समाचार - ‘रेडियोलाई राजनीतिमा नजोडौं’

कान्तिपुर संवाददाता , काठमाडौं
श्रावण ३, २०७४- नेपाली सेनाले ‘पवित्र भावना’ ले अन्य प्रजातान्त्रिक मुलुकमा झैं एफएम चलाउन लागेको भन्दै यसलाई राजनीतिमा नजोड्न आग्रह गरेको छ । एफएम रेडियो स्टेसनको प्रसंगलाई राष्ट्रिय राजनीतिसँग जोडी फरक रूपमा प्रस्तुत गर्न खोजेको पाइएको भन्दै सेनाले आफ्नो यस्तो धारणा व्यक्त गरेको हो । 
नेपालको संविधान तथा कानुनको परिधिभित्र रहेर विपत् व्यवस्थापन, वन्यजन्तु संरक्षण, अन्तर्राष्ट्रिय शान्ति कार्यमा नेपाली सेनाको योगदानलगायत विषयमा जानकारी दिन नेपाली सेनाले एफएम रेडियो प्रसारण गर्न लागेको सेनाले जनाएको छ । स्वास्थ्य उपचार तथा अन्य सैनिक गतिविधिबारे सूचना तथा शिक्षामूलक सन्देश सैनिक, सैनिकका परिवार तथा नेपाली जनता र सम्पूर्ण सरोकारवालासमक्ष पुर्‍याउने र राष्ट्रभक्तिको भावना विकास गर्ने कार्यमा सहयोग पुर्‍याउने उद्देश्य रहेको भन्दै सेनाले नेपाली जनता तथा सरोकारवालाको सूचनाको हकको समेत कदर गर्दै सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन खोजेको बताएको छ ।
‘आफ्नै सेना र उनका परिवारका लागि लक्षित एफएम स्टेसन सञ्चालन गर्ने प्रयास पवित्र भावले गरिएको हो,’ सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको ध्यानाकर्षण विज्ञप्तिमा भानिएको छ, ‘दुई वर्षअघि विनाशकारी भूकम्पको समयमा सूचना प्रवाहसम्बन्धी महसुस भएको कठिनाइलाई समेत दृष्टिगत गरी भविष्यमा यस प्रकारको दैवी विपत्तिको अवस्थामा खोज, उद्धार तथा राहतका साथै जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाह अझ प्रभावकारी बनाउन र आवश्यकताअनुसार पूर्वजनाउ दिने व्यवस्थासमेत विकास गर्ने उद्देश्य रहेको छ ।’
विकसित र प्रजातान्त्रिक मुलुकहरूमा समेत सैनिक गतिविधिबारे सैनिक तथा अन्य सरोकारवालालाई सुसूचित गर्न रेडियो तथा टेलिभिजन सेवा सञ्चालन भएअनुसार सेनाले नेपालको राष्ट्रिय प्रसारण ऐन २०४९ तथा प्रसारण नियमावली २०५२ को परिधिभित्र रही सञ्चालन गर्ने प्रयास गरिएको जनाएको छ । विज्ञप्तिमा सेना आफ्नो प्राथमिक भूमिका तथा व्यावसायिकताबाट कहिल्यै पनि विचलित नहुने भन्दै आगामी दिनमा पनि नेपालको संविधान तथा संवैधानिक सरकारप्रति बफादार रही उच्च सैनिक व्यावसायिकता कायम राख्ने उल्लेख गरिएको छ । 
प्रकाशित: श्रावण ३, २०७४

http://kantipur.ekantipur.com/news/2017-07-18/20170718081348.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal