मनोरञ्जन : आदिवासीले जित्नुपर्ने लडाइँ- 'मुक्कुम्लुङ'

 माघ ९, २०८१ रीना मोक्तान

A battle to be won by tribals - 'Mukkumlung'

'विकास बुझेका छौ?' लिम्बू दाजूले तास खेल्दै गरेको एक बाहुन पात्रलाई सोध्छन् । बाहुन पात्रले तुरुन्तै जवाफ दिन्छन्, 'तिमी पनि बेसी कुरा नगर दाजू । बाहुन भए पनि गाउँमा नाक काटेको छैन मैले तिमीले जस्तो । तिमी लिम्बू भएर गाउँको विरुद्ध बोल्दै हिँडेर हुन्छ ?’

रिसले मुर्मुरिँदै लिम्बू दाजू थप्छन्, 'होइन हौ, तिमीले विकास बुझेका छौ ?' लिम्बू दाजूको कुरा पूरा हुन नपाउँदै बाहुन पात्र झर्कन्छन्, 'परिवर्तन मात्रै भएर हुँदैन । तिम्रो गाउँ बाच्नु परेन, संस्कृति बाँच्नु परेन ?’

यो हो बानेश्वरस्थित मण्डला थिएटरको प्राङ्गण ! यो दृश्यलाई झट्ट हेर्दा यहाँ ठूलै झैझगडा चर्किएझैं देखिन्छ । तर, यो दृश्य हो, मण्डलामा मञ्चनरत नाटक ‘मुक्कुम्लुङ’को । यो ब्ल्याकबक्स (प्रस्तुति दिने स्थान, वर्गाकार कोठा जहाँ एउटा मञ्च र कालाभित्ता हुन्छ) भित्रको कुनै प्रस्तुति होइन, न यहाँ ब्ल्याक्सभित्र प्रयोग गरिने प्रकाशकै प्रयोग देखिन्छन् ! यो वास्तविक अर्थमा खुला रंगमञ्च हो । खुला स्थानलाई मञ्च बनाउँदै पात्रहरुले अभिनय गर्छन् । र, दर्शकले नजिकैबाट यो प्रस्तुतिको स्वाद चाख्न पाउँछन् । यही खुला रंगमञ्चमा नाटक ‘मुक्कुम्लुङ’को पहिलो भाग प्रस्तुत हुन्छ । करिब २० मिनेटको यही प्रस्तुतिले दर्शकलाई ब्ल्याकबक्ससम्म डोर्‍याउँछ ।

ब्लाकबक्सभित्र मञ्चन हुने कथाका लागि पहिला खुला रंगमञ्चको साक्षी बन्नुपर्ने हुन्छ । प्राङ्गणको यो प्रस्तुतिमा तपाईं कथाको साक्षी मात्रै बन्नुहुने छैन, ‘मुक्कुलुम्मुङ’माथिको वर्तमान अवस्था, सांस्कृतिक सवाल, प्रतिरोध र रैथाने आवाज सुन्नुहुनेछ/बुझ्नुहुनेछ । खुला रंगमञ्चले ‘मुक्कुलुम्मुङ’माथि चर्किरहेको वर्तमान बहस र विरोध देखाउँछ भने त्यसपछि ब्ल्याकबक्सभित्रको प्रस्तुतिले यसको इतिहास र साँस्कृतिक महत्त्व खोतल्छ ! अनिल सुब्बा निर्देशित ‘मुक्कुलुम्मुङ’, यही नौलो शैलीले पृथक बनेको हो । मुन्धुमी आस्थाको पवित्रस्थल ‘मुक्कुम्लुङ’ कसरी ‘पाथिभारा’ बन्यो र राज्यले आदीवासीको भूमीमा सत्ताको आडमा कसरी साँस्कृतिक अतिक्रमण गरिरहेको छ ? 'मुक्कुलुम्मुङ'ले यही विषय उठाउँदै राज्यले आदीवासीमाथि गरिरहेको दमनविरुद्ध आवाज उठाउँछ ।

बिसं २०५३ मा कानुनी रुपमा सरकारले ‘मुक्कुम्लुङ’लाई ‘पाथिभारा’ भन्यो । त्यसयता पवित्रस्थल ‘मुक्कुम्लुङ’को रैथाने पहिचान गुम्यो । आदीवासीले ‘मुक्कुम्लुङ’लाई राज्यले दिएको नामले चिन्नुपर्‍यो । राज्यले कसरी रैथाने भाषा/पहिचानलाई दबाउँछ/दबाइरहेछ भन्ने उदाहारण बनेको छ यो नाटक । खुला रंगमञ्चले यही प्रसंग छुँदै 'मुक्कुम्लुङ'को वर्तमान अवस्थालाई देखाउँछ । खासमा गत कार्तिकमा स्थानिय सरकारको प्रतिनिधिकै संलग्नतामा पाथिभरामा केबुलकारको शिलान्यास गरियो । रैथानेहरुले निर्माण घोषणा अगावैदेखि उक्त योजनाको विरोध गर्दै आइरहे । आफ्नो सँस्कृति मासिने, केबुलकार निर्माण गर्दा काटिने जंगलले जंगलमात्रै होइन त्यहाँ पाइने वन्यजन्तुदेखि वनपस्तिको अस्तित्त्व मेटिने भन्दै विरोध गर्दै आइरहे । तर, राज्यले उनीहरुको आवाजलाई सुन्न चाहेन । शक्तिको प्रयोग गर्दै केबुलकारको शिलान्यास भयो । शिलान्यास गरिरहँदा पनि प्रतिरोध भए, तर उनीहरुले त्यहाँका आदीवासीका मागहरुमाथि टेकेर शिलान्यास गरे । प्रकृतिको पुजा गर्नेहरुले प्रकृति संरक्षणका लागि उठाएको स्वर राज्यले सुनेन ।

केबुलकारको यो विषयमा दुई खेमा विभाजित छन् । त्यहीँको लिम्बू समूदायका केही पर्यट्नसँगै रोजगारी बढ्ने पक्ष हेरेर केबुलकार निर्माणको पक्षमा उभिए । खुला रंगमञ्चमा बाहुन पात्र र लिम्बू दाजूबीचको विवाद, यसैको प्रतिबिम्व हो । केबुलकार बन्नुपर्छ भन्ने स्थानीय र बन्नुहुँदैन भन्ने पक्षबीचको विवादले यही मुद्दामाथि रैथानेहरु नै कसरी विभाजित छन् भन्ने पनि देखाउँछ । यी दुईबीचको झगडा, अहिले पाथीभरामा भइरहेको विवादको झल्को पनि हो । केही राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधी, नागरिक समाजलगायत विभिन्न संघ संस्थाको प्रतिनिधीको प्रतिनिधी पात्र हुन्, लिम्बू दाजू । जो, केबुलकार बन्नुपर्ने पक्षमा छन् । अर्कोतिर यस्ता बाहुन पात्र पनि खडा गरिएको छ, जो गाउँ बचाउन चाहन्छन्, सँस्कृति जोगाउन चाहन्छन् । 'मुक्कुमुलङ' हार्‍यो भने यहाँका आदीवासी हार्छन्,'नाटकको यही शसक्त संवादमै केबुलकार विरोधी आदिवासीका मनोविज्ञान र लडाईं प्रस्तुत हुन्छ ।

'मुक्कुम्लुङ' जोगाउनकै लागि 'मुक्कुम्लुङ संरक्षण' टोली यतिविघ्न किन प्रतिरोधमा उत्रिए ? ज्यानको बाजी थापेर त्यहाँका स्थानीयले किन रक्ताम्मे शरीरमै पनि विरोध गरिरहेका छन् त ? मुक्कुम्लुङमा केबुलकार निर्माण गर्दा आदीवासी किन एकसाथ जुर्मुरिए त ? 'मुक्कुम्लुङ'को इतिहास देखाउँदै यसको साँस्कृतिक महत्त्व बुझाउनु यो नाटकको अर्को सबल पाटो हो । यसले त्यहाँका रैथानेहरुका लागि, उनीहरुका जनजीवन र अस्तित्त्वका लागि यसको महत्त्व कति छ भन्नेतर्फ दर्शकको ध्यान केन्द्रित गर्छ । मुन्धुममा उल्लिखित पृथ्वीकै पहिलो नारी मुजिङ्ना खेयङ्नामार्फत यो विषयलाई मञ्चमा उभ्याइएको छ । मुन्धुम अनुसार पृथ्वीको पहिलो नारीबाट जन्मिएको छोरा सुसुवेन लालावेन(सुरज तमु) सिकारमा निस्कन्छन् । सिकारमा निस्कँदा उनले चार युवतीसँग प्रेम गर्छन् । उनीहरुबाट जन्मिएका सन्तान नै लिम्बूहरु हुन् भन्ने इतिहास छ । सिकार खेल्दै हिँड्ने यही सुसुवेन कसरी ढुंगामा परिणत हुन्छन् र त्यसको महत्त्व लिम्बू समुदायका लागि कति अपरिहार्यजस्तै छ भन्ने पक्षलाई देखाइएको छ ।

तर, निर्देशकले 'मुक्कुम्लुङ' बुझाउन धेरै समय सृष्टिको यही कथामा खर्चेका छन् । यसले नाटकलाई धिमा बनाउँदै लैजान्छ । साँस्कृतिक पक्षलाई कथा वाचनमा धेरै मिसाउँदा त्यसले दर्शकलाई उतिसारो बाँधेर राख्न सक्दैन । प्राङ्गणमा गरिएको प्रस्तुतिले जति दर्शकको ध्यान तान्छ, त्यति ब्ल्याकबक्सभित्र प्रस्तुत हुने सृष्टिको कथाले बाँध्दैन । साँस्कृतिक महत्त्व बुझाउने मुजिङ्ना खेयङ्ना र छोरा सुसुवेनको कथालाई छोट्याउँदै 'मुक्कुम्लुङ'को अपरिहार्यतातर्फ कथालाई अगाडि बढाउन सकिने थुप्रै ठाउँहरु भेटिन्छन् । उदाहरणका लागि विभिन्न प्रेमिकासँगको प्रेमलाई छोट्याउन सकिन्थ्यो । सृष्टिको वर्णन कम गर्दै 'मुक्कुम्लुङ'को महत्त्व बुझाउन निर्माण टोलीले यो पक्षबाट पनि नाटकलाई कसिलो बनाउन सक्छ । तर, सुसुवेन बनेका सुरज तमु र मुजिङ्ना खेयङ्ना बनेका बेदना राईको अभिनयले नाटकका यी कमजोरी ढाकिदिएका छन् । एउटी आमाले छोराका लागि गर्ने पर्खाई, छोरा हुर्काउँदाका भावना, - आमाको कोमलदेखि शसक्त स्वभावलाई बेदनाले गजब्बसँग अभिनयमार्फत प्रस्तुत गरेकी छन् । छोराको भूमिकामा सुरजले गरेको अभिनय शसक्त छ । सुसुवेनमार्फत सुरजले आफ्नो अभिनयका फरक आयामहरुलाई मञ्चमा पस्केका छन् । सुसुवेनको चञ्चले स्वभाव, सिकार गर्दाका हिम्मत उनको आँखैमा टक्क अडिएको छ । धामी बनेका विष्णु मोक्तानको टोलीदेखि जनावर स्वरुपमा मञ्चमा उभिएका कलाकारहरुका अभिनयले नाटकमा दर्शकलाई बाँध्ने काम भएको छ ।

भनिन्छ, इट्टाको जवाफ फूलले दिनुपर्छ । 'मुक्कुम्लुङ' आन्दोलनकै साँस्कृतिक स्वरुप हो । त्यसैले यो नाटकमा कति कुरा सोझै/सिधै भनिएका छन् । झट्ट सुन्दा आन्दोलनमा सुनिने नाराहरु प्रयोग छन् । त्यही विषयलाई पनि फूलको कोमल प्रहारमा भन्न सकिन्थ्यो, आखिर कला आफैमा आन्दोलन पनि हो । केही दृश्यमा इट्टाको जवाफ इट्टाद्वारा नै दिइएको भान हुन्छ । यी पक्षमा निर्माण टिमले ध्यान दिएको भए नाटकमा उठाइएका मुद्दाले फूलको सुवास झैं लामो समयसम्म सरोकारवालाको मस्तिष्कमा हिर्काइरहन्थ्यो ।

जे होस्, नाटकले शक्तिको आडमा कमजोरलाई दबाउने प्रवृतिहरुमाथि बेजोडले व्यंग्य गरेको छ । शक्तिहिनहरुको लाचारपना, उनीहरुले सहेका दमन र भोगेका पीडा देखाइएको छ । साथै, उनीहरुले शक्तिमा भएकाहरुको यो दमनविरुद्ध उठाएको चर्को आवाज प्रस्तुत गर्छ । नाटकले रैथाने भूमीमा रैथानेले निर्धक्क बाँच्ने अधिकार खोज्छ ! विडम्वना अझै पनि रैथानेहरुले आफ्नो जमिनका लागि, सँस्कृतिका लागि, पहिचानका लागि लडाईंहरु लडिरहनुपरेको छ । त्यसैले नाटकले समग्रमा भन्छ - 'मुक्कुम्लुङ'ले जित्नुपर्छ, अनि मात्र आदीवासीको जीत हुन्छ । लडाईं पूरा हुन्छ !

प्रकाशित : माघ ९, २०८१ १८:२६
https://ekantipur.com/entertainment/2025/01/22/the-battle-to-be-won-by-adivasis-mukkumlung-15-46.html?fbclid

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal