समाचार - शिक्षक जुटे मातृभाषा पाठ्यक्रम बनाउन

कान्तिपुर संवाददाता , ओखलढुंगा
जेष्ठ १९, २०७३- मातृभाषामा औपचारिक पठनपाठनका निम्ति वाम्बुले राई शिक्षकहरु जुटेका छन् । वाम्बुले राई शिक्षक समाजको आयोजनामा 'वाम्बुले राई शिक्षकलाई मातृभाषा र किरात लिपि प्रशिक्षण'सहित राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ को पाठ्यक्रम निर्माण गरेका हुन् । 

तथ्यांकले वाम्बुले मातृभाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेका छन् । यो भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरीलगायत दर्जनभन्दा बढी जिल्लामा बोलिन्छ ।
स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सम्पन्न पाँचदिने कार्यशालामा भाषाशास्त्री डा. नेत्रमणि राई, लिपिविज्ञ प्राज्ञ अमर तुम्याहाङ, वाम्बुले राई समाजका उपाध्यक्ष तथा पत्रकार गणेश राईले प्रशिक्षण दिएका थिए । त्यस अवसरमा ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी बीरेन्द्रजंग थापाले संविधान, शिक्षा ऐनमा मातृभाषाको व्यवस्था भएको उल्लेख गर्दै व्यवहारमा लागू गर्न स्थानीय मातृभाषी शिक्षकको पहल सकारात्मक रहेको बताए । पाठ्यक्रम निर्माणमा भगवती उच्चमाविका संयोजक नारायणप्रसाद बाँस्तोला, बहुभाषिक शिक्षाका प्रशिक्षकद्वय राज्यलक्ष्मी माविका शिक्षक महाजित राई र भगवती उमाविका बुद्धिबहादुर राईलगायत जुटेका थिए । ओखलढुंगा, खोटाङ र सिन्धुलीका विभिन्न विद्यालयमा कार्यरत २५ जना शिक्षक सहभागी रहेको समाजका महासचिव दिपकबहादुर राईले जनाए । कार्यशालामा निर्मित पाठ्यक्रमलाई औपचारिक कार्यान्वयनका निम्ति शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रमा पेश गरिनेसमेत उनले बताए ।
 प्रकाशित: जेष्ठ १९, २०७३


http://kantipur.ekantipur.com/news/2016-06-01/20160601204423.html?is_ifooter=1

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal