प्रदेश १ - सामाजिक अभियन्ता पूर्वगोर्खा इस्बोको निधन

कान्तिपुर संवाददाता

सुनसरी — ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान निधन भएको छ ।

तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहका दीर्घरोगी उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।

उनी धरानका विभिन्न संघसंस्थाका सक्रिय नेतृत्वकर्ता थिए । करिब तीन दशकअघि ब्रुनाईमा भएको गोर्खा आन्दोलनमा नेतृत्व गर्दा उनीसहित ११ जनालाई जागिरबाट हटाइएको थियो, त्यसबेला उनी जुत्ताचप्पलबिना खाली खुट्टा नेपाल आइपुगेका थिए । पूर्वगोर्खा भएर पनि उनी हङकङ र बेलायत नगई धरानमै बसेर विकास निर्माणमा जुटेका थिए ।

पूर्व गोर्खाको सन्तानका लागि वित्तीय वृद्धि गर्न गोर्खा सहकारी संस्था, गोर्खा सपिङ कम्प्लेक्स, भूपू गोर्खा एकता समाज, गोर्खा स्मृति पार्क निर्माणको नेतृत्व उनले लिएका थिए । उनी पूर्वगोर्खाको अधिकारका लागि सत्याग्रह आन्दोलनका नेपाल अध्यक्षसमेत थिए । इस्बो पछिल्लो समय जनता समाजवादी पार्टीका सल्लाहकार र लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए ।

उनी गएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा मेयरको प्रत्यासीसमेत बनेका थिए । २०१४ असार ४ गते तेह्रथुमको साविक आठराई–२ खाम्लालुङ वाइफुङ गाउँमा जन्मेका उनी गाउँकै स्कुलमा माध्यमिक तहको अध्ययन गर्दागर्दै २०३४ सालमा गोर्खा ब्रिटिस आर्मीमा भर्ती भई २०४९ सालमा अवकाश पाएका थिए ।

उनलाई नजिकबाट चिन्ने धरानका विकास निर्माणमा सँगै काम गरेका पूर्वगोर्खा रमेश राईले भने, ‘एउटा निस्वार्थी, असल समाजसेवी, धरानको विकास निर्माणका लागि स्पष्ट भिजन भएका पूर्वगोर्खा साथी हामीले गुमायौं ।’ इस्बोका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित : कार्तिक १८, २०७७ १८:४३https://ekantipur.com/pradesh-1/2020/11/03/160440828913175716.htm
l

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal