किराती मिथकमा नयाँगीत


कान्तिपुर संवाददाता
काठमाडौँ — किराती मिथकमा आधारित गीत ‘नाना तायामा, भाइ हेछाकुप्पा’ को भिडियो सार्वजनिक भएको छ । भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको उक्त गीत शुक्रबार ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतमा रुपकुमार राई र राधा राईले आवाज दिएका छन् ।

मुन्दुम कथाअनुसार आदिम किराती पुर्खाका तीन सन्तान थिए। तिनै सन्तानमध्ये दिदी तायामा र भाइ हेछाकुप्पाको कथालाई लिएर यो गीत रचना गरिएको हो। पृथ्वीको उत्पत्ति र जीवजन्तु पर्यावरणको सृष्टि हुन्छ। पहिलो मानव पुर्खाको सन्तान खनिखोस्री जीवन धान्ने गर्दछ। अचानक बाबु र आमाको मृत्यु हुन्छ। दुई दिदी र एक भाइ सन्तान दुःखको भुमरी पर्छन्। वन तरुल, गिठ्ठा, भ्याकुरजस्ता कन्दमुल खोजेर जिउँछन्। भोकाएका भाइ अँगेनु तीन चुलामा पाकिरहेको अन्न देखेर रमाउँदै वरिपरि नाच्दछ। एउटा अगुल्टोमा कुल्चिएपछि अनायासै भाँडो घोप्टिएर पोखिन्छ। भाइ आफ्नो गल्तीले त्यसरी खाना घोप्टिएपछि रुन्छ। रुँदारुँदै त्यहीं निदाउँछ।

दुई दिदीले भाइले संसार छाड्यो भनेर माया मार्छन्। त्यसपछि ठूली दिदी (तायामा) लेकतिर र कान्छी दिदी खियामा बेंसी औलतिर झर्छ। रात ढल्किएर भोलिपल्ट भाइ ब्युँझिँदा आफू एक्लै पाउँछ। भाइलाई माया मारेर दिदीहरु हिँडेपछि भाइ हेछाकुप्पाको कठोर संघर्ष सुरु हुन्छ । हुर्केर भाइ हेछाकुप्पाको बिहे हुने भएपछि उनले हावा, चराहरुलाई खबर पठाउँछ भेट्दैन नाना तायामा खियामालाई । अन्तमा कुखुरा भालेलाई पठाउँछ । भालेले हेछाकुप्पा... भन्दै बासेर दिदीलाई सुनाउँछ अनि तायामाले भालेको आवाज पछ्याउँदै जादा भाइलाई भेट्छ ।

कालान्तरमा तिनै माइती र चेलीको कथा मुन्दुममा उनिएको छ। त्यही कथा हो– ‘नाना तायामा, भाइ हेछाकुप्पा।’

म बाँचेको तिम्रै माया, तिम्रै आशीर्वादमा
कहाँ गयो मलाई छाडी नाना तायामा
हौ नाना तायामा....

उभौलीमा फुलेजस्तै लिमचिमबुङको झुम्मा
त्यही फूलझैं भेटें तिमलाई भाइ हेछाकुप्पा
हौ भाइ हेछाकुप्पा .....

भिडियोमा अभिनय सेसुका राई, अस्मिता राई र रामदीप राईले गरेका छन्। निर्देशन युवराज राई, कोरियोग्राफी दिनेश माङ्बो र एरेन्ज चाँद सिङले गरेका छन्।

गीतको शीर्षमै शब्द रचनाकार कवि भूपाल राईले यही मुन्दुम मिथमाथि चोटिलो कविता वाचन गरेका छन्।


प्रकाशित : श्रावण ३२, २०७६ १५:५४https://www.kantipurdaily.com/entertainment/2019/08/17/156603658788154569.htm
l

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal