खुवालुङलाई क्षति नगरी जेटबोट चलाउन सुझाव

 

देवनारायण साह


प्रकाशित : चैत्र ११, २०७७ ०९:३१

मोरङ — प्रदेश १ सभाका सदस्यलगायतको टोलीले मंगलबार खुवालुङ क्षेत्रको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा कांग्रेस सचेतक सूयर्माराज राई, अर्थ समितिका सभापति मोहन खड्का, उद्योग, पर्यटन तथा वतावरण समितिका सभापति सीता थेबे, प्रदेशसभा सदस्य एवं पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, राजन राईको टोलीले निरीक्षण गरेको हो ।

धनकुटा र उदयपुरको सिमानास्थित दूधकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ । तस्बिर : देवनारायण/कान्तिपुर

उनीहरूले खुवालुङको संरक्षण गर्दै उत्तर र दक्षिणमा रहेका ढुंगा हटाएर जेटबोट सञ्चालन गर्न मिल्ने धारणा राखे ।

कांग्रेस सचेतक राईले खुवालुङलाई बचाएर धर्म, संस्कृति, परम्पराको राज्यले संरक्षण गर्नुपर्ने बताए । ‘विकासको नाममा विनाश गर्नु हुँदैन,’ उनले भने, ‘खुवालुङको इतिहास मास्न र भत्काउन नहुने खालका विकल्प पनि रहेकाले यसतर्फ सरकारी ध्यान पुग्नु आवश्यक छ ।’ जल यातायातको विकास गर्ने उद्देश्यका साथ किरातीहरूको आस्थाको धरोहर खुवालुङ मास्ने सरकारी नीति गलत भएको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले बताए ।

‘खुवालुङ संरक्षण गरेर पनि जल यातायात चलाउन सकिने अवस्था रहेकाले यसको संरक्षण सँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ,’ उनले भने । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबेले संस्कृति र सभ्यतासँग जोडिएको खुवालुङलाई क्षति नगरी जेटबोट सञ्चालनको विकल्प खोज्न सुझाइन् । खुवालुङ जोगाएर पनि ठूला आकारका जेटबोट सञ्चालन गर्न सकिने उनको भनाइ छ ।



प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले धार्मिक सम्पदा मास्ने सरकारी नियत नभएको प्रस्ट पारेका छन् । खुवालुङ हटाउने या फुटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । ‘कुनै पनि जाति, समुदायको धार्मिक आस्थामाथि आक्रमण गर्ने सरकारको नीति छैन,’ उनले भने, ‘केही राजनीतिक दलका नेताले खुवालुङको विषयलाई उचालेर राजनीतिक रंग दिन खोज्नु गलत हो ।’

सुनसरीको बराह क्षेत्रबाट एक किलोमिटर माथि अरुण, तमोर र दूधकोसी नदी मिसिएको ठाउँमा खुवालुङ छ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा (खुवालुङ) क्रेन लगाएर हटाएर सप्तकोसी नदीमा जेटबोट सञ्चालन गर्ने अभिव्यक्ति दिएका थिए ।

किरात राई यायोक्खा सुनसरीका अध्यक्षसमेत रहेका खुवालुङ क्षेत्र भेला आयोजक समितिका संयोजक बलराम राईले खुवालुङको संरक्षणसँगै वैकल्पिक व्यवस्था गरेर जेटबोट सञ्चालन गर्न सुझाव दिए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा जेटबोट सञ्चालनमा बाधक रहेको ढुंगा हटाउन बजेट विनियोजन गरेपछि र प्रधानमन्त्रीको अभिव्यक्तिपछि खुवालुङ संरक्षणका लागि विभिन्न क्षेत्रबाट अभियान चलिरहेको छ ।

https://ekantipur.com/news/2021/03/24/161655376206183269.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal