समाचार - त्रिविको बजेट २३ अर्ब पाँच करोड


कान्तिपुर संवाददाता
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले ‘त्रिवि सेन्टर अफ एकेडेमिक एक्सिलेन्सी’ निर्माण गर्न १५ बुँदे कार्ययोजना पारित गराएका छन् । कार्ययोजनामा त्रिविको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धान कार्य प्राथमिकता, निश्चित शैक्षिक पात्रो, परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरणलगायत विषय छन् ।
गत कात्तिक १७ मा उपकुलपतिमा नियुक्त उनले शुक्रबार त्रिवि सभाको बैठकबाट आफ्नो कार्ययोजना पारित गराएका हुन् । त्रिविलाई बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन थलो बनाउने उनको भनाइ छ ।

प्राध्यापकहरूको क्षमता अभिवृद्धि गरी पेसाप्रति उत्प्रेरणा जगाउने कामको थालनी गर्ने, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको प्रभावकारी नियमन, सरकार तथा उपभोक्तासँग समन्वय गर्दै पाठ्यक्रम परिमार्जन, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने पनि योजनामा छ । त्रिविको सम्पत्ति पहिचान, नियमन, संरक्षण र संस्थागत हितमा अधिकतम उपयोग गर्ने, विद्यार्थीका निम्ति १० प्रतिशत छात्रवृत्ति कोटा कडाइसाथ कार्यान्वयन गर्ने, खेलकुद व्यवस्था गर्ने, त्रिवि आलुम्नाईलाई विश्वविद्यालयको हितमा प्रयोग गर्ने, सुशासनलाई जोड दिन तथा समयसापेक्ष त्रिवि ऐन, नियम, विनियम परिमार्जन तथा संशोधन गर्दै कानुनी रूपमा विश्वविद्यालयलाई सक्षम बनाइने उनले बताएका छन् ।

त्रिविको भिजन २०२०–३० लाई टेकेर व्यवस्थित बनाउने उपकुलपति बाँस्कोटाको दाबी छ । ‘त्रिविलाई हामीले परिकल्पना गरेअनुरूपको सेन्टर अफ एकेडेमिक एक्सिलेन्सीका रूपमा स्थापित गर्न सक्षम हुनेछौं,’ उनले भने । यसैबीच त्रिवि सभाले आव ०७६/७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजारको बजेट पारित गरेको छ । रजिस्ट्रार डिल्लीराम उप्रेतीद्वारा प्रस्तुत बजेटलाई सभाले सर्वसम्मत पारित गरेको हो । बजेटमा नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी ८ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ छ ।

विकासतर्फ ६१ करोड ८५ लाख विनियोजन भएको छ, जसमा पुँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरिएको छ । जसमा विश्वविद्यालय अनुदान आयोगबाट १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान मागिएको छ । बाँकी त्रिविको आन्तरिक आम्दानीबाट बेहोर्ने बजेटमा उल्लेख छ ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:४४https://ekantipur.com/news/2019/11/30/157508636299963698.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal