ख्यालःदेलमा ख्यालठट्टा

 


blog

कहाँ हुन्छ जन्मघर परदेशको ठाउँ 

रमाइलो छ वारिपारि आफ्नै घर गाउँ 

जोर मादल कहाँ बज्यो घन्केर 

रुन्छ मन गाउँघर सम्झेर 

शिरमा रिबन...

गायक तथा सङ्गीतकार शम्भु राईले दशकौँअघि सिर्जना गर्नुभएको यो गीत आमनेपालीको दैनिकीमा अझै पनि उत्तिकै सान्दर्भिक छ । अझ भनौँ, झन् झन् यो गीतको सान्दर्भिकता उज्यालिँदै छ । किनकि प्रत्येक साल, प्रत्येक महिना अझ प्रत्येक दिन कोही न कोही गाउँ छाडेर बसाइँ सरिरहेका छन् । विभिन्न अवसर र सुविधाको खोजीमा गाउँदेखि सहर, सहरदेखि विदेश पलायन भइरहेका लामबद्ध नेपाली जब परदेशमा सोचे जस्तो अवस्था भेट्दैनन्, दुःखका बग्रेल्ती अड्चनसँग जुध्छन् अनि पोख्छन् एक फ्वाँक गुनासो, ‘कहाँ हुन्छ जन्मघर परदेशको ठाउँमा’ । 

हो, हरेका मानिसका लागि आफ्नो जन्मथलो र जन्म दिने आमा सायद सबैभन्दा प्रिय शब्द हो । जन्मथलोबाहिर जति नै प्रगति गरे पनि, जति नै आधुनिकतामा रुमल्लिए पनि जोकोहीलाई आफ्नो थातथलो अर्थात् हुर्केबढेको स्थानको रहनसहन, संस्कार, संस्कृति वा दैनिकी नै प्यारो लाग्नु स्वाभाविक हो । त्यही प्यारो संस्कृतिप्रतिको मोह, त्यही माटोप्रतिको असीम सम्मान र आफ्नो भाषाप्रतिको अटुट मायाका कारण राजधानीको साङ्लामा निर्माण भइरहेछ, एउटा एकीकृत बस्ती ‘ख्यालःदेल’ अर्थात् ‘खालिङ बस्ती’ । 

विशेषतः पूर्वी पहाडी जिल्ला सोलुखुम्बुमा सघन बसोबास रहेका खालिङ राईहरूले विशुद्ध आफ्नो जन्मथलोको झल्को आउने गरी निर्माण गरिरहेको ‘ख्यालःदेल’ अन्य समुदायका लागि पनि उदाहरण हुन सक्छ । किराँत खालिङ राई उत्थान सङ्घका अध्यक्ष बलबहादुर राईका अनुसार २०६८ सालदेखि ६८ घर निर्माण गर्ने गरी सुरु गरिएको यो बस्ती निर्माणमा अहिले १५० परिवार जोडिइसकेका छन् । उहाँ भन्नुहुन्छ, “काठमाडौँमा आएर जताततै छरिएर बस्दा निकै अप्ठ्यारो भयो ।” 

राई थप्नुहुन्छ, “यसो एक टुक्रा जमिन किनेर बस्यो । कतिपय अवस्थामा पहिलेदेखि बसिरहेकाहरूले नवआगन्तुक भनेर सहर्ष स्वीकार नगर्ने, आफ्नो जन्मथलोमा अपनाइआएको संस्कार संस्कृति अनुसारको रहनसहन नहुने  भएपछि सामूहिक बस्ती निर्माण गर्ने योजना बनेको हो ।” उहाँले व्याख्या गर्नुभए झैँ आफ्नो क्षमता अनुसार जग्गा लिनेहरूले धमाधम घर बनाउन सुरु गरिसकेका छन् । घडेरी लिने सबैले आफ्नो सांस्कृतिक पहिचान हुने गरी घर बनाउने छन् । “यो साँच्चिकै सोलुखुम्बुको एक नमुना खालिङगाउँ (ख्यालःदेल) बन्ने छ,” यो अभियानका एक सदस्य प्रकाश खालिङ राई भन्नुहुन्छ, “हाम्रा सन्तानले आधुनिक सहरनजिकै पूरा पूरा हाम्रा पुर्खाहरूले चलाइआएको परम्परा उपभोग गर्न पाउने छन् ।” 

‘तम्र कम’ को आकर्षण  

सांस्कृतिक पहिचानसहितको बस्ती निर्माणका लागि सामूहिक ‘तम्र कम’ (मुन्दुमी घर) निर्माण भइसकेको छ । पूर्णतः सांस्कृतिक रीति अनुसार बनेको यो घरमा गत चैतमा पुर्खा सम्मेलन सम्पन्न भइसकेको छ । 

सङ्घका पूर्वअध्यक्ष रामरतन राईले घरको संरचना तथा महत्वबारे सञ्चारकर्मीसँग भन्नुभयो, “घर निर्माण गर्ने तर सामुदायिक रूपमा मुन्दुमी घरको मान्यता नपाउँदा हाम्रो अभियान खेर जान्छ भनेर विज्ञ पुर्खाहरूको सल्लाह अनुसार यो घर पूर्णतः सांस्कृतिक ढङ्गले निर्माण गरिएको छ ।” 

उहाँका अनुसार आँगनमा सेउली गाढ्ने स्थान, सांस्कृतिक अनुष्ठानका बेला चुलोनजिक ढ्याङ्ग्रो गाढ्ने, न्वागी गर्ने, अकालमा निधन हुने व्यक्तिलाई निकाल्दा अपनाउनुपर्ने विधिका लागि चाहिने घरको संरचना सबै मिलाएर तम्र (मुन्दुम) अनुसारको घर निर्माण गरिएको छ । यस घरका लागि आवश्यक सम्पूर्ण काठ सोलुखुम्बुबाट ल्याइएका छन् । घरमा प्रयोग गरिएका चापको यो काठ ८५ वर्ष पुरानो हो । सोलुखुम्बुकै एक व्यक्तिले दानमा यो काठ दिनुभएको हो । एक करोड ४१ लाख रुपियाँको लागतमा निर्माण गरिएको घरका लागि प्रदेश सरकारले १८ लाख रुपियाँ सहयोग गरेको छ । बाँकी विश्वभर छरिएका खालिङ राईहरूले चन्दा सङ्कलन गरेका हुन् । ‘तम्र कम’ निर्माणका लागि २२५ रुपियाँदेखि छ लाख ५० हजार रुपियाँसम्म दान गर्ने व्यक्ति छन् । 

डाँडाको महँगो रिसोर्टमा बसेर काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्दै आनन्द अनुभूति गरे झैँ महसुस हुने यो स्थान पहिले कान्लैकान्ला भएको उत्तिस र स्याउला घारी थियो । त्यही स्याउला घारी फाँडेर अहिले मजाको बस्ती निर्माण हुँदै छ । आन्तरिक बाटोसमेत निर्माण भइसकेको ‘ख्यालःदेल’ का प्रत्येक चिह्न तथा सङ्केत खालिङ भाषामा राखिएका छन् । अबको केही समयपछि यहाँ खालिङ सांस्कृतिक सङ्ग्रहालयसहितको कफी पसल पनि हुने छ । 

‘लाल’ र ‘फूल’ को ठट्टा  

किराँती राई समुदायभित्रका एक भाषिक समूह खालिङहरू त्यसै पनि आफ्नो बस्तीमा पाइने वा प्रवेश गर्ने जोकोहीलाई आफ्नै भाषामा नाम राख्ने गर्छन् । आफ्नो स्थानमा आउने पाहुनालाई पनि तिनको स्वभाव अनुसार खालिङहरू पुरुष भए ‘लाल’ महिला भए ‘फूल’ फुर्को थपेर नाम दिन्छन् । यसबारे व्याख्या हुँदाहुँदै पाहुना बनेर भेला भएका हामीलाई सत्कार गरिरहेका उत्थान सङ्घका कोषाध्यक्ष सलिना राईले भन्नुभयो, “खालिङगाउँमा मेरो नाम विजमफूल हो ।” ‘ख्यालः देल’ बारे जानकारी लिन भेला भएकामध्ये भाषाविद् डा. तारामणि राईलाई सोलुतिर खालिङ भाषाको अध्ययन गर्न जाँदा यसै गरी नाम दिइएको रहेछ, ‘मजम लाल’ । 

‘ए ! डा. होचो लाल’ तर नेपाल टेलिभिजनका पत्रकार गजुरधन राईले नामबारे व्याख्या गरिरहेका डा. राईलाई रोकेर उहाँको उचाइबारे व्यङ्ग्य कस्दै पहिलो हरफमै नाम बिगारिहाल्नुभयो,  “हैन, मजम लाल पो त हौ ।” सँगै रहेका मुन्दुमविद् भोगिराज चाम्लिङले सायद नेपाल टेलिभिजनको टावरले वास्तविक शब्द नसुनेको सम्झेर होला प्रस्ट्याउन खोज्नुभयो । 

“ए हगि ! होचो लाल !!” टेलिभिजनवाला राई रोक्किने स्थिति देखिएन । यहीबिचमा खालिङ संस्कार अनुसार पाहुनाको स्वागतमा गाइने आयसा सुरु भइसकेको थियो । सबै जना गलल हाँस्दै बटुकाको ‘ची’ (कोदोको जाँड) सुरुप्प पार्दै थिए । 

“अनुहार माओ, झन्डा चैँ हजुर किन चारतारे ?” आयसामार्फत युवा साहित्यकार गिलु रातोसले गजुरमाथि एक सर्को व्यङ्ग्य ठोकिहाल्नुभो । 

कसैले गजुरलाई जवाफका लागि कर गरिरहेका थिए । कोही अन्तै ध्यान दिइरहेका थिए । सायद रातोसको नजर अलि लजाइरहेकी पत्रकार नुनुता राईतिर प¥यो । “अनि हाम्रोमा त जन्ती आउने सोल्टिनीहरूले स्कार्फले टाउको छोप्दा त साह्रो जिस्क्याऊँ जिस्क्याऊँ हुन्छ त हौ,” रातोस अलि ‘रोमान्टिक’ देखिए । “होइन मलाई अलि चिसो लाग्ला जस्तो भयो,” सायद रातोसको अघि बढ्ने चाहनामा नुनुताले पानी खन्याइदिए । 

“लौ त गीत !” उता अग्रज पत्रकार गणेश राई नाच्न तम्तयार हुनुहुन्थ्यो । 

“त्यसअघि एउटा कविता,” रातोस तातिए । 

बग्दै बग्दै समयसँगै

पानीको बहावसँगै 

म समुद्र पुग्थेँ होला

मोती भेट्थेँ होला, 

तिमीले जालमा पा¥यौ

आफ्नो नजिक राख्यौ 

समुद्रभन्दा विशाल छाती भेटेँ

मोतीभन्दा अमूल्य प्रेम पाएँ 

समुद्र पुग्न नपाएकोमा 

मलाई गुनासो छैन, हेत्छाकुप्पा 

कवि निनाम सुशीलाले अचानक सिकुरिमा बनेर लेखेको कविताले माहोल संवेदात्मक बन्यो । 

“म चैँ यहाँको एक्लो बाहुनी तर मलाई राईहरूको, मतलब सबैको कल्चर मन पर्छ,” छेवैमा रहेकी फोटोपत्रकार कृष्ष श्रेष्ठलाई साक्षी राखेर पत्रकार पुष्पा थपलियाले कविताको पृष्ठभूमिबारे व्याख्या माग्नुभयो । किराँती समुदायमा प्रचलित मिथक अनुसार सिकुरिमा ढुङ्गाको रूप लिएकी एक महिला हुन्; जो हेत्छाकुप्पालाई माया गर्छिन् अनि हेत्छाकुप्पाले खोलामा जाल हान्दा उसको जालमा परेर हेत्छाकुप्पाको घरबार सम्हाल्न आइपुग्छिन् । 

यस्तै यस्तै व्याख्या हुँदै गर्दा प्रायः नजिस्कने मुडमा देखिने पत्रकार कुम्भराज राई, प्रकाश चाम्लिङ, प्रकाश रार्ई र डाकमान राई हल्का ‘रोमान्टिक’ देखिनुभयो । फेसबुकमा सधैँ ‘रोमान्टिक स्ट्याटस’ लेखिरहने अर्का पत्रकार धनबल राई भने यस पटक चुपचाप देखिनुभयो । रात छिप्पिँदै थियो । गीत तथा संवाद जारी थियो । किराँत राई पत्रकार सङ्घका अध्यक्ष अवतारमान राईले उही आफ्नो ‘ब्रान्ड’ सुनाइहाल्नुभो, ‘आजभोलि हरेका साँझ...।’ 

यस्तै यस्तै माहोलबिच खुला बजार र उपभोक्तावादी सामाजका कारण छायामा परेको स्थानीय संस्कृतिबारे हाम्रो छलफलमा पटक पटक गाउँको कुरा आउँथ्यो । खालिङ सङ्घका महासचिव मानवीर राईसहित केन्द्रीय समितिका विभिन्न पदाधिकारी तथा काठमाडाँै जिल्ला अध्यक्षसहितको मिठो स्वागतको बिच बिचमा ‘भ्याम्मै टुटिबर’ को भाकामा रमाउँदै गाउँमा यस्तो गरिन्थ्यो, उस्तो गरिन्थ्यो भन्दै धेरैले आआफ्ना सम्झना ताजा बनाइरहेका थिए । सायद यस्तै माहोल निर्माणका लागि निर्माण भइरहेछ ‘ख्यालःदेल’ । सुत्ने बेलासम्म यो व्रmम जारी रह्यो । सायद गाउँ छाडेर सहर पस्ने हाम्रो अघिल्लो पुस्ता र हामीसमेतको यस्तै भावलाई पस्केर होला, कलाकार जितेन राईले दसकौँअघि लेखेका थिए– 

भन्ज्याङपारि यारीखोला, 

भन्ज्याङवारि तावा शिर आइयौँ

जहाँ गए नि लाग्छ मलाई 

गाउँकै माया, गाउँकै पीर आइयौँ ।    

https://gorkhapatraonline.com/news/161250?fbclid

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal