Skip to main content

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

 

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

काठमाडौँ-‘भाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यको आदर्श वचन छ । यही आदर्श वचनलाई नेवार समुदायले पालना गर्दै आएको पाइन्छ । नेवारी भाषा १४औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म नेपालको राज्य भाषा र अदालतम समेत प्रयोग हुन्थ्यो भन्ने इतिहासमा उल्लेख पाइन्छ । राज्य व्यवस्था फेरिएसँगै खस÷पर्वते भाषा अस्तित्वमा आयो र अन्तमा नेपाली भाषा बनेपछि मुलुकमा अरू भाषाहरू राज्य सूत्रमा उनिन छोड्यो । नेपाल एकीकरण र शाह वंशको शासन सुरुआत भएसँगै भाषा दमनविरुद्ध आन्दोलन आरम्भ भएर वर्तमानसम्म तन्किदै आएको पाइन्छ ।
विसं १९६६ देखि १९९८ सम्मको अवधिलाई नेपाल भाषाको पुनर्जागरण युगका रूपमा उल्लेख गर्ने गरिएको छ । पत्रकारिताका हिसाबले धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले १९८१ सालमा कोलकाताबाट ‘बुद्ध धर्म व नेपालभाषा’ मासिक पत्रिका सम्पादन तथा प्रकाशन आरम्भ गरेका थिए । नेपाल भाषाको सो पहिलो साहित्यिक पत्रिकाले साहित्य लेखनको लहर उत्पन्न गरेको थियो । सोही पत्रिकामार्फत साहित्य सृजनामा नयाँ स्रष्टाहरूको अगुवाइ गरेको थियो । त्यो लहरले नेपाल भाषाको अस्तित्व जोगाउन, समृद्ध तुल्याउन योद्धाहरू उत्रिए । जेलनेल भोगे । ज्यानको आहुति दिए । निस्थानन्द बज्राचार्य, सिद्धिदास महाजू (सिद्धिदास अमात्य), जगतसुन्दर मल्ल र योगवीर सिंह कंसाकार नेपाल भाषाका चार स्तम्भ मानिन्छन् ।
शुक्रराज शास्त्रीले ‘नेपाल भाषा व्याकरण’ नामक भाषाको व्याकरण लेखेको र राजनीतिमा लागेकै कारणले सहादत पाए । जेलनेल भोग्नेहरू चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ र फट्टेबहादुर सिंह थिए । नेपाल भाषाका पहिलो महिला पत्रकार साधना प्रधान, नेपाल पत्रकार  सङ्घ (विसं २००८) का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ (श्रेष्ठ नै नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम हुनुपर्छ भन्ने दाबी अघि बढेपछि महासङ्घले अध्ययन कार्यदल गठन बनेको छ) लगायत अग्रपङ्क्तिमा थिए । नेपाल भाषाको पहिलो पत्रिकाले ल्याएको जागरण अनि कैयौँ साधकको योगदान चुलिने क्रम निरन्तर जारी छ । पुनःजागरणकालपछि २०८१ सालसम्म आइपुग्दा नेपाल भाषा पत्रकारिताले शताब्दी यात्रा पार गरेको छ । नेपाल भाषा रन्जना लिपि (नेवाः लिपि), प्रचलित, भुजिमोल, क्वयमोल लिपिमा लेख्ने गरिन्छ । ‘नेपाल भाषा टाइम्स’ दैनिक पत्रिका प्रकाशनमा रहेको छ ।
नेवार समाजमा नेपाल भाषा भनिँदै आए पनि आम मानिसले नेवारी भाषा भन्ने गर्दछन् । भाषिक समुदायको मागअनुसार तत्कालीन नेपाल सरकार मन्त्रिपरिषद्ले २०५२ असोजमा नेवारीको सट्टा ‘नेपालभाषा’ नामाकरण स्वीकृत गरेको थियो । यद्यपि नेपाल संवत् ५०० मा नेवार भाषालाई ‘नेपाल भाषा’ उल्लेख भएको नेपाल भाषा शिक्षाको इतिहासमा उल्लेख पाइन्छ । त्यसैगरी २०८० सालदेखि नेपाल संवत् ११४४ आरम्भ भएसँगै सरकारको ‘लेटरहेड’मा अङ्कित गरिएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले धर्मादित्य धर्माचार्यको सम्पादनमा प्रकाशित ‘बुद्ध धर्म व नेपालभाषा’ पत्रिकालाई आधारस्तम्भ मानेर यही २०८१ जेठ १९ र २० गते दुईदिने पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न गरेको थियो । सम्मेलनमा सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)लाई पनि सहभागीका रूपमा उभ्याइएको थियो । सम्मेलनमा भारत, बङ्गलादेश, भूटानका केही भाषाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपालका मातृभाषाहरूको भने सहभागिता रहन सकेन । त्यसैले मूलतः नेपाल भाषा पत्रकारिता अन्तर्राष्ट्रिय सम्मेलनकै रूपमा सम्पन्न भयो ।
तथ्याङ्कमा नेवाः (नेवार) जातिको कूल जनसङ्ख्या १३ लाख ४१ हजार तीन सय ६३ जना रहेको छ । नेपाल भाषा (नेवारी) बोल्ने वक्ताको जनसङ्ख्या आठ लाख ६३ हजार तीन सय ८० रहेको छ । वाग्मती प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषा सरकारी कामकाजको भाषा लागू गर्न ऐन जारी गरेको छ । नेपालको संविधान (२०७२) को धारा, ६ र ७ मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ । वागमती प्रदेश सरकारको कदमले आम मातृभाषी समुदायलाई आशाको नयाँ आयाम थपिएको छ ।
मातृभाषा र भाषिक राष्ट्रवाद
मातृभाषा शब्दै पेचिलो छ । बहुसङ्ख्यकले बोल्ने भाषाभन्दा थोरै सङ्ख्या अर्थात् अल्पसङ्ख्यकले बोल्ने ‘काइतेबोली’ भनेजस्तो बिम्ब दिमागमा आउँछ । पञ्चायतकालसम्म ‘गाई खाने भाषा’को बिम्बमा ती मातृभाषाहरू परिभाषित थिए । राज्यले त्यस्ता भाषाहरूलाई मातृभाषा पढ्न, लेख्न, छाप्न, पढाउन प्रतिबन्ध लगाएको थियो । समुदायले आफ्नो बोली बोलिरहेकाले सचेत पूर्वजहरूले चुनौती मोलेका थिए ।
अङ्ग्रेजी या नेपालीलगायत विकसित भाषाको सन्दर्भमा पत्रकारिता भनेको मूलधारको व्यावसायिक भाषाखेती हो, तर चाहे नेपाल भाषा, १७ लाख वक्ता रहेको थारू भाषा होस् या १४ लाखले बोल्ने तामाङ भाषा अथवा १५ हजारले बोल्ने वाम्बुले भाषा, २३ जना वक्ता रहेको कुसुण्डा भाषाको पत्रकारिता कुनै हालतमा व्यावसायिक पत्रकारिता हुन सकिरहेको छैन । मातृभाषा पत्रकारिता भनेको समाचार, विचारमा सीमित नभई साहित्य, व्याकरण, अनुसन्धान, अधिकारका अनेक विषय समेटेर प्रकाशन गर्नुपर्ने हुन्छ । मातृभाषा मूलधारभन्दा फरक छ । व्यावसायिक हुन सक्दैन । विशुद्ध मातृभाषाकै निम्तिमात्र काम गरेको हुनुपर्छ । एकल भाषिक राष्ट्रवादविरुद्धको आवाजका रूपमा लिइन्छ ।
विद्यावारिधि शोधार्थी अजितमान तामाङको ठम्याइमा आदिवासीको भाषा, धर्म, संस्कृतिसँग नजोडिएका व्यावसायिक मूलधार भनिएका पत्रपत्रिकादेखि रेडियो, टेलिभिजन, अनलाइन, न्यू मिडिया छन् । मातृभाषा पत्रकारिता भनेपछि छुट्टै पाटो हो । मातृभाषा पत्रकारिता गर्नेहरूको छुट्टै प्रकाशन गृह छैन । गोरखापत्र दैनिकमा अहिले ४२ भाषामा साम्रगी फरक–फरक दिनमा प्रकाशन हुन्छ, तर यसलाई मातृभाषा पत्रकारिताको एउटा अङ्ग मात्रै हो । विज्ञापन पाएर प्रकाशन भएका होइनन् । व्यावसायिक नभएर विशुद्ध मातृभाषाको प्रकाशन गरिएको छ ।
भाषिक राष्ट्रवाद उपनिवेशवादीहरूका लागि, गोर्खालीहरूको गोर्खा कोलोनिजम, ब्रिटिस कोलोनिजमले ल्याएको राष्ट्रवाद हो । एउटै भाषा केन्द्रीकृत भाषा हुने । एउटै धर्म संस्कृति हुने । एकल भाषिक राष्ट्रवादविरुद्ध उत्रिएर हामी आफ्नो राष्ट्रिय मुक्ति आन्दोलनको माध्यमबाट आफ्नो भाषा, अधिकार कुरा गर्र्दैछौं । हाम्रो अर्को भाषिक राष्ट्रवाद भयो । लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात भाषिक राष्ट्रवादसँग जोडिएको छ । जो भारतमै १९४९ सालमा भइसकेको छ, पन्जाब, बङ्गाल, तमिलनाडु, तेलङ्गनालगायत थुप्रै भएको छ । भाषिक राष्ट्रवादको पनि परिभाषा भएको छैन ।
मातृभाषा पत्रकारिता तत्व
मातृभाषा पत्रकारिता भनेको ज्ञानबलको कारखाना हो । बहुसङ्ख्यकको भन्दा अल्पसङ्ख्यकको बोलीलाई लिपिबद्ध गर्ने काम हो । बोलीचालीमा सीमित अहिलेसम्म नलेखिएको भाषालाई छापामा उतार्ने, बोलीलाई रेडियोमार्फत् सार्वजनिक गर्ने, टेलिभिजनमार्फत सार्वजनिक गर्ने, श्रव्यदृश्यमा उतार्ने काम हो । पत्रकारिता गर्नका निम्ति न्यूनतम शैक्षिक योग्यता हुनुपर्छ । पत्रकारिता गर्ने रुचि, इच्छा, चाहना हुनुपर्छ ।
समयचक्रसँगै निरन्तर साधना, धैर्यता, खोज अध्ययन, अनुसन्धान, विश्लेषण गर्ने क्षमता राख्नुपर्छ । मातृभाषा प्रकाशन, प्रसारण अगुवाइ गर्ने प्रकाशक, सम्पादकका निम्ति अझ थप सशक्त भूमिका हुनुपर्छ । त्यस निम्ति समुदायसँग सामीप्यता, जनसम्पर्क, लेखक, स्रष्टासँग निरन्तर सानिध्यता हुनुपर्छ । नयाँ स्रष्टा, लेखकसँग सम्पर्क तथा उत्प्रेरणा सृजना गर्न सक्नुपर्छ । लेखन निरन्तरताका निम्ति प्रशिक्षण, पुनःताजगी तालिम हुनुपर्छ । प्रकाशन, प्रसारणका निम्ति आर्थिक व्यवस्थापन, इमानदारिता हुन जरुरी छ । अल्पसङ्ख्यक भाषा पत्रकारिता गर्ने सम्पादक, प्रकाशनले ‘वान मेन आर्मी’को भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । जसले धारिलो हतियारसहित भारी बोकेर ठूलो डफ्फासँग युद्ध छेड्नुपर्ने हुन्छ । यद्यपि मातृभाषा पत्रकारितामा ‘गर या मर’ भन्ने आर्मीको नियम लागू हुँदैन ।
मुलुकका एक सय ४२ जातजाति र बोलिने एक सय २४ भाषाहरू देशकै अमूर्त सम्पदा हुन् । यसको संरक्षण, संवद्र्धन गर्नु राज्यको दायित्व हो । धर्मादित्य धर्माचार्यहरूको योगदानलाई समुदायले सम्झिइरहन्छ । ती मातृभाषी समुदायको आत्मबल बढाउन र शिर उभ्याउनका निम्ति सङ्घ, प्रदेश र स्थानीय सरकारले सम्बोधन गर्न जरुरी छ । संविधानमा उल्लेख बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपालको पहिचान जोगाउने काम समुदाय मात्र जिम्मेवार ठान्नु स्वाभाविकै हो, तर कुनाकन्दरामा जीवन व्यतित गर्दै रहेका हरेक नागरिकको हातहातमा समाइने मोबाइल र इन्टरनेटले चुनौतीमाथि चुनौती थपिदिएको छ । कृति बौद्धिकताले हाम्रा मातृभाषा पत्रकारितालाई हावामै ह्वात्तै उडाउने सङ्कटको निकट डिलमा उभिइरहेको अवस्था छ । यसतर्फ मातृभाषा पत्रकारिताको शताब्दी यात्राको स्मरण एक–दुई दिन भेला भएर तात्विक असर नगर्न सक्छ ।
                                                                                                                (लेखक मातृभाषा अभियन्ता तथा पत्रकार हुनुहुन्छ)
https://nepaltvonline.com/2024/06/108538/

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal