मुन्धुम शिरोमणि वैरागी काइँला

 


 
राजकुमार दिक्पाल
 
२०८१ चैत्र १८

इतिहासकार इमानसिंह चेम्जोङको शतवार्षिकी चलिरहेको थियो, २०५९ सालमा । स्टाफ कलेज, जावलाखेलमा आयोजित समारोहमा भाषाविद् प्रा.डा. नोवलकिशोर राईले एउटा प्रेरणादायी प्रस्ताव राख्नुभयो, “लिम्बूहरुको अहिलेसम्मको साहित्य अवलोकन गर्दा जसरी खस नेपाली भाषाको साहित्यमा भानुभक्त आचार्यको योगदान छ, त्यस्तै इमानसिंह चेम्जोङलाई लिम्बूहरुको भानुभक्त आचार्य मान्दा हुन्छ । अनि वैरागी काइँलाको भूमिका चाहिँ मोतीराम भट्टको जस्तो छ । बाँकी देवकोटा, लेखनाथ, सिद्धिचरणलगायतको स्थानमा कसलाई पुग्न मन छ, ठाउँ खाली छ है !”

नेपालमा असाध्यै थोरै कविता लेखेर आफूलाई अब्बल र अमर बनाउने कविको नाम हो, वैरागी काइँला । अझ उहाँको नाम आयामेली कविका रुपमा चर्चित र परिचित छ । तर उहाँको नयाँ कविता भने पढ्न पाइएको छैन, किनकी उहाँले आफ्नो सम्पूर्ण समय र ऊर्जा मुन्धुममा समर्पित गर्नुभएको छ ।

तेस्रो आयाम घोषणा

दार्जिलिङमा पढ्न बस्दा इन्द्रबहादुर राई र इश्वर वल्लभसँग मिलेर “तेस्रो आयाम” घोषणा गरेर नेपाली साहित्यको क्षितिजमा एउटा चम्किलो ताराको रुपमा उदाइरहदा सम्भवतः काइँलालाई लागेको थियो, अब आफ्नो सम्पूर्ण जीवन कवितामै समर्पित हुनेछ । तर उहाँको जीवनलाई कविताभन्दा मुन्धुमले आकर्षित गर्‍यो ।
यहाँ तेस्रो आयामको उदयका बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
तेस्रोपटक टीबी बल्झेर उहाँ दार्जिलिङको अस्पतालमा उपचार गराइरहनुभएको थियो । अस्पतालमा उहाँको सञ्चोविसञ्चो बुझ्न पुगिरहनेहरुमा इन्द्रबहादुर राई र इश्वरवल्लभ पनि हुनुहुन्थ्यो । भेट बाक्लिदो थियो, अनि बढ्दै थियो, आत्मीय र सिर्जनात्मक घनिष्टता पनि ।
यसै घनिष्टताको प्रतिफलस्वरुप “फूल पात पत्कर” को प्रकाशन भयो । काइँला यसको प्रकाशक हुनुहुन्थ्यो । २०१९ सालको हिउँददेखि २०२० सालको असार साउनसम्ममा नयाँ ढङ्गले लेखन अगाडी बढाउनुपर्छ भन्ने मान्यताका साथ दुई अङ्कसम्म निस्किसकेको यो पत्रिकाको सम्पादनको जिम्मेवारी थियो, इन्द्रबहादुर र इश्वरवल्लभको काँधमा । यी तीन सिर्जनशील ब्यक्तित्त्व इन्द्रबहादुर, इश्वर र काइँलाबीच नेपाली साहित्यमा नयाँ ढङ्गले लेख्ने अभियानलाई कसरी मूर्त रुप दिन सकिन्छ भन्नेमा पनि छलफल चलिरहेको थियो । छलफलमा पाठकले “झ्वाम्म” अथवा “डल्लै” अनुभूत गर्न सक्ने सिर्जना गरिनुपर्ने कुरा हुन्थे । “च्याप्टो” साहित्यले मानिसको अनुभूति सग्लै ब्यक्त गर्न सक्दैन भन्ने निष्कर्षमा थियो, उहाँहरुको । नयाँ पाराले केही काम गर्नुपर्छ भन्ने सरसल्लाह घनिभूत भइरहेको थियो ।
यसै सरसल्लाहको परिणति अर्को नयाँ पत्रिका निकाल्नुपर्ने आवश्यकताबोध भयो । पत्रिकाको न्वारान वैरागी काइँलाबाटै भयो, “थर्ड डाइमेन्सन” ।
पहिले अङ्ग्रेजी भाषामा न्वारान गरिएको यसलाई नेपालीमा “तेस्रो आयाम” भनियो । २०२० सालको असार महिनामा निस्केको उक्त पत्रिकामा छापिएको थियो, काइँलाको चर्चित कविता “मातेको मान्छेको भाषण मध्यरातको सडकसँग” । जम्मा २० पृष्ठको पत्रिकामा इन्द्रबहादुर राईले लेखेको २० हरफको पहिले अङ्कको सम्पादकीय नै “तेस्रो आयाम”को दर्शन बन्यो । सम्पादकीयमा यस्तो लेखिएको थियो, “…अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्छ । मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन, ऊ जम्मै इन्द्रिय, हृदय र मस्तिष्कको पुञ्ज हो । र, अब लेखिने प्रत्येक वाक्य र पंक्तिले उसको सम्पूर्णलाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ ।”
त्यसपछि इन्द्रबहादुर राई र इश्वरवल्लभसँगै वैरागी काइँलाको नाम आयामेलीमा दर्ता भयो, नेपाली आयामेली साहित्यका तीन ताराको रुपमा ।

मुन्धुमका लागि प्रेरणा

तेस्रो आयामबारे त कुनै सोचविचारै थिएन । उहाँ कवितासँग विस्तारै लहसिदै मात्र हुनुहुन्थ्यो । उमेर पनि अलि कच्चै थियो ।
२०१२ सालमा लन्डन युिनभर्सिर्टीको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आर. के. स्प्रिगसँग उहाँको भेट भएको थियो । तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बी. एच. हज्सनले सन् १८६४ तिर सङ्ग्रह गराएका लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृित, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखत पाण्डुलिपिको छायाँप्रति लिएर स्प्रिग नेपाल आएका थिए । नेपालमा रहँदा पाँचथर, सारतापस्थित काइँलाकै घरमा महिना दिनजति श्रीमतीसहित बसेका थिए । उनीहरुलाई भेटे पनि लिम्बू लिपि र भाषाबाहेक मुन्धुमको मूलविषयमा काइँलाको ध्यान खिचिन सकेन । उहाँ मुन्धुमको मेलो पाउने अवस्थामै हुनुहुन्नथ्यो ।
काइँलाको भनाईअनुसार मुन्धुमप्रति उहाँको ध्यान खिच्ने पहिलो ब्यक्तित्त्व चाहिँ इमानसिंह चेम्जोङ हुन् । लिम्बूको मुन्धुममा योगदान पु¥याएवापत २०७५ सालको जगदम्बाश्री पुरस्कार थाप्दै २०७६ असोज ३ गते ब्यक्त गरेको मन्तब्यमा उहाँले उल्लेख गर्नु भएअनुसार चेम्जोङले सङ्कलन, सम्पादन र अनुवाद गरेको किरात मुन्धुम (‘किरातको वेद’, वि.सं. २०१८) पुस्तक प्रकािशत भएर पढ्न पाएपछि मात्र उनमा लिम्बू भाषा, लिपि, सािहत्य, संस्कृित र इतिहासप्रति विशेष उत्प्रेरणा जागेर आयो ।
पछि काइँला आफै हज्जन पेपर अध्ययनका लागि लण्डन पुग्नुभयो । त्यहाँ सुरक्षित कागजहरुमध्ये लिम्बू भाषा र सिरिजङ्गा लिपीमा लेखिएका सामाग्रीहरु अध्ययनका लागि आफ्नो परियोजनामा संस्कृतिविद् डा. रमेश ढुङ्गेलले उहाँलाई लण्डन पु¥याउनुभएको थियो । उहाँ सन् २००४ जुलाई र अगस्टकाबीच ५ साता लण्डनमा हज्जन पेपर अध्ययन गरी फर्कनुभयो । हज्जन पेपरका लिम्बू विषयक अध्ययनलाई मसिनो ढङ्गले कलाउने विद्वानमा काइँला एक्लो हुनुहुन्छ ।
मुन्धुम शब्दको ब्यूत्पत्ति
२०७० सालको कुरा । उहाँको चार वटा मुन्धुमको पुस्तक एकैपटक विमोचन हुने तयारी चल्दै थियो । त्यसको पूर्वसन्ध्यामा एक सञ्चारकर्मीको नाताले म धुम्वाराहीस्थित उहाँको निवासमा मुन्धुमसम्बन्धी जिज्ञासा लिएर पुगेको थिएँ । त्यसबेला मुन्धुम शब्दको ब्यूत्पत्तिबारे उहाँको धारणा लिन सफल भएँ ।
उहाँले मुन्धुम शब्दलाई फुटाएर यसको अर्थ पर्गेल्ने प्रयास गर्नुभएको छ । यस लेखकसँगको संवादमा काइँलाले उल्लेख गरेअनुसार “मुन् थुम्” शब्द मिलेर मुन्धम् शब्दको ब्यूत्पत्ति भएको हो । लिम्बू भाषामा मुन् (मुम्–मा) को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने अर्थ लाग्छ । यस्तै थुम् (थुम्–मा) को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरुको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठीन किसिमबाट अगाडी बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ ।
मुन्धुम शब्दको ब्यूपत्तिबारे यसलाई नै आधिकारिक धारणा मान्न सकिन्छ ।
लिम्बूहरुमा मुन्धुमको सामाजिक र सांस्कृतिक महत्त्व ठूलो छ । सामाजिक, नैतिक र धार्मिक धारणाहरुको विकासको चरम अभिब्यक्ति मुन्धुममा पाइन्छ । अनेक आख्यानहरुद्वारा धार्मिक, नैतिक र सामाजिक अवधारणाहरुका लागि अठार पुराणको महत्त्वजस्तै लिम्बू जातिका लागि मुन्धुमको महत्त्व छ ।

मौखिक शास्त्र वा श्रुति परम्परामा रहेको लिम्बूहरुको मुन्धुमलाई लोप हुन नदिन यसलाई सङ्कलन र लिप्यान्तर गरी संरक्षण गर्ने कार्यमा केही ब्यक्तित्त्वहरुले बुद्धि र पसिना खर्च गरेका छन् । इमानसिंह चेम्जोङ, रणध्वज श्रेङ चोङबाङ, चैतन्य सुब्बा, अर्जुनबाबु माबुहाङ, डीबी आङबुङ लिम्बू मुन्धुम सङ्कलन र संरक्षण गर्ने स्वदेशी विद्वानहरु हुन् । यस्तै बी. एच. हज्सन, फिलिप सेगान्ता, ब्वाइड मिखाइलोब्स्की, रेक्स एल. जोन्स तथा ए. डब्लु. म्याक्डोनाल्डजस्ता विदेशी विद्वानहरुको योगदान पनि उल्लेखनीय रहेको छ ।

यता वैरागी काइँलाले मुन्धुमको लयसँग खेल्दै त्यसमाथि लेखन तथा चिन्तन गर्न थालेको पनि साढे चार दशकभन्दा भएछ । आयामेली साहित्यिक अभियानमा कविता लेखनमार्फत् प्रशिद्धिको चुली चढ्नुभएका काइँलाको विगत लामो समय मुन्धुम केलाउँदै वितिरहेछ ।
मुन्धुममा अनेकौं आख्यानहरु हुन्छन्, जो गाइन्छ । यसमा विषयवस्तु र प्रसङ्गअनुसार उठानदेखि बैठानसम्म विभिन्न शैली र छन्दको प्रयोग हुन्छ । यस्तो पद्यात्मक गेय भएको मुन्धुमको लयसँगै लहरिएका काब्यिक हृदयका शिखर ब्यक्तित्त्वले सङ्कलन र लिप्यान्तर गरी शिल्पी प्रस्तुतिले मुन्धुम पढ्नेहरुको मन पनि साह«ै मज्जाले छोइदिने गरेको छ । मुन्धुम र कविताकै निम्ति जन्म लिएका काइँलाजस्ता परिपक्व कविको हातबाट मुन्धुमको लिप्यान्तर हुनुले यसको गेयात्मक महत्त्व झन ठूलो हुन पुगेको छ ।
मुन्धुम सुनेर खुलेको निद्रा

इमानसिंह चेम्जोङको “किरातको वेद” (२०१८)मा आँखा परिसकेपछि मुन्धुमप्रति काइँलामा जागरुकता आएपछि उहाँ मुन्धुम सङ्कलनको अवसर खोज्दै हुनुहुन्थ्यो । उहाँले येबा दलबीर नायेम फागुबाट पहिलोपल्ट मुन्धुम सङ्कलन अवसर पाउनुभयो ।
मुन्धुमको अध्ययनको सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा २०३४ साल मङ्सिर ८ देखि ११ गतेसम्म तीन राते तङ्सिङ् अनुष्ठानको आयोजना गरे । १९६० साल भदौ २९ गते जन्मेका येबा दलबीरको जन्मस्थल मैवाखोला इलाका थादिङ् गाउँ चैनपुर हो । पछि उनी इलाम जिल्लाको नाम्सेलिङ गाउँमा बसाईं सरेका थिए । उनको यगाप्ची रामप्रसाद याक्खा थिए । येबा दलबीरले गाएको मुन्धुम सो अबसरमा टेप गरेर पछिबाट आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उनीसँग काइँलाले पटक पटक भेट र छलफल गर्ने काम पनि गर्नुभयो ।
येबा दलबीर बाहेक अन्य जानकार येबाहरुको खोजी गर्दा याङ्रोक निबासी हाल झापाको खुदुनाबारीमा बस्ने बीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो, काइँलाको । यिनै बीरबहादुर नै पछिबाट वैरागीका माइला दाजु डिल्लीविक्रम नेम्वाङको घर झापाको खुदुनाबारीमा २०४९ साल माघ १६ देखि १९ गतेसम्म तीन राते तङसिङको आयोजना गर्दा मुख्य येबा थिए । येबा बीरबहादुरसँग येबा दलबीरले गाएको मुन्धुमको पाण्डुलिपी र उनी आफैले गाएको मुन्धुमको पाण्डुलिपीमाथि ब्यापक छलफल भई तुुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने कार्य वैरागी काइँलाले गर्नुभयो ।
काइँलाको दलबीर नायम फागुसँगको भेट भने रोचक छ । कुरा २०३३ सालतिर हो । काइँला झापाको खुदुनाबारीबाट पाँचथरको सारताप आफ्नो घरगाउँ हिँडेका थिए । उहाँ बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा बास बस्न पुग्नुभएको थियो । थाकेर सुतेको बेला अचानक रातको एक बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उहाँको निद्रा खुल्यो । त्यसपछि केही तलको मामाको घरमा झर्नुभयो, जहाँ पूजा लगाइएको रहेछ, एक राते तङसिङ । साह«ै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येबा । उहाँले विहानसम्म बसेर येबाले गाएको मुन्धुमलाई टेप रेकर्ड गर्न भ्याउनुभयो ।
काइँलाले आफूले टेपमा रेकर्ड गरेको मुन्धुमको लिप्यान्तरको पहिलो पाण्डुलिपी यो लेखकले आफ्नो सङ्कलनमा सुरक्षित राखेको छ । पाण्डुलिपीमा उल्लेख भएअनुसार उहाँले २०३३ साल कात्तिक २३ गते येबाबाट मुन्धुम सुनेर टेपमा रेकर्ड गरिएको देखिन्छ । त्यसलाई सोही साल पुस ११ गते शनिबारसम्ममा लिप्यान्तर गरी सिरिजङ्गा लिपिमा उतार्नुभयो ।
जसरी एक येबाले गाएको मुन्धुमको लयले उहाँको निद्रा खुल्यो, अहिले त्यहीँ खुलेको निद्राले धेरै मुन्धुमप्रेमीको चेतनाको ढोका खुलेको छ ।

अब मुन्धुम शिरोमणि

एउटा कविका रुपमा चर्चा पाएका काइँलाले अहिलेसम्म केवल दुई वटा कविता सङ्ग्रह प्रकाशनमा ल्याउनुभएको छ । थोरै र राम्रा कविता लेखेर प्रशस्तै पाठक र चर्चा बटुल्न सफल काइँलाका लिम्बू भाषा र ब्याकरण हुँदै सम्पूर्ण ऊर्जा र उमेर मुन्धुममै समर्पण भएको देखिन्छ । “साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा” (२०४९)को प्रकाशनबाट लिम्बू मुन्धुमसम्बन्धी पुस्तक प्रकाशन सुरु गरेका उहाँले हालसम्म मुन्धुमसम्बन्धी मात्रै ११ वटा कृति पाठकसमक्ष समर्पित गरिसक्नुभएको छ ।
मुन्धुमको क्षेत्रमा यति धेरै काम गरिसकेका काइँलाले जगदम्बाश्री सम्मान थाप्दा आफ्नै कामको मूल्याङ्कन गर्दै भनेको कुरा यहाँ उल्लेख गर्दा उपयुक्त हुन्छ । उहाँले भन्नुभएको छ, “युगानुयुगदेखि श्रुतिपरम्परामा जीवित अमूर्तसम्पदा मुन्धुम सबैका दृष्टिमा पुगोस् संरक्षण र सम्बद्धर्नमा आंशिक टेवा पुगोस् भनेर यस दिशामा सानो प्रयाससम्म गरेको हुँ । यसो गर्दा लिम्बू जातिको मुन्धुमलाई लिम्बू भाषा लेखिने सिरिजङ्गा लिपि र देवनागरी लिपिमा लिम्बू भाषामा लिपिवद्ध गर्ने काम र नेपाली भाषामा अनुवाद गरेर लिम्बू भाषाभाषीका साथै नेपाली लेख्ने, पढ्ने र बुझ्ने जुनसुकै भाषाभाषी पाठकहरुमा पुगोस् भनेर अग्रजहरुले प्रारम्भ गरेका कामलाई मैले पनि निरन्तरता दिएको मात्र हुँ ।”
मुन्धुमसम्बन्धी यति धेरै कृतिको कीर्तिमानले उहाँ लिम्बू मुन्धुमको एउटा विश्वविद्यालयको रुपमा स्थापित हुनुहुन्छ । लिम्बूहरुले लिपी आविस्कार वा प्रचलनका लागि त्येअङ्सी सिरिजङ्गालाई, समाजसुधारको क्षेत्रमा महागुरु फाल्गुनन्दलाई तथा इतिहास लेखनमा इमानसिंह चेम्जोङलाई विभूति मान्छन् । यी तीन विभूतिपछि लिम्बूहरु मुन्धुम सङ्कलन र प्रकाशनका कारण काइँलालाई देवतुल्य मान्छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्त्व सम्हालिसक्नुभएका काइँला सुरुमा कवितामा र त्यसपछि भाषिक क्षेत्रमा योगदान दिनुभयो । तर उहाँले आफूलाई मुन्धुम क्षेत्रमा जोडदार रुपले समर्पित गर्नुभयो । असामान्य बुद्धि र धैर्यले मात्रै यस्तो काम गर्न सकिन्छ, जो वैरागी काइँलाबाट सम्भव भयो ।
उहाँलाई मुन्धुमविद् भने सम्वोधन गरिने गरिएको छ । तर मुन्धुमविद् त अरु पनि छन् । मुन्धुमको लिप्यान्तर र प्रकाशनबाट मुन्धुमविद्को पगरी काइँलालाई मात्रै थमाएर हुँदैन । जसजसले मुन्धुमसम्बन्धी महत्त्वपूर्ण योगदान गरे, ती सबैले मुन्धुमविदको हक पाउँछन् । मुन्धुम कवि र मुन्धुम गायक पनि देखा परिसकेका छन् ।
तर काइँलाको मुन्धुमप्रतिको समर्पण र योगदान विरलाकोटीको छ । उहाँको मुन्धुम लिप्यान्तर र प्रस्तुतिमा भाषा वैज्ञानिक दृष्टिकोण र काव्यिक प्रस्तुति अतुलनीय छ । त्यसैले काइँलालाई मुन्धुमविद् भनेर मात्रै हामीलाई पुग्दैन । अब उहाँलाई “मुन्धुम शिरोमणि”ले सम्मान गरौँ । अबदेखि उहाँलाई सम्बोधन गरौँ, मुन्धुम शिरोमणि वैरागी काइँला ।

https://nepalmamila.com/feature/77817?fbclid

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal