विविधा किरात येले संवत् ५०८३ कि ३८०२ ?

 

किरात येले संवत्लाई देशकै संवत् मान्यता दिंदा कुनै समुदायलाई घाटा हुने छैन । इतिहास, समाज, नागरिकको सम्मान गर्नु राज्यको दायित्व हो ।

गणेश राई

नेपालमा प्रचलित मध्ये किरात येले संवत् एक हो । माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ । सामाजिक रूपमा यो माघ १ गते (२०७९) बाट किरात येले संवत् ५०८३ सुरु हुन्छ ।


इतिहासविदका अनुसार पहिलो किरात राजा हाङ यलम्बर (एलम्)को स्मारक संवत् मान्दा किरात येले संवत् ३८०२ हुन आउँछ । समाजमा प्रचलित ५०८३ संवत् कलिगतमा आधारितमात्र हो, जुन इतिहासले प्रमाणित गर्दैन ।

यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ मा किरात येले संवत् ५०८३ को धुमधाम चलिरहेको छ । पूर्वी नेपाल मूलथलो रहेका युवाहरू सामाजिक सञ्जालहरूमा येले संवत् नयाँ वर्षबारे विभिन्न कार्यक्रमसहित शुभकामना आदानप्रदान पोस्ट्याइरहेका छन् ।

यतिसम्म कि ‘पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाइरहँदा यलम्बरको योगदानलाई छायाँमा पारिएकोसमेत भनेका छन् । ‘यो देश नेपाल निर्माणमा नेपालको संस्थापक राजा यलम्बर हाङले महान् योगदान पुर्‍याएका थिए । नेपालको संस्थापक राजा यलम्बर हाङले नै यो आधुनिक नेपालको जग बसालेका थिए । यो देश नेपालको राष्ट्रपिता, राष्ट्र निर्माता राजा यलम्बर हाङ नै हुन् । नेपालको संस्थापक राजा यलम्बर हाङको शासनबाट सुरु भएको नेपालको प्राचीन मौलिक संवत् यलम्बर संवत् येलेदोङमा यलम्बर जयन्ती र नेपाल स्थापना दिवस मनाऔं । नेपालको संस्थापक राजा यलम्बर हाङलाई राष्ट्रिय विभूति घोषणा गरौं ’ सांस्कृतिक अभियन्ता मूलघरे कान्छाले लेखेका छन् ।

खासमा माघ १ गते यो ‘यलम्बर दिवस’लाई लिम्बू समुदायमा येले तङ्बे भनेर मनाउँछन् । किरात राई समुदायले येले दोङ, येले दुङ, येले थोचे भनेर मनाउँछन् । यो संवत् नामाकरण हुन बाँकी प्रदेश–१ अर्थात् प्रस्तावित किरात प्रदेश, लिम्बुवान किरात प्रदेश, किरात कोशी प्रदेश, चोमोलुङ्मा प्रदेशको मौलिक संवत् हो । 

इतिहासविद्त्रय जगदीशचन्द्र रेग्मी, मन्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईका अनुसार किरात येले संवत् निर्धारणका आधार यसरी मानिएको छ । त्यसको पहिलो आधार ३२ पुस्ता किरात राजाहरूले शासन गरेका थिए, जुन शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको थियो । त्यसका प्रवर्तक यलम्बर (एलम्) हाङ थिए ।

दोस्रो आधार, किरातहरूको शासनको अन्त्य लिच्छवि राजा जय वर्माको पालामा भएको थियो, जुन प्रमाण काठमाडौंको मालीगाउँमा पाइएको जय वर्माको सालिकमा उल्लेख अभिलेखबाट पुष्टि भएको थियो । उक्त सालिकको संवत् १०७ अथवा ई. १८५ हुन आउँने लैनसिंह बाङ्देलले आफ्नो कृतिमा उल्लेख गरेका छन् ।

तेस्रो, जय वर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ । यस आधारमा ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ । यही १७७९ वर्ष ८ महिना (१७७९ वर्ष)मा हालको सन् २०२३ जोड्दा ३८०२।८ (अर्थात सन् २०२३ मा किरात येले वर्ष ३८०२) हुन्छ । यसरी माघे संक्रान्तिका दिनदेखि किरात येले संवत् ३८०२ सुरु हुन्छ ।

किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजको संयुक्त सहभागिता रहेको किरात येले संवत अध्ययन समन्वय समितिद्वारा सन् २००९ मा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ आयोजना गरेको थियो । प्रसिद्ध मुन्धुमविद् बैरागी काइँलाको सभापतित्व रहेको उक्त गोष्ठीमा प्रा.डा. जगदीशचन्द्र रेग्मीले ‘नेपाली किरात जातिको गौरवपूर्ण इतिहासको परिप्रेक्षमा किरात येले संवत्को प्रचलन तथा संवैधानिक उपक्रम’ शीर्षक विचारपत्र प्रस्तुत गरेका थिए । रेग्मीद्वारा प्रस्तुत गोपालराजवंशावलीका आधारमा सूचिकृत गरिएका ३२ किरात राजाहरू र तिनको शासन अवधि यस प्रकार छ :

१) राजा श्री एलम् (९० वर्ष)

२) राजा श्री पेलं (८१ वर्ष)

३) राजा श्री मेलं (८९ वर्ष)

४) राजा श्री चमिं (४२ वर्ष)

५) राजा श्री धस्कं (३७ वर्ष)

६) राजा श्री वलुंच (३१ वर्ष ६ महिना)

७) राजा श्री हुतिं (४० वर्ष ८ महिना)

८) राजा श्री हुरमा (५० वर्ष)

९) राजा श्री तुसके (४१ वर्ष ८ महिना)

१०) राजा श्री प्रसफुं (३८ वर्ष ६ महिना)

११) राजा श्री पवः (४६ वर्ष)

१२) राजा श्री दास्ती (४० वर्ष)

१३) राजा श्री चम्ब (७१ वर्ष)

१४) राजा श्री कंकं (५४ वर्ष)

१५) राजा श्री स्वनन्द (४० वर्ष ६ महिना)

१६) राजा श्री फुकों (५८ वर्ष)

१७) राजा श्री शिंघु (४९ वर्ष ६ महिना)

१८) राजा श्री जुलम् (७३ वर्ष ३ महिना)

१९) राजा श्री लुकं (४० वर्ष)

२०) राजा श्री थोरम (७१ वर्ष)

२१) राजा श्री थुको (८३ वर्ष)

२२) राजा श्री वर्म्म (७३ वर्ष ६ महिना)

२३) राजा श्री गुंजं (७२ वर्ष ७ महिना)

२४) राजा श्री पुस्क (८१ वर्ष)

२५) राजा श्री त्यपमि (५४ वर्ष)

२६) राजा श्री मुगमम् (५८ वर्ष)

२७) राजा श्री शसरु (६३ वर्ष)

२८) राजा श्री गुंणं (७४ वर्ष)

२९) राजा श्री खिम्बु (७६ वर्ष)

३०) राजा श्री गिरिजं (८१ वर्ष)

३१) राजा श्री खुरांज (७८ वर्ष)

३२) राजा श्री खिगु (८५ वर्ष)

(स्रोतः किरात येले संवर अभिलेख, सम्पादक बलिराज खम्बु र अन्य, २०१०)

नयाँ संवत्मा गतिविधि

अन्तर्राष्ट्रिय विचार गोष्ठीमा इतिहासविद् यलम्बर हाङलाई स्मारक मानेर प्रामाणिक ‘किरात येले (एलम्) संवत्’ चलाउन सकिने निचोड दिएका थिए । त्यसयता किरात समुदायमा दुईखाले संवत् प्रचलनमा रहेको छ । यद्यपि किरातजन्य संस्थाहरूले यो ‘किरात येले संवत्’ लाई प्रदेश–१ को आधिकारिक संवत्को मान्यता दिलाउनु पर्ने माग राख्दै आएका छन् । यसैगरी यलम्बर फाउण्डेशनले यलम्बर संवतको नयाँ काल निर्धारण भइसकेको भन्दै ‘कलिगत संवत्’ र ‘नयाँ संवत्’ उल्लेख गरी प्रस्तावित पञ्चाङ्ग प्रकाशित गरेको पाइन्छ ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम यक्तेन ‘येले तङ्बे’ (यलम्बर संवत्) लाई संस्थागत वार्षिक कार्यक्रममा समेटेर मनाउने गरेको बताए । ‘हामी लिम्बूले किरात येले तङ्बेलाई कक्फेवा तङ्नाम भनेर मनाउँछौं,’ संवत् काल गणना एकरूपताबारे सामाजिक अनुमोदन हुन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘लिम्बुवानका विभिन्न जिल्लामा सिर्जनात्मक कार्यक्रमसहित मनाउने परम्परा बसेको छ । यो संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सरकारको ध्यानाकर्षण गराउने काम हुँदैआएको छ ।’

यसैगरी किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले संवत्लाई राष्ट्रिय मान्यता दिलाउने पहलकदमी जारी रहेको बताए । ‘यस वर्ष पनि शुभकामनाका साथसाथै यलम्बर, किरात संवत् र किरात पहिचान सवालमा छलफल हुनेछ,’ उनले भने, ‘नेपाल सरकारलाई यो किरात येले संवत्लाई राष्ट्रिय मान्यता दिलाउन पहलकदमी जारी छ ।’

यसैगरी सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवारले नयाँ संवत्लाई ‘येले थोचे’ तथा ‘सामिबु पिदार’ भनेर चाडका रूपमा मनाउने गरेको बताए ।

किरात जातिको साझा चाहना सरकारी कामकाजमा ‘किरात येले संवत्’ प्रचलनमा आउनु पर्छ । चुनौती एउटै छ, किरात येले संवत् ५०८३ हो कि ३८०२ हो ? इतिहासविद्ले दिएको सुझावलाई समाजले स्विकारेको छैन । इतिहास भ्रम होइन, विज्ञान पनि हो । राज्यले समाजमा प्रचलित संवत्लाई अनादर गर्न मिल्दैन । किरात येले संवत्लाई देशकै संवत् मान्यता दिंदा कुनै समुदायलाई घाटा हुने छैन । इतिहास, समाज, नागरिकको सम्मान गर्नु राज्यको दायित्व हो । सबैमा किरात येले संवत्को हार्दिक शुभकामना छ ।

प्रकाशित : माघ १, २०७९ ०७:४२

https://ekantipur.com/bibidha/2023/01/15/167374700783227072.html

 

 

 

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal