शिक्षक लाइसेन्स परीक्षा असोज दोस्रो साता


सामुदायिक विद्यालयमा शिक्षक थोरै रहेका विज्ञान, गणित र अंग्रेजी विषयमै सबैभन्दा कम आवेदन परेको छ ।
कान्तिपुर संवाददाता
काठमाडौँ — शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ । 
असार २ को विज्ञापनमा २ लाख ८३ हजार जनाले शिक्षक लाइसेन्स लिन आवेदन दिएका थिए । आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो । तीनै तहको ४० पूर्णांक बराबरको उत्तरपुस्तिकासमेत यस पटकबाट मेसिनबाट परीक्षण गरिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिए । अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।

आवेदकहरूको फारम रुजु गर्ने काम जारी रहेकाले कति परीक्षार्थी हुन्छन् भन्ने यकिन भइसकेको छैन । भदौ १५ सम्म रुजु सकेर प्रवेशपत्र प्रिन्ट गर्ने व्यवस्था गरिने थपलियाले बताए । आयोगले २ लाख ५० हजार हाराहारीमा परीक्षार्थी हुने अनुमान गरेको छ । अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएकाले परीक्षार्थीहरूले आफैं प्रवेशपत्र प्रिन्ट गर्न सक्नेछन् ।

३ घण्टाको परीक्षामा ४० मिनेट वस्तुगत र ६० पूर्णांक बराबर २ घण्टा २० मिनेट विषयगत परीक्षा हुनेछ । पहिले हुने ४० मिनेटको परीक्षाको उत्तरपुस्तिका मेसिनबाट परीक्षण गरिने हुँदा आयोगले परीक्षार्थीहरूलाई सचेत हुनसमेत आग्रह गरेको छ । ‘मेसिनले परीक्षण गर्ने उत्तरपुस्तिका मोड्न वा कुच्याउन हुँदैन,’ उनले भने, ‘वस्तुगत प्रश्नको गोलाकार चिहनभित्र संकेत गरेर निरीक्षकलाई बुझाउनुपर्छ ।’

यसअघि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको परीक्षाका लागि ल्याएको ओएमआर मेसिन शिक्षक सेवा आयोगले प्रयोग गर्न लागेको हो । लोकसेवा र मेडिकल शिक्षाको स्नातक र स्नाककोत्तरको तहको परीक्षामा पनि यस्तो मेसिनको प्रयोग हुँदै आएको छ ।

प्राविमा ८३ हजार, निमाविमा १ लाख २७ हजार र मावि तहमा ७६ हजार जनाले शिक्षण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा शिक्षक थोरै रहेका विज्ञान, गणित र अंग्रेजी विषयमै लाइसेन्सका लागि सबैभन्दा कम आवेदन परेको छ ।प्रकाशित : श्रावण २५, २०७६ १९:१९https://www.kantipurdaily.com/news/2019/08/10/156544406526265203.htm
l

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal