झापा ५ : सयौँ अवसर झापामै खन्याउँदा पनि ओलीले बेहोरे लज्जास्पद हार !
विराटनगर । नेपाली राजनीतिको एउटा अध्याय अन्त्य भएको छ भने नयाँ युगको सूत्रपात भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५, जसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभेद्य किल्ला मानिन्थ्यो । त्यसलाई परिवर्तनको लहर बोकेका बालेन्द्र (बालेन) शाहले ध्वस्त पारिदिए ।
एउटा निर्वाचनबाहेक २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक आफ्नै गढमा ४९ हजार ६१४ मतको फराकिलो मतान्तरले पराजित भएका छन् । हिजोसम्म विपक्षीलाई लज्जास्पद पराजयको स्वाद चखाउँदै आएका उनी यसपटक आफैँ अप्रत्याशित हार बेहोर्न विवश बने ।
निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणाम विवरण अनुसार बालेन्द्र शाहले ६८ हजार ३४८ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मतमात्रै पाए ।
२०७४ मा २८ हजार र २०७९ मा २८ हजारकै मतान्तरले जितेका ओलीका लागि यसपटकको ४९ हजार ६१४ मतको ‘नेगेटिभ’ मार्जिन राजनीतिक जीवनकै सबैभन्दा ठुलो धक्का सावित भएको छ ।
ओलीले २०४८ सालमा तत्कालीन झापा–६ बाट कांग्रेसका केशवकुमार बुढाथोकीलाई ४ हजार ५८७ मतान्तरले जितेका थिए । २०५१ मा पनि ओलीले उनै बुढाथोकीलाई ४ हजार ४५९ मतले पराजित गरे ।
२०५६ सालमा ओलीले काशीलाल ताजपुरियालाई ५ हजार ३९३ मतले पराजित गरे । तर, २०६४ सालमा ओलीलाई झापा–७ बाट तत्कालीन माओवादीका विश्वदीप लिङ्देनले ११६ मतले पराजित गरे । ओलीको यो पराजय पहिलो थियो ।
त्यसपछि २०७० सालमा कांग्रेसका सुरेशकुमार योङ्यालाई ६ हजार ९५९ मतले पराजित गरेका ओलीले २०७४ सालमा कांग्रेसकै खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले र उनै अधिकारीलाई २०७९ सालमा २८ हजार ५७६ मतले पराजित गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहपछि युवा पुस्तामा देखिएको आक्रोश ओलीका लागि घातक बन्यो । बालेनले त्यस आन्दोलनमाथि भएको दमनलाई मुख्य एजेन्डा बनाएका थिए । झापाका हजारौँ नयाँ मतदाता र युवाहरूले विकासका पुराना गफभन्दा बालेनको लोकप्रियतालाई विश्वास गरे ।
२०७४ मा माओवादी र २०७९ मा राप्रपाको सहारामा भारी मतले जितेका ओली यसपटक एक्लै थिए । राप्रपाका लक्ष्मी प्रसाद सङ्ग्रौला र नेकपाका रञ्जित तामाङ आफैँ उम्मेदवार बने । त्यस्तै नयाँ दलकै रुपमा आएको श्रम संस्कृति पार्टीका समिर तामाङले पनि ओलीकै मतमा धावा बोले ।
पटक–पटक प्रधानमन्त्री हुँदा पनि जनअपेक्षा पूरा नभएको र संसद् विघटनजस्ता घटनाले जनतामा पैदा गरेको निराशालाई ‘परिवर्तन’ को नारामा बदल्न बालेन सफल भए ।
नेपाली कांग्रेसले पहिलो पटक महिला उम्मेदवार मन्धरा चिमरियालाई मैदानमा उतारेपछि ओलीलाई सहज हुने अनुमान गर्नेहरू पनि थिए । तर, मन्धरालाई भोट नदिनेहरूले ओलीको साटो बालेनलाई नै मतदान गरेको तथ्याङ्कले देखाउँछ ।
झापा–५ मा एमालेको बलियो संगठन र ग्रासरुट नेटवर्क हुँदाहुँदै पनि ओलीको हारले पार्टीभित्र भूकम्प ल्याएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा दिने नेता आफ्नै निर्वाचन क्षेत्रका जनताको विश्वास जोगाउन असफल भए । उनको यो पराजयले आफ्नो मात्रै होइन, एमालेको भावी राजनीतिक दिशामाथि नै अन्योल छाएको छ ।
२०७१ असार ३१ मा पार्टी नेतृत्व सम्हालेपछि राष्ट्रिय राजनीतिको मियो बनेका ओली यसपटक संसद् बाहिर रहने भएका छन् । विकासप्रेमी र राष्ट्रवादी छविका बाबजुद पनि समयको पदचाप र युवाहरूको आकांक्षालाई चिन्न नसक्दा ओलीले आफ्नै गढमा लज्जास्पद पराजय व्यहोर्नुपरेको राजनीतिक विश्लेषकहरूको ठहर छ ।
ओलीले आफू जित्न के के गरे ?
केपी शर्मा ओलीले आफूलाई खतरा नहोस् भनेरै झापामा विकास निर्माण (पूर्वाधार विकास)को बाढी लगाएका थिए । योजना बनाएर होस् या अनुरोध गर्नेहरूको योजना स्वीकार गरेर होस्, उनले जथाभावी राज्यकोषको रकम खन्याएका थिए । त्यतिमात्रै होइन, उनले आफू पदमा रहँदा झापा, त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रका व्यक्तिहरूलाई बढी प्राथमिकता दिएको विगतका कदमले नै देखाउँछ ।
उनले यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्द सूचीका ११० उम्मेदवारमध्ये २७ जना कोशीबाटै राखे । त्यसमध्ये अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट मात्रै ९ जना छन् ।
झापाबाट एमालेको समानुपातिकको सूचीमा पर्नेहरूमा नर्वदादेवी शिवाकोटी, लता प्रसाईं, जितबहादुर दर्जी गौतम, मेनुका काफ्ले, विद्यानन्द सिंह राजवंशी, नीता घतानी, बीणाकुमारी साह र अनिता कन्दङ्वा छन् । समानुपातिकमै राखेका सोम पोर्तेललाई त्यहाँबाट राजीनामा गराएर राष्ट्रिय सभा सदस्यमा पठाए ।
त्यसबाहेक एमालेको नवौँ महाधिवेशन (२०७१ साल)बाट अध्यक्षको रूपमा निर्वाचित भएपछि केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाका एमालेहरूलाई सकेजति अवसर दिएका छन् । उनी प्रधानमन्त्री हुँदाका बखत जिल्लामा विकास बजेट खन्याउनेमात्रै होइन, झापालीलाई मनग्ये अवसर दिएका छन् । त्यसका लागि एमाले भएर उनको समर्थक हुनुपर्ने अघोषित शर्त थियो ।
पार्टीको ११औँ महाधिवेशनमा झापाबाट आफ्नो प्यानलबाट सचिवमा हिक्मतकुमार कार्कीलाई जिताए । केन्द्रीय समितिमा देवेन्द्र दाहालदेखि जेनजी एलिसा गौतमसम्म १७ जनालाई अटाए ।
२०७९ सालको निर्वाचनमा झापा–२ बाट निर्वाचित देवराज घिमिरेलाई ओलीले सभामुख बनाए । अरुकै नाम चर्चामा रहँदा ओलीले झापाली घिमिरेलाई च्यापेका थिए । आफू प्रधानमन्त्री बन्दा उनले झापाकै देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाए ।
प्रतिनिधि सभामा मात्रै होइन, ओलीले कोशी प्रदेश सरकार र प्रदेश सभामा पनि झापालाई नै ध्यान दिन्छन् । कोशी प्रदेशका मुख्यमन्त्री झापाकै हिक्मतकुमार कार्की छन् । एमालेले पाएको मुख्यमन्त्रीसहितको पाँच वटा मन्त्रालयमध्ये खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री पनि झापाबाटै एकराज कार्कीलाई बनाए । हाल सो मन्त्रालयमा मन्त्रीको रूपमा झापाबाट एमालेका तिलचन पाठक छन् ।
संघीय संसद् अन्तर्गत २०७९ मा एमालेले समानुपातिकमा ३४ जना सांसद जितेको थियो । त्यसमध्ये ओलीले चार जनालाई झापाबाट सिफारिस गरे । उनले अमृतलाल राजवंशी, कालुराम राई, सुनिता बराल र हर्कमाया विश्वकर्मालाई सांसद बनाए । राष्ट्रिय सभा निर्वाचनमा पनि कोशी प्रदेशको कोटाबाट झापाकै देवेन्द्र दाहाललाई अवसर दिए ।
कोशी प्रदेश संसद् अन्तर्गत २०७९ मा एमालेले समानुपातिकमा १५ जना सांसद जितेको थियो । त्यसमध्ये तीन जना झापाकै निर्वाचित बने, जसमा तारादेवी ढकाल, कमला थापा मगर र नम्बरलाल धिमाल छन् । त्यसबाहेक ओलीले झापाकै पूर्वगभर्नर बनेका युवराज खतिवडालाई राजदूत हुँदै अर्थमन्त्रीसम्म बनाए । झापाकै अग्नि खरेललाई महान्यायाधिवक्ता बनाए । खरेललाई कानुनमन्त्री पनि बनाए ।
२०७९ सालको निर्वाचनमा झापाबाट संघीय संसदमा प्रत्यक्षतर्फ ३ वटा क्षेत्रमा र प्रदेश सभाको ६ वटा क्षेत्रमा एमालेले जित निकालेको थियो । ७ वटा पालिकामा एमालेले जितेको थियो । प्रतिनिधि सभातर्फ एमालेले समानुपातिकमा झापाबाट एक लाख २७ हजार ७८० मत ल्याएको थियो ।
त्यसको तुलनामा एमाले २०७४ मा अझै बलियो थियो । प्रतिनिधि सभामा ३ वटा जितेको एमालेले प्रदेश सभामा ८ वटा क्षेत्र जितेको थियो । पालिका ७ वटामा जितेको थियो । त्यसबेला एमालेले झापाबाट समानुपातिकतर्फ १ लाख ६० हजार ६३९ मत ल्याएको थियो । यो तथ्याङ्कलाई हेर्दा एमालेका लागि अवसर बढिरहँदा मत परिणाम भने घटिरहेको देखिएको छ ।
संघीय निर्वाचन क्षेत्र ५ र प्रदेश निर्वाचन क्षेत्र १० रहेको झापामा २०७९ सालको निर्वाचनपछि एमालेसहितका दलहरूबाट समानुपातिक प्रतिनिधि सभामा १२ जना, राष्ट्रिय सभामा २ र कोशी प्रदेश सभामा २० सहित ३४ जनाको प्रतिनिधित्व थियो ।
यस पटक भने ओलीले दिएका दर्जनौँ अवसरको खातलाई पन्छाउँदै काठमाडौँबाट प्रतिस्पर्धा गर्न झापा झरेका बालेन्द्र शाहले सानदार जित दर्ता गराए ।
https://www.ratopati.com/story/549045/despite-creating-hundreds-of-opportunities-in-jhapa-oli-suffered-a-humiliating-defeat
Comments
Post a Comment