इतिहासविद् मञ्जुल याक्थुम्बाको निधन

 कान्तिपुर संवाददाता

काठमाडौँ — इतिहासविद् मञ्जुल याक्थुम्बा (मञ्जुलकुमारसिंह याक्थुम्बा लिम्बू)को ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वाशप्रश्वासलगायत समस्याबाट ग्रस्त याक्थुम्बाको उपचारका क्रममा काठमाडौंका ह्याम्स अस्पतालमा आइतबार निधन भएको हो ।

इतिहासविद् मञ्जुल याक्थुम्बाको निधन

१९९२ जेठ २३ गते ललितपुरको तिखेदेवलमा जन्मिएका याक्थुम्बा लिम्बू जातिमा पहिलो एसएलसी उत्तीर्ण व्यक्ति थिए । राजनैतिक विज्ञान र इतिहास विषयमा स्नातकोत्तर हासिल याक्थुम्बा एक कुशल प्रशासक (प्रमुख जिल्ला अधिकारी) तथा इतिहासविद्का रूपमा चिनिन्थे ।

याक्थुम्बाका ‘मौलिक किरात धर्म–संस्कार’, ‘किरात तीर्थस्थल सानो हात्तिवन’, ‘मुन्धुम र मिथकहरू’ र ‘को हुन् किरात र किरात लिम्बू ? के हो युमा धर्म ?’ कृति प्रकाशित छन् । यसका अलावा चुम्लुङले प्रकाशन गर्दै आएको ‘तान्छोप्पा’ मासिकलगायत विभिन्न पत्रपत्रिकामा याक्थुम्बाका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् ।

उनी लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको पूर्वअध्यक्ष पनि थिए । याक्थुम्बाले चुम्लुङको नेतृत्व गरेको समयमा काठमाडौं उपत्यकामा रहेका किरात जातिको सामूहिक थलो सानो हात्तिबन क्षेत्रलाई ‘किरात धार्मिक वन’ घोषणा, किरातचाड घोषणा, पशुपति श्लेष्मान्त क्षेत्रमा समाधिस्थल कायम गर्न राज्यसाग समन्वयात्मक भूमिका निर्वाह गरेको किरात राई यायोक्खाका तत्कालीन अध्यक्ष कुलबहादुर राईले बताए । त्यसैगरी ‘किरात येले संवत्’ पुनःस्थापनाका निम्ति ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’समेत भएको थियो ।

याक्थुम्बाको निधनप्रति किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले विज्ञप्ति जारी गर्दै चार दिन ‘शोक बिदा’ को घोषणा गरेका छन् । कुनै औपचारिक कार्यक्रम नगर्ने, चुम्लुङको झण्डा आधा झुकाउने र कार्यालय बन्द रहने जनाएको छ । ‘याक्थुम्बाले लिम्बू समाज, लिम्बुवान सभ्यता, आदिवासी आन्दोलन एवं राष्ट्रनिर्माण अभियानमा पुर्‍याउनु भएको योगदान र खेल्नु भएको भूमिकाको उच्च सम्मान व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

याक्थुम्बाका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रकाशित : कार्तिक १३, २०८० १८:५७

https://ekantipur.com/literature/2023/10/30/historian-manjul-yakthumba-passed-away-57-31.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal