हामी अझै स्ट्राइकरद्वारा सञ्चालित क्यारिमका गोटी : ब्याकुल माइला
मुलुकमा चलेको दशक लामो सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भयो। निरंकुशताविरुद्धको जनआन्दोलनले मुलुकमा लोकतन्त्र स्थापना भयो।
त्यसपछि मुलुकको शासकीय संरचना फेरिन थाले। जनताको संविधान जनताले नै लेख्ने सुरुआत भयो। र देशमा लामो कालखण्डदेखिको राष्ट्रिय गान पनि फेरियो।
२०६४ वैशाखयता ब्याकुल माइला (प्रदीपकुमार राई) ले रचेको-
सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली
...
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल..। राष्ट्रिय गान स्थापित भयो।
‘एक जुगमा एकपटक’ हुने संविधानसभाको निर्वाचन दुईपटक गरेर भए पनि नयाँ संविधान बन्यो। त्यही संविधानद्वारा प्रदत्त अधिकारलाई संस्थागत गर्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भयो।
देशको शासनसत्ता जनताले वामपन्थी शक्तिको हातमा पाँच वर्षका लागि सुम्पिए। विडम्बना देशले विश्वव्यापी महामारी भोगिरहँदा पनि सत्तासीन दल आन्तरिक वैमनस्य, जुँगाको लडाइँ र शक्तिको खिचातानीमा रुमल्लिए।
यति बेला अन्तरपार्टी वैमनस्यको कालो छायाले ‘अलोकतान्त्रिक’ र ‘असंवैधानिक’ गतिविधिलाई प्रश्रय दिएको भन्दै सत्तासीन पार्टी ‘भित्र’ र पार्टी ‘इतर’ शक्ति सडकमा छन्।
यस्तो राजनीतिक वातावरणले शान्ति र प्रगतिको चाहना गर्ने नेपाली मन स्तब्ध छ। जनताका समस्या समाधान र अपेक्षामा तुसारापात भएको छ। विकासको गति अवरुद्ध छ।
०००
जसले हामी सबैलाई सयौं थुङ्गा फूलका देखे। एउटै मालाको परिकल्पना गरेर हामीलाई राष्ट्रगानमार्फत जोड्ने प्रयत्न गरे, त्यही राष्ट्रिय गानका सर्जक यो परिदृश्यलाई कसरी हेरिरहेका होलान्?
‘पक्कै निको लाग्ने कुरा होइन’, राष्ट्रिय गानका सर्जक ब्याकुल माइलाले भने, ‘सबैभन्दा ठूलो भूगोल हो, देश हो, जनता जनार्दन हुन्। यी सबै ठिकठाक भए पो सरकार चाहिने हो। सत्ताको अर्थ रहने हो।’
उनले राजनीतिक परिस्थिति बिग्रिसकेको भने देखेका छैनन्। ‘यो वैमनस्य र बेमेल कुर्सीको लडाइँ मात्र हो, यसले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई धक्का पुर्याइहाल्छ जस्तो लाग्दैन’, उनले भने, ‘दुःखको कुरा के हो भने सत्तासीन दलको ध्यान यतिबेला कारोना महामारी, त्यसको असरको व्यवस्थापन, विकास निर्माणमा जानुपर्ने हो। कुर्सीमा मात्र केन्द्रित भयो। नेताहरूले देशप्रति जिम्मेवारीबोध गरेनन्।’
उनले गणतन्त्रमा यस्तो दिनको परिकल्पना कुनै पनि नेपालीले नगरेको पनि बताए।
माइलाले भने, ‘हिजोको व्यवस्थाविरुद्ध हामी जनताप्रति जिम्मेवारीबोध भएन भनेर लड्यौं, शासक निरंकुश भए भनेर लड्यौं, आज तपाईंहामीले स्थापित गरेका नेतामा पनि राष्ट्रियताको भावना नहुनु त राम्रो होइन नि।’
नेताहरू शक्ति र सत्तालिप्सामा केन्द्रित भए पनि जनता देशको राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउन सक्षम हुने विश्वास उनले व्यक्त गरे।
‘जनता संवेदनशील, चिन्तित र जागरुक छन्’, उनले भने, ‘सार्वभौम सत्ता, राष्ट्रिय अखण्डतामा आँच आउँदा हातमा कलम हुने मात्र होइन, कोदालो हुनेहरू पनि जागेको दृष्टान्त हामीसँग कैयौं छ नि!’
०००
आफैं अभाव र ओझेल परेर बाँचिरहेका सर्जक माइला भन्छन्, ‘त्यो सबैले बुझेका छन्। जुन संसद्बाट देशको नयाँ नक्सा पास भयो, त्यही संसद् भंग गरियो। एमसीसीको किचलो फरक दलमा मात्रै देखिएन, एउटै दलभित्रको रडाको पनि छर्लंग भयो।’
उनले यो भन्दाभन्दै कवि भूपी शेरचनलाई स्मरण गरे।
भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा संगृहीत कविता ‘हामी’को अंश ः
‘... हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्ट्याइदिनुपर्ने
...एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं।
उनी हाम्रो अवस्था यो गद्यांश जस्तै देख्छन्। माइलाले भने, ‘हो हामी आज पनि ‘स्ट्राइकर’ द्वारा सञ्चालित क्यारिमका गोटी मात्रै हौं कि भन्ने लाग्छ।’
उनी नेताहरूलाई सतहका पात्र मात्र देख्छन्। अन्तर्यमा अरु केही नै छ। अर्थात् ‘हामी मानिस कम, बर्ता गोटी’ भइरहेका छौं कि भन्ने आशंका उनी व्यक्त गर्छन्।
राज्यको बेवास्ता
नयाँ व्यवस्था, नयाँ संरचना र नयाँ परिवेशसहितको देश बनाऊ भनेर जनताले विश्वास गरेका दल र शासक उदासीन हुँदै गएको असन्तुष्टि सडकको आक्रोशले पनि मापन गर्न सकिन्छ।
यस्तोमा राष्ट्रका गहना, देशका सर्जक, विद्वान्, कलाकर्मीको बेवास्ता हुनुलाई ‘ठूलो’ मान्न नसकिएला।
ब्याकुल माइला एक सर्जक मात्र रहेनन्। २०६४ मा उनको रचना छनोट भएर राष्ट्रिय गानका रुपमा सबै नेपालीले ‘छातीमा हात राखेर’ स्वीकारिसकेपछि उनी देशको गरिमासँग पनि जोडिन्छन्।
राज्यबाट उनले के पाए त? उनले पाँच लाख नगद पुरस्कार पाए, मान र केही पदवी थापे र मासिक २५ हजार पाउँदै छन्।
गुजारा कसरी चल्दै छ?
‘कोठाभाडा मासिक १६ हजार तिर्छु, म बस्ने ठाउँमा पानीको दुःख छ, त्यसैले तीन हजार पानीमा जान्छ, हजार बिजुली’, उनले २० हजारको हिसाब सुनाउँदै भने, ‘सात कक्षामा पढ्ने छोरी छ, पाँच हजारले खान्की खाने कि छोरी पढाउने?’ पत्नीको सानोतिनो जागिरले भरथेग हुने गरेकोमा उनले सन्तुष्टि जनाए।
एउटा देशको ‘नेस्नल एन्थम’ लेख्ने सर्जकको अवस्था के यस्तै होला त?
‘४५ सालतिर हङकङ जाँदा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले त्यहाँका राष्ट्रिय गानका सर्जकलाई ‘कारगेट’मा सवार देखे। उनले तत्कालीन राष्ट्रिय गानका सर्जन चक्रपाणि चालिसेलाई सम्झिए रे’, ब्याकुल माइलाले संस्कृतिविद् ग्वंगले सुनाएको घटना उद्धृत गरे।
भारतमा राष्ट्रिय गान छनोट भएपछि सर्जक रवीन्द्रनाथ ठाकुरको सेवासुविधा र सुरक्षामा राज्य संवेदनशील बन्यो। उनको निवासलाई ‘सिर्जनाको बगैंचा’ जस्तै वरपर लेखियो– ‘शान्त भइदिनुहोला।’ कारण थियो, उनलाई डिस्टर्ब नहोस्।
ब्याकुल माइलाले सात वर्षअघि बेलायतका पत्रकार एलेक्स मार्सल भेट्न आएको घटना सुनाए।
पत्रकार मार्सलले विश्वका धेरै देशका राष्ट्रगानका सर्जकलाई भेटेका रहेछन्। मार्सलले माइलासँग भनेछन्, ‘नरिसाउनुहोला, बोस्नियाका राष्ट्रिय गानका सर्जक र तपाईंको अवस्था उस्तै लाग्यो। उहाँलाई पनि राज्यले वास्ता गरेन। समुदायले पनि मतलब गरेन। पत्नीले पनि छोडेर हिँडिन्।’
पत्रकार मार्सललाई माइलाले जवाफ दिएका थिए रे, ‘होइन, उहाँको र मेरो अवस्था उस्तै छैन, मैले समाजमा सम्मान पाएको छु। मेरी पत्नी सँगै छिन्, बरु मेरो समस्यामा भरथेग गर्छिन्, मेरो असल सहयात्री बनिरहेकी छिन्।’
ब्याकुलको जीवन
ओखलढुंगाको साविक थाक्ले गाविस ८ को हिलेपानी सोक्मटारमा ०२९ साल चैतमा धनलक्ष्मी राई र मानबहादुर राईको सन्तानका रुपमा जन्मिएका माइला अर्थात् प्रदीपकुमार राईले राम्ररी आमाको अनुहार चिन्न पाएनन्। दुई वर्षको हुँदा मातृवियोग भयो।
हजुरआमाको दूध चुसेर हुर्किएका उनको बाल्यकाल हिलेपानी नजिकैको दूधकोसीमा पौडी खेल्दै र माछा मार्दै बितेको थियो।
काकाहरूले बीए, एमए गरेका थिए। त्यसले उनमा सानैदेखि ‘पढ्नुपर्छ’ भन्ने छाप बस्योे।
‘म दुब्लोपातलो थिएँ। स्कुल जाँदा एक घण्टा उकालो हिँड्नुपथ्र्यो। एक दिन स्कुल जाँदै गर्दा घामले रापिएर बाटैमा बिमारी परें’, उनले बाल्यकाल सम्झना गरे, ‘म पढेको स्कुल खरले छाएको, पुरानो, भाँचिएका डेक्स, बेन्च भएको अवस्थामा थियो।’
अहिले उनी पुरस्कार, सम्मान पाउँदा त्यो विद्यालयलाई सम्झन्छन्।
एक दिन उनले कापीमा खिरिलो अक्षरमा ‘क’ देखि ‘ज्ञ’ लेखेर बुवालाई देखाए। बुवाले ज्योतिषीलाई सम्झिएछन्।
‘ज्योतिषीले भनेका थिए रे, ‘तीन भाइ छोरामा एउटाले पढ्छ।’ बुवाले ब्याकुललाई ‘तँ पढ्छस्’ भनेर प्रशंसा गरेछन्। त्यो शब्दले उनलाई जीवनभर प्रेरणा दिइरह्यो।
कुनै दिन दाइसँग काठमाडौंं कहाँ पर्छ भनेर सोध्दा पश्चिम पहाडको चुचुरो देखाउँदै ‘ऊ त्यो डाँडापारि पर्छ, त्यहाँ मोटर गुड्छ’ भनेको उनी स्मरण गर्छन्।
गाउँमा हाइस्कुल थिएन। उनले मानेभन्ज्याङको भगवती माविबाट ०४६ सालमा प्रवेशिका पास गरे। त्यसरी दुःख गरेको ‘केटो’ आज देशकै राष्ट्रगानको सर्जक बन्यो। देशविदेशले चिन्ने भयो। यो सम्झँदा उनलाई खुसी लाग्छ, धन्य लाग्छ। तर त्योभन्दा बढी वर्तमान अवस्थासँग उनी निकै सचेत र सकसमा छन्।
‘राष्ट्रिय गानको सर्जक भएपछि म अब व्यक्ति मात्र होइन’, उनले भने, ‘मेरो हरेक गतिविधि यो देशको स्वाभिमान, इज्जतसँग जोडिएको हुन्छ।’
सुखभोग वा सुविधातिर लाग्ने हो भने ब्याकुल माइलाका अघिल्तिर सम्भावना छरपस्टै छन्।
उनी भन्छन्, ‘मेरो कारणले राष्ट्रि स्वाभिमान, राष्ट्रिय इज्जतमा असर पर्नु हुन्न। हामी राष्ट्रिय निधि हौं, हामीले गर्ने निर्णय, बोल्ने बोली र चाल्ने पाइलाले इज्जत जानु हुन्न।’
उनले थपे, ‘बाँचुन्जेल ऊ मेरो फलानो, ब्याकुल मेरो ढिस्कानो भन्छन्, मरेपछि राष्ट्रिय गानका सर्जकले यस्तो गरे, उस्तो गरे भनेर राज्यलाई लज्जा नहोस् भनेर सचेत हुनुपर्छ। कम्तीमा यो राज्यले पनि बुझिदिनुपर्ने हो।’
वकालत जानेका ब्याकुललाई पैसा नै कमाउने हो भने ‘तपाईं उभिई मात्र दिनुस् घर बनाउने सम्पत्ति आउँछ’ भन्ने धेरै छन्। ब्याकुल माइलाले भने, ‘त्यसो गर्न मेरो नैतिकता र ओहोदाले दिँदैन।’
Comments
Post a Comment