हिमाल सप्ताहान्त: ‘गोपालवंशलाई पूर्वज मान्ने हो भने नेवार नै नेपाल उपत्यकाका आदिवासी हुन्’ प्रा. त्रिरत्न मानन्धर

 ‘शंखधर साख्वा वंशावली साहित्यमा सीमित नभई ऐतिहासिक रूपमै प्रमाणित व्यक्ति हुन्। मध्यकालका शिलालेख र ग्रन्थमा उनको नाम आउँछ।’

प्रा. त्रिरत्न मानन्धर ख्यातनाम इतिहासविद् हुन्। नेपालको इतिहास अन्वेषणमा लामो समयदेखि सक्रिय उनले एकल र संयुक्त रूपमा गरी २२ वटा पुस्तक लेखेका छन्। खासगरी शाहकालीन इतिहास अध्ययन र लेखनमा ख्याति कमाएका उनको नेपाल-भोट विवाद, नेपालको इतिहासमा जंगबहादुर जस्ता पुस्तक चर्चित छन्। देवशमशेर र तात्कालिक नेपाल  पुस्तक प्रकाशोन्मुख छ।

बौद्ध धर्म-संस्कृतिबारे समेत गहिरो अध्ययन गरेका उनीसँग त्रिभुवन विश्वविद्यालयमा इतिहास विभागको प्रमुख र लुम्बिनी विश्वविद्यालयमा उपकुलपतिका रूपमा काम गरेको अनुभव छ। यसै सेरोफेरोमा मानन्धरसँग हिमालखबरका लागि गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं लामो समयदेखि इतिहास अनुसन्धानमा सक्रिय हुनुहुन्छ। यसबीच नेपालको इतिहास लेखनको प्रवृत्तिमा केकस्ता बदलाव देख्नुभएको छ?

इतिहास जित्नेहरूको मात्र लेखिन्छ भन्ने कुरा धेरै हदसम्म सत्य हो। एक लेखकले भनेका छन्, ‘कुनै शासक वंशको इतिहास उसको शासन अन्त्य भएपछि मात्र लेखिनुपर्छ।’ किनकि शासनकै वेला उसको विरोधमा लेख्न सम्भव हुँदैन। यसो गर्दा लेखकले सजाय पाएका घटना छन्। राणाकालका सन्दर्भमा त्यति वेलाका कतिपय स्वदेशी-विदेशी लेखकले उनीहरूको गुणगान मात्र गरेको देखिन्छ। शासन पतन भएपछि चाहिं राणाहरूलाई जथाभावी गाली गरेर पनि लेखिएको छ। अर्थात् इतिहास लेखनमा कि अतिशय गाली गर्ने कि त अतिशय प्रशंसा गर्ने प्रवृत्ति छ।

यद्यपि पछिल्ला दशकमा यस्तो प्रवृत्तिमा कमी आई वस्तुपरक विश्लेषण गरेर लेख्ने शैली विकास भएको छ। विशेषतः इतिहास तथ्य र तर्कमा आधारित हुनुपर्छ, प्रमाणका आधारमा निष्पक्षतापूर्वक व्याख्या गरिनुपर्छ भन्ने अवधारणा बलियो भएको छ। विश्लेषणका लागि विवरण र इतिहासकारको नियत पनि सही हुनुपर्छ भन्ने दृष्टिकोणलाई आधार मान्न थालिएको छ। अहिले पनि केही पुस्तक कुनै व्यक्ति वा वर्गको तारीफ गरेर नलेखिएका भने होइनन्। 

तपाईंले परराष्ट्र मन्त्रालयको ऐतिहासिक सामग्री रहेको फाँट (जैसीकोठामा)मा काम गर्नुभयो। नेपालको इतिहास अध्ययनमा त्यहाँका कागजात केकसरी उपयोग हुँदै आएका छन्?

जैसीकोठाका ऐतिहासिक सामग्रीमा काम गर्ने पहिलो व्यक्ति चित्तरञ्जन नेपाली हुन्। तिनै कागजातका आधारमा उनले २०१३ र २०२० सालमा क्रमशः भीमसेन थापा र तत्कालीन नेपाल र श्री ५ रणबहादुर शाह पुस्तक लेखेका छन्। चित्तरञ्जन नेपालीका अनुसार उनका बुबा मेदिनीप्रसाद राजभण्डारी परराष्ट्र मन्त्रालयमा काम गर्ने भएकाले उनकै सहयोगमा ती सामग्रीमा पहुँच पाएका हुन्।

त्यसपछि २०२०-२२ सालतिर राजा महेन्द्रले पृथ्वीनारायण शाहको जीवनी लेख्न लगाउँदा बाबुराम आचार्यले पनि यी कागजात उपयोग गरेका थिए। त्यति वेला आचार्यको आँखाको दृष्टि गुमिसकेकाले उनले अरूको वाचनमा ती सामग्री पढे। पृथ्वीनारायण शाहसँग सम्बद्ध दस्तावेज मात्र पढेका उनले मुगल बादशाहले पृथ्वीनारायण शाहलाई बहादुर समशेरजंग उपाधि दिएको दस्तावेज छपाए पनि। के पनि सुनिएको थियो भने, मुगल बादशाहले पठाएको दस्तावेजमा पृथ्वीनारायण शाहलाई राजा नभनी गोरखाको जमीनदार भनिएकाले पहिले त्यो दस्तावेज छापिएको थिएन। आचार्यले पछि साहस गरेर त्यसलाई पनि छपाए। ऐतिहासिक लेखनका प्रयोजनले जैसीकोठाका दस्तावेज अध्ययन गर्ने दोस्रो व्यक्ति आचार्य हुन्।

त्यसपछि जैसीकोठामा दुई विदेशी लेखकले काम गर्ने अवसर पाए। तीमध्येका एक असद हुसेनले २०२७ सालमा पुस्तक प्रकाशन गरेका थिए। सुनिए अनुसार राजा महेन्द्र अमेरिका भ्रमणमा जाँदा त्यहाँ भेट भएका असदले राजासँग नेपाल-भारत सम्बन्धबारे पुस्तक लेख्न लागेको बताएछन्। त्यसपछि राजाकै आदेशमा उनलाई जैसीकोठामा पहुँच दिइएको रहेछ।

त्यस्तै, २०२८ सालमा जैसीकोठाका ऐतिहासिक सामग्रीको अध्ययन गरी अमेरिकी लेखक लियो इ. रोजले नेपालः स्ट्र्याटेजी फर सर्भाइभल पुस्तक लेखेका थिए।

मैले चाहिं २०३५ सालमा हेमन्तशमशेर, प्रेमरमण उप्रेती र कृष्णकान्त अधिकारीसँगै जैसीकोठा प्रवेश गर्न पाएको हुँ। यसमा हामीलाई परराष्ट्र मन्त्रालयमा सहसचिव रहेका हेमन्तका मामा नरेन्द्रविक्रम शाहको सहयोग रह्यो। यसका लागि राजदरबारबाट आवश्यक स्वीकृतिका लागि चिरनशमशेर थापासँग अनुरोध गरेका थियौं। हेमन्तशमशेर र प्रेमरमणले चिरनशमशेरलाई चिन्थे। त्यहाँ रहेका सामग्रीको दुरुपयोग नगर्ने प्रतिबद्धता जनाएपछि हामीले स्वीकृति पायौं। त्यसपछि दिनेशराज पन्त, ज्ञानमणि नेपाल, तीर्थ मिश्र, रुक्मिणी राणा लगायत अरू धेरै इतिहासविद्ले जैसीकोठाका सामग्री अध्ययन गर्न पाए।

पहिले जैसीकोठामा नेपाल-भोट सम्बन्धी सामग्री मात्र छन् भन्ने सुनिन्थ्यो, होइन रहेछ। त्यहाँ भारतसँग, नेपालको आन्तरिक राजनीतिक घटनासँग सम्बद्ध कागजात पनि छन्। परराष्ट्र मन्त्रालयलाई मुन्सीखाना भनिंदाताका जैसीहरूका अक्षर राम्रा हुने भएकाले तिनलाई दस्तावेज लेख्न खटाइने गरेको रहेछ। तिनले लेख्ने-पढ्ने कोठा भएकाले जैसीकोठा भनिएको हुनुपर्छ।

अहिले त जैसीकोठाका सामग्री ‘माइक्रोफिल्मिङ’ गरी राष्ट्रिय अभिलेखालयमा राखिएको छ। मोहन मैनालीले मुकामः रणमैदान-नेपाल अंग्रेज युद्धको बखान वस्तुतः तिनै कागजातका आधारमा लेखेका छन्। यसरी नेपालको इतिहास लेखनमा परराष्ट्र मन्त्रालयका दस्तावेजको महत्त्वपूर्ण स्थान छ। 

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागको प्रमुख र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति हुनुभयो। नेपालको इतिहास लेखनमा विश्वविद्यालयको योगदान चाहिं कस्तो छ? 

नेपालको इतिहास लेखनमा त्रिविको इतिहास विभागका केही प्राध्यापकले राम्रो काम गरेका छन्। भक्तपुरको ठिमीका चन्द्रमान जोशीसँग मध्यकालका धेरै दस्तावेज थिए। ती केही उनले संशोधन-मण्डललाई पनि देखाएका थिए। जोशीको देहान्तपछि उनका छोरा मार्फत ती दस्तावेज त्रिविको इतिहास विभाग ल्याइयो। एक पटक कौसीतोषाखानाका पुराना कागजात जलाउन स्वीकृति दिइएछ। हामीले थाहा पाउनासाथ तत्काल विभागमा ल्याइहाल्यौं। तर ती दस्तावेजको पनि राम्रोसँग अध्ययन हुन सकेको छैन।

मैले लुम्बिनी बौद्ध विश्वविद्यालयमा शुरूआती चरणका चार वर्ष काम गरें। इतिहास लेखनमा यसले अहिलेसम्म खासै काम गरे जस्तो लाग्दैन। किनकि उसको मूल विषय नै बौद्ध दर्शन र संस्कृति हो। अरू विश्वविद्यालयले पनि इतिहास लेखनमा काम गरेका छैनन्। धेरथोर जे भएको छ, त्यो बरु त्रिविबाटै भएको छ। यस बाहेक संशोधन-मण्डल, जोशी रिसर्च सेन्टर र पछिल्लो कालमा स्थापित प्रज्ञा-प्रतिष्ठान मार्फत केही काम भएको देखिन्छ।

आधुनिक साइन्स अफ इन्टरप्रिटेसन्सले वंशावली साहित्यलाई इतिहास मान्दैन। यो स्थितिमा हाम्रा वंशावलीलाई इतिहासको स्रोत मान्ने कि नमान्ने?

सरकारी कामकाजका सिलसिलामा तयार कागजात र अभिलेखहरू मूल भए पनि यिनकै आधारमा मात्र इतिहास लेखन पूरा हुँदैन। लिच्छविकालको कुरा गर्दा २५० भन्दा बढी शिलालेख प्राप्त छन्, तर यति मात्रैले पनि इतिहास अपूर्ण हुन सक्छ। त्यसैले वंशावली साहित्य हेर्नै पर्छ। वंशावली र मिथकीय साहित्यमा इतिहासको आंशिक सत्य रहने कुरालाई अनदेखा गर्न मिल्दैन।

हो, वंशावलीका कुरालाई अभिलेख्य प्रमाणसँग तुलना गरेर भने हेर्नुपर्छ। वंशावली साहित्यलाई आधार नमाने त नेपालको प्राचीनकालको इतिहास नै लेखिंदैन। लेखिए पनि अपूरो हुन्छ। अभिलेख्य प्रमाण मात्र हेर्दा मध्यकालकै इतिहास लेखिंदैन।

नेपाल संवत्‌बारे सुल्झिन नसकेको विवाद छ। कसैले यसलाई लिच्छविकालदेखि चलेको भन्छन् त कसैले पछि राजा राघवदेव वा शंखधर साख्वाले चलाएको, यहाँको मत के छ?

नेपाल संवत्‌ लिच्छविकालदेखि चलेको भन्ने कुरा सही होइन। यसको उत्पत्तिको कथा शंखधर साख्वा र राघवदेवसँग जोडिन्छ। नेपालको सबैभन्दा पुरानो वंशावली गोपालराज वंशावलीमा राघवदेव र नेपाल संवत्‌को प्रसंग छैन। केशर पुस्तकालयमा रहेको गोपालराज वंशावलीकै संक्षिप्त वंशावलीमा चाहिं राघवदेवले यो संवत्‌ चलाएको उल्लेख छ। तर पछिल्ला वंशावली साहित्यमा शंखधर साख्वाको कथा जोडिएको छ।

बालुवा सुन भएको र शंखधर साख्वाे त्यही सुनबाट दासदासीलाई ऋणमुक्त गराएको सम्झनामा नेपाल संवत्‌ चलाएको कथा सुनिंदै आएको छ। यी मिथकको विश्वासिलो आधार नभए पनि शंखधर साख्वा वंशावली साहित्यमा सीमित नभई ऐतिहासिक रूपमै प्रमाणित व्यक्ति भने हुन्। मध्यकालका शिलालेख र ग्रन्थमा उनको नाम आउँछ। तिनमा कतै कतै शंखोदत्त, शंखदत्त आदि नामबाट सम्बोधन गरिएको छ। मल्लकालीन एउटा शिलालेखमा नेपाल संवत्‌लाई साख्वासंवत्‌ पनि भनिएको छ।

लिच्छविकालमा चलेका संवत्‌का सम्बन्धमा शंकरमान राजवंशी र उनका छोरा श्यामसुन्दरले विद्यावारिधि तहमा गरेको शोध मार्फत त्रिविले एकखाले मतलाई मान्यता दियो। त्यसको करीब ३८ वर्षअघि नै तात्कालिक राजकीय प्रज्ञा-प्रतिष्ठानले नयराज पन्तको लिच्छवि संवत्‌को निर्णय पुस्तक प्रकाशन गरी अर्कैखाले मतलाई स्विकारिसकेको थियो। यसरी सरकार अन्तर्गतकै दुई निकायले परस्पर बाझिने मतलाई स्विकार्दा ऐतिहासिक तथ्यप्रति सरकारको दृष्टिकोण पनि बाझिएन र?

इतिहास लेखनका सन्दर्भमा यस्ता अनेकौं विवाद आउँछन्, जसमा एकरूपता हुँदैन। लिच्छविकालमा शुरूमा चलेको संवत्‌लाई संशोधन-मण्डलले अहिले पनि शक संवत्‌ नै भनिरहेको छ। तर पछि श्यामसुन्दरले त्यो संवत्‌को मितिमा शक संवत्‌भन्दा १७ महीनाको फरक परेको भन्दै त्यसलाई लिच्छवि संवत्‌ भने। शंकरमानले शुरूमा यसबारे अनेक तर्क गरे पनि पछि छोरा श्यामसुन्दरकै तर्कलाई स्विकारेका छन्।

अंशुवर्माले चलाएको भनिने, संवत्‌ २९ देखि प्रचलनमा देखिएको संवत्‌लाई संशोधन-मण्डलले मानदेव संवत्‌ ४९८ बाट शुरू भएको मानेको छ। श्यामसुन्दरले चाहिं यो संवत्‌ मानदेव संवत्‌कै निरन्तरता रहेको, अनि ५०० वर्ष पुगेपछि फेरि एकदेखि गणना गरी अंशुवर्माले आफ्नो नाममा चलाएको उल्लेख गरेका छन्। लिच्छविकालमा चलेका संवत्‌बारेका यी दुईथरी मत छलफल गरिनुपर्ने विषय हुन्। जहाँसम्म सरकारी दृष्टिकोणको कुरा छ, दुई निकायले मान्यता दिंदैमा निष्कर्षमा पुगिएको मानिंदैन। श्यामसुन्दरले व्यक्त गरेको विचार पनि प्रश्नभन्दा बाहिर छैन।

अर्कातिर, संशोधन मण्डल र श्यामसुन्दरका मतमा खासै फरक पनि छैन। जम्मा १७ महीनाले कुरा नमिलेको हो। यसको कारण के हुन सक्छ भने, संवत्‌हरू दुई किसिमले चलेका हुन्छन्- गत प्रणाली र वर्तमान प्रणाली। गत प्रणालीमा संवत्‌को गणना शून्यबाट शुरू हुन्छ। अर्थात् १२ महीनाको चक्र पूरा भएपछि त्यसलाई बल्ल एक वर्ष मानिन्छ। वर्तमान प्रणालीमा चाहिं संवत्‌को आरम्भमै एक भनी गणना गरिन्छ। शक संवत्‌ चैतबाट शुरू हुन्छ भने लिच्छवि संवत्‌ कात्तिकबाट। यस विषयमा दुवै पक्ष बसेर छलफल गर्न आवश्यक छ।

नेपाल शब्दको व्युत्पत्तिबारे विभिन्न दृष्टिकोण पाइन्छन्। भाषिक पुरातत्त्वको कोणबाट यसको सबैभन्दा विश्वसनीय आधार कुन हो?

ज्ञानमणि नेपालको नेपाल निरुक्त, दिवाकर आचार्यको निपजन र नेपाल लगायत पुस्तकमा नेपाल शब्दको व्युत्पत्तिबारे व्यापक चर्चा छ। कसैले नेमुनिसँग जोडेर यसको अर्थ गरेका छन् त कसैले तिब्बती भाषासँग जोडेका छन्। नेवार शब्दबाट नेपाल बनेको भन्नेहरू पनि छन्। टिस्टुङमा रहेको लिच्छविकालको शिलालेखमा ‘नेपालेभ्य:’ शब्द परेकामा धनवज्र वज्राचार्यले यसलाई नेपालीहरूको जय होस् भन्ने भावार्थ दिएका छन्। कमलप्रकाश मल्लले भने त्यस क्षेत्रका गाई पाल्ने ग्वालाहरूलाई जनाउन ‘नेपालेभ्य:’ शब्दको प्रयोग गरिएको चर्चा गरेका छन्। तर यी कुनै तर्क सन्तोषजनक लाग्दैनन्। त्यसैले भाषाशास्त्री र संस्कृतभाषाका विद्वान्‌हरू मिलेर यसमा थप अध्ययन गर्नुपर्छ।

नेपाल शब्दसँग आदिवासी र आप्रवासीको प्रसंग पनि जोड्ने गरिएको छ। हाम्रा वंशावलीहरूमा पहिलो राजवंश गोपाल, त्यसपछि महिषपाल र किरात हुँदै लिच्छविहरूको प्रसंग आउँछ। गोपालवंशबारे दुईथरी भनाइ छन्। हिन्दूवादी धारणाले भन्छ- कृष्णसँग आएका ग्वालाहरू यहीं बसेर शासन गर्न थाले जो पहिलो राजवंश हुन्। बौद्ध दृष्टिकोणमा चाहिं थानकोट र नैकाप भेगमा बसोबास गर्ने गोपाली नै गोपालवंशी हुन् जो नेवार समुदायका पूर्वज हुन्।

गोपालीहरूको इतिहासलाई गोपालराज वंशावलीसँग तुलना गर्दा नेपालका पहिलो आदिवासी राजवंश उनीहरू नै रहेको देखिन्छ। अर्थात् वंशावली र मिथकीय साहित्यलाई आधार मान्दा कृष्णसँग आएका ग्वालाहरूले यहाँ बस्ती बसाएको तर्क कमजोर देखिन्छ। जे भए पनि गोपालवंश नै पहिलो राजवंश रहेको वंशावलीको कथन छ।

नेवारहरू पनि भारतको नायरबाट आएका हुन् भन्ने मत छ नि?

शुरूमा कर्कप्याट्रिकले दक्षिण भारतबाट आएका नायरहरू यहाँका नेवार रहेको तर्क गरेका हुन्। इन्टरन्याशनल एशोसिएशन्स अफ हिस्टोरियन अफ एशिया संस्थाले गरेको गोष्ठीमा दक्षिण भारतबाट आएकी नायर समुदायकै एक विदुषीसँग मैले नेवार-नायर सम्बन्धबारे कुरा गर्दा उनले यी दुईबीच कुनै सांस्कृतिक, सामाजिक र ऐतिहासिक सम्बन्ध नभएको जिकिर गरिन्। उनका अनुसार वर्णव्यवस्थाका आधारमा नायरहरू क्षत्रियमा पर्छन्।

अर्कातिर, महाभारतमा किरातहरूको प्रसंग छ जुन गोपालभन्दा पछिको वंश हो। कृष्ण पनि महाभारतकालकै हुन्। अब महाभारतभन्दा अघिल्लो कालका मानिस उनीसँग आएका ग्वाला हुन् भनी कसरी भन्ने? मञ्जुश्रीले नेपाल उपत्यकामा सभ्यताको शुरूआत गरेसँगै बसाएका व्यक्ति गोपालवंशी रहेको मेरो भनाइ हो। यसरी हेर्दा नेवारहरू भारतबाट आएको भन्ने तर्क प्रमाणित हुँदैन। महिषपाल भनेको गोपालवंशकै एउटा हाँगो हो। गोपाललाई नेवारका पूर्वज मान्दा नेवारहरू नै यहाँका आदिवासी रहेको प्रमाणित हुन्छ। 

कतिपय ऐतिहासिक लिच्छविकाललाई स्वर्णयुग भन्छन्। कतिले चाहिं कला-सम्पदा र सांस्कृतिक प्रवाहका आधारमा नेवाः सभ्यता वा मल्लकाललाई स्वर्णयुग भनिनुपर्ने तर्क गरेका छन्। यसमा तपाईंको दृष्टिकोण के हो?

वास्तवमा लिच्छवि, मल्ल वा शाह कुनै पनि युगलाई स्वर्णकाल मान्न उचित छैन। कुनै युगलाई जतिसुकै राम्रो भनिए पनि त्यसका आफ्नै कमजोरी हुन्छन्। जस्तो- राणाकाललाई कालो शताब्दी भन्ने गरिन्छ। ऐतिहासिक सामग्री कम पाइएको पूर्व मल्लकाललाई पनि अन्धकार युग भनिन्छ। राणाकाललाई कालो युग भन्दै गर्दा त्यति वेला भएका सुधारका कामलाई अनदेखा गर्न मिल्दैन।

त्यस्तै, लिच्छविकाललाई स्वर्णयुग भन्दै गर्दा त्यति वेलाको राजनीतिक अस्थिरता प्रश्नको परिधिभन्दा बाहिर छैन। गुप्तहरूको दमनबाट राजगद्दी नै त्यागेर तिब्बतमा शरण लिनुपर्ने अवस्थालाई राजनीतिक दृष्टिकोणबाट स्वर्णयुग मान्न सकिंदैन। अर्को उदाहरण लिऔं, शिवदेव प्रथम पनि अंशुवर्माको अधीन रहनुपरेको अवस्थाले लिच्छविहरूको राजनीतिक हैसियत प्रस्ट हुन्छ। त्यस वेलाका नारी, शूद्र र मजदूरको अवस्था पनि निकै दयनीय थियो।

त्यस्तै, एउटा समृद्ध राज्य तीन टुक्रामा विभाजन भएकै कारण आखिरीमा गोरखा राज्यबाट पराजित भई सत्ता नै पतन हुने स्थितिमा पुगेको मल्लकाललाई पनि राजनीतिक दृष्टिकोणले स्वर्णयुग मान्न मिल्दैन। सामाजिक तथा सांस्कृतिक इतिहासको निष्पक्ष विश्लेषण गर्दा मल्लकालको कला-सम्पदा र सांस्कृतिक विकास निकै राम्रो नरहेको होइन। तर त्यस कालका कमजोर पक्षलाई पनि अनदेखा गर्न सकिंदैन।

कमलप्रकाश मल्लको पुस्तक क्लासिकल नेवारी लिटरेचरः स्केचको उहाँ दिवंगत भएपछि आएको संस्करणमा नेवारी शब्दलाई नेवार बनाइयो। जबकि नेपाल संवत्‌ २३९ मा लेखिएको ग्रन्थ अमरकोषमै नेवारी शब्द उल्लेख छ। पछिल्लो समय नेवारी शब्दको प्रयोगमा यसरी अरुचि बढ्नुको कारण के हो?

अमरकोषमा नेवारका विषयमा के उल्लेख छ, मैले पढेको छैन। मूलतः एघारौं शताब्दीदेखि नेवार भाषामा शिलालेख राख्न थालिएको देखिन्छ। पछि यसैलाई नेपालभाषा भन्न थालियो। मल्लकालका शिलालेखमा शुरूमा संस्कृत भाषामा सम्बोधन गरिएकामा पछिपछि मूल भागमा अथः नेपालभाषा भनेर शुरू गरिएको छ। यही आधारमा नेवार समुदायले आफूले बोल्ने भाषालाई नेपालभाषा भन्न रुचाएका हुन्।

जहाँसम्म नेवारी र नेवारको प्रसंग छ, कमलप्रकाश मल्ल र सुन्दरकृष्ण जोशी (नेपालभाषा विभागका पूर्व विभागीय प्रमुख)का अनुसार मल्लकालमा नेपालभाषा भनिए पनि अहिले नेवार भाषा भन्नुपर्छ, किनभने नेवार समुदायले आफूलाई आफ्नो भाषामा नेवाः मात्र भन्छन्। त्यही शब्द नेपालीकरण हुँदा नेवार भयो। त्यसलाई बिगारेर नेवारी भाषा भन्न मिल्दैन। तामाङ, गुरुङ र मगर भाषालाई तामाङी, गुरुङी र मगरी भनिंदैन नि, हो त्यस्तै हो। मल्लको किताबमा शुरूमा नेवारी शब्द रहे पनि पछि सम्पादकहरूले विमर्श गरेरै संशोधन गरेका हुन सक्छन्। मल्लको धारणा पनि त्यही रहेकाले यसो गर्नु उहाँप्रतिको सम्मान पनि हो।

राष्ट्रिय विभूति निर्धारणमा पनि विवाद देखिंदै आएको छ। अहिले विभूति भनिंदै आएका पात्रहरू त्यसका लागि कत्तिको लायक हुन्? 

पञ्चायती व्यवस्था लागू गरेपछि राजा महेन्द्रले बालकृष्ण समको अध्यक्षतामा राष्ट्रिय विभूति चयन सम्बन्धी एउटा कमिटी गठन गरेका थिए। त्यसमा धनवज्र वज्राचार्यलाई पनि बोलाइएको थियो भनिन्छ, जानुभयो/भएन थाहा छैन। त्यस कमिटीले पक्षपातपूर्ण तरीकाले विभूति चयन गरेको देखिन्छ।

त्यो कमिटी शुरूमा लिच्छवि वंशप्रति नै ‘बायस’ देखिन्छ। लिच्छवि वंशबाट कसैलाई राष्ट्रिय विभूति बनाउने हो भने मानदेवलाई बनाइनुपर्थ्यो। उनको सट्टा अंशुवर्मालाई बनाइएको छ, उनी लिच्छवि वंशकै होइनन्। दोस्रो, उनी राजा शिवदेव प्रथमलाई दबाएर सत्तामा आएका थिए। मानदेवलाई विभूति नबनाउने भए कम्तीमा नरेन्द्रदेवलाई बनाइनुपर्थ्यो जसले गुप्तहरूबाट खोसिएको आफ्नो राज्य तिब्बतको सहायतामा फिर्ता लिएका थिए।

उक्त कमिटी मल्लकालको सन्दर्भमा झनै दृष्टिदोषी देखिन्छ। मल्लकालका कुनै राजालाई राष्ट्रिय विभूति नबनाई गोरखाका राम शाहलाई बनाइयो। यस विषयमा डा. महेशराज पन्तले लेख्नु पनि भएको छ। समाजसुधारक जयस्थिति मल्ललाई बेवास्ता गरी सुधारका काम उनीभन्दा कम गर्ने डेढ-दुई सय वर्षपछिका राम शाहलाई विभूति बनाएर कमिटीले शाहवंशको चाकडी गरेको देखिन्छ। शाहहरूबाट पराजित मल्ल राजालाई किन विभूति घोषणा गर्ने भन्ने अहम्‌का कारण यसो गरिएको हुन सक्छ।

कसै कसैले जंगबहादुरलाई पनि विभूति घोषणा गर्नुपर्ने तर्क गरेका छन् जसमा सहमत हुन सकिंदैन। जंगबहादुरले गुमेको भूभाग फिर्ता ल्याउने जस्ता केही राम्रा काम अवश्यै गरेका हुन्, तर राजनीतिक उदय र सत्ताप्राप्तिको पृष्ठभूमि हेर्दा उनी विभूति हुन योग्य छैनन्। मल्लहरूको राज्य विजय गर्ने पृथ्वीनारायण शाह, भानुभक्तको योगदानलाई मात्र प्रकाश पार्ने, मोतीराम भट्ट समेतलाई विभूति देख्ने बालकृष्ण समको दृष्टिदोषमाथि प्रश्न गर्न जरूरी छ।

त्यस्तै देश त्याग गरी चिनियाँ नागरिक बनेका अरनिकोलाई विभूति मान्ने कि नमान्ने? नेपाली मूलको भएकाले उनको कलाकारितामा गौरव मान्नु बेग्लै कुरा हो। जस्तै- कमला ह्यारिसलाई भारतीयले आफ्नो मूलको भनी गौरव गर्नु र भारतीय नै मान्नु फरक कुरा हो नि!

यसरी मापदण्डविना पञ्चायती शासकलाई खुशी पार्न गरिएको विभूति चयनले साँच्चै योगदान पुर्‍याएका ऐतिहासिक पात्रलाई न्याय गर्दैन। पछिल्लो समय नेवार समुदायको दबाबले शंखधर साख्वालाई, शेर्पाहरूको दबाबले पासाङ ल्हामुलाई, किरात समुदायको दबाबले गुरु फाल्गुनन्दलाई, थापाहरूको दबाबले भक्ति थापालाई विभूति घोषणा गरिएको छ।

त्यस्तै, २००७ सालको राजनीतिक परिवर्तनमा भूमिका खेलेका व्यक्तित्वलाई किन विभूति घोषणा गरिएन भन्ने प्रश्न पनि जगजाहेर छ। देशका लागि आत्माहुति गर्ने योद्धालाई छुटाएर श्री ५ त्रिभुवनलाई मात्र विभूति घोषणा गर्नु ऐतिहासिक अन्याय हो। यसको अर्थ प्रजातन्त्र प्राप्तिमा उनको भूमिकालाई अवमूल्यन गरिएको होइन। यी सबै कुरा विचार गर्दा शासकीय र राजनीतिक दबाबबाट भन्दा पनि सबैलाई मान्य कार्यविधि बनाएर त्यसकै आधारमा छनोट गर्नु उपयुक्त हुन्छ। 

तपाईंले बौद्ध धर्म-संस्कृतिबारे पनि अध्ययन गर्नुभएको छ। सम्राट् अशोक काठमाडौं उपत्यकामा आएर बौद्ध धर्मको प्रचार गरेको कुरा कत्तिको प्रामाणिक हो?

सम्राट् अशोकको काठमाडौं उपत्यका आगमनबारे धेरै विद्वान्‌ले लेखे पनि यसलाई पुष्टि गर्ने पुरातात्त्विक र ऐतिहासिक प्रमाण छैनन्। यद्यपि पछिका वंशावली साहित्यमा उनी काठमाडौं आएको र छोरी चारुमतीलाई यहाँका राजकुमारसँग विवाह गराइदिएको प्रसंग छ। पछि चारुमतीले यहाँ एउटा वहिल (विहार) बनाइन्, त्यसैलाई अहिले चाबहिल भनिने गरेको छ। सम्राट् अशोक आफैं काठमाडौं आएको प्रमाण भने अहिलेसम्म पाइएको छैन। पाटनमा रहेका अशोक चैत्य सहितका संरचना चाहिं उनका धर्मप्रचारक दूतहरू आएर स्थापना गरेको मेरो धारणा छ।

नेपालले केही अघि लिपुलेक, कालापानी सहितका भूमि समेटेर नयाँ नक्शा जारी गर्दा त्यसका आधारका रूपमा सुगौली सन्धिलाई अघि सारियो। सन्धिको मूल दस्तावेज अहिले कहाँ छ?

अंग्रेजसँग गरिएको सुगौली सन्धिका कारण नेपालले महाकाली नदीपारिका सहित एकतिहाइ भूभाग गुमाउनुपर्‍यो। हुँदाहुँदा अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा विवाद झिकिएको छ। उक्त क्षेत्र आफ्नो रहेको प्रमाणका रूपमा नेपालले यही सन्धिलाई देखाउँदै आएको छ। वस्तुतः यी ठाउँ महाकाली नदीभन्दा पूर्वमा पर्छन्। तर पछि गएर अंग्रेज सरकारको नक्शामा पश्चिम भूभागमा पर्ने देखाइयो।

सुगौली सन्धिपछि नेपालको जुन सिमाना कायम भएको छ, त्यसमा विवाद गर्न मिल्दैन। यसमा नेपाल सरकार तथ्य-प्रमाण र स्पष्ट अडान सहित प्रस्तुत हुुनुपर्छ। कूटनीतिक आवाज बलियो हुनुपर्छ। २०१८ सालतिर त्यहाँ गरिएको जनगणना एउटा बलियो प्रमाण हो।

सन्धिमा नेपालका तर्फबाट गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले तथा अंग्रेजका तर्फबाट बाडशाले हस्ताक्षर गरेका थिए। अनुमोदनका लागि त्यसको एउटा प्रति नेपाल र अर्को प्रति अंग्रेज सरकारलाई पठाइयो। ब्रिटिश गभर्नर जनरलले सातादिनमै अनुमोदन गरिहाले पनि नेपालले गर्न नमानेपछि युद्ध दोस्रो चरणमा गयो। तब आफ्नो अस्तित्व जोगाउन खतरा भएको महसूस भएपछि भने नेपालले सन्धिमा लालमोहर लगाएर अंग्रेज सरकारलाई पठायो।

त्यसपछि अंग्रेज सरकारका तर्फबाट पनि अनुमोदित प्रति नेपाल सरकारलाई पठाइयो। त्यो प्रति नेपाल सरकारसँग सुरक्षित हुनुपर्ने हो। तर नेपालले मूल प्रति जोगाउन सकेको रहेनछ भने पनि सुगौली सन्धि भएकै थिएन भन्न त मिल्दैन। किनकि उक्त सन्धि नेपालले स्विकारेको कुरा अंग्रेजहरूको गजेटमै प्रकाशित छ। अंग्रेजले मकवानपुर कब्जा गरेपछि दुवै पक्षले सन्धिका अनुमोदित प्रति आपसमा बुझेको, उताबाट गभर्नर जनरलले राजालाई खुशी भएर पत्राचार गरेको र नेपाल सरकारले पनि विवाद साम्य भयो भनी पत्राचार गरेको कुरा पेपर्स रेस्पेक्टिङ द नेपाल वार पुस्तकमा उल्लेख छ।

सुगौली सन्धिपछि अंग्रेजले नेपालीलाई गोर्खा रेजिमेन्टका रूपमा आफ्नो सेनामा पनि भर्ना लिन थाले। तपाईंले आफ्नो लेखमा नेपालसँगको युद्धमा अंग्रेज फौजको नेतृत्व गरेका डेविड अक्टरलोनीलाई गोरखा रेजिमेन्टको संस्थापक भन्नुभएको छ। यसको आधार के हो? 

युद्धमा नेपालीको बहादुरी र देशप्रतिको वफादारीले अंग्रेज जनरलहरू निकै प्रभावित थिए। त्यसैले जनरल अक्टरलोनीले ब्रिटिश सरकारसँग नेपालीलाई अंग्रेजी सेनामा भर्ती गर्ने प्रस्ताव राखे। भारतीयलाई भर्ती गर्दा द्रोह गर्न सक्ने, नेपालीबाट भने त्यस्तो खतरा नहुने उनीहरूको बुझाइ रह्यो। तर भीमसेन थापा नेपाली जवानलाई बेलायती सेनामा भर्ती गराउने कुराको कट्टर विरोधी भएकाले उनको समयमा यो प्रस्ताव पूर्ण रूपमा लागू हुन सकेन।

पछि अंग्रेजको सहयोगविना राणाशासन नटिक्ने बुझेका जंगबहादुरले चाहिं अंग्रेजलाई खुशी पार्न पनि नेपालीलाई भर्ती गर्न स्वीकृति दिए। वीरशमशेरको समयमा त नेपालीलाई खुला रूपमै ब्रिटिश सेनामा भर्ती हुन पठाइयो। नेपालीलाई भर्ती गर्ने प्रस्ताव लैजाने व्यक्ति भएकाले अंग्रेज सेनामा गोरखा रेजिमेन्ट स्थापना गर्ने श्रेय अक्टरलोनीलाई जान्छ।

पछिल्लो समय इतिहासका विद्यार्थी कम हुँदै गएका छन्। इतिहासप्रति यस्तो अरुचि किन बढेको होला?

हामीले विद्यार्थी छँदा इतिहास पढेर के जागीर पाइन्छ र भन्ने प्रश्न लिएर यो विषय रोजेका होइनौं। जुन विषय पढे पनि राम्रोसँग पढ्नुपर्छ भन्ने थियो। त्यति वेला मानविकी विषय पढ्ने विद्यार्थी धेरै हुन्थे।

अहिले चाहिं कुन विषय पढे जागीर पाइन्छ भन्ने कुराले बढी स्थान पाएको देखिन्छ। विद्यार्थीको रुचि प्राविधिक विषयतिर गएको छ। तर संस्कृतिविद्, इतिहासविद्, संगीतज्ञ, कवि-कलाकार आदि राष्ट्रका अमूल्य निधि हुन्। यसतर्फ सबैको ध्यान जान जरूरी छ।

विश्वविद्यालयले पनि समाजशास्त्र सम्बन्धी विषयमा परिमार्जन गरी समयानुकूल पाठ्यक्रम तयार पार्नुपर्छ। पठनपाठनको विधिमा पनि परिवर्तन ल्याइनुपर्छ।

शनिबार, कात्तिक १७, २०८१  १७:०२ मा प्रकाशित

https://www.himalkhabar.com/news/143188

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal