नालापानीमा गोर्खा वीरताको गाथा

 राजेश मिश्र

देहरादुन, उत्तराखण्ड — विजेता फौजले शत्रु सेनाको प्रशंसा र सम्मान गरेको विरलै पाइन्छ । तर, बहादुरीका कारण गोर्खा योद्धाले आफ्नो शत्रुबाट पनि सम्मान पाएका छन् । भारतमा लामो समय शासन गरेको अंग्रेज गोर्खासँगको लडाइँपछि गोर्खा सेनाको बहादुरीप्रति नतमस्तक भएका थिए ।

नालापानीमा गोर्खा वीरताको गाथा
युद्ध जिते पनि अंग्रेजले गोर्खाको बहादुरीको सम्झना सधैं रहने गरी इतिहास कोरिदिएका छन् । त्यसको साक्षी हो– देहरादुनको कलिंगा (खलंगा) स्मारक । देहरादुनको सहस्रधारा रोडमा रहेको उक्त स्मारक नालापानी युद्धमा गोर्खा सैनिकले देखाएको बहादुरी सम्झाउने प्रतीक हो । त्यहाँ पुग्ने जो कोहीले गोर्खा सैनिकको वीरताबारे जानकारी पाएर सम्मान प्रकट गर्छन् ।

 

नालापानीको युद्ध जितेपछि भारतमा शासन गर्दै आएको तत्कालीन इस्ट इन्डिया कम्पनीले उक्त युद्धमा सहिद भएका आफ्ना सैनिकको स्मरणमा स्तम्भ बनाउँदा सँगै आफूले युद्ध लडेको शत्रु गोर्खा सैनिकका कमान्डर बलभद्र कुँवरको नाममा पनि स्मारक बनाएका छन् । गोर्खा सैनिकको वीरता र युद्ध कौशलको अंग्रेज सैनिक कायल भएका थिए । र, उनीहरूले आफ्नो सैन्य कमान्डरको स्मृति स्तम्भसँगै गोर्खा सैन्य कमान्डरको स्मृति स्तम्भ पनि बनाएका थिए । स्मारकमा बलभद्र कुँवरलाई ‘वीर दुस्मन’ भनिएको छ । स्मारकमा ‘वीर प्रतिद्वन्द्वी (दुस्मन) किल्लाका सेनापति बलभद्र र बहादुर गोर्खाको सम्मानमा’ उल्लेख छ । बलभद्र अफगानिस्तनसँगको लडाइँमा मारिएकोसमेत त्यहाँ लेखिएको छ ।

भारतीय सेनाबाट अवकाशप्राप्त कर्णेल विक्रमसिंह थापा विजेता पक्षले शत्रु सेनाको सम्मानमा आफ्ना सहिदसँगै सधैंभरि स्मरण रहने गरी स्मारक निर्माण गर्नु विश्वमै पहिलो भएको दाबी गर्छन् । ‘यो स्थान गोर्खाको बहादुरी र वीरताको प्रतीकका रूपमा स्थापित छ,’ उनले भने, ‘यो स्तम्भले गोर्खाको इतिहासलाई सम्झाउँछ ।’ रायपुर, देहरादुन निवासी थापा सैन्य जीवनको अवकाशपछि गोर्खाको इतिहास रक्षा गर्ने कार्यमा सक्रिय छन् । उनी बलभद्र खलंगा विकास समितिको अध्यक्ष छन् ।

देहरादुन सहस्रधारा रोडमा अंग्रेजले बनाएको कलिंगा(खलंगा) स्मारकको दायाँतर्फको स्मारक गोरखा सेनापति बलभद्र कुँवर र गोरखा सैनिकप्रति समर्पित छ। बायाँतर्फको स्मारक अंग्रेजी जनरल जेलेस्पी र अन्य सहिदप्रति समर्पित छ।

सन् १८१४ मा देहरादुनको नालापानी किल्लामा भएको युद्धमा गोर्खा सैनिकबाट अंग्रेजी फौजका कमान्डर जनरल जिलेस्पीसहित कैयौं अंग्रेज सैनिक मारिएका थिए । कलिंगा (खलंगा) स्मारक जनरल जिलेस्पी र उनीसँग बहादुरीका साथ लडाइँ लडेका गोर्खा सैनिकका कमान्डर कुँवरको स्मरणका लागि बनाइएको छ । भारतीय पुरातत्त्व सर्वेक्षण विभागको मातहतमा रहेको उक्त स्मारक क्षेत्रका शिलालेखमा नालापानी युद्धको चर्चा गरिएको छ । त्यहाँ गोर्खा सैनिकको वीरताको संक्षेपमा व्याख्यान उल्लेख छ । परिसरमा स्थापित गरिएको शिलालेखमा लेखिएको छ– विजयी सेना सहिद सेना नायक ‘जिलेस्पी’ र अन्य अंग्रेज साथीको याद तथा गोरखा सेनापति बलभद्र थापाको अदम्य वीरताका लागि संयुक्त श्रद्धाञ्जली दिन रिस्पना नदीको किनारमा स्मृति स्मारक निर्माण गरिएको छ ।

देहरादुनको नालापानी किल्लामा बनाइएको युद्ध स्तम्भ ।

सन् १८१४ मा दुन घाटीको नालापानी पहाडस्थित गोरखाको किल्लामा अंग्रेज फौजका सेना नायक जनरल जिलेस्पीले आक्रमण गरेका थिए । गोर्खा सेनापति कुँवरले किल्लामा उपस्थित महिला र बालबालिकाको साथ लिएर वीरतापूर्वक अंग्रेज सैनिकको सामना गरेको शिलालेखमा लेखिएको छ । युद्धमा जनरल जेलेस्पी आफ्नो कैयौं साथीहरूका साथ ३१ अक्टोबर १८१४ मा मारिएका थिए । पछि विशेष परिस्थितिका कारण गोर्खा सेनापति कुँवरले नालापानी किल्ला त्याग्नुपरेको लडाइँको कहानीलाई उक्त स्मारक परिसरमा उल्लेख गरिएको छ । अंग्रेजहरूले बनाएको स्तम्भमा बलभद्र मात्रै लेखिएको छ । तर, पछि पुरातत्त्व विभागले उक्त स्मारक परिसरमा बनाएको शिलालेखमा बलभद्र कुँवरलाई बलभद्र थापा लेखिएको छ । कुँवरलाई थापा लेखिनुलाई जानकारहरूले गलत भन्दै आएका छन् ।

देहरादुन सहरको घण्टाघरबाट १० किलोमिटरमाथि पहाडमा नालापानी किल्ला छ । त्यहाँ गोर्खा र अंग्रेजबीच १८१४ को अक्टोबर २४ देखि ३० नोभेम्बरसम्म एक महिनाको अवधिमा पटक पटक लडाइँ भएको थियो । गोर्खा सैनिकले आफ्नो राज्य विस्तार गर्दै कुमाउ–गढवालमाथि विजय प्राप्त गरेर त्यहाँ ९ वर्षदेखि शासन गर्दै आएका थिए । त्यही बेला इस्ट इन्डिया कम्पनीले पनि सिंगो भारतलाई आफ्नो नियन्त्रणमा लिँदै थियो । अर्कोतिर बुटवल क्षेत्रको भूभागमाथि अंग्रेज र नेपालका राजाबीच विवाद बढ्दै गएर युद्धको स्थिति निम्तिएको थियो । ठाउँ ठाउँमा अंग्रेज सेना र नेपाली गोर्खा सैनिकबीच लडाइँ भएको थियो । सन् १८१४ देखि १८१६ मा दुई वर्षसम्म भएको लडाइँपछि सुगौली सन्धि भएको थियो । कर्णेल थापा अंग्रेज सैनिक र गोर्खाबीचको पहिलो लडाइँ नालापानीमै भएको बताउँछन् ।

देहरादुनको नालापानी किल्लामा राखिएको बोर्ड।

नेपालीहरूको चाड दसैंकै बेला २४ अक्टोबर १८१४ मा अंग्रेज सैनिकले नालापानीको खलंगा किल्लामाथि आक्रमण गरेका थिए । ठूलो संख्यामा अंग्रेज सैनिक आउँदै गरेको सूचना पाएर गोर्खा सैनिक छोटो अवधिमा पहाडको चुचुरोमा रहेको समथल स्थानमा किल्लाको निर्माण गरेर बस्न पुगेका थिए । अंग्रेज सैनिकले आत्मसमर्पण गर्न पठाएको सन्देशलाई अस्वीकार गरेर गोर्खा सैनिकले लडाइँ रोजेका थिए । इतिहासमा उल्लेख भएअनुसार उक्त किल्लामा महिला र बच्चाहरू सहित गोर्खा सैनिक ६ सय जना जति थिए ।

आफ्नोभन्दा १० गुनाले बढी र तोप, गोलालगायतका त्यतिबेलाको आधुनिक हतियारले सुसज्जित सैनिकसँग गोर्खा सैनिकले बहादुरीका साथ लडेका थिए ।

२४ अक्टोबरबाट भएको लडाइँमा गोर्खा सैनिकले अंग्रेजलाई मात दिएका थिए । ३१ अक्टोबरमा अंग्रेजका सैन्य कमान्डर जनरल जिलेस्पी नै मारिन पुगेपछि अंग्रेज सैनिक युद्ध रोकेर फर्किनुपरेको थियो । तर, एक महिनापछि विशेष तयारीका साथ चारैतिरबाट घेरा हालेर अंग्रेज सैनिकले पुनः २६ नोभेम्बर १८१४ मा कालापनी खलंगा किल्लामाथि आक्रमण गरेका थिए । अंग्रेज सैनिकले लडाइँबाट मात्रै गोर्खा सैनिकमाथि विजय प्राप्त गर्न नसकेपछि, गोर्खा सैनिकलाई पानीको आपूर्ति नै बन्द गरेका थिए । पानीको अभाव खप्न नसकेर ३० नोभेम्बरको राति बलभद्र कुँवर आफ्नो ७० जना साथीहरूका साथ स्वेच्छाले किल्लाबाट बाहिरिएका थिए । त्यसपछि मात्रै अंग्रेज सैनिकले नालापानी खलंगा किल्लामाथि नियन्त्रण लिन सफल भएका थिए । ‘धेरै कुरा गुमाएर मात्रै अंग्रेजले उक्त युद्ध जितेको थियो,’ कर्णेल थापाले भने, ‘उक्त युद्धले विश्वभरि गोर्खाको बहादुरीको कथा प्रचारित भयो ।’ त्यसलगत्तै इस्ट इन्डिया कम्पनीले गोर्खालाई अंग्रेज सेनामा भर्ना गर्न प्रारम्भ गरेको थियो । सन् १८१५ को २४ अप्रिलमा अंग्रेजले देहरादुनमै गोर्खा रेजिमेन्टको स्थापना गरेको कर्णेल थापाले बताए ।

अंग्रेजले गोर्खा सैनिकका कमान्डर बलभद्र कुँवर र उनका गोर्खा साथीको सम्मानमा लेखेको शिलालेख ।

देहरादुनमा अंग्रेजद्वारा बनाइएको ‘कलिंगा (खलंगा) स्मारक’ तथा स्थानीय गोर्खाहरूको पहलमा जीर्णोद्वार गरिएको ‘नालापानी किल्ला क्षेत्र’ ले त्यही युद्धको स्मरण गराउँदै आएको छ । देहरादुन घुम्न पुगेका पर्यटकको अनिवार्य रोजाइमा नालापानी किल्ला र स्मारक क्षेत्रको भ्रमण पर्ने गरेको छ । घुम्न आउनेहरूले गोर्खाको वीरताको कथा पढ्छन् । त्यसबारे थप जान्न उत्सुक देखिन्छन् । नालापानीमा अंग्रेजसँगको लडाइँमा पराजयपछि गोरखाका सैन्य कमान्डर कुँवर पञ्जाबका राजा रणजित सिंहको फौजमा जोडिएका थिए । सिंहकै फौजका तर्फबाट अफगानिस्तानमा भएको लडाइँमा उनको मृत्यु भएको थियो ।

गोर्खा सैनिकको वीरता र त्यसले रचेको इतिहासको क्रमशः उपेक्षा हुन थालेको देखिन्छ । पुरातत्त्व विभागले संरक्षण गरेको भनिए पनि सहस्रधारा रोडमा रहेको स्मारक क्षेत्रको उचित संरक्षण भएको छैन । दुई सय वर्षभन्दा बढी पुरानो युद्धको इतिहास स्मरण गराउने उक्त स्मारक क्षेत्रको थप संरक्षण र विकासका लागि देहरादुनमा रहेका नेपालीले आग्रह गर्दै आएका छन् । गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाही अंग्रेजले बनाएको स्मारक क्षेत्रको थप विकास र संरक्षणका लागि आफूहरूले सरकारलाई निरन्तर भन्दै आएको बताए । ‘गोर्खाको इतिहास अझै युगौंयुगसम्म कायम रहने गरी यसको संरक्षण र विकास आवश्यक छ,’ उनले भने, ‘स्थानीय गोर्खा समुदायकै पहलमा माथि नालापानी किल्लामा बलभद्र खलंगा युद्ध स्मारक बनाइएको हो ।’

देहरादुन सहस्रधारा रोडमा अंग्रेजले बनाएको कलिंगा (खलंगा) स्मारकको दायाँतर्फको स्मारक गोर्खा सेनापति कुँवर र गोर्खा सैनिकप्रति समर्पित छ ।

स्थानीयले निरन्तर दबाब दिएपछि तत्कालीन मुख्यममन्त्री नारायणदत्त तिवारीले युद्ध स्मारकका लागि सन् २००५ मा बजेट छुट्याएका थिए । तलदेखि माथिसम्म जंगलको बीचमा पक्की सडकको निर्माण, द्वार र स्मारक तयार भएको छ । त्यहाँ थप कामको आवश्यकता रहेको शाहीले बताए । अझै तत्कालीन किल्लाको सम्पूर्ण क्षेत्रको संरक्षण गर्न बाँकी रहेको उनी बताउँछन् । गोर्खाको वीरताको इतिहास प्रचारप्रसारका लागि हरेक वर्ष नोभेम्बरको अन्तिम शनिबार र आइतबार कालापानी क्षेत्रमा स्थानीय गोर्खा समुदायले मेला आयोजना गर्दै आएका छन् । बलभद्र खलंगा विकास समितिका अध्यक्ष कर्णेल थापाले गोर्खा समुदायको इतिहास, संस्कृति र खानपान उक्त मेलाको मुख्य आकर्षण हुने गरेको बताउँछन् । गोर्खाको वीरताको इतिहाससँग भारतको केन्द्र सरकार वा राज्य सरकारको खासै चासो देखिँदैन । त्यसलाई जोगाउन स्थानीय गोर्खा नै निरन्तर प्रयासरत छन् ।

नालापानी किल्लामा जान बनाइएको बाटो र द्वार।

‘दुस्मनले पनि हाम्रो सहिदलाई सम्मान गरेको छ, यस्तोमा हामीले पनि सहिदको सम्झना र वीरताको गाथाको प्रचार प्रसार र संरक्षणका लागि सकभर प्रयासहरू गर्दै आएका छौं,’ कान्तिपुरसँग थापाले भने, ‘यस क्षेत्रलाई थप विकसित गर्ने, थप मान्यता दिने र गोर्खालाई चिनाउने कार्य हाम्रो जिम्मेवारी जस्तै छ ।’

प्रकाशित : आश्विन २६, २०८० १२:०५

https://ekantipur.com/feature/2023/10/13/the-story-of-gurkha-heroism-at-nalapani-08-57.html

 

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal