फिचर : महिलाले धानेको परम्परागत सीप

 गणेश राई

काठमाडौँ — संयुक्त राष्ट्रसंघले अगस्ट ९ लाई विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको चार दशक पुगेको छ । उसले सन् १९८२ मा यो दिवस घोषणा गरेको थियो । राष्ट्रसंघले यो वर्ष अर्थात् सन् २०२२ को निम्ति ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ नारा तय गरेको छ ।


यतिखेर यो नारालाई लिएर सदस्य राष्ट्र नेपालमा समेत मसिनो आवाजमा छलफल भइरहेको छ । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजाति छन् । महिलाले धानेको मूर्त र अमूर्त सम्पदा तथा परम्परागत ज्ञानको पुस्तान्तरणबारे राजधानीमा रहेका आदिवासी जनजातिमध्ये केही प्रतिनिधि समुदायलाई लिएर रिपोर्ट प्रस्तुत गरिएको छ ।

गुँलामय उपत्यका

घण्टाकर्ण तिथिदेखि राजधानी काठमाडौं उपत्यका गुँला पर्वमय भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुर, जहाँ–जहाँ नेवार बस्ती छन्, त्यहाँ–त्यहाँ बिहानैदेखि बाँसुरी, धाबाजा, धिम्या, भुस्या, ता, ताइताइ, त्रिकोण बाजा बजाएर नगर परिक्रम गरिरहेका भेटिन्छन् । धिम्या खलहरू, दाफा खलहरू, भजन खलहरूका कजि (गुरु)ले ‘नामसंगति’ जप्दै अगुवाई गरिरहेका छन् ।

हरदिन महानगरको मध्येभागदेखि बाँसुरी वादन गर्दै स्वयंभूको परिक्रमा गर्नेको लर्को भेटिन्छन् । बाँसुरी, धा, धिम्या बाजा बजाउँदै गरेका महिलाको समूह अग्रसर भेटिन्छन् । पुरुष समूह, पुरुष–महिला भेटिन्छन् । बालबालिकाको समेत छुट्टै समूह बाजागाजाका साथ भेटिन्छन् । बाजा बजाउने महिला नेतृत्व अघि सार्ने क्रम बढेको समुदायका अगुवाले जनाएका छन् ।

गुँला धार्मिक आस्थासँग जोडिएको पर्व हो । ‘गुँला पर्व एक महिनासम्म चल्छ,’ ललितपुरको महालक्ष्मी नगरपालिका–६ थसिका धिम्या प्रशिक्षक रामचन्द्र महर्जन भन्छन्, ‘यो महिना अरु भगवानले जिम्मा नलिने भएपछि भगवान बुद्धले लिने भएछन् । त्यसैले भगवान बुद्धको नामसंगति जप्ने गुँला पर्व मनाएका हौं । अहिले हरेक जात्रामा महिला समूहको अनिवार्य सहभागिता रहन्छ ।’

गुँला परिक्रमा गर्दा बाजाको आवाजले सबैको ध्यानाकर्षण गर्छ । त्यसमा सहभागी बाजा बजाउनेहरूको मौलिक पहिरनले रौनकता थप्छ । विवाहिता महिलाले हाकु, पर्सी (पटासी) र अविवाहितले भान्ताँ, लँ (तुना बाँध्ने कुर्था, सुरुवाल) पहिरिन्छन् । पुरुषले लँ, सुरुवा (दौरा, सुरुवाल) लगाउँछन् । ती पहिरन घरबुना हुन्, जुन महिलाले बुन्दछन् ।

‘जीवनयापनदेखि परम्परा धान्ने, टाउकोदेखि खुट्टासम्म लाउने सबै चिज महिलाकै हातका सीप हुन्,’ नेवा: मिसा दबूकी अध्यक्ष रस्मिला प्रजापति भन्छिन्, ‘देशभरि जहाँ जहाँ नेवार छन्, उनीहरूलाई कम्तिमा परम्पराप्रति पुन:जागरण पैदा गर्ने क्रम निरन्तर छ । त्यो काममा विशेष गरी महिलाको भूमिका रहेको छ ।’

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यको शब्दमा कामका आधारमा बनाएको जाति नेवार हो । नेवार समुदायमा परम्परागत ज्ञान र सीप धेरै छन् । महिलामा निहित परम्परागत सिप जन्मदेखि मृत्युपर्यन्तसम्म हरेक संस्कारमा जोडिएका छन् । अनेक किसिमका परिकार बनाउने, जाँड–रक्सी बनाउने, दैनिक जीवनमा लगाउन कपडादेखि गलैंचा, सुकुल बुन्ने, थाङ्का बनाउने महिलाकै अगुवाई रहन्छ । उपत्यकामा सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ, बिस्केट जात्रालगायतमा महिलाको महत्त्वपूर्ण भूमिका रहन्छ ।

‘विशेष गरेर महिलाले संस्कृति बनाउने हो,’ परिवारका अजी (हजुरआमा), आमा, छोरी, बुहारीले गर्ने कामका धेरै आयामहरू रहेको उल्लेख गर्दै बज्राचार्य भन्छिन्, ‘घरगृहस्थी, संस्कार परम्परा धान्नेदेखि देवताको मूर्तिलाई अन्तिम रूप दिने काम महिलाकै हुन्छ । हरेक संस्कारका आ–आफ्नै अनुशासनहरू छन् । त्यसको अगुवाई महिलाले गर्छन् ।’

मिसा दबूकी अध्यक्ष प्रजापतिका अनुसार नेवा देय: दबू संस्थाले नेवार जातिको साझा मौलिक संस्कृति परम्पराको प्रवर्द्धन गर्ने काम गर्दै आएको छ । प्रत्येक महिना मनाइने चाडपर्वदेखि समग्र परम्पराको पुन:जागरण गर्ने काममा अन्तर्राष्ट्रिय रूपमा हलि नेवा दबू संस्थासमेत जुटेको बताइन् ।

सुकुल बुन्ने परम्परा

कृषि युगको उपज हो, सुकुल बुन्ने परम्परा । धानको पराल र मकैको खोस्टाबाट बुनिन्छ । यो बुन्ने सीप महिलामा निहित छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन क्रंक्रिट बस्तीमा परिणत हुने क्रम निरन्तर छ । त्यसैले कृषि भूमि घट्दो छ । खेतबारी घटेसँगै कृषि उपजबाट बन्ने घरेलु सामग्रीहरू बनाउने क्रम क्रमश: घट्दै गएको छ ।

अहिलेसम्म ललितपुरको महालक्ष्मी नगरपालिका–६ थसि सिद्धिपुर क्षेत्रका स्थानीय नेवार समुदायले सुकुल बुन्ने परम्परालाई निरन्तरता दिएको पाइन्छ । हरेक घरले धान पाकेपछि पराल हिफाजत गरेर राख्छन् । पराल भित्राएसँगै सिजनिङ (प्रशोधन) गर्छन् । त्यसपछि घरैपिच्छे गृहिणी महिलाले फुर्सदको समयमा सुकुल बुन्छन् । उनीहरू सुकुल, सोफा, पिरा, मुडा, सुकुन्दा, पाला, झ्याल, पर्दा जस्ता सामग्री उत्पादन गर्ने गर्दछन् ।

बर्खामास कोही धान रोप्ने खेतमा व्यस्त छन् । रोपाई सकेकाहरू सुकुल बुन्न व्यस्त छन् । ‘जन्मेर थाहा भएदेखि यही काम गरेको हो,’ ६३ वर्षीया चनमाया महर्जन भन्छिन्, ‘घरधन्दा सकेपछि सुकुल बुनेर बस्छौं । सबैजना भेला भएर बुन्दा रमाइलो हुन्छ ।’ सामुदायिक भवनमा भेला भएका उनीसँगै ५९ वर्षीया राममाया महर्जन, ४८ वर्षीया सुजाता महर्जन, ४५ वर्षीया अनिमा महर्जन थिए ।

‘पहिले पहिले जस्तो पायो त्यस्तै बुन्थ्यौं,’ सुजाताले भनिन्, ‘तालिम लिएपछि सजिलो भयो । अर्डर आएअनुसार राम्रो बुन्न सक्छौं । दिनमा आठ–नौ सयसम्म कमाउँछौं ।’ सिद्धिपुर सामुदायिक सिकाई केन्द्रले परालको घरेलु सामग्री बुनाई तालिम दिने गरेको सामाजिक परिचालक सबिना महर्जनले बताइन् ।

परम्परागत सीप प्रवद्र्धन तालिमका निम्ति युनेस्को, नगरपालिका, वडापालिकाले साथ दिंदैआएको वडाका महिला सदस्य शोभा महर्जनले बताइन् । ‘परालबाट बन्ने परम्परागत सीप संरक्षण गर्न परिमार्जित नयाँ ढाँचामा प्रवर्द्धन गर्न बजेटको व्यवस्था गरेका छौं,’ दोस्रो कार्यकाल वडा सदस्यमा निर्वाचित महर्जनले भनिन्, ‘तालिमले सक्षमता बढाएको छ । अर्डरअनुसार जुनसुकै किसिमका सामग्री उत्पादन गर्न सिद्धिपुरका गृहिणीहरू सक्षम छन् ।’ कोभिड–१९ ले भएको लकडाउनको समयमा छोराछोरी पुस्ताले समेत तालिम लिएका थिए ।

सिकाइ केन्द्रका अध्यक्ष कृष्णकुमार महर्जनका अनुसार सिद्धिपुरलाई सांस्कृतिक पर्यटन क्षेत्र विकास गर्ने लक्ष्यसहित स्थानीय सीपलाई प्रवर्द्धन गरिएको बताए । । पराललाई प्रशोधन गरी बनाइएका सामग्री उज्यालो, चम्किलो र ३० वर्ष जति टिक्ने बताए । यहाँ बनेका सुकुललगायत सामग्री पाटन, बुङ्गमती, पनौती, कीर्तिपुर, बनेपा, काडमाडौंदेखि भारतको देहरादुनसम्म बिक्रीवितरण हुने गरेको छ । नगरपालिकाले स्थानीय घरेलु सिपकलालाई उपहारका रूपमा उपयोग गर्ने गरेको छ ।

छेउलाग्दो बुनाइ सीप

दोलखा हाँबाकी ६६ वर्षीया मनमाया कोइँच सुनुवार आफ्नो बैंसमा बुनेको धागोको थैली अहिलेसम्म जतनले राखेकी छिन् । आफ्नो छोरी र नातिनीलाई बुनेर राखेको टाउकोमा गुथ्ने जालीरुमाल, किप्सु (कम्बरमा बेर्ने बुट्टेदार रुपमाल), लुजेग्यो (चोलीको तुनामा बाँध्ने फुर्का), बुट्टे सल, सुर्केनी थैली अहिले छन् ।

‘यो मेरो आमाले सिकाएको सिप हो, मैले १६ वर्षको हुँदा बुनेको हो,’ अहिले ललितपुर–१४ ताल्चिखेलमा रहेकी मनमायाले भनिन्, ‘बैंसमा यो जालीरुमाल टाउकोमा बाँधेर, लुगा पहिरिएर बाच्छैबाजा बजाउँदै नाचिन्थ्यो । अहिले छोरा, नाति, नातिनीहरू लगाउन् भनेर बुनिदिएको तर लाउँदैनन् ।’ बुढौली ज्यानमा आँखा कमजोर हुँदै गएपछि अहिले बुन्न छाडेको उनी सुनाउँछिन् ।

मनमायासँगै रहेकी ५३ वर्षीया सरस्वती सुनुवार भने अहिले यी परम्परागत पोसाकहरू बुनिरहेकी हुन्छिन् । बुनाईबाट त्यस्तो धेरै आम्दानी नहुने सुनाउँछिन् । सातरंग अर्थात् रातो, निलो, हरियो, सेतो, पहेंलो, बैजनी, गुलावी रंगको ऊनी अर्थात् इन्द्रेणी रंग मिलाएर सुनुवार महिला र पुरुषले लगाउने पहिरन परम्परागत ढाँचामा बुनेको सुनाउँछिन् ।

पुरुषले लगाउने जालीरुमाल र कम्बरी बुन्छिन् । महिलाले शिरमा बुट्टेदार जालीरुमाल, रातो मखमलको चोली, कालो भोटो, फूलबुट्टे रातो फरिया, पहेंलो पटुकी, फरियामाथि नीलो भूइँमा रातो बुट्टेदार किप्स (जालीरुमाल) पहिरिन्छन् । तुनामा लुजेग्यो, सुर्केथैली भिर्छन् । ढुंग्री, बुलाकी, च्याप्टेसुन, चारानी, आठानी, कम्पनी माला, काँडेचुराजस्ता गहनाले सजिन्छन् ।

सुनुवार महिला समाजकी अध्यक्ष शोभा सुनुवारका अनुसार उहिले यस्ता लुगाफाटाहरू बोजुहरूले बुन्थे । थैली, झुम्कालगायत कतिपय सामग्री सुनाखरीसमेत जोडिन्थ्यो । अहिले नयाँ पुस्ताले बजारिया कपडा बढी रुचाउने गरेकाले परम्परागत सीप छेउलाग्दैछ । परम्परागत ज्ञान, सीपलाई नयाँ ढंगले परिमार्जन गरी व्यावसायिकरण गर्न मुस्किल परेको बताइन् ।

बाँसको हस्तकला महिलाकै भर

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल क्षेत्र पहरी जातिको थलो हो । यहाँका पहरी जातिका हरेकजसो घरमा बाँसको चोयाबाट अनेकथरी हस्तकलाका सामग्रीहरू बुरिहेका हुन्छन् । बर्खामास होस् या हिउँदमास घरधन्दा सकेपछि गृहिणीहरू एकैथलोमा जुटेर बाँसका सामग्री बुन्दछन् । कोही आफ्नो घरमै बुन्छन् ।

साउनको झरी मध्ये दिउँसो एक हुल गृहिणी महिला एकै घरमा हासा (नाङ्लो) बुनिरहेको भेटिए । तारा पहरी, स्वस्तिमा पहरी, कल्पना पहरी, अस्मिता पहरी, सुशीला पहरी, सान्नानी पहरी र जमुना पहरी आपसमा मातृभाषामै गफिदै चोयामाथि औंला खेलाइरहेका थिए । तारालाई पति ध्रुव पहरीले सघाइरहेका थिए । कोही गोलाकार नापभित्र बराबरी हुनेगरी चोया नापेर बुन्दै थिए । बुनाई कसिलो पार्न हातको चुपी र तासा (छिनो)ले ठोकिरहेका थिए । कोही बुनेका नाङ्लोलाई दुचा (बाँसकै गोलाकार सेप्टी) लगाइरहेका थिए । कोही सेप्टी लगाएको नाङ्लोलाई अन्तिम रूप दिंदै प्लास्टिकको डोरीले कसिरहेका थिए । किफायतका हिसाबले चोयाको सट्टा बजारिया डोरी प्रयोग गर्ने गरेका छन् ।


बाँसको चोयाबाट डालो, नाङ्लो, फूलदानी, बत्तीको ल्याम, फूलदानी, बास्केट, पर्दा जस्ता धेरै किसिमका सामग्री बन्छन् । त्यसैगरी बेत र निगालोबाट कुर्सी, सोफा, लुगा झुन्डाउने चोके बन्छन् । परम्परागत पेसा यही भएकाले हरेक घरका सदस्य यसैमा जुट्छन् । परम्परागत रूपमा चोयाका सामग्री जीविकोपार्जन र आयआर्जनको माध्यम बनेको छ ।

पुर्ख्यौली पेसा निरन्तर रहेको ६८ वर्षीय आरसिं पहरीले बताए । ‘घरैपिच्छ बुहारीहरू जुटेर चोयाका सामग्री बुन्छन्,’ उनी भन्छन्, ‘छोराहरू परदेश जान्छन्, ज्यालामजदुरी गर्छन् । घरमै भएमा छोराहरूले मोबाइलमा फोटो खिचेर अर्डर लिन्छन् । बुहारीहरूले बुन्छन् ।’

आकारअनुसार एउटा नाङ्लोको न्यूनतम मूल्य २ सय ४० रुपैयाँ पर्छ । दैनिक एकजनाले आधा दर्जनभन्दा बढी नाङ्लो बुन्न सक्ने सान्नानी पहरीले बताइन् । ‘मिहिनेत र समयमा भरपर्छ,’ उनले भनिन्, ‘घरको काम सकाएरमात्र भेला हुन्छौं । बुन्नेमात्र भनेर हुँदैन, त्यसभन्दा अघि चोया, डोरी सबै तयारी हुनुपर्छ ।’

गोदावरी जंगल नजिकैको बस्तीमा स्थानीय बाँस उत्पादन हुन्छ । स्थानीय व्यवसायी आरमान पहरीका अनुसार चोया काड्ने मौसम मंसिरदेखि माघसम्म हो । तर व्यावसायका निम्ति स्थानीय बाँसले पुग्दैन । त्यसैले झापातिरबाट आउने बाँस प्रयोग गर्छन् । बेत भने चितवनबाट ल्याउँछन् । उसो त ललितपुरको रातो मच्छिन्द्रनाथ रथ जात्रा सकिएपछि त्यहाँ प्रयोग भएका बेतसमेत किनेर बन्डा गर्छन् । व्यावसायीहरूको अर्डरअनुसार सामान तयार पार्छन् ।

सोलुखुम्बुको सीप हातहातमा

परम्परागत सीप वंशाणुगत सीप हो । एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै जान्छ । वंशाणुगत सीपले अस्मी खालिङ राई उद्यमी बनेकी छिन् । उनले काठमाडौं बुढानीलकण्ठ–२ चपली भँगालमा ‘सेमुरी पाँगा’ नामक उद्यम सञ्चालन गर्दै आएकी छिन् । ‘आमा, बोजु अनि छिमेकका बोजुहरूबाट सिकेको सिपलाई व्यावसाय बनाउन सकेका छौं,’ सोलुखुम्बु माप्या दुधकोसी गाउँपालिका–२ राप्चाकी राईले भनिन्, ‘सबै सामग्री सहरमा पाइँदैन गाउँबाट मगाउँछौं ।’

अस्मीका साथमा दिदी सुनबरी खालिङ र बहिनी सुकुबरी खालिङ छन् । उनीहरू किरात राई जातिका महिला र पुरुषले प्रयोग गर्ने परम्परागत लुगाफाटा, गरगहनाजस्ता सामग्री उत्पादन गर्छन् । ती सामग्रीहरू अल्लो, सुनाखरी, भेडाको ऊन, कपास, बनस्पति झारबाट बन्दछन् । महिलाले प्रयोग गर्ने पाङ्गा (लुङ्गी), फेङ्गा (कोट), चर्कना (पटुका), मन्जे (टाउको बाँध्न रुमाल), जिले –बर्को), दोङ्गम (लाछा), कुरकर्दे, कम्बरी, सुर्केथैली, धजुरी, पेचुरी, कुची, लुबेम्सी, सेमुरी, रिङगट लगायत छन् । त्यसैगरी पुरुषले प्रयोग गर्ने फेङ्गा, दौरा, सुरुवाल, चर्कना, तितहार, कुरकर्दे लगायत छ । दिदीबहिनीले तानमा बुनेर, हातले बुनेर तयार गर्छन् ।

‘हामी कुना ठाउँको मान्छे, हामीलाई यही संस्कार संस्कृति प्यारो छ,’ औपचारिक शिक्षा नलिएको उल्लेख गर्दै अस्मी भन्छिन्, ‘जीवनको दु:खले परम्परागत सीपलाई निरन्तरता दिन दिँदा व्यावसाय बन्यो । यस्तो पेसा गर्ने हामी तीन दिदीबहिनीमात्र हो ।’

उनले भोजपुर, सुनसरीसम्म प्रशिक्षण दिन पुगेको बताइन् । ‘म एकल महिला हो र मजस्तै दिदीबहिनीहरूलाई यस्तो परम्परागत सीप सिकेर जीविकोपार्जन गर्न सकिन्छ भनेर अरुलाई सिकाउने गरेको छु,’ उनले भनिन् । अरु महिलाले उत्पादन गरेका सामग्रीसमेत लिने गरेको सुनाइन् ।

वार्षिक पन्ध्र लाख रुपैयाँ जतिको कारोबार गर्ने गरेको अस्मीको भनाइ छ । उनीहरूले उत्पादन र संकलन गरेका सामग्रीलाई राजधानीलगायत धरान, इटहरी, दमक, बेलबारी, भोजपुर, खोटाङ, सोलु, ओखलढुंगाका विभिन्न बिक्री केन्द्रहरू पठाउने गरेका छन् । यसैगरी विदेशमा सिक्किम, बेलायत, अमेरिका, कतार, इजरायलबाट समेत पठाउने गरेका छन् ।

संकटमा परम्परागत सीप

आदिवासीको प्रथाजन्य भूमि, आध्यात्मिक विश्वास, सांस्कृतिक विरासत, प्रथा परम्पराअनुसारका ज्ञान सीप छन् । नेपाल आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)की अध्यक्ष अधिवक्ता शान्तिकुमारी राई परम्परागत ज्ञान सीप प्रवर्द्धन कार्य भौगोलिक वातावरणमा भएको अभ्यासबाट छुट्दै गएको बताउँछिन् । ‘हाम्रा पुर्ख्यौली जीवनशैली अर्गानिक रूपमा थियो, त्यसैले हामीले त्यसलाई पहिचानका रूपमा लिएका थियौं,’ राईले भनिन्, ‘तर पछिल्लो पटक विकासको नाममा सबै विनास हुँदै गएको छ । आदिवासी ज्ञान सीप छोड्दा पहिचान गुम्दै जान्छ । अरुको नक्कल गर्दै जाँदा नयाँ पुस्तामा पुस्तान्तरणमा समस्या आएको छ ।’

अधिवक्ता राई मोबाइलमा संसार अटाएको जमानामा परम्परागत सीप संकटमा परेको उल्लेख गर्छिन् । ‘हामीले आधुनिक समयलाई पनि पछ्याउनै पर्छ,’ उनको कथन छ, ‘तर पनि हामी आदिवासीहरूले हाम्रो मौलिकता नहराउने गरी आदिवासी ज्ञान, सीप जे छ, त्यसलाई पनि थोरबहुत समय सुहाउँदो बनाउँदै लैजानु पर्छ । राज्यले ती सम्पदाको संरक्षण गर्न ध्यान दिनु पर्छ ।’

आनुवंशिक स्रोतसम्बन्धी कानुनमा आदिवासी तथा स्थानीय समुदायहरूको स्वामित्वमा रहेका आनुवंशिक स्रोतसँग सम्बद्ध ज्ञानको स्रोतबारे पूर्व सूचना, सहमतिका आधारमा अनुसन्धान र प्रवर्द्धन हुनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १४:०६https://ekantipur.com/feature/2022/08/06/165976901023418731.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal