कोसेली - ‘सृष्टिकै कान्छो सन्तान’ का नाममा

 गणेश राई

लिम्बूहरूको विश्वास छ– ‘हावाको काम देखिन्छ, तर हावा देखिँदैन । ईश्वरको काम देखिन्छ, तर मान्छेले ईश्वर देख्दैन । ईश्वरको दृष्टिमा हामी छौं ।’ 
मुन्धुम भन्छ– सृष्टिकै कान्छो सन्तान मानिस हो ।

मृत्युसंस्कारमा फेदाङ्बा । तस्बिर : सुजन लिम्ब

मृत्यु सास सकिनु हो, जीवन नरहनु हो । मान्छेले बनाएका छन्– अनेक संस्कार–परम्परा । बनाएका छन्– सास रहिन्जेल गर्नुपर्ने र सास सकिएपछि गर्नुपर्ने कर्मकाण्ड ।

यहाँ लिम्बू जातिको मृत्यु संस्कारमाथि चर्चा गरिनेछ । र, यो संस्कार पल्लो किरात मेचीवारि इलामको समालबुङ गाउँको हो, जुन सेनकालयताको इतिहाससँग जोडिएको छ ।

लिम्बू संस्कारमा परिवारको कुनै सदस्यको मृत्युपछि बन्दुक पड्काउने चलन छ (बन्दुक पड्काउनुको उद्देश्य हो– ओल्लो–पल्लो गाउँतिरका रस्तीबस्तीका दाजुभाइ, आफन्त, इष्टमित्रलाई ‘मरौ परेको’ सन्देश दिनु । बन्दुकको आवाज सुनेर आफन्तहरू भेला हुन्छन् ।) तर, यसपालि बलबहादुर लाबुङ लिम्बू (१९९९–२०७८ मंसिर २९ गते) को मृत्युपछि गाउँमा बन्दुक पड्काइएन । बन्दुकको सट्टा पटका पड्काइयो । चलन फेरियो कि मासियो ? समाजले समीक्षा गरिसकेको छैन । किनभने पटका केबल कागजमा बेरिएको बारुदको पोको हो ।

सेनवंश–शाहवंश हुँदै प्राप्त गरिएका गाउँका बन्दुक ‘जनयुद्ध’ सँगै राज्यले कब्जामा लियो । त्यसपछि गाउँमा छिरेको हो– पटका संस्कृति । मनोज लाबुङका अनुसार, ‘जनयुद्ध’ का बेला गाउँका परम्परागत एकनाले बन्दुक सरकारले खोस्यो, उर्दी जारी गरेर ।

***

मृत्युपछि मृतकलाई समाधिस्थ गर्ने र त्यसपछि निश्चित दिनपछि सुद्धोशान्ति गरिन्छ । जिन्दगी माटोमुनि मिलेपछिको अन्तिम बिदाइ नै सुद्धाई हो । परिवारका सदस्य–नाताकुटुम्ब भेला भई सधैंका निम्ति अन्तिम बिदाइ गर्छन् । मृत्युपछि बलबहादुर लाबुङलाई आफ्नै जग्गामा समाधिस्थ गरियो र कपुरथान बनाइयो । त्यसपछि ११ औंदेखि १३ औं दिनसम्म तीन दिन, तीन रातभित्र अन्तिम संस्कार गरियो । पहिलो दिन लाबुङको तस्बिर बेहुलोझैं (स्थानीय बोलीमा) सजाएर घरभित्रबाट आँगनमा निकालिँदै थियो । सँगै थुन्सेमा दुई चेलीलाई अनेक परिकार बोकाइएका थिए । सिकुवामै रहेका लालबहादुर ढोली दमाईले विरहनी भाकामा सहनाई बजाउँदै अगुवाइ गरे । भीमप्रसाद आङ्देम्बेलगायत मुन्धुमीहरू मुन्धुम फलाक्दै थिए । परिवारजनहरूको पंक्ति जन्तीझैं अघि बढ्यो ।

अनौठो के भने लाबुङको तस्बिरसँगै मृतकका भाइ कुलप्रसाद लाबुङ सुब्बा र जेठा छोरा देउकुमारले नाङ्गो तरबार, खुँडा उचालेर पछिपछि हिँडिरहेका थिए । आँगनको माथ्लो गह्रामा झाङसहितको बाँस र केराको पातबाट मण्डप सजाइएको थियो । बिछ्याइएको राडीमाथि मृतकको तस्बिर सजाइयो, दायाँ–बायाँ उभिन्डो पारी तरबार र खुँडालाई शानसौकतसहित ठड्याइयो । परिवारका सदस्यहरूका निम्ति माङ्गेना (शिर उभ्याउने) पनि गरियो ।

मण्डपवरिपरि चौरासी व्यञ्जन सजाइएको थियो । दाजुभाइ पुस्ताले चढाउने तोङ्बा, रक्सीलगायत परिकार बायाँतर्फ थिए भने नातेदारले चढाउने परिकार दायाँतर्फ । सबैले देब्रे हातले क्रमशः बिदाइस्वरूप परिकार चढाए । लिम्बू समुदायमा मृत्युपछि पुरुषको हकमा चार र महिलाको हकमा पाँचौं दिनमा नुनतेल फुकाइन्छ । पुरुषको ९ दिन र महिलाको ८ दिनमा आत्माले मुक्ति पाउने विश्वास गरिन्छ । ११ औं दिनमा मृत्युकर्म गरी मलामीलाई सुद्ध–सुधाइ गरी खानपान गराइन्छ । चेलीबेटीलाई बर्को र ज्वाइँलाई टोपी ओढाएर ढोगभेट गरिन्छ ।

‘यो तरबार र खुँडा राजा पृथ्वीनारायण शाहको पालामा पाएको सुब्बाङ्गीको निसान हो,’ मनोज लाबुङले भने, ‘आठ–दस पुस्ताअघि हाम्रा जिजुच्याब्जुले पाएको शासनसत्ता हो । इलामको समालबुङ क्षेत्रमा मकरधोज लाबुङको किपट थियो । त्यसयताका वंशले किपटलाई निरन्तता दिँदै आएको र नेपालमा भूमि सुधार लागू भएपछि २०२८ सालदेखि सुब्बा पदको अन्त्य भयो ।’ बलबहादुर लाबुङ तिनै सुब्बाङ्गीप्राप्त शासकका पुस्ता थिए । त्यसैले उनको मृत्युसंस्कारमा घर र वंशले विशेष शासकीय सम्झना गर्दै अन्तिम बिदाइ गरे ।

सोनारुङ कोक्मा मिङसो युमा माङहिम किरात परिवारले समवेदना–पत्रमा उल्लेख गरेको छ– ‘ताप्लेजुङ इक्खाबुवासी पुर्खा लागाहाङदेखि नामहाङ काजीको तीन भाइ छोरामध्ये चतुरसिङ विसं १८५१ मा ताप्लेजुङ इक्खाबुबाट मौजा इलाम समालुङ आई बसोबास भएकोबाट समालबुङमा जन्म भएका तीन भाइ छोरामध्येबाट जेठा छोरा मकरधोजको जेठा छोरा गम्भीरसिङको माइला छोरा धनबहादुरको दुई भाइ छोरामध्ये कान्छा छोरा बलबहादुर लाबुङको मिति १९९९–०४–०९ मा जन्म भई मिति २०७८–०८–२९ गतेका दिन निधन भएको ।’

इतिहास अध्येता राजकुमार दिक्पालका अनुसार, माबुहाङ वंशी लिम्बू ३२ थरी छन् । त्यसमा लाबुङ एक हो । मूलथलो फक्ताङलुङ (कुम्भकर्ण) हिमाल क्षेत्र हो । माबुहाङ प्रतापी राजा थिए । उनकै नामबाट माबुहाङवंशी कहलिएका छन् । खासमा उनीहरू ल्हासाहाङका सन्तान हुन् । ल्हासाहाङ सातौं–आठौं शताब्दीतिर उत्तरबाट दक्षिणतिर आएका थिए । ‘नगरा निसान पाउने लिम्बूहरू आफ्नो क्षेत्रका सुब्बाङ्गी प्राप्त अगुवा मानिन्छन् । राजाबाट नगरा निसान पाउनु त्यसबेलाका लिम्बू सुब्बाहरूको प्रतिष्ठासँग गाँसिन्थ्यो । लाबुङ परिवारले पनि सुब्बाङ्गी पाएकाले ऐतिहासिक हतियार निकालिएको हो,’ दिक्पाल भन्छन् ।

सुब्बाङ्गी प्राप्तबाहेककाले खुकुरी मात्र निकाल्छन् । इतिहासविद् भगिराज इङ्नामका अनुसार, पल्लो किरात लिम्बूवानका लिम्बू रायहरूले सेनकालबाटै सुब्बाङ्गी र नगरा पाएका थिए । ‘सेनकालदेखि निरन्तर सुब्बा, कर्ताहरूको पितापुर्खाले चर्चेका घर घड्यारी, बारी, सुवारी, तित्या महभिर शाहकालमा पनि त्यसैको निरन्तरता दिइएको देखिन्छ,’ रैतीहरूबाट विभिन्न कर उठाई तोकिदिएको रकम श्रीनाथ कम्पु पल्टनमा बुझाउने गरी सुब्बाङ्गी प्रदान गरिएको उल्लेख गर्दै ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’ मा इङ्नामले लेखेका छन्, ‘सुब्बाले सरकार र रैतीप्रति गर्नुपर्ने कर्तव्य र दायित्वसमेत लालमोहरमा उल्लेख छ । नगरा निसानको प्रतीक तरबार, खुँडा आदि हतियार अहिले पनि जन्मदेखि मृत्युपर्यन्तसम्म प्रदर्शन गरिन्छ ।’

मेचीपारि–मेचीवारि

लिम्बू जातिमा तीन प्रकारका माङ्देम्बा हुन्छन्, फेदाङ्मा/बा, साम्बा र येबा/मा । मुन्धुम संस्कृतिका संवाहक भनेर चिनिने यी प्रमुख पात्र, जसले तागेरा निङ्वाफुमाङ सर्वव्यापी ईश्वरको सेवा गर्छन् । संस्कृतिविद् येहाङ लाओतीका अनुसार, घरभित्रका सबै र घरबाहिरका ताक्फेङलगायत पूजाआजा गर्ने पुरोहितलाई फेदाङ्मा/फेदाङ्बा भनिन्छ । मुन्धुम ज्ञाता र व्याख्यातालाई साम्बा भनिन्छ । भूतप्रेतलगायत अनिष्टकारी शक्तिलाई तह लगाउने, मन्साउने, पन्साउने तन्त्रविद्यामा निपुण व्यक्तिलाई येबा/येमा भनिन्छ ।

भीमप्रसाद आङदेम्बे माङ्धुक फेदाङ्मा हुन् । सपनाबाटै मुन्धुमी ज्ञान प्राप्त गरेको उनी बताउँछन् । आफूलाई ‘या साम्बा–फेदाङ्बा’ भनी चिनाउँछन् । भन्छन्, ‘१३ वर्षकै छँदा माङ (देउता) ले पक्रियो ।’ २०–२२ को उमेरदेखि तङ्सिङ बस्न थालेका उनी ४६ वर्षका भए । पान्थरमा जन्मिएका उनी भारतको मिरिकमा बस्छन् । लिम्बू समुदायमा जन्मेदेखि मृत्युपर्यन्तसम्मका सबै मुन्धुम विधि–प्रक्रियाका जानकार छन् । बेलाबेला मेचीवारि नेपालतर्फका दाजुभाइका घर–आँगन धाउँछन्, बेलाबेला मेचीपारि पुग्छन् भावनात्मक माङ्गेना गर्न ।

‘दार्जिलिङ, सिक्किमका विभिन्न ठाउँ पुग्नुपर्छ, नेपालका दाजुभाइको घर पनि आउनैपर्छ,’ लिम्बू समुदायमा कतिपयले संस्कारै बिर्सिसकेको बताउँछन्, ‘जन्मिँदा कसरी गर्ने ? मर्दा कसरी गर्ने ? म गएर सिकाइदिन्छु ।’

प्रकाशित : माघ ८, २०७८ १०:१६https://ekantipur.com/koseli/2022/01/22/164282404909863296.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal