किराँत अस्तित्वको संकेत दिने एक मात्र शिलालेख

  सविना देवकाेटा | काठमाडाैं, माघ २२

 

पाँच पंक्तिको उक्त शिलालेखको लिपि इतिहासविद् धनबज्र र गौतमबज्र बज्राचार्यले दुरुस्तै उतारे पनि सोही अभिलेखको अनुवादमा भने यी दुई इतिहासविद्ले केही फरक संश्लेषण गरेका छन् । 

शिलालेखमा उल्लेख भएको ‘किरातवर्षधर’ शब्दावलीलाई गौतमबज्र बज्राचार्यले ‘किराँतको भेष धारण गर्ने’ भनी अथ्र्याएका छन् भने धनबज्रले ‘किरातवर्षधर’ शब्दावलीलाई कुनै विश्लेषण गर्ने थप कष्ट गरेका छैनन् ।

गौतमबज्र बज्राचार्यको अनुवादः ('हनुमानढोका राजदरबार'बाट)

(...नानाथरी चरा र पशु...बढेका रुखहरू... किराँतका भेष धारणा गर्ने... अघिका लिच्छवि राजाहरूले बनाएको पुराना वृत्ति (जागीर) खुवाएर राखेका सिपाहीहरू बस्न छोडेको...रुखहरू....खेत भत्केको... फेरि पुनर्वसु नक्षत्र ।)

धनवज्र बज्राचार्यको अनुवादः ('लिच्छविकालीन अभिलेख'बाट)

(अनेक थरी चरा र पशुहरु हुङ्कार गरी जुध्ने ठाउँ बनेको ... किराँत... लिच्छविराजाले बनाएको पुरानो (दरबार) वृत्ति (जागीर) पाएका पुराना सैनिकहरूले वास्ता नगर्दा (जीर्ण हुन थाल्यो।) ........खेत भग्न भएको ... फेरि पुनर्वसु नक्षत्र.......।

यद्यपि यी दुवै अनुवादले तत्कालीन समयमा किराँतको अस्तित्व थियो भन्ने कुरालाई नकार्न नदिएको इतिहासविद् भोगीराज चाम्लिङ राई बताउँछन् । उनी भन्छन्, ‘धनबज्रका अनुसार किराँतहरूले त्यसबखत प्रशासनिक ‘पोस्ट’ होल्ड गर्दथे भन्ने बुझ्न सकिन्छ भने गौतमबज्रका अनुसार सांस्कृतिक रुपमा किराँतीहरूको त्यसबेलासम्म पनि राम्रै प्रभाव थियो भन्ने बुझिन्छ ।’ किराँतीको भेष धारण गर्नुले त्यतिखेर पनि उनीहरूको सांस्कृतिक प्रभाव राम्रो नै थियो भन्ने आधार भएको राईको निष्कर्ष छ । 

यस अर्थमा हेर्दा विभिन्न वंशावलीमा उल्लेख भएअुनसार नै किराँतीहरू काठमाडौं उपत्यकामा रहँदै आएको कुरालाई हनुमान ढोकाको शिलालेखले थप प्रमाणित गरिदिएको छ । 

लिच्छविहरूले नेपाल खाल्डोमा दखल जमाउनुभन्दा अगाडि किराँत जातिले नेपालको नेतृत्व गरेका थिए भन्ने कथ्य राजनीतिको इतिहासमा कैयौँ वर्षदेखि विवादमा रहँदै आएको छ । तर याे शिलालेखले इतिहासमा ठूलो अर्थ राख्ने कुरा गौतमबज्रले कैलाश पत्रिकामा प्रकाशित ‘रिसेन्ट्ली डिस्कभर्ड इन्सिक्रिप्सनर्स अफ लिच्छवि नेपाल’ लेखमा उल्लेख गरेका छन् । लिच्छवि राजदरबारमा किराँतको उपस्थिति थियो भन्ने कुरा पनि यसले संकेत गरेको छ ।

त्यसो त ‘किरातवर्षधर’ शब्दावली परेको यस अभिलेखलाई कौटलीय अर्थशास्त्रको परम्परासँग पनि जोड्न सकिने इतिहासविद् महेशराज पन्तको निष्कर्ष छ । पूर्णिमाको ६६ अंकमा ‘लिच्छविकालको एउटा अभिलेखमा परेको किराँत वर्षधर भन्ने शब्दको विश्लेषण’ लेखमा पन्त लेख्छन्, ‘राजाको अन्तःपुरमा व्यभिचार जालझेल आदि नहोस् भनी किराँत, वामन, नपुंसक आदि नियुक्त गरिन्थे ।’

अमरकोष तथा भारतीय नाट्यशास्त्रका विभिन्न ग्रन्थहरूको श्राेत लिँदै पन्तले ‘वर्षधर’ शब्दलाई नपुंसक, खसी पारिएका लोग्नेमान्छे भएको बताएका छन् । प्राचीन परम्पराअनुसार दरबारको खोपीमा व्यभिचार नहोस् भनी राखिने ‘किराँत’ र ‘वर्षधर’ अर्थात् खसी पारिएका लोग्नेमान्छे राख्ने गरिएको चर्चा गरेका छन् । 

कौटलीय अर्थशास्त्र आदि ग्रन्थमा राजाले आत्मरक्षा कसरी गर्नुपर्छ भन्ने कुरा बताउँदै जाँदा आचार्य कौटिल्यले ‘तेस्रो कक्षामा कुप्रा, बाउन्ने र किराँतहरूले पहरा दिनू’ भनी लेखेको प्रसङ्गलाई पन्तले जोड दिएका छन् । 

यसरी विभिन्न इतिहासविद्हरूले उक्त शिलालेखमा भेटिएको ‘किराँत वर्षधर’लाई विश्लेषण गरेका छन् जसले विवादमा रहँदै आएको किराँत इतिहासलाई प्रमाणको आधार दिएकोमा भने सबै इतिहासविद्हरु एकमत छ ।

नेपालको राजनीतिमा किराँत वंशावलीको विवादलाई यस शिलालेखले उत्तर दिएको छ । 

को हुन् किराँत ?

त्यसो त किराँत वंशीय शासकका विषयमा मात्रै नभएर किराँतको समग्र अस्तित्व खोतल्ने अवसर पनि उक्त शिलालेखले दिएको राईको भनाइ छ । 

वास्तवमा किराँत भनेका को हुन् ? के हो ? 

कतिपयले यसलाई धर्मका रूपमा व्याख्या गरेको पाइन्छ । कतिपयले भूगोल । कतिपयले जाति त कतिपयले भाषाको रुपमा व्याख्या गर्दछन् । भोगीराज भने किराँतलाई सभ्यताको रूपमा व्याख्या गर्दछन् । उनी भन्छन्, ‘किराँत भनेको खासमा सभ्यता हो । यो सभ्यता अवलम्बन गर्नेहरू सबै किराँती हुन् ।’ 

आखिर किराँतलाई सभ्यता नै भन्ने आधार के त ? 

भोगीराज भन्छन्, ‘शहरसँगै केन्द्रिकृत शासनको अभ्यास हुनु, पुरातात्विक अन्वेषणका क्रममा ईसापूर्वका इँटाहरू उपत्यकामा भेटिनु, चिराइतो र ऊन खेती तथा व्यापार हुनुले मानवशास्त्रीय दृष्टिकोणबाट किराँत सभ्यता हो भन्ने आधार दिएको छ ।’

कौटिल्य अर्थशास्त्रमा भनिएझैँ अहिले पनि नेपालको पूर्वी भेगका खोटाङ, भोजपुर जस्ता ठाउँमा राईहरूले चिराइतोको खेती र व्यापार गरी आएको भोगीराज बताउँछन् । साथै ऊनबाट बन्ने राडीपाखीहरूलाई गुरुङहरूले अझै पनि निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

प्राचीन कालमा पश्चिमको गुरुङ, मगरदेखि लिएर पूर्वका राई, लिम्बू सबै किराँती नै भएको भोगीराजको भनाइ छ । तिब्बती बर्मन भोट बर्मेली भाषी आदिवासी जनजाति, सबै नै किराँती भएको इतिहासकारहरूको व्याख्या छ । 

किराँतीहरू कहाँबाट आए त ?

अणुवांशिक अध्येताका अनुसार किराँतीहरू चीनको ह्वाङ्हो नदी उपत्यकाबाट आएको भोगीराज बताउँछन् । भाषाशास्त्रीहरूका अनुसार ६ हजार वर्षभन्दा पहिले चिनियाँहरूको भाषा र अहिलेको भोट बर्मेली भाषा एउटै थियो । ‘अर्थात् अहिलेको चिनियाँ भाषा र भोट बर्मेली भाषा ६ हजार वर्षअघि मात्रै छुट्टिएको हो ।’

‘त्यतिखेर ह्वाङ्गो नदी उपत्यकामा किराँत सभ्यता विकसित भएको थियो’, भोगीराज भन्छन्, ‘चिनियाँ र भोट बर्मेली भाषा छुट्टिएर लगभग ६ हजार वर्ष पहिले किराँतीहरू नेपालको पहाडी भेगमा झरिसकेको थियो भन्ने गरिन्छ ।’

प्रसिद्ध इतिहासकार इमानसिंह चेमजोङका अनुसार किराँत शब्दको उत्पति भूमध्य सागरीय क्षेत्रको अवाइट भाषाको किरियात भन्ने शब्दबाट आएको हो । जसको अर्थ किल्ला, शहर भन्ने हुन्छ । संख्या बढ्दै गएपछि धेरै जिल्ला र शहर बने र त्यसलाई किरियात हिम भनियो । सोही शब्दलाई कालान्तरमा किराँती भन्न थालिएको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १०:०७

https://shilapatra.com/detail/76846?fbclid

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal