६ दिन स्कुल टेकेका ‘गौनबर’ मुन्दमको विश्वविद्यालय (खालिङ समुदायको कुनै धामी वा पुर्खा)

 गीलु रातोस

आइतबार, १० जेठ २०८३
झट्ट हेर्दा भियतनामी क्रान्तिका नायक हो ची मिन्ह जस्तो । फुलेका छुस्स दारी । जुँगा पनि अधिकांश फुलिसकेका, तर हो ची मिन्हका भन्दा पनि पातला । बुढ्यौलीले छोएको भए पनि पुक्क परेका गाला । जहाँ उमेर र दुःखका थुप्रै धर्साहरु कोरिएका छन् । चिम्सो आँखा वरिपरि एकदमै नगण्य परेला र आँखीभौँ ।

थेप्चो नाकसँगै अनुहारमा थुप्रै कोठीहरूले भरिदिएको सौन्दर्य । एउटा खाट्टी आदिवासी अनुहार । फेंगाले अझै उनको पहिचानमा सुन्दरता थपेका थिए, जो हो ची मिन्हको हुलियामा पाइँदैन ।

सायद बुढ्यौलीले होला, एउटा ठुलो सिमलको रुखमा अडेसिएर भम् (अर्नाको सिङबाट बनाइने बाजा) बजाउन तम्सिरहेका थिए । उनको हुलियाले मलाई आकर्षित गर्‍यो र अनुमतिबिनै मैले उनको तस्बिर खिचेँ । खालिङ समुदायको कुनै धामी वा पुर्खा हुन सक्ने अनुमानका आधारमा पनि उनलाई आफ्नो क्यामेरामा कैद गरेँ ।

उनले जब आफ्नो मुखमा लगेर भम् बजाउन थाले, वरिपरि भेला भएका सबैलाई चकित पारे । भम् यति लामो समय बजाए कि त्यो अविश्वसनीय थियो । ०८० ज्येष्ठ ८ गतेको दिन उनको तस्बिर त मैले सङ्ग्रह गरेँ तर, उनीसँग नजिकिएर कुरा गर्ने अवसर कहिल्यै जुरेको थिएन ।

०८१ चैत्र २ गते उनलाई दोस्रो पटक भेट्ने संयोग जुर्‍यो । काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित खालिङ राईहरूको तम्र कम (मुन्दुमी घर)मा उसैगरी सबैको ध्यान खिच्दै उनी भम् बजाइरहेका थिए । उनलाई देखेर ममा खुसीको सीमा रहेन । गद्गद भएँ ।

त्यस बेला चाहिँ मैले उनको भम् बजाउने विशेष कला र क्षमतालाई भिडियोमा कैद गरेँ । सन्दर्भ थियो, तम्र (मुन्दुम) सङ्कलन, लेखन र प्रकाशन गर्ने उद्देश्यका साथ किरात खालिङ राई उत्थान सङ्घद्वारा आयोजित ‘ख्याःल् तम्र कार्यशाला तथा पुर्खा सम्मेलन–२०८१ ।’

गाउँबाट १५० जनाभन्दा बढी तम्रमी (मुन्दुमी)हरुलाई काठमाडौंमा निमन्त्रण गरी सङ्घले पहिलो पटक संस्थागत रूपमा प्राज्ञिक कार्यको थालनी यसरी गरेको थियो ।

सम्मेलनमा गौनबरले आफूसँग भएका वा आफूले जानेका तम्र र मिथकहरू सहज र लचक भएर प्रस्तुत गरे । त्यसपछि थाहा भयो, उनी मुख्य रूपमा ‘ब्वाल नोक्छो/खवा’ (स्वभाविक मृत्युवरण गर्नेहरूको आत्मालाई बलमदेल अर्थात् पितृहरूको वासस्थान ‘पाङमुजे’सम्म बाटो देखाउने धामी) रहेछन् ।

तथ्याङ्कअनुसार जीवित पुर्खाहरूमध्ये उमेरले दोस्रो ज्येष्ठ हुन् उनी । यो कुरा थाहा पाएर म झनै खुसीले फुरुक्क भएँ । किनभने मृत्युसम्बन्धी तम्र सङ्कलन, लेखन र सम्पादनको प्रमुख जिम्मेवारी मेरो काँधमा थियो/छ । गौनबर तम्रको खानी मात्रै पनि होइनन् रहेछ । उनी त एक विश्वविद्यालय नै रहेछन् ।

उनी खालिङ राईहरूको सृष्टि, जन्म, विवाह, वास (साकेला), न्यागी, मृत्यु वा अन्य संस्कार तम्रहरुको गहिरो ज्ञान राख्दछन् । यद्यपि, मुख्य रूपमा उनी मृत्यु संस्कारको खवा र विवाहको मूल पुर्खा हुन् । त्यसैले तम्रको विश्वविद्यालयसँग तम्र सङ्कलन गर्न पाउनु मेरा लागि खुसीको अद्भुत क्षण बन्ने नै भयो ।

गौनबर अर्थात् सम्मानित नाम

‘गौनबर’ एक पुरुषवाचक उपनाम हो । खालिङ राई समुदायमा हरेक व्यक्तिको यस्ता उपनाम हुने गर्छन् । किनभने व्यक्तिको सिधै नामबाट बोलाउनु खालिङ राई समुदायको संस्कारभित्र अपमानित जस्तो हुन जान्छ । गौनबरको खास नाम हो– रामबहादुर खालिङ राई ।

ritu

तर, उनको यो नाम खासै कसैलाई थाहा छैन । किनभने खालिङ राई समाजमा यस्ता नामहरूले सरकारी कामकाजमा बाहेक खासै अर्थ राख्दैनन् । यस्तै उपनामहरूलाई लिएर कहिलेकाहीँ हामी ठट्टा पनि गर्छौँ– ‘यलम्बरको खास सन्तान त हामी पो हौं । किनभने ‘यलम्बर’सँग मिल्दो नाम हामीसँग अझै छन्, जस्तैः गौनबर, मजम्बर, सुजम्बर, बिजम्बर, निजम्बर आदी ।’ यद्यपि यसप्रकार नामहरू खालिङ राई समुदायमा अनगिन्ती छन् ।

तम्र लेखनको प्रक्रिया निकै तीव्र रूपमा अघि बढ्दै तम्र लेखन कार्यदललाई पुनः गौनबरको आवश्यकता पर्‍यो र उनलाई फेरि काठमाडौँ निमन्त्रणा गरियो । तम्रको लागि बिना हिचकिचाहट आफ्नो बुढो शरीर लिएर फुर्तीसाथ काठमाडौँ आइपुगे, गौबर । त्यही मौकामा गौनबरसँग उनको तम्र यात्राबारे केही कुरा गर्न काठमाडौँको मूलपानीस्थित उनको छोरी–ज्वाइँको निवासमा पुग्यौँ, अर्का युवा पुर्खा मिङमार खालिङ राईसँग ।  

६ दिन मात्रै स्कुल टेकेका गौनबर

गौनबरको जन्म वि.सं. २००१ साल फागुन हो । तर उनलाई गते थाहा छैन । किनभने उनका आमा प्रीति लक्षी राई र पापा पन्चहर्क राई उनलाई जन्म गते न कहिल्यै बताए न त कतै लेखेर राखिदिए । र उनको जन्मस्थान हो, सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–४ स्थित लोम्रुको काङ्देल गाउँ ।

उनी जन्मिएकै स्थानमा वास ख्वाम् (साकेला थान) छ । जहाँ एउटा सिमलको अजंगको रुख छ (खालिङ राईहरू अधिकांश स्थानमा सिमलको रुख वरिपरि सबै जना मिलेर वृत्ताकारमा वास सिली नाच्दछन्) । गौनबरले घरै छेउको वासख्वाममा सानैदेखि त्यही सिमलको रुख वरिपरि वास सिली नाचेको हेर्दै हुर्किए । जहाँ हरेक उभौली र उधौलीमा वास नाच्ने र प्रकृतिलाई पुज्ने गरिन्छ ।

सानोमा गौनबर आफ्ना साथीहरुसँग मूख्य रूपमा ‘राजा कुकुर’ खेल खलेको र डोरी बाटेर लिङ्गे पिङ खेलेको सम्झना गर्छन् । गाउँको लोस्कु बजारमा वि.सं. २०१६ सालतिर स्कुल स्थापना भएको थियो । उनलाई पापाले सावाँ अक्षर छिचोल्न त सिकाइसकेका थिए ।

अक्षरसँगको आफ्नो सामिप्यताबारे गौनबर भन्छन्, ‘पापा अक्षेरी भएकाले सिकायो । पल्टन गएर सिकेको थियो होला । बाजे पनि अक्षेरी नै थिएछन् । तर उहिलेको अक्षर काइते थियो । अहिलेको जस्तो लिपी थिएन । लोस्कुको स्कुल चाहिँ म ६ दिन मात्रै गएँ ।’ तर, उनको पापा भने पेन्सन नपकाइ २/३ छुट्टीपछि आफ्नो नाम काटेर घरै बसे ।  

गल्लवालबाट भाग्दा

पछि गौनबरलाई पनि पल्टन लाग्नका लागि ख्यास्त्यापको धनेप्याप (धनको बाउ) गल्लावाल बनेर आए । उनको छोरासँगै गौनबर पनि पल्टन जानेवाला थिए । उभौलीमा वास मनाउँदै गौनबरलाई लिन आउने बाचा गरेर गल्लवाल फर्किए । तर, खै किन हो उनी आएको दिन गौनबर भागे । गल्लवालको छेउमै परेनन् ।

‘त्यो साल मैले मकैबारीबाट लुकेर पो वास् हेरेँ । तल आयो भने लगिहाल्ने । म आफैँ त्यस्तो । गएको भए कस्तो दर्जावाल हुन्थेँ हुँला हगि ! त्यस बेला ज्यान हेर्दा ठिकठाक भए पुग्थ्यो । लेखपढ खासै चाहिँदैनथ्यो । तौलने, जाँच्ने चलन पनि थिएन । निअक्षेरी नै लग्थ्यो । मेरो साथीहरू गए । पछि पो मलाई पछुतो भयो’ उनले केही थकथकी मानेजस्तो गरेर आफ्नो युवाकाल सुनाए । तर, पछि उनी गाउँमै बसेर पनि कलाविहीन बाँचेका छैनन् ।

उनी बिनायो खिप्छन्, बेयोङ (बाँसबाट बनाइएको काइँयो) बनाउँछन् । हँसिया र खुकुरीका दापमा सुन्दर बुट्टा कुँद्छन् । उनले बनाएका खम्बी धेरै खालिङहरुको छातिमा गहना बनेका छन् । उनकै यी सिप किनेर कतिले कतिलाई माया स्वरूप उपहार दिए । र, यी सबै सीप उनले गाउँका अग्रजहरूबाट सिकेका हुन् ।

आयोसाका कुशल गायक

जब उनी लक्का जवान भए, घ्वाम्त्यार, वाया बाया, जालिम, त्रिवेणीजस्ता रात्री मेलाहरु भर्न साथीहरुसँग हुल बनाएर जान थाले । तर, उनीहरूले कहिल्यै पनि त्यस्ता मेलाहरूमा फौदारी भने गरेनन् । बरु ‘आयोसा जुहारी’ गाएर रमाइलो गर्थे । ‘बजारतिर रातभरि आयोसा गाएर फल्र्याङ्गै उज्यालो पो पाथ्र्यौं त । घाम झुल्किदाँ चैँ घर आइसक्थ्यौं’, गौनबरले रोमाञ्चक हुँदै सुनाए, ‘जवानीमा त निद्रा पनि पो थाहै हुँदैनथ्यो तौ ।’ हा.. हा.. गर्दै आफ्नो जवानीलाई सम्झिएर उनी बुढ्यौली ओठमा हाँसो छर्छन् ।

उनले जावनीमा गाएको आयोसालाई सम्झेनन् मात्रै, गाएरै सुनाए । ‘गाउनु पर्‍यो भने त अझै गतिलै पो गाउँछु त’, उनी गाउन थाल्छन्– 

कति राम्रो बङ्गीत

सुन चेलीको समृतै बोली अमृत

आयो है आयो लाई.. लाई...

‘तरुनीहरुले चैं यस्तो जवाफ फर्काउँथे’, प्रतिद्वन्दीहरुको जवाफ पनि उनी सम्झन्छन्–  

किस्ता रस्ता सुनरैती

कतिमा राम्रो सुनैको मेवा सुन माइती

आयो है आयो लाई... लाई...

‘मेवा मिठै हो नि । हा.. हा.. ।’ मेवाको उपमा सम्झँदै उनले हाँस्दा उनका चिम्सा आँखा झनै हराए । उज्यालो हुँदा पनि उनीहरूको जुहारी नसकिए सल्लाहमै बिट मार्ने चलन थियो । बिट मार्दा पनि त्यसै मार्न नमिल्ने, एक–अर्कालाई खुबै अट्टु (अप्ठ्यारो) लगाउने चलन थियो । गौनबरले सुनाउँछन्, ‘हामीले एक–अर्कालाई लु यो हाम्रो माया मोह रुमालमा बन्द गरौँ कि शिरबन्दी बाकसमा बन्द गरौँ ? भनी सोधनी गर्नुपर्थ्यो ।

त्यसपछि लौ शिरबन्दी बकसमा बन्द गरौँ भन्यो भने बल्ल सल्ला मिल्यो । त्यसपछि, ‘शिरबन्दी बकसमै जम्मा भयो । अनि चाबी चाहिँ दायाँ कि बायाँ घुमाऊँ ?’ भनी सोधनी हुन्छ । ‘त्यसरी चाबी बन्द गरिएन भने के हुन्छ त ?’ यस प्रश्नमा गौनबर नोस्टाल्जिक हुँदै भन्छन्, ‘अनि त्यहाँ चाबी बन्द गरिएन भने त झन् लामो हुँदै जान्छ नि त । छरिएर के–के–हुन्छ, हुन्छ ! त्यही भएर बायाँ घुमाऊँ भनेपछि चाहिँ बल्ल बकस बन्द हुन्थ्यो । नत्र दायाँ घुमाऊँ भन्यो भने त पूरै गीत त छरिएर जाने । नसकिने । किनभने चाबी बन्द नभएपछि त बकस पनि भएन नि त ।’

निकैबेर सम्झिएर उनी गीतको बिट मार्ने शब्दहरू पनि सुनाउँछन्–

डोरी बाट्ने तोसोरी

सुने चेली रानी यो गीत अब राखुङ् है राखुङ् कसोरी ? 

आयो है आयो लाई... लाई... 

तरुनीहरू जवाफ दिन्थे– 

तकतके बन्दुक ताकुङ् है 

सुन माइती राजा यो गीत अब शिरबन्दी बकसमा राखुङ् है 

आयो है आयो लाई.. लाई... 

सिरान खोले राई (खालिङ)हरुको गाउँमा यसरी जुहारी खेलेर उहिलेका बाजे–बजुहरुले बजारबाटै बिहे गरेका कयौँ किस्सा छन् । तर, गौनबरकै दुमालेहरुले भने यसरी बिहे गरेनन् । तर, उनले सुनेका छन्, ‘बजारबाटै केटी पनि ल्याउँथे रे । कतिले त मन परेर हारेजस्तो गरिदिन्थे रे । मन परेन भने आफूसँग भएजति तुक्का जोडेर जित्ने गरी गाउँथे रे ।’ 

अहिलेको समाजलाई बाहिरी दुनियाँको रमझमले छपक्कै छोपेको छ । कतिपय सन्दर्भमा मौलिक पहिचानहरू सङ्कटमा छन् । ‘आयोसा’ पनि त्यही सङ्कटमा देखिन्छ । त्यसबेला हाट–बजारमा मात्रै होइन, बिहेवारि, घाँस–दाउरा, मेलापात जता पनि आयोसा मात्रै गाउने चलन थियो । चेली–माइतीबिच होस या कुनै दुई समूह (केटा–केटा र केटी–केटी पनि)बिच आयोसा भाकामा नै जुहारी खेल्ने चलन थियो । 

मुख्य रूपमा सिरान खोले राईहरूको समाजमा आयोसा भाका एकदम धेरै लोकप्रिय थियो । तर, पछिल्लो पुस्ताले मौलिक आयोसा गाउनुमा भन्दा गुमाउनुमा गर्व गरेको जस्तो देखिन्छ । उनीहरू चर्को सुनिने साउण्ड सिस्टममा अन्य गीत बजाएर झुम्ने चलन बढ्दो छ । तर, चुला वरिपरि बसेर तम्र गाएको सुन्ने र सिक्ने वा आयोसा गाउने चलन युवाहरूमा दुर्लभप्रायः छ । 

गौनबर भन्छन्, ‘हामी खाली आयोसाबाट जुवारी (जुहारी) खेल्ने चलन थियो । गाउँदै जाँदा एक–अर्कालाई खुबै अट्टु लगाउने चलन थियो । कहिलेकाहीँ चेली–माइति नै जुवारी गाउँथ्यौँ, कहिलेकाहीँ कुटुम्बहरूसँग गाउँथ्यौँ’ उनी थप्छन्, ‘बिहेतिर हो भने चाहिँ तिमीहरूले साँघु थापेछौ र यहाँ आइपुग्यौँ भनेर गाउने अनि उताबाट जवाफ फर्काउने चलन थियो । मरणमा बाहेक जहाँ पनि, जहिले पनि आयोसा गाउनु मिल्छ । हाम्रो पालामा आयोसाको मात्रै चलन थियो । चुड्के गीतहरू त हिजोअस्ति पो आको त ।’ 

  • बिहे भएको ६ वर्षपछि मात्रै श्रीमतीसँग

आयोसा गाउँदा–गाउँदै गौनबर पुर्खाको १८ सालमा मागी विवाह भयो । नजिकैको न्यागियाङ गाउँमा पापाका साथी थिए, बहुत प्रेमले बसेका । ‘पापाले तिम्रो छोरी मेरो छोरालाई दिनुपर्‍यो भनेछ, ससुरा मानिहालेछ । त्योबेला त आमा–पापाले भनेपछि भई त गो नि’ गौनबर केही नोस्टाल्जिक हुँदै भन्छन्, ‘तर ठग्नु चाहिँ ६ वर्ष ठग्यो । १७ वर्षको उमेरमा बिहे गराइदिएको । २४ सालमा रित छिनाएपछि मात्रै घर आयो ।’ 

त्यसअघि उनी विभिन्न चाडहरूको अवसरमा भाग विलो पुर्‍याउन ससुराली जान्थे । उनी खासै बोल्दैनथे । श्रीमती नआउने भएपछि धेर पनि बस्दैनथे, फर्किहाल्थे । ‘पठाउँदा पनि म त जाँदिन भन्ने । अनि म त्यस्तोलाई जाऊँ नभन्ने । लाज पनि लाग्ने । आजभोली भए त कहाँ छोड्थेँ र ? ओलिभाति भनेर नबोल्नेलाई बोल्नु लाएर, नहाँस्नेलाई पनि हाँस्नु लाएर ल्याउँथें । फुरुक्कै पार्थें नि ।’ 

बुढ्यौली हाँसोको सौन्दर्यसहित उनी भन्छन्, ‘म त पिटिक्कै नबोल्ने पो त । उसले पनि म नबोलेपछि मलाई मेरो बाउ माइतीले लाटासँग बिहे गरिदियो भन्ने पो सोंचेछ । रित छिनाएपछि आइसकेर पो उसले पछुताउँदै तिमी त यत्रो बोल्ने रैछौ त । हातमा सीप पनि रैछ । पहिले बोलोनौ, म त लाटा पो रैछ भनेर ठगेको नि भन्थ्यो । कहिलेकाहीँ रोइन्जेल कुस्ट्याउँथे । अनि उ रुँदा चैँ माया लाग्यो ।’ गौनबरको मुहारमा अघि देखिएको उज्यालो एकाएक कम हुँदै गयो ।

श्रीमती घर आइसकेपछि मात्रै गौनबरलाई पनि थाहा भयो कि आफ्नो श्रीमती त चलन राम्रो भएको र सिपालु रहेछ । श्रीमतिले बुनेको फेंगा उनलाई धेरै नै मन पर्ने । भावुक हुँदै गौनबर भन्छन्, ‘उसले कस्तो राम्रो भांग्रा (फेंगा) बुन्थ्यो । मसिनो धागोको बुन्थ्यो । उसले मलाई बुनिदिएको भांग्रा पछि लाउँदा–लाउँदै फाट्यो । बाँचेको भए त पछि पनि त बुनिदिन्थ्यो नि ।’ गौनबर मौन भए । माहौल मौन भयो । 

आँसुलाई आँखाको डीलमा जबरजस्ती अडाएर गौनबर बोल्छन्, ‘०३४ सालमा मेरो श्रीमतीको निधन भयो । हामी त १६ वर्ष मात्रै सँगै बस्न पायौँ ।’ गौनबर गला अवरुद्ध भए झैँ सुनिन्छन् । केहीबेरपछि सडकबाट बसले हर्न बजाउँदै हाम्रो मौनतालाई तोडिदियो । 

  • श्रीमतीको निधनपछि तम्रको यात्रा 

श्रीमती बितेको दुई वर्ष भएको थियो । उनी बिस्तारै शोकबाट तङ्ग्रिए । ३६ सालदेखि पुर्खाको साथी भएर विवाहको तम्रमा हात हाले । अर्थात् सहायक पुर्खा बने । ४२ सालपछि भने उनी आफैँ मूल पुर्खा भए । गौनबरको जीवनमा अर्को पनि एउटा दुःखद संयोग छ । ०६४ सालमा उनको कान्छा काकाको निधन भयो । स्वाभाविक मरणका आत्माहरूलाई बलमदेलसम्म बाटो लगाउने धामी थिए, काका । 

तर नोक्छोकै निधन भएपछि अरू कोही नोक्छो हुनुपर्ने भयो । गाउँमा सल्लाह भयो । सबैले गौनबरलाई नै रोजे । उ बेला गौनबरको बाजे, पापाले पनि यो काम गर्दै आएका थिए । उनले पापासँग हिँड्दा मृत्युसम्बन्धी तम्र लेखिराखेका पनि थिए । काकाको सहयोगी पनि जाने गर्थे । कति ठाउँमा काकाले भुल्दा उनै गौनबरले सुझाउँथे । त्यही कारण सबैले हत्ते गरेपछि गौनबरले पनि समाजको कुरा माने । र पहिलो पटक आफ्नो काकाको आत्मालाई बाटो देखाएर ‘ब्वाल नोक्छो’ बने । 

तर, आफू नोक्छो हुनुअघि उनले सर्त राखेका थिए, ‘लामो समय राख्ने भए मात्रै हुन्छ ।’ गाउँलेले माने र १८ दिनसम्म चिहानमा नै मृतकको आत्मालाई खाना ख्वाउने निर्णय भयो । त्यतिन्जेल उनले तम्र कण्ठ गरे । अन्ततः उनले काकाको आत्मालाई कुशलतापूर्वक पितृहरुको दुनियाँमा अवतरण गराए । 

समाजले उनलाई भन्यो, ‘ओ हो ! यल्ले चाहिँ गर्ने नै रैछ । जान्ने नै रैछ ।’ गाउँलेको कुराले गौनबर फुरुक्क भए ।  

गौनबरले आजसम्म करिब २०० जोडिको विवाहमा धरान काटिसकेका छन् । यसैक्रममा उनले वाकु, जुभिङ, राप्छा, बासा, हाङ्कुले, रोचम, थुलुङ गाउँसम्म पुग्न पभ्याएका छन् । यस्तै क्रममा कहिलेकाहीँ दुई तर्फिको पूर्खाहरुबिच रस्साकसी पनि हुन्छ । 

उनी यस्तै एउटा घटना सम्झन्छन्, ‘एक पटक बिजमे (जबरे राई)ले मलाई धेरै जाँच्यो । जहिल्यै मलाई त्यसै गर्थ्यो । अनि मेरो पालो समुद्रदेखि नै सृष्टिको कथा भन्दै ल्याएर आफ्नो पुस्तासम्म ल्याइदिइएको काबु भएछ ।’ हा.. हा.. उनी हाँसे । 

अनि थपे, ‘त्यसरी रिसिव्यामै बम्किएको त बिन्ती नै गरेर लु मैले त जाँचेजस्तो पो भयो । तिमीसँग त धेरै तम्र रहेछ । यो तम्र आउने पुस्तालाई नलुकाई भनिराख्नु है भन्यो ।’ त्यसरी नै उनले ०६४ सालयता आफ्नो खेवाका करिब ७० जनाको आत्मालाई बलमदेलको बाटो देखाईसकेका छन् । 

उनलाई आजकल तम्रको बारेमा धेरै भन्दा धेरै मान्छे सोध्न आए हुन्थ्यो भन्ने लाग्दोरहेछ । ‘तम्र भन्न लाउँदा तपाईंलाई झिज्याट लाग्दैन चुचु (बाजे) ?’ भनेर सोध्दा उनी खुसीसाथ जोसिएर भन्छन्, ‘मलाई त खुसी पो लाग्छ । मलाई सबैले मन पराउँदा रैछन् । मैले भनेको कुरा बाँचिरहोस् । मैले भनेको कुराहरूलाई पछि गौनबरले भनिराखेको कुरा हो भन्दै मान्छेले कुरा गरुन् भन्ने लाग्छ । धेरै मान्छे सोध्न आए हाम्रो तम्र पछिसम्म बाँच्छ जस्तो लाग्छ ।’ 

उनी सबैतिरका तम्रहरुमा एकरुपता ल्याउनुपर्ने राय पनि राख्छन् । कतै भूगोल त कतै कुनै कुराले तम्रका कतिपय कुराहरूमा फरकपन आएका छन् । त्यस सन्दर्भमा उनी भन्छन्, ‘सबैतिर तम्र एकै किसिमले मिल्दैन । म चाहिँ सबैतिरको मिलोस भन्ने लाग्छ ।’

लामो सास तान्दै उनले भने, ‘बरु मैले भनेको कुरालाई छोडेर भए पनि साथीले भनेको कुरा नै मानौँ । तर, अर्को–अर्को नहोस् । त्यस्तो भयो भने त हामी अलग हो भन्ने देखिन्छ । तर, हामी अलग होइनौँ नि । त्यसैले मैले जानेको कुरा भनिराख्छु । हाम्रो तम्र हराएर नजावस् ।’

केही शब्दार्थः

  • भम्ः अर्नाको सिंबाट निर्मित सासले फुकेर बजाइने बाजा । किरात खालिङ राईहरु उभौली र उधौली साकेलामा भम् बजाउने गर्दछन् । 
  • ब्वाल नोक्छो/खवाः स्वाभाविक मृत्युवरण गर्ने खालिङ राईहरूको आत्मलाई बलमदेलको बाटो देखाउने विशेष धामी ।
  • बलमदेलः स्वाभाविक मृत्युवरण गर्ने खालिङ राईहरूको आत्मलाई वास दिइने स्थान । 
  • पाङमुजेः स्वाभाविक मृत्युवरण गर्ने खालिङ राईहरूको आत्मलाई राखिने स्थान । उक्त स्थान चोमोलुङमाको बेसक्याम्प नजिकै अवस्थित छ । 
  • आयोसाः मृत्यु संस्कार बाहेकका अन्य अनुष्ठान, विवाह, उत्सव, चाड, रात्रि वा दिवा बजार, घाँस–दाउरा, मेला–पातलगायतमा दुई पक्ष मिलेर जुहारी गाइने भाका । उक्त जुहारी गाउने प्रचलन खालिङ राईहरूमा प्रख्यात छ । 
  • धरानः विवाह समारोहमा पूर्खाहरुले तम्र (मुन्दुम) अनुसार अन्तिम रित छिनाउने प्रक्रिया । धरान काटिसकेपश्चात कथंकदाचित पार्पाचुक नभइ श्रीमान–श्रीमती छुटिएर बसेको खण्डमा जुनसुकै स्थानमा श्रीमतीको मृत्यु हुन गएमा श्रीमानको घर ल्याएर मात्रै मृत्यु संस्कार गर्ने प्रचलन खालिङ राईहरूमा रहेको छ ।
  • https://www.ratopati.com/story/565222/gaunbar-mundam-who-attended-school-for-6-days-attends-university?fbclid

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal