समाज : मिलचोकको कुचोदेखि रोम्दुको पुलसम्म: स्थानीयलाई श्रममा जोड्दै ‘श्रम संस्कृति’

 शिवप्रसाद ढुंगाना जेठ २७, २०८३ बुधबार १०:५३:४७



ओखलढुङ्गा : गत पुस ५ गते ओखलढुङ्गाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिका-११ मिलचोकमा कुचो समातेर सुरु भएको एउटा सामान्य सरसफाइ अभियानले अहिले जिल्लाभरि विकासको नयाँ आयाम ल्याउने अनुमान कसैले गरेको थिएन। पुस १२ गते धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ आफैँ ओखलढुङ्गा ओर्लिएर आमसभा गरेपछि जिल्लामा जुन ‘श्रम संस्कृति’को बीउ रोपिएको थियो, त्यो अहिले १८ औँ हप्तामा आइपुग्दा बृहत् बन्दै गएको छ। यसको अगुवाइ श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूले गरिरहेका छन्।

अहिले जिल्लाका गाउँ-गाउँमा विकासका लागि राज्यको मुख ताक्ने पुरानो परिपाटी भत्किएको छ। सरकारी बजेट र योजनाहरूमा श्रमदान गर्न उदासीन देखिने नागरिकहरू अचेल श्रम संस्कृति पार्टी ओखलढुङ्गाले चलाएको अभियानमा भने कुटो, कोदालो र साबेल बोकेर सहभागिता जनाउन थालेका छन्। 'हामीले अपिल गर्दा कार्यकर्ता र मतदाताबाहेक अरू नागरिक पनि सहभागी हुनुहुन्छ,' जिल्ला अध्यक्ष दर्वाराज राईले अनुभव सुनाए।

पार्टीका कार्यकर्ता, समर्थक र आम सर्वसाधारणको उत्साहजनक सहभागिताका कारण यो अभियान अहिले ओखलढुङ्गाका बहुसङ्ख्यक स्थानीय तह र वडाहरूमा विस्तार भएको छ। हाल सिद्धिचरण नगरपालिकाको बर्णालु क्षेत्र, मानेभञ्ज्याङ गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ तथा खिजिदेम्बा गाउँपालिकाका वडा नम्बर ३, ४ र ९ मा अभियानले तीव्रता पाएको छ। त्यसैगरी चम्पादेवी गाउँपालिकाका वडा नम्बर ३ र ६, सुनकोशी गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा लिखु गाउँपालिका क्षेत्रमा समेत यो अभियान सुरु भइसकेको अध्यक्ष राईको भनाइ छ। १८ हप्ताको छोटो अवधिमा श्रमदानकै माध्यमबाट जिल्लाभरि सयौँ मिटर नयाँ सडक निर्माण, पुराना सडकहरूको मर्मत तथा गोरेटो बाटोहरू बनाउने काम सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

सडक मर्मत र सफाइबाट सुरु भएको यो यात्राले अहिले स्थायी पूर्वाधार निर्माणमा ठूलो फड्को मारेको छ। अभियानकै निरन्तरतास्वरूप सोमबार मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३, उबूस्थित रोम्दु खोलामा १४ मिटर लामो पक्की पुलको भव्य शिलान्यास गरिएको छ। करिब ३० लाख रुपैयाँको लागत अनुमान गरिएको यो पुल निर्माणका लागि आर्थिक व्यवस्थापनको मोडल पनि निकै लोभलाग्दो र पारदर्शी छ।

श्रम संस्कृति पार्टी ओखलढुङ्गाका जिल्ला अध्यक्ष दर्वाराज राईका अनुसार पुल निर्माणका लागि आवश्यक पर्ने खर्च देश तथा विदेशमा रहेका शुभेच्छुक र सहयोगी नेपालीहरूबाट स्वतन्त्र रूपमा जुटेको हो। विदेश र स्वदेशमा रहनुभएका सहयोगी मनहरूको योगदानबाटै पुल बनाउने खर्च जुटेको स्पष्ट पार्दै अध्यक्ष राईले सङ्कलित रकम केवल निर्माण सामग्री खरिद र फिल्डमा खटिने श्रमदाताहरूको खाना तथा खाजा खर्चमा मात्र उपयोग हुने बताए। पुल निर्माणका लागि आवश्यक पर्ने बाँकी सम्पूर्ण प्राविधिक तथा शारीरिक श्रम पूर्ण रूपमा निःशुल्क जनश्रमदानबाटै बेहोरिनेछ।

नेपालमा सरकारी योजनाहरू उपभोक्ता समिति र ठेक्कापट्टाको चक्करमा फसिरहेका बेला, श्रम संस्कृति पार्टीले ओखलढुङ्गामा देखाएको यो मोडलले राजनीति र विकासलाई सिधै जनताको पसिना र आत्मसम्मानसँग जोडिदिएको स्थानीय बताउँछन्।

https://annapurnapost.com/story/501506/?fbclid







Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal