शताब्दी यात्रामा त्रिचन्द्र


blog

नेपालकै उच्च शिक्षाको पहिलो केन्द्र त्रिभुवन चन्द्र कलेजको स्थापना विसं १९७५ भदौ १२ मा भएको थियो । यही दिन दरबार स्कुलको मजलिस घरबाट अध्ययन अध्यापनको श्रीगणेश भएकाले सोही दिनलाई यस संस्थाले आफ्नो स्थापना दिवस मान्छ । सरकारी कलेजका रूपमा स्थापना गरिएको यस संस्थाको नाम तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरको नामबाट राखिएको थियो । पछि यसको नाम त्रिचन्द्र कलेज राखियो । विसं २०३० मा त्रिविको आङ्गिक भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पस भनिन्छ । त्रिचन्द्रमा पूर्णकालीन अध्यापक २५१ र कर्मचारी ७८ गरी जम्मा ३२९ जनशक्ति रहेका छन् । विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक विज्ञानमा गरी जम्मा २४ वटा विभाग छन् । यी विभागका विभिन्न शैक्षिक कार्यक्रममा लगभग सात हजार पाँच सय विद्यार्थी पठनपाठन गर्दै आएका छन् । 

राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा उच्च शिक्षाका निमित्त एउटा कलेज आवश्यक भएको महसुस गरी स्थापना गर्ने निर्णय गरेका थिए । त्रिचन्द्र कलेज स्थापना हुनुका कारण  तत्कालीन नेपालको राजनीतिक, सामाजिक तथा अन्तर्राष्ट्रिय परिस्थितिले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । प्रमुख कारणमा भारतमा महात्मा गान्धीको नेतृत्वमा चलेको अङ्ग्रेज विरोधी ‘भारत छोड’ आन्दोलनबाट नेपाली विद्यार्थीहरू प्रभावित हुन सक्ने, भारतका विभिन्न सहरमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको चाप, चन्द्रशमशेरको बेलायत भ्रमणपछि शिक्षाको विकासबारे प्राप्त अनुभव, बेलायती राजा जर्ज पन्चमसँगको भेटघाट र उनको नेपालको शिक्षामा चासो तथा प्रथम विश्वयुद्धपछि लेखपढ गर्न नजान्ने गोर्खा सैनिकलाई बेलायत सरकारले सेवाबाट निष्काशन गर्न सुरु गरेको तथ्य उल्लेखनीय छन् । यिनै परिस्थितिले नेपालमा शिक्षाको विस्तार गर्नुपर्ने आवश्यकता अझ स्पष्ट बनाएको थियो । कलेजको प्रारम्भिक चरणमा दरबार स्कुलका सम्बन्धित शिक्षक तथा भारतीय र नेपाली विद्वान्हरूले यहाँ अध्यापन गरेका थिए । बटुकृष्ण मैत्रलाई प्रथम प्रिन्सिपल बनाइयो । उनी दरबार स्कुलका तत्कालीन प्रधानाध्यापक थिए । कलेजको आफ्नै नवनिर्मित भवनको उद्घाटन भने सन् १९१९ अक्टोबर १३ मा भव्य रूपमा सम्पन्न भएको उल्लेख छ । लगभग १४ महिना लगाएर तयार गरिएको भवनको लागत ७० हजार रुपियाँ परेको तथ्य छ । सो दिन राजा त्रिभुवनद्वारा कक्षाकोठाअघि झुन्ड्याइएको साँचो खोलेर उद्घाटन गरिएको थियो । यस उद्घाटनमा  वाचन गरिएको कविता यहाँ उल्लेख गर्नु 

सान्दर्भिक ठहरिन्छः 

सुविधाको बज्यो घन्टा

बिलायो मोहको टन्टा ।

अविद्याको टुट्यो डन्डा

गिरायो मोहको झन्डा ।।

तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले चित्रन्द्र कलेजको उद्घाटनपछि ‘मैले आफ्नो खुट्टामा आफैँ बन्चरो हानेँ’ भन्ने भनाइ व्यक्त गरेको तथ्य इतिहासमा अध्ययन गर्न पाइन्छ । ऐतिहासिक घण्टाघरपरिसर (वीर पुस्तकालय) मा अवस्थित यस कलेजले एक शताब्दीभन्दा बढी समयदेखि नेपालको उच्च शिक्षा, वैज्ञानिक अनुसन्धान, साहित्यिक विकास, न्यायसेवा सार्वजनिक प्रशासन तथा राजनीतिक रूपान्तरणमा अतुलनीय योगदान पु¥याएको छ । यसका विशेषता र योगदानलाई यसरी पनि स्मरण गर्न सकिन्छ :

विद्यालयस्तरको शिक्षाको क्रमशः विकास भए पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थी भारत वा अन्य देशमा जानुपर्ने बाध्यता थियो । यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले त्रिचन्द्र कलेज स्थापना गरियो । प्रारम्भिक चरणमा नेपालमा विश्वविद्यालय नभएकाले यस कलेजलाई ब्रिटिस–भारतको पटना विश्वविद्यालको सम्बन्धन दिइएको थियो । नेपालस्थित ब्रिटिस रेजिडेन्ट वेलीले त्रिचन्द्र कलेजलाई पटना विश्वविद्यालको सम्बन्धन दिलाउन सकारात्मक भूमिका निर्वाह गरेका थिए । 

महान सहिदहरू गङ्गालाल श्रेष्ठ र दशरथ चन्ददेखि साहित्यतर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत, पुष्कर शमशेर, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, सत्यमोहन जोशी, स्वरसम्राट् नारायण गोपाल, पूर्वप्रधानमन्त्री कीर्तिनीधि विष्ट र गिरिजाप्रसाद कोइराला तथा यदुनाथ खनाल, डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, तुलसीलाल अमात्य, गगन थापालगायत विशिष्ट व्यक्तित्वहरूले यस क्याम्पसको गौरवलाई अझ उचाइ दिएका छन् । यिनका अतिरिक्त सयौँ शिक्षाविद्, वैज्ञानिक, प्रशासक, न्यायविद् तथा अनुसन्धानकर्ताहरूले नेपालको राष्ट्रनिर्माणमा योगदान पुर्‍याएका छन् । 

त्रिचन्द्र कलेज केवल एउटा शैक्षिक संस्था मात्र होइन; यो नेपालको लोकतान्त्रिक चेतना र राष्ट्रिय रूपान्तरणको मुख्य राजनीतिक–बौद्धिक केन्द्र पनि हो । विसं २००७ को राणा शासनविरुद्ध क्रान्ति, २०४६ को जनआन्दोलन र २०६२/६३ को  परिवर्तनमा यस क्याम्सका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ ।

नेपालमा आधुनिक विज्ञान शिक्षाको प्रारम्भ पनि त्रिचन्द्र कलेजसँगै जोडिएको छ । सन् १९१९ मा इन्टरमिडियट विज्ञान कार्यक्रम तथा सन् १९४५ मा स्नातक तहको विज्ञान (बिएस्सी) कार्यक्रम सञ्चालन गरी यस क्याम्पसले विज्ञान तथा प्रविधि शिक्षाको नयाँ युग प्रारम्भ गर्‍यो । त्यसपछि भौतिकशास्त्र, रसायनशास्त्र, वनस्पतिशास्त्र, प्राणीशास्त्र, भूगर्भशास्त्र, मौसम विज्ञान, सूक्ष्मजीवशास्त्र तथा वातावरण विज्ञान जस्ता विषयमा दक्ष जनशक्ति उत्पादन हुन थाले । यहाँ एक ऐतिहासिक प्रसङ्गको उल्लेख गर्नु वाञ्छनीय हुन्छ– तत्कालीन नेपाल सरकारको डाइरेक्टर जनरल अफ मेडिकल डिपार्टमेन्टले सन् १९३४ डिसेम्बर ११ मा त्रिचन्द्र कलेजलाई लेखेको पत्रको बेहोरा यसप्रकार छ– वीरगन्जको मेडिकल अफिसरले वरियारपुरकी गर्भवती महिला भगवतिया कनुनी (कानु अर्थात् हलुवाइकी श्रीमती) को पेटको मासुको टुक्रा पठाएको र सोको रासायनिक विश्लेषण गरी पठाउन अनुरोध गरेको थियो । यसप्रकार कुनै कालखण्डमा आजको अस्पतालको प्याथोलोजीको कामसमेत त्रिचन्द्र कलेजले गरेबाट यसको ऐतिहासिक गरिमा तथा महिमा प्रस्टिन्छ । यस क्याम्पसको १०९ बर्से इतिहासमा प्रथम महिला क्याम्पस प्रमुख प्राडा नीलम श्रेष्ठको भनाइ छ – यस क्याम्पसको विज्ञानका प्रयोगशालामा पुरातात्त्विक महत्वका यथेष्ट सामग्री र उपकरणहरू छन्, जसलाई एक सङ्ग्रहालय बनाउन सकियोस् । नेपालको भूगर्भीय अध्ययन, जलवायु अनुसन्धान, प्राकृतिक स्रोत व्यवस्थापन, पूर्वाधार विकास तथा विपत् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत धेरै वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिक जनशक्ति यही क्याम्पसबाट तयार भएका छन् । यस अर्थमा त्रिचन्द्र कलेजलाई नेपालको वैज्ञानिक विकासको आधारशिला भन्न सकिन्छ ।

विज्ञान शिक्षासँगै मानविकी तथा सामाजिक विज्ञानको आरम्भ पनि त्रिचन्द्र कलेजको योगदान समान रूपमा महत्वपूर्ण छ । कलेजमा यस सङ्कायतर्फ गणित, तर्कशास्त्र, इतिहास, अङ्ग्रेजी, नेपाली र संस्कृत गरी जम्मा छ वटा विषय अध्ययन अध्यापन हुन्थ्यो । हाल  नेपाली, अङ्ग्रेजी, इतिहास, दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, समाजशास्त्र मानवशास्त्र, सामाजिक कार्य तथा कम्प्युटर एप्लिकेसनका अध्ययन–अध्यापनमार्फत यस क्याम्पसले नेपालको बौद्धिक र प्राज्ञिक जीवनलाई समृद्ध बनाएको छ ।

त्रिचन्द्र कलेजको यात्रा

पटना विश्वविद्यालयको सम्बन्धनबाट सुरु गरेको यात्रा आज त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक आङ्गिक क्याम्पसका रूपमा त्रिचन्द्र कलेजले अगाडि बढाइरहेको छ । विसं २०२८ मा लागु भएको राष्ट्रिय शिक्षा योजनाले नेपालको उच्च शिक्षालाई केन्द्रीकृत संरचनामा रूपान्तरण गर्‍यो । यसपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका धेरै क्याम्पस सञ्चालन हुन थाले । विसं २०३० मा त्रिचन्द्र कलेज आङ्गिक क्याम्पसका रूपमा त्रिविमा समाहित भयो । यद्यपि त्रिचन्द्र कलेजले आफ्नो ऐतिहासिक महत्व र शैक्षिक प्रतिष्ठा कायम राखेको छ । आज पनि विज्ञान तथा मानविकीका धेरै विषयमा यो देशकै अग्रणी अध्ययन केन्द्रका रूपमा परिचित छ ।

चुनौती

लामो इतिहास र गौरवपूर्ण अतीत भए पनि त्रिचन्द्र कलेजले हाल केही गम्भीर भौतिक र प्रशासनिक चुनौती खेपिरहेको छ । नवशास्त्रीय  वास्तुकलामा निर्मित घण्टाघर तथा वीर पुस्तकालयपरिसरका पुराना भवन र २०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिलाई मौलिकतामा कुनै खलल नपुग्ने गरी प्रबलीकरण र पुनर्निर्माण गर्नु अत्यावश्यक छ । ७० प्रतिशत काम सम्पन्न भएको र ३० प्रतिशत मात्रै बाँकी रहेको जानकारीमा आएको छ । अत्याधुनिक प्रयोगशाला, डिजिटल कक्षाकोठा, सूचना प्रविधिमैत्री शिक्षण र अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माणका लागि स्रोतसाधनको विस्तार गर्नु आवश्यक छ । वैश्विक परिवेश नवप्रवर्तन र पेटेन्टतर्फ अघि बढिरहँदा त्रिचन्द्रमा अनुसन्धान संस्कृति र उद्योग–कलेज सहकार्यलाई सुदृढ बनाउनै पर्छ । कलेजका प्रमुख प्राडा नीलम श्रेष्ठको भनाइ छ– निकट भविष्यमा नै त्रिचन्द्र अनुसन्धानको हब बन्ने छ । साथै कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु परिवर्तन, जैविक विज्ञान, विपत् व्यवस्थापन र सार्वजनिक नीतिमा विशिष्ट अनुसन्धान सेलहरूको स्थापना, व्यापक पूर्वविद्यार्थी सञ्जाल (अल्मुनाई) लाई उपयोग गर्दै अनुसन्धान कोष, छात्रवृत्ति र नवप्रवर्तन प्रयोगशालाहरूको विस्तार स्नातकोत्तर तथा विद्यावारिधि तहका अन्तरविषयक  अनुसन्धानलाई प्राथमिकता दिनु पर्छ । त्रिचन्द्र कलेजका पूर्वविद्यार्थी डा. केदारभक्त माथेमा प्राध्यापक हुँदै त्रिभुवन विश्वविद्यालयको उपकुलपति पनि हुनुभयो । उहाँको कथन छ– त्रिचन्द्रलाई सबल बनाउनका निमित्त आर्थिक सुविधासहितको स्वायत्तता दिनु पर्छ, जसले राष्ट्र र बजारको मागबमोजिम पाठ्यक्रम निर्माण गरी डिग्रीसमेत प्रदान (अवार्ड) गर्न सकोस् । डा. माथेमाको जोड छ – त्रिचन्द्र कलेज जस्तो ऐतिहासिक गौरव बोकेको संस्था, जसले प्रधानमन्त्रीदेखि, न्यायिक, प्रशासनिक, कूटनीतिक, राजनीतिकदेखि सैन्य अधिकारी जन्माएको छ, सम्बन्धित अल्मुनाई बनाई क्याम्पसको हित प्रवर्धन गर्न विलम्ब गर्नु हुँदैन ।

नेपालकै सबैभन्दा जेठो कलेज त्रिचन्द्र कलेजको इतिहास, एउटा शिक्षण संस्थाको वृतान्त मात्र होइन, आधुनिक नेपालको ज्ञानमा आधारित रूपान्तरण र चेतनाको इतिहास हो । यसको गौरवशाली यात्रालाई आत्मसात् गर्दै ऐतिहासिक सम्पदाको संरक्षण, आधुनिक पूर्वाधार, अनुसन्धानमुखी शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यमार्फत अगाडि बढ्नु पर्छ । यसो हुन सकेमा त्रिचन्द्र बहुमुखी क्याम्पसले आगामी दिनमा पनि समृद्ध नेपाल निर्माणमा आफ्नो अग्रणी भूमिका कायम राख्नेमा कुनै दुविधा छैन । तथापि नेपाल सरकारले ऐतिहासिक क्याम्पसको पुरातात्त्विक सम्पदाको संरक्षण, आधुनिक पूर्वाधार, अनुसन्धानमुखी शिक्षाको निमित्त विशेष आर्थिक प्याकेज ल्याउन विलम्ब गर्नु हुँदैन । 

  https://gorkhapatraonline.com/news/220203 

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal

हाम्रा गीत प्राज्ञिक छैनन् : गायक राजेशपायल राई