चेतना बदल्ने पर्व

 

चेतना बदल्ने पर्व

blog

श्रावण शुक्ल पूर्णिमा नेपाली सांस्कृतिक जीवनको केवल जनै फेर्ने तिथि होइन, यो स्मरण, संस्कार, कृतज्ञता, आत्मशुद्धि र पुनःसङ्कल्पको दिन हो । यज्ञोपवीत, ऋषितर्पणी, उपाकर्म, रक्षाबन्धन, श्रावणी, गुँही पुन्ही, क्वाँटी पुन्ही तथा विभिन्न स्थानीय लोकपरम्पराले एउटै पूर्णिमालाई बहुआयामिक सांस्कृतिक उत्सव बनाएका छन् । हिमालको गोसाइँकुण्डदेखि काठमाडौँ उपत्यकाको गुँही पुन्ही र ब्याँचा नकेगुसम्म, वैदिक ऋषिस्मरणदेखि तराई–मधेशको रक्षाबन्धन र भारतका विभिन्न भूभागका क्षेत्रीय परम्परासम्म यो पर्व नेपालको भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधतालाई एउटै भावनात्मक सूत्रमा बाँध्ने जीवित सभ्यता हो ।

‘यज्ञोपवीतं परमं पवित्रं’– यो मन्त्र केवल नयाँ धागो धारण गर्ने मन्त्र होइन; पवित्रता, आयु, बल, तेज र उत्तरदायित्वको सङ्कल्प हो । तीन सूत्रलाई परम्पराले ब्रह्मा–विष्णु–महेश्वर, सत्व–रजस्–तमस्, ज्ञान–कर्म–उपासना, भूर्र–भुवः–स्वः तथा ब्रह्मचर्य–गृहस्थ–वानप्रस्थ जस्ता विभिन्न त्रयसँग प्रतीकात्मक रूपमा जोडेको छ । यसको व्यावहारिक मर्म भने मन, वचन र कर्मको एकता तथा शरीर, वाणी र मनको संयम हो । नौ सूक्ष्म तन्तुलाई ॐकार, अग्नि, अनन्त, सोम, पितृ, प्रजापति, मरुत्, सूर्य र सर्वदेवतासँग सम्बन्धित गरी ज्ञान, तेज, धैर्य, शीतलता, स्नेह, प्रजापालन, बल, प्रकाश र सात्विकताको प्रतीक मानिन्छ । यसरी हेर्दा जनै शरीरमा बाँधिएको सूत्र होइन; आफूले कस्तो जीवन जिउने भन्ने दैनिक स्मरणपत्र हो ।

यसैमा देवऋण, ऋषिऋण र पितृऋणको गहिरो दर्शन जोडिएको छ । प्रकृति, समाज र जीवनबाट प्राप्त उपकारप्रति कृतज्ञ हुनु देवऋणको चेतना होस् गुरु, ऋषि र पूर्वज ज्ञान परम्पराले दिएको विद्यालाई अध्ययन, अनुसन्धान, आचरण र पुस्तान्तरणमार्फत जीवित राख्नु ऋषिऋण होस् माता–पिता तथा पूर्वजप्रति सम्मान, सेवा र कृतज्ञता पितृऋण हो । त्यसैले ऋषितर्पण केवल जल, तिल र कुश अर्पण गर्ने कर्म होइन–ज्ञानको ऋण स्वीकार गर्ने र त्यस ज्ञानलाई भविष्यमा प्रवाहित गर्ने प्रतिज्ञा हो ।

यही संस्कार दृष्टिको विस्तृत अभिव्यक्ति षोडश संस्कारमा देखिन्छ । विभिन्न वैदिक तथा गृह्यपरम्परामा यसको सङ्ख्या र क्रम एक रूप नभए पनि जन्मदेखि मृत्युसम्मका जीवन–सङ्क्रमणलाई संस्कार, मूल्य र उत्तरदायित्वसँग जोड्ने यसको मूल प्रयोजन समान देखिन्छ । गर्भाधानदेखि जातकर्म, नामकरण, अन्नप्राशन, विद्यारम्भ, उपनयन, विवाह हुँदै अन्त्येस्टिसम्म–मानव जीवनलाई केवल जैविक यात्रा नभई सचेत, मर्यादित र उत्तरदायी जीवनयात्रा बनाउने प्रयास हो । व्रतबन्ध वा उपनयन त्यस यात्रामा ज्ञान, स्वाध्याय, अनुशासन र कर्तव्यतर्फको दीक्षा हो । नेपाली समाजका केही परम्परामा व्रतबन्ध गरेका कन्या वा किशोरीले अघिल्लो दिन केशमुण्डन, व्रत वा विशेष अनुष्ठान गर्ने चलनसमेत भेटिन्छ । त्यस दिन मन्त्रपूर्वक संस्कारित यज्ञोपवीतलाई वर्षभरि धारणयोग्य मानिनु पनि संस्कार एक दिनको कार्यक्रम होइन, निरन्तर जीवनस्मरण हो भन्ने भावसँग जोडिन्छ ।

ऋषितर्पणदेखि क्वाँटीसम्म

जनैपूर्णिमाको नेपाली स्वरूपको सबैभन्दा सुन्दर पक्ष यसको बहुलता हो । नेवार समुदायमा यो गुँही पुन्हीका रूपमा मनाइन्छ । क्वाँटीको परम्पराले वर्षायाम, कृषि, गेडागुडी, खाद्य विविधता र पोषणलाई सांस्कृतिक जीवनसँग जोड्छ । पाटन उपत्यकामा प्रचलित ब्याँचा नकेगु–भ्यागुतालाई भोजन अर्पण गर्ने परम्पराले वर्षा, धानखेती, जल र जीव–जगत्बिचको पारस्परिक सम्बन्धलाई लोक संस्कृतिमा अभिव्यक्त गर्छ । आधुनिक पारिस्थितिकीमा भ्यागुताको खाद्यशृङ्खला तथा किरो नियन्त्रणमा भूमिका रहेको तथ्यले यस्तो परम्परालाई नयाँ दृष्टिले बुझ्ने अवसर दिन्छ ।

गोसाइँकुण्ड स्नानले जनैपूर्णिमालाई हिमाल, जल, तीर्थ, तपस्या र शिवभक्तिसँग जोड्छ । कठिन तीर्थयात्रा, पवित्र जलमा स्नान र सामूहिक श्रद्धाले बाह्य शुद्धतासँगै आत्मसंयम र आत्मचिन्तनको अवसर दिन्छ तर प्रकृतिलाई देवत्व प्रदान गर्ने संस्कृतिको वास्तविक परीक्षा पूजाअर्चनामा मात्र होइन; तीर्थको जल, वन, हिमाल र जैविक विविधताको संरक्षणमा हुन्छ । गोसाइँकुण्डलाई पवित्र मान्ने हो भने त्यसको स्वच्छता र पर्यावरणीय अखण्डताको रक्षा गर्नु पनि धार्मिक कर्तव्यकै विस्तार हुनु पर्छ । रक्षाबन्धनले यस पर्वलाई सम्बन्ध, संरक्षण र वचनबद्धताको आयाम दिन्छ–

“येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः । 

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”

दाजुभाइ, दिदीबहिनीबिचको प्रेम, राखी, टीका, भेटघाट र उपहारको परम्परा नेपालका तराई–मधेश क्षेत्र तथा भारतका विभिन्न समुदायमा विशेष रूपले विकसित भएको छ । भारतमा यही पूर्णिमा कतै रक्षाबन्धन, अवनि अवित्तम् तथा उपाकर्म, नारली (नरिवल) पूर्णिमा आदि विभिन्न नाम र स्वरूपमा मनाइन्छ । एउटै तिथिले भूगोल, पेसा, कृषि, समुद्र, परिवार र स्थानीय इतिहास अनुसार फरक अर्थ ग्रहण गर्नु सनातन सांस्कृतिक परम्पराको गतिशीलताको प्रमाण हो । नेपालमा जनैपूर्णिमामा बाँधिएको रक्षासूत्रलाई पछि गाई तिहार र औँसीका दिन गाईलाई अर्पण गर्ने स्थानीय चलनले मानव, पशु र प्रकृतिबिचको सम्बन्धलाई अझ रोचक बनाउँछ । 

यसै पूर्णिमासँग संस्कृत दिवस जोडिनु पनि संयोग मात्र होइन । उपाकर्म र वेदाध्ययनको पुनः आरम्भसँग सम्बन्धित तिथिमा ज्ञान परम्पराको भाषाका रूपमा संस्कृतको स्मरण स्वाभाविक सांस्कृतिक निरन्तरता हो । भारतमा सन् १९६९ देखि संस्कृत दिवस मनाउने परम्परा सुरु भयो भने नेपालमा विसं २०७४ देखि संस्कृत दिवस मनाउने अभियान अघि बढेको उल्लेख गरिन्छ । यसको वास्तविक उद्देश्य संस्कृतलाई केवल सङ्ग्रहालयको भाषा बनाउनु होइन यसमा निहित दर्शन, साहित्य, व्याकरण, आयुर्वेद, योग, तर्क र ज्ञान परम्परालाई अनुसन्धान, अनुवाद, प्रविधि र नयाँ पुस्ताको बौद्धिक जीवनसँग जोड्नु हो ।

धागो फेरिने कि चेतना ?

जनैपूर्णिमाको स्वास्थ्यसम्बन्धी पक्षलाई पनि ऋतुचर्या, स्वच्छता, आहार, सद्वृत्त, संयम, ध्यान र मानसिक अनुशासनसँग जोडेर बुझ्न सकिन्छ । वर्षायाममा स्वच्छ जल, सुरक्षित भोजन, पाचन अनुकूल आहार र व्यक्तिगत सरसफाइको महìव अत्यधिक हुन्छ । क्वाँटी जस्ता गेडागुडीका परिकार पोषणका दृष्टिले उपयोगी हुन सक्छन् तर जनै लगाउँदा हृदयरोग, रक्तचाप, शुक्रकीट, स्नायु वा शरीरको विद्युत् प्रवाह निश्चित रूपमा नियन्त्रित हुन्छ भन्ने जस्ता दाबीलाई पर्याप्त वैज्ञानिक प्रमाणबिना ‘वैज्ञानिक तथ्य’ भन्नु उचित हुँदैन । परम्पराको गरिमा बढाउने बाटो अप्रमाणित दाबी थप्नु होइन; शास्त्रीय मान्यता, लोकविश्वास र प्रमाणित विज्ञानबिचको भिन्नता सम्मानपूर्वक स्वीकार गर्नु हो ।

आज एउटा गम्भीर प्रश्न हाम्रो सामुन्ने छ; के जनै हाम्रो जीवनदर्शनको प्रतीक रह्यो, कि केवल पर्वको पहिरन ? वर्षभरि जनै धारण गर्ने तर त्यससँग सम्बन्धित स्वाध्याय, गायत्री, संयम, सत्य, कर्तव्य, ऋषिऋण र सदाचारलाई जीवनबाट अलग गर्ने प्रवृत्ति बढ्दै गएको छ । प्राकृतिक सुती धागोको स्थानमा बजारमा बढ्दै गएका कृत्रिम तथा सिन्थेटिक जनै र रक्षासूत्रले पनि हामीलाई परम्परा र बजारबिचको सम्बन्धबारे सोच्न बाध्य बनाउँछन् । परम्परा बदलिन सक्छ तर यसको आत्मा बजारमा हराउनु हुँदैन । त्यसैले अबको आवश्यकता अन्धअनुकरण होइन, अर्थपूर्ण पुनर्जीवन हो; प्राकृतिक सामग्रीको प्रयोग, तीर्थ र जलस्रोतको संरक्षण, स्थानीय आहार तथा लोक ज्ञानको अभिलेखीकरण, संस्कृत र शास्त्रीय ग्रन्थको आलोचनात्मक अनुसन्धान, युवापुस्ताको सहभागिता, लैङ्गिक तथा सामाजिक मर्यादाको समावेशी पुनव्र्याख्या र संस्कारलाई व्यवहारसँग जोड्ने शिक्षा । जनैपूर्णिमा एउटा दिनको कर्मकाण्डबाट वार्षिक आत्मसमीक्षा र जीवनपरिवर्तनको संस्कार बन्नु पर्छ ।

हामीले जनै फे‍र्यौं; तर के हामी पनि फेरियौँ ? काँधमा जनै राख्न सजिलो छ; मनलाई संयमित राख्न कठिन । ऋषिलाई तर्पण गर्न सजिलो छ; ऋषिको ज्ञानलाई जिउन कठिन । हातमा रक्षासूत्र बाँध्न सजिलो छ; अरूका लागि सुरक्षा र भरोसा बन्न कठिन । क्वाँटी खान सजिलो छ; अन्न र प्रकृतिप्रति कृतज्ञ बन्न कठिन । गोसाइँकुण्डमा स्नान गर्न सकिन्छ; तर प्रकृतिलाई पवित्र राखिरहन कठिन । संस्कृत दिवस मनाउन सजिलो छ; तर ज्ञान परम्परालाई अनुसन्धान र आचरणबाट जीवित राख्न साधना चाहिन्छ ।

जनै धागो मात्र होइन; दायित्वको स्मरण हो । ऋषितर्पणी केवल तर्पण होइन; ज्ञानप्रतिको कृतज्ञता हो । रक्षाबन्धन केवल गाँठो होइन; परस्पर संरक्षणको सङ्कल्प हो । क्वाँटी केवल भोजन होइन; ऋतु, अन्न र पोषणसँगको सम्बन्ध हो । भ्यागुताको सम्मान केवल लोकाचार होइन; प्रकृतिसँगको सहअस्तित्वको स्मृति हो । गोसाइँकुण्ड केवल स्नान होइन; प्रकृति र आत्म परिष्कारको यात्रा हो । संस्कार केवल कर्मकाण्ड होइन–मानिसलाई संस्कारित, उत्तरदायी र मानवीय बनाउने जीवनसाधना हो । हिमालको पवित्र जलदेखि घरको क्वाँटीसम्म, ऋषिको मन्त्रदेखि संस्कृतको अक्षरसम्म, रक्षासूत्रको गाँठोदेखि मानव–प्रकृतिको सम्बन्धसम्म; जनैपूर्णिमाले हामीलाई एउटै प्रश्न सोधिरहन्छ । धागो फेर्यौ; अब चेतना कहिले फेर्ने ?

  https://gorkhapatraonline.com/news/220201

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal

हाम्रा गीत प्राज्ञिक छैनन् : गायक राजेशपायल राई