किरात सभ्यता उजागर गर्न ‘किरात विश्वविद्यालय’ को प्रस्ताव

 गणेश राई

काठमाडौँ — नेपालको इतिहासमा सभ्यताको चरण किरातकालबाट सुरु भएकाले किरात विश्वविद्यालय स्थापना गर्न सान्दर्भिक हुने विज्ञले बताएका छन् । किरात शब्दले सभ्यता र जाति दुवै बुझाउने भएकाले त्यसलाई संकृचित अर्थमा लिन नहुनेसमेत बताए । किरात राई प्रज्ञा परिषदले राजधानीमा आयोजना गरेको तेस्रो ‘किरात राई प्राज्ञिक संगोष्ठी–२०७९’मा उक्त विचार व्यक्त गरेका हुन् ।

काठमाडौँ — नेपालको इतिहासमा सभ्यताको चरण किरातकालबाट सुरु भएकाले किरात विश्वविद्यालय स्थापना गर्न सान्दर्भिक हुने विज्ञले बताएका छन् । किरात शब्दले सभ्यता र जाति दुवै बुझाउने भएकाले त्यसलाई संकृचित अर्थमा लिन नहुनेसमेत बताए । किरात राई प्रज्ञा परिषदले राजधानीमा आयोजना गरेको तेस्रो ‘किरात राई प्राज्ञिक संगोष्ठी–२०७९’मा उक्त विचार व्यक्त गरेका हुन् ।

किरात राई प्रज्ञा परिषदले राजधानीमा आयोजना गरेको तेस्रो ‘किरात राई प्राज्ञिक संगोष्ठी–२०७९’को उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई । तस्बिर : गणेश/कान्तिपुर

परिषद्का कुलपति जयकुमार राईले किरात राई जातिको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, भौगोलिक पक्षलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने निकाय विश्वविद्यालय भएकाले किरात विश्वविद्यालयको अवधारणा अघि बढाएको बताए । ‘किरात विश्वविद्यालयले किरात सभ्यताको उजागार गर्ने ठानेका छौं,’ उनले भने ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले छिमेकी मुलुक चीनमा ५५ अल्पसंख्यक जाति रहेको र ती जातिका नाममा केन्द्रीय र प्रादेशिक रुपमा छुट्टाछुट्टै विश्वविद्यालय सञ्चालनमा रहेको बताए । ‘नेपाल सानो मुलुक भएकाले धेरै विश्वविद्यालय आवश्यक छैन भन्ने तर्क छ,’ चीनमा प्राध्यापन गरेका सुवेदीले भने, ‘गुणस्तरीय उच्च शिक्षाका लागि दुई–तीनसय विद्यार्थी भएका विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ । र ती जातिको मौलिक ज्ञानलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय रूपमा नवप्रवर्तनका विषय जोड्न सकिन्छ ।’ उनले अहिलेसम्म किरात सौन्दर्यशास्त्र, किरात विश्वविद्यालय र किरात एकेडेमीको अवधारणा सार्वजनिक भएको बताए ।

पूर्वमन्त्री गोपाल किरातीले बहुजातीय, बहुभाषिक, भौगोलिक विविधतायुक्त मुलुक महासंघीय ढाँचामा अघि बढ्नुपर्ने बताए । उनले आफ्नो कार्यकालमा किरात विश्वविद्यालय विकास कोष कम्पनी रजिस्ट्रारको कार्यालयबाट दर्ता गरेको तर संचालन गर्न नसकेपछि विघटन गरेको बताए । ‘हामीले २०६६ सालमा खोटाङ र भोजपुरको सीमाना पान्धारेमा स्थानीय उपलब्ध गराएको जग्गामा किरात विश्वविद्यालय निर्माण स्थलको साइन बोर्ड तत्कालीन सांसद सीपी गजुरेलबाट शिलान्यास गरेका थियौं,’ आफू राजनीतिक कार्यकर्ता भएकाले प्राज्ञिक काम अघि बढ्न नसकेको उल्लेख गर्दै भने, ‘तर, सञ्चालन गर्न नसकेपछि उक्त विश्वविद्यालय विघटन गर्‍यौं ।’

सांसद हेमराज राईले २०३७ सालदेखि किरात विश्वविद्यालयको प्रसंग र बहस सुरु भएको तर औपचारिकता पाउन नसकेको बताए । ‘तत्कालीन मन्त्री नारदमुनि थुलुङले माझकिरातमा विश्वविद्यालय हुनुपर्छ भन्ने प्रस्ताव गरेका थिए,’ पूर्वमन्त्रीसमेत रहेका राईले भने, ‘तर, ०३७ सालमा पारुहाङ मासिक पत्रिकामा किरात विश्वविद्यालयको विषयमा आलेख छापिएपछि किरात शब्दलाई संकुचित रूपमा परिभाषित गर्न थालियो । त्यसरी जातीय सेन्टिमेन्टले मात्र कुनै पनि संस्था दीघकालीन चल्न सक्दैन ।’ किरात समुदायको बौद्धिक वर्गमाझ साझा एजेन्डा बन्नु स्वभाविक रहेको र यसलाई औपचारिक रूपमा अघि बढाउन सकिने बताए ।

प्राध्यापक डा. केके राईले पहाडी भेगमा गुणस्तरीय सेवा दिनसक्ने विद्यालय, विश्वविद्यालय, अस्पताल स्थापना गर्न सकेमा बसाइँसराइ रोकिने बताए । ‘पहाडको बसाई सराई रोक्न किरात विश्वविद्यालय स्थापना प्रस्ताव सान्दर्भिक छ,’ जनशक्ति, आर्थिक स्रोत र कानुनी व्यवस्था महत्वपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘संसारको विज्ञ जम्मा गर्ने ठाउँ नै विश्वविद्यालय हो । त्यसका निम्ति ठोस अवधारणा निर्माण, कानुनी प्रक्रिया, प्रदेश–१ का सांसदलाई प्रशिक्षण दिन सक्नुपर्छ ।’

कैलाश राईले जुनसुकै नाममा विश्वविद्यालय स्थापना गरेपनि त्यो सीमित जातिको पेवा नहुने बताइन् । ‘योगमाया विश्वविद्यालय अस्तित्वमा आएको छ, त्यहाँ योगमायाको बारेमा मात्र पढाइँदैन,’ त्रिभुवन विश्वविद्यालयमा सबैखाले विषयको पठनपाठन हुने उल्लेख गर्दै उनले भनिन्, ‘त्यस्तै किरात विश्वविद्यालय जातीय विश्वविद्यालय होइन । किरात या नारदमुनि थुलुङ विश्वविद्यालय जे राख्दा पनि हुन्छ । मुन्धुमदर्शनसँगै विश्वज्ञानसँग जोड्न आवश्यक छ । किराती भएरमात्रै पढ्ने होइन ।’ भारतको जामिया विश्वविद्यालय र बनारस हिन्दु विश्वविद्यालयजस्तो धार्मिक विश्वविद्यालय बन्न नहुने बताइन् ।

किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले किरात विश्वविद्यालय बन्न सकेमा नयाँ आयाम थपिने बताए । ‘किरात शब्दलाई सभ्यता र जाति दुवै बुझाउँछ,’ किरात जातिभित्र तीन दर्जन भाषा रहेको उल्लेख गर्दै अध्यक्ष राईले भने, ‘यदि किरात विश्वविद्यालय निर्माण हुनसके किरात सभ्यता, तीन दर्जनभन्दा बढी किराती भाषाहरू, मुन्धुमदर्शन सम्बन्धित समुदायको मात्र पेवा नभई राष्ट्रको साझा सम्पदाका रूपमा विकास हुनेछ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले दुईदिने संगोष्ठी उद्घाटन गरेका हुन् । दुईदिने संगोष्ठीका प्रमुख वक्ता समाजशास्त्री जितपाल किरातले मुलुकको वर्तमान राजनीतिक व्यवस्थाले युवा पुस्ता पलायनबारे प्रवचन दिएका थिए । यसैगरी मुन्दुमदर्शन, किरात पहिचान, भाषिक पुरातत्व, किरात संस्कृतिलगायत २९ वटा शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएको परिषद्का सदस्यसचिव डा. तारामणि राईले जनाएका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७९ १२:४७https://ekantipur.com/literature/2023/02/19/167679013630695428.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal