सिन्धुलीगढी युद्ध नायक वंशु गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन

 

काठमाडौं । विश्वमा पहिलोपटक अंग्रेज फौज परास्त गरेर नेपालको भूगोलको रक्षा गर्ने सिकारी सरदार वंशु (वंश) लेम गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ ।


बि.सं. १८२४ असोज १५ गते भएको सिन्धुलीगढी युद्धमा अंग्रेज फौजलाई पराजय गरेर नेपाललाई वैदेशिक आक्रमणबाट बचाएर नेपालको अस्तित्व जोगाउन योगदान दिएको भन्दै हुलाक सेवा विभागले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपालको अस्तित्व जोगाउन महत्वपूर्ण योगदानको गरेकाले हुलाक टिकट प्रकाशनको माग गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले चैत १७ गते वंशुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो ।


हुलाक सेवा विभागद्वारा आयोजित एक समारोहका बीच सञ्चार गुरुङले टिकटमा टाँचा लगाएर टिकट सार्वजनिक गरे ।
सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङले अंग्रेज फौज परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलोपटक पराजय भोगेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको योगदानको सम्मान गर्दै उनको तस्वीर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो ।

लमजुङको कपुर गाउँमा जन्मिएका सिकारी सरदार वंशु (वंश) गुरुङ बसाई सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर पुगेका थिए । उनी लेम (लाम्छाने) खलकका हुन् ।

हुलाक टिकटकमा टाँचा लगाउँदै मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङले नेपालको भूगोल बचाउन अतुलनीय योगदान गरेको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणाका लागि योग्य व्यक्तित्व भएको बताए ।
बेलायती साम्राज्यवदलाई तत्कालीन अवस्थाको संसारमा कसैले हराउन नसकेको अजयशक्ति सिन्धुलीगढी युद्धमा पराजित भएको भन्दै मन्त्री गुरुङले सिन्धुलीगढीको युद्धलाई अनुपम र ऐतिहासिक बताउन वीरयोद्धा वंशु गुरुङहरुको भूमिका सराहनीय रहेको स्पष्ट पारे ।


सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्षलाई सरकारको तर्फबाट सम्मान समेत गरिएको थियो । प्रतिष्ठानको तर्फबाट आफ्नो पुर्खाको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेकोमा आभार व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।


विश्वमा कहिल्यै नहारेको अंग्रेज फौजलाई परास्त गर्न योगदान गरेका सिकारी सरदार वंशुलाई नेपाल बचाउने बाजे भनेर समेत चिनिन्छ । उनको योगदानलाई चिरस्थायी बनाउन वंशुका सन्ततिले तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा २०७६ सालमा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान गरेका छन् । सो प्रतिष्ठानले ढोर जस्पुरमा २०७८ सालमा वंशुको अर्धकदको शालिक समेत निर्माण गरेका छन् ।


त्यस्तै युद्धस्थल सिन्धुलीगढीमा नेपाल सरकारबाट पूर्ण कदको शालिक निर्माण गर्नुका साथै युद्ध संग्रहालय समेत निर्माण गरिएको छ ।


आफ्ना पुर्खाको सम्मानका लागि प्रतिष्ठानले हरेक वर्षको असोज १५ गते सिन्धुलीगढी विजयोत्सव ढोर जस्पुरमा मनाउँदै आएको छ । त्यस्तै, सिन्धुलीगढीमा आयोजना गरिने विजयोत्सवमा हरेक वर्ष उत्साहजनक सहभागिता जनाउँदै आएको छ । त्यस्तै, बेलायतमा बसोबास गर्ने बंशुका सन्ततिले प्रतिष्ठानको बेलायत शाखा गठन गरेर भव्य रुपमा आयोजना गरिने नेपाली मेलामा वंशुका योगदान झल्कने प्रदर्शनी गर्दै आएको संयोजक लेख गुरुङले जानकारी दिए ।

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal