कोपिला - फरर चिनियाँ भाषा


गणेश राई
‘सी एए हाओ । ज्यान दाउ निन् जन गाउ सिङ् ।’ (सी हजुरबुवा नमस्ते । हजुरसँग भेट्न पाउँदा धेरै खुसी लाग्यो ।)ओमन आई निन् ।(हामी तपाईंलाई माया गर्छौं ।)सेसे निन् लाय निबोआर ।(धन्यवाद छ, नेपाल आउनुभएकोमा ।)
मीठो बोली सुनेर चिनियाँ राष्ट्रपति सी चिनपिङ टक्क अडिए र बालबालिकातर्फ फर्किएर दायाँ हात हल्लाए । अनि चिनियाँ भाषामै भने, ‘तिमीहरूलाई भेटेर खुसी लाग्यो ।’
रातो कार्पेट ओछ्याइएको बाटोको बायाँतर्फ लहरै बालबालिका उभिएका थिए । नेपालको राष्ट्रिय पोसाक पहिरिएका उनीहरूले नेपाली र चिनियाँ राष्ट्रिय झन्डा फहराइरहेका थिए । नेपालको दुईदिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी फर्कंदा अघिल्लो आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा चिनियाँ भाषा बोल्न सक्ने ६९ जना बालबालिका पनि सहभागी थिए । अघिल्लो दिन पनि यी बालबालिकाले उसैगरी चिनियाँ भाषामा राष्ट्रपति सीलाई स्वागत गरेका थिए । त्यस क्रममा पनि निकै प्रफुल्लित देखिएका राष्ट्रपति सीले बालबालिकातर्फ हेरेर हाँस्दै हात हल्लाएका थिए ।
चिनियाँ राष्ट्रपतिको स्वागत र बिदाइमा काठमाडौं उपत्यकाका धेरै विद्यालयका हजारौं विद्यार्थी सहभागी भएका थिए । विमानस्थलदेखि सोल्टी होटलसम्म सडक दायाँ–बायाँ उभिएर झन्डा फहराएका थिए । नाचेका थिए, गाएका थिए । विमानस्थलको विशिष्ट कक्ष बाहिरचाहिँ चिनियाँ भाषा बोल्न सक्ने केही विद्यार्थीले नजिकबाट स्वागत र बिदाइ गर्ने मौका पाएका थिए, जो एलआरआई एजुकेसन फाउन्डेसनका विद्यार्थी थिए । पछिल्ला दिनमा एलआरआईलगायत विभिन्न विद्यालयले चिनियाँ भाषा पढाइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालका करिब ५० वटा निजी विद्यालयले चिनियाँ भाषा ऐच्छिक विषयका रूपमा पढाइरहेका छन् । चिनियाँ दूतावासमार्फत् ८६ जनालाई चिनियाँ भाषा पढाउन परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

‘चीनका राष्ट्रपतिको स्वागत र बिदाइ समारोह सहभागी हुन पाउँदाको क्षण अविस्मरणीय रह्यो,’ एलआरआई कक्षा ५ का कृशभ पन्तले भने, ‘हामी साना बालबालिका भएर पनि त्यत्ति ठूलो देशको प्रमुख मान्छेलाई उहाँकै भाषामा तपार्इंलाई हामी सधैं सम्झिरहन्छौं भन्न पायौं ।’ उनीजस्तै कक्षा ६ की आश्ना भण्डारी, कक्षा ८ का कौस्तुभ पन्त, कक्षा ११ की रेनुका ढकालले पनि राष्ट्रपति सीलाई छेउमै पुगेर स्वागत र बिदाइ गर्ने अवसर पाएकामा खुसी लागेको बताए । एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष शिवराज पन्तका अनुसार शिक्षा मन्त्रालयले नै चिनियाँ भाषा सिकेका विद्यार्थी खटाउन अनुरोध गरेको थियो । ‘हामीले अवसर चुकाएनौं, ६९ विद्यार्थीलाई पठायौं,’ उनले भने ।
पछिल्ला दिनमा चिनियाँ भाषा सिक्न चाहने विद्यार्थी संख्या पनि बढ्दै गएको छ । एपेक्स लाइफ स्कुल कक्षा २ मा पढिरहेका स्तुत्य ढुंगेल, प्रियांशी पौड्याल, मिगिन राना मगर, जेचन तामाङलगायतले चिनियाँ भाषा सिक्न थालेको भर्खर पाँच महिना पुग्दै छ । तर उनीहरू सहजै भन्न सक्छन्– ‘निहाउ (नमस्कार) १ सेसे (धन्यवाद) १ बुकेकी (तपाईंलाई स्वागत छ) १’ छोटो अवधिमा नै यी कलिला बालबालिकाले यस्ता झन्डै सयवटा जति औपचारिक शब्द जानिसकेका छन् । चिनियाँ जनजीवन र संस्कृति परम्पराका भिडियो हेरेका छन् । चिनियाँले नयाँ वर्षमा नाच्ने ड्रागन नाच नाचेका छन् ।
कक्षाकोठामा पुग्दा चिनियाँ शिक्षिकाद्वय ली र मेई मेई भेटिए, जो बालबालिकालाई आलोपालो अभ्यास गराइरहेका थिए । उनीहरू दुई वर्षदेखि नेपालमा छन् । ‘दुई कक्षाका बालबालिका ६ वर्ष उमेरका हुन्छन्,’ लीले भनिन्, ‘दैनिक व्यवहारमा प्रयोग हुने शब्द सिक्छन् । चिनियाँ सभ्यतामा अभिवादन गर्न सिक्छन् । चिनियाँ संस्कृतिबारे पनि जानकारी लिइरहेका छन् ।’ यहाँ कक्षा २ देखि ७ कक्षासम्मका बालकालिकालाई चिनियाँ भाषा पढाइँदै आएको छ । सात कक्षाका बालबालिका फरर बोल्छन् । ‘मैले तीन वर्षदेखि चाइनिज भाषा पढ्दै आएकी छु,’ कक्षा ७ की कनिष्का खतिवडा भन्छिन्, ‘घरमा नेपाली, स्कुलमा इंग्लिस, चाइनिज र संस्कृत भाषा सिकिरहेका छौं । चाइनिज बोल्न सजिलो, लेख्न गाह्रो छ । सिक्नेको चासोमा भर पर्छ ।’

सात कक्षाकै जागृति पन्थीले चाइनिज सिकेको सातै वर्ष भयो । ‘सुरुमा त्यति चासो हुन्नथ्यो,’ उनी सम्झिन्छिन्, ‘म्यामले पपकर्न दिएर अभ्यास गराउनुहुन्थ्यो, अब त ठूला मान्छेसँग पनि बोल्न सक्छु । थोरै लेख्न पनि आउँछ । तर अक्षर लेख्नचाहिँ निक्कै गाह्रो छ ।’ कक्षा ६ की प्रशन्न्या राई सानैमा हजुरबुवा र आमासँग चीन घुम्न गएकाले भाषा सिक्न बढी चासो लिएको बताउँछिन् । ‘संसारकै भाषाहरूमध्ये चाइनिज बोल्ने सबैभन्दा धेरै छन् रे,’ उनले भनिन्, ‘त्यसैले यो भाषा महत्त्वपूर्ण लागेको छ ।’ प्रशन्न्याकै साथी दीपिका खड्काको उस्तै भनाइ छ । ‘चाइनिज धेरैले बोल्छन्, त्यसैले सिक्नुपर्छ भनेर बाबा र ममीले हौसला दिनुहुन्छ,’ उनले भनिन् । प्रिन्सिपल सुवास न्यौपानेका अनुसार एपेक्स स्कुलमा सातामा दुई पिरियड चिनियाँ भाषा सिकाइन्छ ।
कलंकीस्थित एलआरआई स्कुलमा सबैभन्दा व्यवस्थित रूपमा चिनियाँ भाषा सिकाइन्छ । ‘कम्फुसियस क्लास रूम’ समेत छ । नेपालबाट चिनियाँ भाषाका अनलाइन परीक्षासमेत यही ‘कम्फुसियस क्लास रूम’ मा लिइने एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष पन्तले बताए ।
एउटा कक्षा ७० मिनेटको हुन्छ । त्यसैले पढ्ने बालबालिकाले प्रशस्त सिक्न पाउँछन् । अभ्यास गर्न सक्छन् । कक्षा ३ देखि चाइनिज अक्षर लेख्न सिकाइन्छ । अल्फाबेटहरू चिनाइन्छ । नयाँ विद्यार्थीलाई बानी पार्ने कोसिस गरिन्छ । विगतका कक्षा दोहोर्‍याइन्छ । कसैलाई किताब दिइँदैन । ह्वाइटबोर्डमा लेखेर देखाउने काम हुन्छ । ‘ए–फोर साइज’ को पेपरमा वर्कसिट गराइन्छ । दुई महिनाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा मन्त्री वाङ र नेपाल सरकारबीच ‘स्वयंसेवक भाषा (चिनियाँ) शिक्षक’ उपलब्ध गराउने समझदारी भएको छ । अब सरकारी विद्यालयमा समेत ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाइ हुनेछ । भर्खरै राष्ट्रपति सीको राजकीय भ्रमणका बेला चीनको ‘कन्फ्युसियस हेडक्वार्टर’ को समन्वयमा त्रिभुवन विश्वविद्यालयमा ‘कन्फ्युसियस इन्स्टिच्युट’ स्थापना गर्ने सम्झौता भएको छ ।

चीनको नियमअनुसार स्नातक हासिल गरेका युवाले तीन वर्ष स्वयंसेवक भएर खटिनुपर्छ । त्यसो हुँदा कुनै पनि क्षेत्रमा सेवा प्रवेश गर्न सजिलो हुन्छ । नेपालमा चिनियाँ भाषा पढाउनका निम्ति त्यस्ता युवालाई खटाइँदै आएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावास मातहत रहेर उनीहरू स्वयंसेवक शिक्षकका रूपमा खटिने गरेका छन् ।
प्रकाशित : कार्तिक ३, २०७६ १०:३९https://ekantipur.com/kopila/2019/10/20/157154724052722098.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal