कोइँच भाषाको पत्रपत्रिकामा ‘हाम्सो’ र कोइँच लिपि

 

कुब्जोङ किरात

कुब्जोङ किरात२५ चैत २०८०, आइतवार

कोइँच भाषाको पत्रपत्रिकामा ‘हाम्सो’ र कोइँच लिपि

आफ्नो इतिहासको अभिलेखन आफैंले निर्माण गर्ने हो । अरुले गरिदिएको त निश्चित उद्देश्य पूर्तिका निम्तिमात्र हुनेगर्छ । नेपालमा जो पाइन्छन्, त्यही उद्देश्य पूर्तिका निम्ति गरिएका अभिलेखहरूलाई मूल स्रोतका रूपमा लिने गरिएको छ । सत्य, तथ्य, यकीन कुरा लेख्नका निम्ति आफैंले गर्ने हो । तर खतराचाहिं आत्म प्रशंसा र आफूलाई शक्तिशाली देखाउने प्रवृत्ति उहिल्यैदेखि राजामहाराजाले गरेकाले हामीमा त्यस्तो खाँडो जाग्न सक्छ । त्यसखाले भड्खालो खन्न सक्ने सम्भवनाहरू पर्याप्त छन् । तर, तत्कालै सार्वजनिक गरिने कामको अभिलेखमा त्यो विघ्नता कम हुन्छ । त्यो चाहिं तथ्यमा टेकेर सत्यको बयान बढी गरिन्छ ।

यतिखेर किरात कोइँच सुनुवार भाषाको मासिक पत्रिका ‘हाम्सो’ (उज्यालो) को प्रसंग कोट्याउँदैछु । विसं.२०७८ साउनमा यो पत्रिका शुभारम्भ भएको हो । २०८० चैतसम्ममा १६ अंक प्रकाशित छ । पहिलो अंकको प्रकाशकीयमा भनिएको छ– ‘.. हामी हाम्सोमार्फत् कोइँचको संस्कार, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले मैदानमा औपचारिक रूपमा आएका छौं ।’ 

यो पत्रिकाको नौलोपन भनेको ‘कोइँच ब्लेअ्से’ (सुनुवार लिपि÷कोइँच लिपि)मा छापिनु हो । यो लिपिको युनिकोड फन्ट निर्माण भइरहेको छ । हाम्सो पत्रिकाले यही लिपिको प्रवद्र्धनमा कार्य अघि बढाएको देखिन्छ । ‘हाम्सो’ पत्रिकाको प्रकाशक लक्ष्मीराम (एलआर) सुनुवार, सम्पादक देवकुमार सुनुवार, सह–सहसम्पादक कोइँचबु काःतिच, समिर मुखिया र शोभा सुनुवार रहनु भएको छ । 

पहिलो अंकको सम्पादकीयमा मननीय वाक्यांश यस्तो छ– ‘संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (सन् २०२२ देखि २०३२)को पूर्वसन्ध्यामा, विश्व आदिवासी दिवस अर्थात् अगस्ट ९, २०२१ को अवसर पारेर कोइँच सुनुवार समुदायको लिपिमा ‘हाम्सो’ मासिक पत्रिका प्रकाशित गर्न पाउँदा हामी खुशीले गद्गद् भएका छौं । हाम्सोले मौखिक परम्परामा आधारित कोइँच सुनुवारको भाषा, इतिहास, संस्कार, संस्कृतिलाई लेख्य परम्परामा र अझ डिजिटल माध्यममा दस्तावेजीकरण गरी पुस्तान्तरण गर्न मद्दत गर्नेछ भन्ने हाम्रो आशा र विश्वास छ ।

हाम्सोले मौखिक परम्परामा आधारित कोइँच सुनुवारको भाषा, इतिहास, संस्कार, संस्कृतिलाई लेख्य परम्परामा र अझ डिजिटल माध्यममा दस्तावेजीकरण गरी पुस्तान्तरण गर्न मद्दत गर्नेछ भन्ने हाम्रो आशा र विश्वास छ ।

दोलखाको सुरीखारीमा छालामा खोपिएको अवस्थामा रहेको कोइँच ब्लेअ्से अर्थात् कोइँचहरूको लिपि, ताप्लेजुङ दोखु काउलेका हेमकर्ण सुनुवारले सन् १९४० को दशकमा पुनःछालामा उतार्नु भएको थियो । सोही कोइँच ब्लेअ्सेलाई कर्णबहादुर जेँतिचले परिस्कृत गर्दै देश विदेशमा प्रचाप्रसार र प्रवद्र्धन गर्नुभएको हो । सन् १९९५ मा सिक्किम सरकारबाट प्रान्तीय भाषाको मान्यता पाएपछि जसोतसो पुस्तक, पत्रपत्रिका र लेखरचनाहरू प्रकाशित हुँदै आएको थियो । अहिले हामीले कोइँच लिपिलाई परिस्कृत र पूर्णता दिनका लागि कोइँचहरूले बोल्ने सबै ध्वनिलाई हुबहु रूपमा लेख्न सकियोस् भनेर युनिकोड बनाउने प्रक्रियामा रहेको हुँदा हाम्सोलाई कोइँच ब्लेअ्सेमा प्रकाशित गर्ने शुरुआत गरेका छौं ।..’ युनिकोडका निम्ति कोड पाइसक्यो र टाइपोग्राफी कोडिङ कार्य अन्तिम चरणमा रहेका छ । 

डिमाइ आकार १६ पृष्ठमा सजिएको ‘हाम्सो’ पत्रिकाको पहिलो अंकमा प्रकाशकीय र सम्पादकीयबाहेक ‘भाषा हाम्रो अस्तित्व र प्राण’, ‘कोइँच लिपिको इतिहास’, ‘कोइँच लिपिको वर्णमाला’, ‘राँके पिदार’ शीर्षक सामग्री तथा स्तम्भका रूपमा कोइँच भाषामा नामाकरण गरिएका बालबालिकाको फोटोसहित नाम, थर समेटिएको छ । दोस्रो अंक ‘कोइँच लिपिको रचनागर्भ’ विशेषाङ्कका रूपमा प्रकाशित छ । ‘हाम्सो लोकार्पण गर्ने ७८ वर्षीया आमा क्याम्पस भर्ना’, ‘डिजिटाइजिङ द स्क्रिप्ट अफ कोइँच सुनुवार इन्डिजिनियस पिपल्स’, ‘कोइँच लिपिको रचनागर्भ’ र ‘गुइँदा’ मानसिक उपचार पद्धतिको सामग्री तथा बालबालिकाको फोटोसहित नाम, थर समेटिएको छ । 

‘हाम्सो’ तेस्रो अंक असोज २०७८ मा ‘आदिवासी मातृभाषीको जित’, ‘किल्लोको बोली र पिपलडाँडाको ओडार’, ‘कोइँच रिमाचेमा’ (अभिवादनका शब्द), ‘राष्ट्रिय जनगणनामा कोइँचको भूमिका’  स्तम्भमा बालबालिको फोटोसहित छ । चौथो अंकको सम्पादकीय ‘लिपि प्रवद्र्धन अभियान’, ‘आदिवासी खानाको प्रवद्र्धन गर्ने अवसर’, ‘सुखुप’, ‘कोइँच वर्णमाला’, ‘बालगीत’, लिपिमै समसामयिक विषय सन्दर्भ केलाइएको छ भने बालतस्बिर स्तम्भ यथावत छ । पाँचौं अंक ‘लिखुमा प्राकृतिक स्रोतको दोहन’ विशेष बनाइएको छ । ‘आमाको निर्णायक कोइँच संस्कार’, ‘फोल र ख्योँःपतिचको सासि मुक्दुम’को चर्चा रहेको छ । 

‘हाम्सो’ छैटौं पूर्णाङ्कमा ‘विश्व आदिवासी भाषा दशक’, ‘सामिबु पिदार’, ‘कोइँच वर्णमाला’, ‘दोलोकुम’, ‘गुमनाम लालध्वज’ शीर्षक सामग्री रहेका छन् । सातौं पूर्णाङ्कमा ‘सुनुवार कप्तानको योगदान’ विशेषाङ्क बनाइएको छ । ‘सुनुवार’, ‘कोइँच वर्णमाला’, ‘शुद्धाई’, ‘ताङ–ले माले’ शीर्षक सामग्री रहेका छन् । आठौं पूर्णाङ्क फागुन २०७८ मा आठ वटा शीर्षकका कविता सबै कोइँच ब्लेअ्सेमा छापिएका छन् । नवौं पूर्णाङ्कको सम्पादकीय ‘पुर्खा खुशी बनाउने कोसेली’सँग सम्बन्धित ‘भ्रमित मान्यतासँग जुधिरहेको जाँडरक्सी’, ‘कोइँच वर्णमाला’, ‘ख्योलोलो’ पानी माग्ने चाड चाइँ पिदार’ शीर्षक लेखक समेटिएका छन् । दशौं पूर्णाङ्क वैशाख २०७९ मा ‘शिष्टाचार’ सम्पादकीयसँगै ‘ढोगभेट’को चर्चा छ भने ‘कोइँच वर्णमाला’, ‘सगुन माइतालु’ शीर्षक सांस्कृतिक लेख राखिएका छन् । 

‘हाम्सो’ पूर्णाङ्क ११, २०८० भदौ वर्ष ३ अंक १ मा नाता सम्बन्ध, चाम्लेम पिदार र पढाइलाई उमेरले छेकेन : ८० वर्षमा १२ पास शीर्षकका सामग्री प्रकाशन छ । ‘हाम्सो’ पूर्णाङ्क १२, २०८० असोज वर्ष ३ अंक २ मा चुम्रेम÷थैली, नाम किन राख्ने ? सुनुवार गाउँको मौलिक श्राद्ध जस्ता सामाग्री प्रकाशित भएको छ । ‘हाम्सो’ पूर्णाङ्क १६, २०८० माघ वर्ष ३ अंक ६ मा खाना संस्कृतिको विविधता, किरात येले थोचे (सम्वत्) शीर्षकका सामाग्री प्रकाशन छन् ।

यसो त सुनुवार भाषा, साहित्य, संस्कृति, मुक्दुम आदि विषयलाई लिएर खस–नेपाली, सुनुवार भाषामा दर्जन जति पत्रपत्रिका प्रकाशनमा आएको पाइन्छ । ती पत्रपत्रिका केही अंकमात्र प्रकाशनमा आएर बन्द भइसकेका छन् भने कतिपय मुखपत्रका रूपमा छिटफुट छापिने गरेको पाइन्छ ।

यसो त सुनुवार भाषा, साहित्य, संस्कृति, मुक्दुम आदि विषयलाई लिएर खस–नेपाली, सुनुवार भाषामा दर्जन जति पत्रपत्रिका प्रकाशनमा आएको पाइन्छ । ती पत्रपत्रिका केही अंकमात्र प्रकाशनमा आएर बन्द भइसकेका छन् भने कतिपय मुखपत्रका रूपमा छिटफुट छापिने गरेको पाइन्छ । ती पत्रपत्रिकामध्ये मोहनकुमार सुनुवारको सम्पादनमा ‘लोलिश्याँका’ मासिक २०५२ सालमा प्रकाशनमा आएको थियो । तीन अंक छापिएपछि बन्द भएको थियो । लाल रापचाको सम्पादनमा ‘चेरे’ (झुल्को) पत्रिको २०५५ सालतिर प्रकाशनमा आएको र ६ अंकपछि बन्द भएको थियो । यसैगरी सुनुवार सेवा समाज केन्द्रीय कार्यसमितिको मुखपत्र ‘कोइँचबु’ स्मारिका बेलाबखत प्रकाशन हुने गरेको पाइन्छ । सुनुवार महिला समाजको मुखपत्र ‘सिर्मी’, सुनुवार विद्यार्थी समाजको मुखपत्र ‘चेतना’ सुनुवार सेवा समाज ललितपुरको मुखपत्र ‘श्याकार्पो’ प्रकाशन गरिएको पाइन्छ । सुनुवार सेवा समाज क्षेत्रीय समिति काठमाडौंले ‘दुमाकेतु’ स्मारिका प्रकाशन गरेको पाइन्छ । साथै सुनुवार सेवा समाज कतार शाखाले ‘होमाचिरि’ स्मारिका एक अंक छापेको छ भने क्युइँतबु कल्याण कोषले ओखलढुंगाबाट ‘जत्नामुइलि’ पत्रिका प्रकाशन गरेको पाइन्छ । किरात सुनुवार सेवा समाज बेलायतले ‘तास्चेल’ मुखपत्र प्रकाशन गरेको पाइन्छ । समुदायको प्रयासमा प्रकाशित यी पत्रपत्रिका निरन्तरता भने पाएका छैनन् । 

सरकारको स्वामित्वमा रहेको गोरखापत्र संस्थाद्वारा प्रकाशित गोरखापत्र राष्ट्रिय दैनिकले २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ पृष्ठ प्रकाशन आरम्भ ग¥यो । उक्त पृष्ठमा महिनाको असोज २० गते पहिलो सुनुवार भाषाको सामग्री छापिन आरम्भ भएको थियो (सुरुवातीकालका सुनुवार भाषा पृष्ठ संयोजक उत्तमकुमार सुनुवार ‘कातिच उकुसु’ सँग भएको कुराकानी) । त्यसयता २०८० चैतसम्म सुनुवार भाषाको सामग्री प्रकाशन निरन्तर छ । गोरखापत्रमा ४१ मातृभाषाका सामग्रीे दैनिक रूपमा आलोपाला प्रकाशन हुँदैआएको छ । अहिले महिनामा दुई अंक र कुनै महिना एक पटक पालो आउने गरेको छ (गोरखापत्र दैनिक सुनुवार भाषा पृष्ठका वर्तमान संयोजक लोकप्रिय सुनुवारसँग कुराकानी) । यद्यपि सुनुवार भाषाको सामग्री देवनागरीमा मात्र छापिने गरेको छ, कोइँच ब्लेअ्से (सुनुवार लिपि) ले प्राथमिकता पाउन सकेको छैन । 

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले सुनुवार जातिको जनसंख्या ७८ हजार ९ सय १० जना रहेको छ । सुनुवार भाषा बोल्नेको जनसंख्या ३२ हजार ७ सय ८ जना रहेको छ । सुनुवार जातिको प्रदेशगत आधारमा जातीय जनसंख्या वितरण सबैभन्दा धेरी बागमती र दोस्रोमा प्रदेश–१ मा रहेको देखिन्छ । बागमती प्रदेशमा ३४ हजार ५२७, प्रदेश–१ मा २१ हजार ६४९ रहेका छन् । यसैगरी लुम्बिनीमा ९ हजार ६८९, गण्डकीमा ५ हजार २३३, कर्णालीमा ३ हजार ३९९, मधेसमा २ हजार ६६१, र सुदूरपश्चिम प्रदेशमा १ हजार ७५२ रहेका छन् ।

आदिवासी मातृभाषा दशकभित्र कोइँच भाषाको साहित्यिक प्रवद्र्धनका निम्ति गाउँघरका थुमथुममा साहित्यिक गतिविधिहरू हुनसके ‘हाम्सो’मा थप हाम्सो छाउने देखिन्छ । जसका निम्ति कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, वादविवाद तथा वक्तृत्वकला प्रतियोगिता, कथा प्रतियोगिता आदि गतिविधि हुनसके कोइँच जातिको पहिचान हाम्सो रहिरहने छ । ‘हाम्सो’ पत्रिका कोइँच मूलथलोमा रहेका विद्यालयहरूमा नियमित पुग्न जरुरी छ । त्यसो हुँदा नयाँ पुस्तामा पुस्तान्तरण हुनेछ । कोइँच बालबालिकामात्र होइन, कोइँचका छिमेकी जोसुकै विद्यार्थीले ‘हाम्सो’ पत्रिका पढ्न सक्नेछ । साहित्यिक गतिविधिहरूमा सहभागी हुन प्रेरित गर्न जरुरी छ । ‘हाम्सो’ पत्रिका टोलीको मातृभाषा यात्रा निरन्तर रहोस् । शुभकामना । 

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal