साहित्य/विविध - फोकल्यान्ड युद्ध अनुभव

कान्तिपुर संवाददाता , काठमाडौं
जेष्ठ ३, २०७४- गणेश राईको परिचय जति अवकाशप्राप्त बेलायती गोर्खा सैनिक हो, त्यति नै युद्ध साहित्य लेखक पनि हो । खोटाङमा जन्मेका र पछिल्लो समय बेलायत बस्दै आएका उनी उतै बसेर कलम चलाउने गर्छन् । अहिले त्यस्तै स्वादको पाँचौँ कृतिसाथ आएका छन् ।

‘फोकल्यान्ड जर्नल’ राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा कवि वैरागी काइँला र वरिष्ठ साहित्यकार झलक सुवेदीले लोकार्पण गरे । काइँलाले नेपालीमा अभाव रहेको युद्ध साहित्यको परिपूर्तिमा राईले आफ्ना तर्फबाट प्रशंसनीय काम गरिरहेको उल्लेख गरे । ‘डायरी शैलीको यो पुस्तकमा बेलायत र अर्जेन्टिनाबीच दक्षिणी आन्ध्र महासागरमा रहेको सानो टापुका लागि भएको लडाइँलाई त्यसमा लडेको सिपाहीको कोणबाट यथार्थपरक वर्णन गरिएको छ,’ उनले भने, ‘यसैले यो पुस्तकको अभिलेखीय महत्त्व बढी छ ।’
फोकल्यान्ड युद्धमै सहभागिताका कारण सन् ८० को दशकदेखि अर्जेन्टिनासहित दक्षिण अमेरिकी क्षेत्रमा गोर्खालीहरू अनाहकमा बदनाम हुँदै आएको सम्झना गर्दै सुवेदीले थपे, ‘खासमा फोकल्यान्डका लागि भएको युद्धमा गोर्खालीले क्रूरता प्रदर्शन गरेका थिएनन् । बेलायतले अर्जेन्टिनीहरूलाई मनोवैज्ञानिक त्रासमा पार्न गोर्खालीहरू अति क्रूर हुन्छन् भनी प्रोपगान्डा फैलाएको थियो । त्यहाँका सैनिक र नागरिकमा त्यही छाप पर्‍यो । राईजीको किताबले एउटा सीमासम्म त्यसको प्रतिवाद गरेको छ । फोकल्यान्ड युद्धको वास्तविक चित्रण यति सरल भाषामा आउनु आफैँमा उपलब्धि हो ।’ 
फोकल्यान्डमा गोर्खालीहरूले मानवताविरोधी एउटै अपराध नगरे पनि अहिलेसम्म भोगिरहनुपरेको बदनामी हटाउन उक्त पुस्तक लेखेको राईले सुनाए । ‘फोकल्यान्ड जर्नल’ वी रिडले छापेको हो । राईका यसअघि कविता संग्रह ‘राइफलले फलाकेको जिन्दगी’ तथा तीन वटा उपन्यास ‘राइफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राइफलको संगीत’ र ‘राइफलको मूच्र्छना’ आइसकेका छन् ।
प्रकाशित: जेष्ठ ३, २०७४
http://kantipur.ekantipur.com/news/2017-05-17/20170517083332.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal