आफ्नै भाषा, आफ्नै सिर्जना

 कान्तिपुर संवाददाता

काठमाडौँ — कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार देशभरीबाट सहभागी विभिन्न जातिजातिका समूहले आफ्नै संस्कृति तथा पहिचान झल्काउने प्रस्तुति दिए । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिसँगै कविहरुले आफ्नै भाषामा कवितामार्फत आफ्नोपनको भावसमेत पोखे ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ का अवसरमा प्रतिष्ठानद्वारा गरिएको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७८’ मा साढे तीन दर्जनभन्दा बढी कविहरुले कविता प्रस्तुत गरे । कविता महोत्सवमा तामाङ, अछामी, अवधि, जिरेल, गुरुङ, डोटेली, थामी, दनुवार, थुलुङ, दुरा, धिमाल, नाछिरिङ, नेपाल भाषा, चाम्लिङ राई, खस, वाम्बुले राई, बान्तवा राई शेर्पा, हायु, सन्थाली, मेचे, मैथिलीलगायतका४२ भाषाका ४६ जना कविहरु सहभागी थिए । उनीहरुले कवितामार्फत नै जातीय पहिचान, संस्कृति, परम्परा लगायतका पक्षहरुलाई उठान गरेकाथिए ।

कार्यक्रममा घले, तामाङ, गुरुङ, सुनुवार, मगर, राई, शेर्पा जातिको संस्कृति झल्काउने झाँकीसहित सुदूर पश्चिमको देउडा झल्काउने एक दर्जनभन्दा बढी विभिन्न जातिका सांस्कृतिक समूहले आ–आफ्ना जातीय पहिचान झल्काउने नृत्य तथा झाँकी प्रदर्शन गरे ।

विश्वभर हरेक वर्ष फेब्रुअरी २१ का दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउने गरिन्छ । तत्कालीन पूर्वी पाकिस्तानमा बंगाली मातृभाषा बोल्न पाउनुपर्छ भनी माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको संस्मरणमा यो दिवस मनाउन थालिएको हो ।

सन् १९९९ नोभेम्बर १७ देखि युनेस्कोले यस दिनलाई विशेष दिनका रुपमा मानेको थियो । सन् २००० देखि संयुक्त, राष्ट्र संघले यस दिनलाई मातृभाषा दिवसका रुपमा मनाउन आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालेको छ ।

महोत्सवमा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा तथा मातृभाषा साहित्यमा कुनै पनि जातिको मौलिक पहिचान हुने बताए । ‘कुनै पनि जातिको पहिचान भाषा र संस्कृतिमा निहित हुन्छ,’ उनले भने,‘हजार वर्ष इतिहास बोकेका मूर्त तथा अमूर्त संस्कृति, सभ्यता तथा सम्पदाको अभिलेखीकरण, पुस्तान्तरण भाषा र साहित्यबाट नै हुन्छ ।’ कुनै देशको समृद्धिको सूचक भौतिक तथा आर्थिक तत्व मात्र नभएर भाषिक र सांस्कृतिक विविधता पनि रहेको उनले ठहर गरे ।

त्यस्तै सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जातिको भाषा र साहित्यले समुदायको इतिहास, कला, परम्परा, सभ्यता, रीतिरीवाज जस्ता पक्षलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने सुनाए । आफ्नो मगर मातृभाषाप्रतिको प्रेम दर्शाउँदै आलेले दिवसले सबै जातिको भाषा, साहित्य, सिर्जनाका लागि थप प्रेरण मिल्ने धारणा राखे । भाषा र साहित्य विकास तथा संरक्षणका लागि जुनसुकै प्राज्ञिक अनुसन्धान, कार्यका लागि सरकारबाट सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जाहेर गरे ।

प्रकाशित : फाल्गुन ९, २०७८ १९:०६https://ekantipur.com/Art/2022/02/21/164544970219815303.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal