कविता : खुवालुङ - जनकऋषि राई (चाम्लिङ)

 कविता : खुवालुङ



जनकऋषि राई (चाम्लिङ)


तिमी ढुंगा देखिरहेका छौ
त्यही ढुंगाबाट मेरो इतिहास सुरु हुन्छ 
बगिरहेको नदीको आवाज संगीत हुन्छ
मेरो सौन्दर्य त्यही छ्यालुङ्माबाट उठेको हो
तप्प चुहिएको रगतसँग
मेरो सीमान्त कथा त्यही ढुंगासँग जीवन्त छ ।

 

तिमीले यसरी नै ढुंगा देख्नुअघि
आफ्नै बुढ्यौली अनुहारलाई हेरेर आउनु
बालुवाटारको कुनै ऐनामा
सत्ताको आवधिक उन्माद 
कोतपर्वको पटांगिनीमा बिसाएर आउनु
र, आउनु छाडेर कुनै वादको खोपडी
सोलोलोलो...सोलोलो...
तिमीले थाहा पाउनेछौ
तिम्रो पुस्ता यो धर्तीमा आउनुअघिको सुन्दरता
यही ढुंगा फुलेको थियो ।

 

सभ्यताको मिथक बुनेर
हजारौँ वर्षदेखि पानीमा डुबेर हेरिरहेको छ
–तिम्रो अराजक राजनीति
–चिसो लासजस्तो संविधान
बुझ्नु, पानीमा फुलेको शान्त सभ्यता
आँधी नहोस्
र, नहोस् बाढी पनि
बगाउन सक्छ तिम्रो अहंकार गंगातिर

 

नठान्नु, पानीमा डुबेको ढुंगा मात्र 
सभ्यता हो, तिमीलाई चिहाउन पानीमाथि उत्रिएको
जो, मेरो आँखा भएर हेरिरहेको छ
–तिम्रो अराजक राजनीति
–चिसो लासजस्तो संविधान


२०७७ फाल्गुण २९ शनिबार ०७:१३:००

https://jhannaya.nayapatrikadaily.com/news-details/1296/2021-03-13?fbclid

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal