जनगणनामार्फत पहिचान खोज्दै हायु

 छुट्टै आदिवासी जनजाति भए पनि हायुले नागरिकतामा राई लेखाउँदै आएका छन्

गणेश राईराजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–४ पोखरेल गाउँका अस्मिन राईलाई छिमेकीले ‘अस्मिन हायु’ भनेर चिन्छन् । यथार्थमा भने हायु र राई फरक जाति हुन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये हायु लोपोन्मुख अल्पसंख्यक जातिमा पर्छ ।

सिन्धुलीको कमलामाई–४ का अस्मिन राईको परिवार । तस्बिर : राजकुमार/कान्तिपुर

सरकारले लोपोन्मुख जातिका प्रत्येक सदस्यलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । त्यसैअनुसार हायु जातिका व्यक्तिले पनि मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । तर यही हायु जातिका अगुवाहरूबाट आसन्न १२ औं राष्ट्रिय जनगणनामा आफूलाई राईका रूपमा चिनाउँदै आएकाले जाति र मातृभाषा ‘हायु’ नलेखाउने हुन् कि भनेर चिन्ता व्यक्त हुन थालेको छ ।

पुर्ख्यौली थलो ओखलढुंगाबाट चार पुस्ताअघि सिन्धुलीमाडीको पोखरेल गाउँमा बस्दै आएका अस्मिनलगायत परिवार भत्ताबाट वञ्चित छन् । किनभने उनीहरूको नागरिकतामा थर राई लेखिएको छ । ५२ वर्षीया अस्मिनको परिवारले दुई पुस्ता अगाडिदेखि राई थर अँगालेको थियो । ‘हजुरबुबा मेयरमान हायु हुनुहुन्थ्यो,’ अस्मिन सम्झिन्छन्, ‘तत्कालीन समयमा थर बढोत्तरी गर्न सिन्धुलीगडीमा जम्दार भएर बस्दा राई थर लेखाउनुभएछ ।’

अस्मिनका बुबा कृष्णबहादुर पनि हायु भनेर चिनिन्थे । तर हायुभन्दा राई एक तह माथिल्लो जाति भनेको सुनेर नागरिकतामा ‘राई’ लेखाएका थिए । त्यसयता अस्मिनको परिवार सबैले राई थर लेख्दै आएका छन् । अस्मिन मात्र नभई सिन्धुलीको गोलान्जोर गाउँपालिकामा रहेका अधिकांश हायुहरूसमेत ‘राई’ जातिकै सूचीमा छन् ।

हायु जातिको मूलथलो रामेछाप र सिन्धुली हो । काभ्रेपलाञ्चोक, सर्लाही, महोत्तरी, सिरहा, उदयपुरमा समेत यो जातिको बसोबास छ । अधिवक्ता प्रवीण हायुका अनुसार मूलथलोभन्दा अन्यत्र गएका हायुहरू ‘राई’ भएका छन् । ‘हामी सरकारी सेवा, सुविधा, अवसरबाट वञ्चित हुन चाहँदैनौं,’ उनले भने, ‘त्यसैले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, विभिन्न पालिका, निकायहरूमा हायुलाई हायु नै बनाउन ध्यानाकर्षण गराएका छौं ।’

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये हायु एक हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा हायु जातिको जनसंख्या २ हजार ९ सय २५ रहेको छ । हायु/वायु भाषा बोल्नेको संख्या १ हजार ५ सय २० छ । लोपोन्मुख ११ जनजातिमध्ये हायुसमेत छ । यसबाहेक किसान, कुशवाडिया, कुसुन्डा, खुनाहा, मेचे (बोडो), राउटे, राजी, लाप्चा, सुरेल र सोनाहा छन् । अन्य लोपोन्मुख जनजातिमा भने ‘हायु’ जस्तो अन्य जातिको थर अँगालेका छैनन् ।

हायु जातिबारे अनुसन्धानमा संलग्न भाषाशास्त्री डा. तारामणि राईका अनुसार हायु भाषा टिबेटो–बर्मन भाषा परिवारमा पर्दछ । ‘हायुले आफूलाई किराती दाजुभाइका कान्छा भन्दछन्,’ भाषाशास्त्री राईले भने, ‘र उनीहरूको सांस्कृतिक कानुनमा आधारित ‘जेठाबुढा’ भन्ने परम्परा लोपोन्मुख छ ।’ रामेछापको हायु बस्तीमा मातृभाषा बोल्नेको संख्या घटेको छ । सिन्धुलीको कमलामाई टाँडी गुराँसे क्षेत्रमा मात्र हायु भाषा जीवित छ ।

हायु युवाहरू राष्ट्रिय जनगणना जातिगत पहिचानका लागि राम्रो अवसर भएको ठान्छन् । ‘हामी कानुनी रूपमा राई भए पनि हायु जातिको भाषा, सामाजिक परम्परा, मौलिकता सम्हाल्दै आएका छौं,’ युवा राजनीतिज्ञसमेत रहेका लक्ष्मण हायुले भने, ‘त्यसैले जनगणनामा जाति हायु, धर्म किरात, मातृभाषा हायु लेखाउने अभियानमा छौं ।’ तर कानुनी रूपमा ‘राई’ थर अँगालेकाहरू पुनः ‘हायु’ बन्नका निम्ति प्रशासनिक झमेला व्यहोर्नुपर्ने उनले जनाए ।

अधिवक्ता प्रवीण हायुका अनुसार विगतमा ब्रिटिस आर्मी, सेना, प्रहरीमा भर्ती हुन हायुको सट्टा राई थर लेखाएका थिए । आफूलाई हायु भनेर चिनाउँदा हीनताबोध गर्थे । त्यसैले राई बनेर भर्ना भएको कथन छ । ‘तत्कालीन गाउँ पञ्चायतका प्रशासकले विद्यालयमा भर्ना हुने जोसुकै हायु बालबालिकालाई राई बनाइदिए,’ उनले भने, ‘केही ब्रिटिस आर्मी भएर अहिले पनि बेलायतमै छन् । प्रहरी र आर्मीमा अहिले हायु भनेरै पनि छन् । धेरैजसो हायु राई भए । तर सरकारले लोपोन्मुख जातिलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि चेत खुलेको छ ।’

हायुलगायत लोपोन्मुख जातिलाई सामाजिक सुरक्षा भत्ता र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले निःशुल्क तालिमको अवसर दिँदै आए पनि ‘राई’ थरका हायु परिवार भने ती सुविधाबाट वञ्चित छन् ।

प्रकाशित : कार्तिक १४, २०७८ १२:३६

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal