लुङखिम भाषा लोप हुनै लागेपछि...

 इलामको सूर्योदय नगरपालिकामा सञ्चालित लुङखिम भाषाको आधारभूत कक्षाका सहभागी। तस्बिर : सचित राई

लुङखिम भाषा लोप हुनै लागेपछि...
author-image

केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्।


‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्‍यो। एक–दुई कुरा सिकिन्छ कि भन्ने आस छ।’ सूर्योदय नगरपालिका–११ केराबारीमा पुस पहिलो साता सुरु भएको कक्षा ४५ दिनसम्म चल्नेछ। चार महिलासहित ३० जनाले कक्षा लिइरहेको लुङखिम राई समाजका अध्यक्ष जंगबहादुर लुङखिम राई बताउँछन्। जसमा युवादेखि ज्येष्ठ नागरिकसम्म छन्। 


राई जातिमा पर्ने लुङखिम भाषिक समुदायकै अगुवा दुर्गामान राई भन्छन्, ‘हामीले त यो भाषा बिर्सेका थियौं, अहिले सामान्य बोलचालको शब्द सिकिरहेका छौं।’ स्थानीयवासी ३२ वर्षीय गंगाबहादुर राईलाई अब यो भाषा बाँच्यो भन्ने महसुस भइरहेको छ। अब आउने पिढीलाई आफूले सिकाउने उनी बताउँछन्। भन्छन्, ‘बाउबाजेले बोल्नुभएन। अहिले सिक्ने क्रममा छौं।’

५८ वर्षीया अरुण राईले प्रशिक्षार्थीलाई भाषा सिकाइरहेका छन्। सूर्योदय–१० आहालेका उनी अवकाशप्राप्त प्रहरी हुन्। त्यसपछि १२ वर्ष वैदेशिक रोजगारीमा बिताए। घर फर्किएको ६ वर्ष भयो। यही अवधिमा भाषाको कुरा अघि बढेको प्रशिक्षक राई सुनाउँछन्। ‘बुवा, आमा, दाजु, दिदीले यो भाषा बोल्ने गर्नुहुन्थ्यो’, उनी भन्छन्, ‘त्यही भएर म पनि सानै उमेरदेखि आफ्नै भाषा बोल्थें। तब भाषाको ज्ञान भयो।’ बुबापछि दाजु र दिदी हुनुपर्ने भए पनि लेखपढ गर्न नजान्ने भएकाले उच्चारणमा समस्या भई आफू प्रशिक्षक छनोट भएको उनी सुनाउँछन्। 


उनका अनुसार भाषा कक्षामा लुङखिम मात्रै होइन, साम्पाङ र नेवाहाङ पनि सहभागी छन्। सूर्योदय नगरपालिकाबाहेक रोङ गाउँपालिकाबाट पनि प्रशिक्षण लिन आइरहेका छन्। ‘यहाँ सिकेर रोङमा कक्षा चलाउने सोचविचार रहेछ’, उनी भन्छन्। उनका अनुसार ३० दिन लिखित र १५ दिन बोलाइ अभ्यास हुनेछ। सहभागीहरू ४०–४५ प्रतिशत बोल्न सक्षम हुने उनको अपेक्षा छ। आफ्नो भाषा बोल्न लजाउने युवाका कारण भाषा संकटमा परिरहेको उनी बताउँछन्। तर, लुङखिमप्रतिको आकर्षण भने उनलाई आश्चर्यजनक लागेको छ। यसले भाषा संरक्षण अभियानलाई मलजल गर्ने उनको विश्वास छ।

उनी हालै सिकाइरहेका थिए–

युमा खेनुमालो मो 

हाँस्नु राम्रो हो 

खाप्मा खेनुमालो मना 

रुनु राम्रो होइन 


सहभागीको सिकाइ उपलब्धिमूलक देखिएको अध्यक्ष राई बताउँछन्। भन्छन्, ‘एक शब्द पनि नजान्नेहरू एउटा–दुइटा कुरा बोल्न सक्ने भएका छन्।’ बाबुबाजेले नबोल्दा यो भाषा लोप हुने अवस्थामा पुगेको उनको ठम्याइ छ। भाषा अब फैलन्छ भन्ने आशा बढेको उनी बताउँछन्। इलामले संरक्षण गरेको भाषा अब लुङखिम बस्ने सबै घरमा पुर्‍याउने उनको योजना छ। 

‘हाम्रो भाषा पाँच परिवारमा मात्रै सीमित थियो। कुल पूजामा कुल पुजारीले मात्रै यो भाषा प्रयोग गर्दै आएका थिए’, अध्यक्ष राई भन्छन्, ‘भाषा हराउनै लागेको थियो। अब जागरण आउँछ।’ आफू शिक्षक हुँदा बान्तवा भाषा अध्यापन गरेका उनी पनि लुङखिम बोल्न सिकिरहेका छन्। भन्छन्, ‘युवाको मोहसमेत बढेकाले भाषा जागरण अलिक सहज बन्दै गएको छ।’

सहभागीहरू बिहान ८ बजेदेखि दुई घण्टा कक्षामा बस्छन्। स्थानीय बजार लाग्ने भएकाले बिहीबार भने छुट्टी दिइएको छ। समुदायका अगुवा दुर्गामान राईका अनुसार घरायसी सामान, सम्मान, नातागोतालाई गरिने शिष्टाचारलगायत कुरा प्राथमिकताका साथ सिकाइने गरेको छ। 


यो कक्षा चलाउन आयोगले पाठ्यसामग्री ‘लुङखिम खा’ उपलब्ध गराएको छ। जुन भाषाविद् डा. तारामणि राई र भाषा स्रोत व्यक्ति अरुण राईले तयार पारेका हुन्। जसमा लेखिएको छ, ‘भाषा सिकाइका पक्षहरू मूलतः सुनाइ, बोलाइ, पढाइ र लेखाइ भए पनि यो भाषा कक्षा सुनाइ र पढाइमा बढी केन्द्रित छ। किनभने, यो पाठ्यपुस्तकको लक्षित वर्ग लेख्न सक्ने साक्षर मानिएको छ। त्यसैले बोल्न सक्नेले लेख्न सक्ने अपेक्षा गरिएको छ।’


वक्ता संख्या वृद्धि गरी भाषा बचाउन लाग्नुपर्ने भाषाविद् डा. राई बताउँछन्। सर्भेका क्रममा २०७४ मा इलामका एक परिवार मात्रै लुङखिम जान्ने फेला परेको डा. राई सुनाउँछन्। 


‘पहिला यो भाषाबारे प्रस्टता थिएन। भोजपुरको लिङखिममा बोलिन्छ भनिएको थियो। विगतमा भएका अध्ययनहरूका आधारमा भाषा आयोगको अगुवाइमा त्यहाँ पुग्दा वक्तै रहेनछ। हाम्रोमा त बोलिँदैन, इलामतिर बोल्छन् भन्ने कुरा गरे’, भाषा सर्भेमा सहभागी विज्ञ डा. राई भन्छन्, ‘त्यसपछि हामी इलाम गयौं। इलाममा लुङखिमका वक्ता हामीले फेला पार्‍यौं। त्यहाँ भाषा बचाइराखेका रहेछन्।’ 


यो भाषामा २२ व्यञ्जन र ६ स्वर गरी २८ वर्ण पहिचान गरिएको ‘किराती लुङखिम राई जाति ः जन्मदेखि मृत्युपर्यन्तसम्मको मुद्दुम संस्कार’ किताबमा उल्लेख छ। 

राष्ट्रिय जनगणना २०६८ र ५८ मा भने यो भाषा लिङखिम भनेर अभिलिखित छ। वक्ता संख्या ६८ मा १ सय २९ र ५८ मा ९७ जना देखिन्छ। २०७८ को जनगणनाको प्रारम्भिक नतिजा आए पनि भाषाभाषी, जातजातिको तथ्यांक आएको छैन। जनगणनामै भाषा समेटिएपछि २०७१ सालमा यो भाषिक समुदायमा लुङखिम राई समाज नेपाल गठन गरियो। 


लिङखिमलाई लुङखिम ठहर गरे। विज्ञले २०७२ मा वर्ण पहिचानको काम गरे। २०७४ मा सांस्कृतिक कार्यशाला सम्पन्न भयो। आयोगले २०७४ मा विज्ञ खटाएर स्थलगत अनुसन्धान गर्‍यो। शब्द संकलन गरी आधारभूत व्याकरण र पाठ्यसामग्री तयार पार्‍यो। आयोगले दुई वर्षदेखि बराम, कुसुन्डा र तिलुङ भाषा कक्षा चलाउँदै आएकामा लुङखिम र दुरा थपिएको जनाइएको छ।   


अध्यक्ष राईका अनुसार सूर्योदय नगरपालिकाका केराबारी र आहालेमा १०० घरजति लुङखिम छन्। रोङ गाउँपालिका, देउमाई र इलाम नगरपालिकामा पनि बसोबास छ। यस्तै, भोजपुर, सुनसरी, मोरङ, झापालगायत जिल्लामा पनि बसोबास रहेको अध्यक्ष राइको भनाइ छ। लुङखिम राईको जनसंख्या १० हजारभन्दा बढी हुन सक्ने अनुमान समाजले गरेको छ। 

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal