साहित्य - 'स्वालेवा' साहित्यिक पत्रिका विमोचित

कान्तिपुर संवाददाता, काठमाडौं


वैशाख ६, २०७१-नेपाली साहित्यको संवर्द्धनमा 'स्वालेवा' पत्रिका थपिएको छ । राजधानीबाट प्रकाशित उक्त पत्रिकाको पहिलो अंक शुक्रबार भाषाशास्त्री प्राध्यापक डा. नोवल किशोर राई, साहित्यकार राजन मुकारुङलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
किनारामा परेका पछौटे जाति जनजातिको लेखक, स्रष्टाहरुलाई प्राथमिकता दिने उद्देश्यसहित पत्रिका प्रकाशनमा ल्याइएको जनाइएको छ । पत्रिकाको सम्पादक तथा प्रकाशन गणेश वाम्बुले राई र कार्यकारी सम्पादक भावुक यज्ञ राई छन् ।
स्वालेवाको पहिलो अंकमा भाषाशास्त्री नोवल किशोर राईको संस्मरण, कथा, नाटक, हास्यव्यङ्ग्य निबन्ध, जाति परिचयमा भुजेल जातिको परिचय, गजल, स्रष्टा व्यक्तित्वमा महान् कलाकार लैनसिंह बाङदेलको परिचय, लोक साहित्य, राजन मुकारुङको उपन्यास दमिनी भीरको अंश, कवितालगायतका सामग्री समेटिएका छन् । त्यस अवसरमा अगल मातृभाषी समुदायका लेखहरुले रचना गरेका साहित्य र त्यसले बोक्ने साहित्यिक गुणलाई मूलधारको साहित्यसित जोड्ने कडीका रुपमा पत्रिकालाई लिइनु पर्ने भाषाशास्त्री राईले बताए ।
त्यसैगरी साहित्यकार मुकारुङले डेढ दशकदेखि राजधानीमा रहेर सीमान्तकृत आवाजलाई साहित्यमा मुखरीत गर्दै आएको बताए । 'उत्पीडित क्षेत्रलाई केन्द्रले सीमान्तकृतलाई हेर्ने दृष्टिकोण चिर्नु नै हाम्रो प्रयास हो,' उनले भने, 'मातृभाषामा मात्र लेखेर सुनाउनु पर्ने तहमा सुनाउन सकेका छैनौं । पहिचान गुम्दैछ भन्छौं तर आफैंले विडम्बना चिर्न सकिरहेका छैनौं ।'
त्यसैगरी नेपाल साहित्यिक पत्रकार संघका सचिव चेतनाथ धमला, किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, किरात राई लेखक संघका अध्यक्ष अर्जुन खालिङ, किरात राई पत्रकार संघका अध्यक्ष राजेश चाम्लिङ राईलगायतले विचार व्यक्त गरेका थिए ।  
प्रकाशित: वैशाख ६, २०७१
http://kantipur.ekantipur.com/news/2014-04-19/387803.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal