीय छन्दमा ज्ञान हासिल गरेका उनी व्याकरणमा पनि पोख्त थिए । त्यसैले उनका शब्द रचना आकर्षक मात्र बनेन् ओझपूर्ण पनि रहे ।  आफँैमा रागदेखि तालसम्मको साङ्गीतिक ज्ञान पनि रहेको हुँदा उनका काव्यमा सदैव गेय र लयको सामञ्जस्यता हुन्थ्यो । त्यसैले उनका गीत कालजयी बने । कर्णप्रिय बने । नेपाल भाषामा उनले कति गीत कोरे उनलाई नै सम्झना छैन । ‘लःबियाः ह्वयेकागु स्वां...’ (सिंचन गरिकन हुर्काइएको फूल..), ‘असंत्वाःया दबू कुनय् मियातःगु ग्वाः...’ (असन टोलको कुनामा रहेको डबलीमा बेच्न थापेको पान पसल...) उनका पे्रमिल रचना यतिविघ्न जनमानसमा प्रचलित छन्, आममानिसले त यिनलाई लामो कुनै परम्परागत लोकगीत नै हुन् भन्ठान्छन् । 

प्रणय गीत रचनाका उनी सम्राट् नै थिए । फेरि पनि जातीय गौरवका स्वाभिमान भाव उनका अन्तस्करणमा यति गहिरोसँग थियो कि सत्ता र शासकबाट हुँदै आएको साम्प्रदायिक थिचोमिचोको विरोधमा कहिल्यै थाकेनन्, त्यसैको प्रतिरोधमा सयौँ जागरण गान लेखे । त्यस्तै अति विपन्नतामाझ भोगेका विषम अनुभूतिले उनीभित्र सामाजिक परिवर्तन, अग्रगमन, समानता, न्यायका पक्षमा आवाज बुलन्द गर्ने साहस पनि थियो । त्यसैले उनले साहित्य सिर्जनामा प्रगतिवादी धारको अनुसरण गरे । 

जनकवि ! झी कवि ! 

निम्न परिवारिक पृष्ठभूमिबाट बामे सर्दै आफ्नै जीवनको गोरेटो आफैँले कोरेका दुर्गालाल व्यवहारमा पनि अत्यन्त नम्र, सरल, सहृदयी र मिलनसार थिए ।  अभिजात्य वर्गदेखि भुइँमान्छेसम्म त्यत्तिकै प्रिय रहे । त्यसैले नागरिक तहबाटै उनी सम्मानित भए– जनकवि ! झी कवि ! (आफ्ना कवि) ! पछिल्लो कालखण्डमा जसरी उमेर प्रौढ बन्दै गयो उनका अधिकांश रचनाले जीवन र जगत्का गुढ तìव खोज्न थाले । मानवीय जीवनको सार्थकताको भेउ पाउन क्षणिक यथार्थमा भन्दा शाश्वत सत्यका लागि भौँतारिन थाले । ‘थुया’ (बुझाइ) एक आत्ममूल्याङ्कन काव्यात्मक अभिलेख यसै व्रmममा लेखिए । 

‘तपक’ अनि ‘कपूया कुँ’ (कपुरको धुवाँ) उनका जीवन दर्शनका सार हुन् । विशेषतः कोरोना महामारीका बेला घरको चार किल्लाभित्र गुम्सिनु पर्दा गहन आत्मचिन्तनमा थिए उनी, मायाप्रीति, भौतिक सुख सुविधा, क्षणभङ्गुरताभन्दा पर पुगेका उनका भावले आत्मसात् गरेका अनुभूति सँगालेर काव्यधाराका दर्जनाँै पुस्तक तयार गरे । 

कविताभन्दा पर उनका लेखनी एकाङ्की, नाटक विधामा पनि त्यतिकै अब्बल छन् । दर्जनौँ नाटक लेखिए, मञ्चन गरिए । ‘रामबहादुरया संसार’ (रामबहादुरको संसार) तीमध्ये एक अति चर्चित प्रस्तुति थियो । अनि गीतिनाटक ‘निमन्त्रणा’ र ‘ब्याँहाचुली’ (प्रभाती) कालजयी रहे । ‘राजमति’ नेपाल भाषाको चलचित्र उनकै मित्र रामशेखरसहित संयुक्त रूपमा कल्पना गरिएको थियो ।

शिक्षण पेसामा रहँदा वर्गीय हकहितका लागि अग्रपङ्क्तिमा रहेर नेपालमा शिक्षकका लागि सङ्गठित अधिकार प्राप्तिको आन्दोलनमा मरिमेटी लागे । नेपाली साहित्यिक फाँटमा प्रगतिवादको वर्चश्वका लागि नेपाल प्रगतिशील लेखक कलाकार सङ्घ निर्माणमा एक संस्थापकको भूमिका निर्वाह गरे । भाषिक समान अधिकार तथा जातीय आत्मसम्मानका लागि उठेका सडक आन्दोलनमा गएको सात दशकदेखि उनको सव्रिmयता र नेतृत्वदायी भूमिका रह्यो । एक भाषा, एक धर्म र एक जाति भन्ने साम्प्रदायिक सोचविरुद्ध समानता र न्यायका पक्षमा उनी सदैव आमनागरिकसरह सडकमै उभिए । नेपाल संवत्, भिंतुना अभियानका उनी एक अगुवा थिए । नेपाल भाषा मंकाः खलः जस्ता आन्दोलनकारी संस्थाका प्रणेता दुर्गालाल नेपाल भाषा एकेडेमीका पनि संस्थापक हुन् । पछिल्लो समय गुठी विधेयकविरुद्ध रैथानेले सत्ता शक्तिविरुद्ध उठान गरेका असहमतिको आन्दोलनमा सडकमै उभिएर उनले आफूभित्रको अभियन्ताको अदम्य भाव प्रकट गर्न भ्याएका थिए ।  नेपाल भाषा, नेपाली, अङ्गे्रजी, चिनियाँ र अन्य भाषामा समेत गरी उनका सात दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । अरू दर्जनौँ पुस्तक प्रकाशोन्मुख छन् । यति धेरै सङ्ख्यामा पुस्तक लेख्ने बिरलै होलान्, दुर्गालाल तीमध्ये एक हुन् । 

गैरनेपाल भाषाभाषीहरू ‘फूलको आँखामा फुलै संसार’, ‘सय थरी बाजा एउटै ताल’ जस्ता कालजयी गीतका शाब्दिक आलोकमा दुर्गालालको विनम्रता, मानवीयता र समभावलाई सम्झँदा हुन् । रैथाने नेवार अनि आदिवासी उपेक्षित समुदाय भने ‘अय मगः, तामागं, मैथिल, लिम्बु, अय नेवाःत वा, वा उपेक्षित जाति सकलें थःगु हक थःगु याय्त वा !’ ‘लौ मगर, तामाङ, मैथिल, लिम्बू, लौ नेवार उठौँ, उठौँ उपेक्षित जाति सबै आफ्ना हक आफ्नो बनाउन उठौँ !’ उनका ती समवेत आह्वानमा लम्कन सदैव अभिपे्ररित हुन्छन् ।

जीवनको पछिल्लो कालखण्डमा शारीरिक रूपमा रुग्ण बन्दै गर्दा पनि उनी सम्झन्थे ती बितेका पलहरू । त्यो काठमाडौँको न्हैकन्तलाकोे गल्लीभित्रको साँघुरो अनि जीर्ण पुख्र्यौली घर जहाँ संयुक्त परिवारका १२ भन्दा बढी ज्यान अटाएर जिउनु पथ्र्यो । उज्यालोका लागि बिजुलीको पनि सुविधा थिएन । एउटा टुकी बाल्नु पनि विलासिता÷खर्चालु ठान्थे तर मध्यरातमै हृदयभरि भाव उर्लिन्थे । त्यतिखेर नै ओछ्यानमा पलेँटी कस्दै सानो पेन्सिलको ठुटो चल्न थाल्थ्यो, आफ्ना बुवाले चुरोट खाएर फालेको बट्टामा अक्षर कोरिन्थे । रात कालो, कतै उज्यालो थिएन, एकपछि अर्को अक्षर एक हातले लेख्दै अर्को हत्केलाका औँलाले लेखाइका हरफ मिलाउँदै । बिहान उजेलिँदा नियाल्दा, रातभरि कोरिएका ती अक्षरका हरफहरू कतै टेढोमेढो हुन्थे, अभिव्यक्त भावहरू अस्पष्ट पाउँदैनथे । एक निख्खर काव्यात्मक अभिव्यक्ति बन्थे । त्यसैले ऊ भन्थे– मभित्र दुई हृदय छन्, एक– मेरो आफ्नै, अर्को– मलाई लेख्न लगाउने भिन्नै हृदय । कविता लेखिन्न, भित्री हृदयबाट लेख्न लगाउँछन् । लेखनी– अर्थात् अक्षरयात्रामा यिनै आस्थाका साथ उनी लागे । अक्षरयात्राका उनी तपस्वी थिए । अनि एउटा काव्यमहर्षि ! 

https://gorkhapatraonline.com/news/219387

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal

हाम्रा गीत प्राज्ञिक छैनन् : गायक राजेशपायल राई