सम्पदा : टेकोको भरमा ऐतिहासिक नुवाकोट दरबार

चीन सरकारको सहयोगमा पुन:निर्माण : महानिर्देशक दाहाल
गणेश राई
कार्तिक ८, २०७३- नेपाल ऐकीकरणको पहिलो खुड्किलो मानिने नुवाकोट दरबार २०७२ को भूकम्पपछि लम्पसार अवस्थामा छ ।
जीर्ण अवस्थाको ऐतिहासिक साततले दरबार संग्राहलयलाई टेकोले अड्याइएको छ । टेको लगाइको ठाउँको पर्खालका इट्टाहरु क्रमश: उक्किँदै गएका छन् । पूर्वी मोहडा रहेको दरबार अगाडि र उत्तरीभाग भूकम्पले भित्ता इँटाको गारो चर्किएको देखिन्छ । दक्षिण र पश्चिमभाग ‘आज कि भोलि’ भनेझैं जीर्ण स्थितिमा देखिन्छ । तेस्रो तला पूरै कलात्मक झ्यालहरु रहेका छन् भने त्यो भन्दा माथिको भाग चौघेरा जीर्ण देखिन्छ ।


भूकम्पपछि कुनै आगन्तुकलाई प्रवेश गर्न दिइएको छैन भने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको कुनै कर्मचारीले प्रवेश गरेका छैनन् ।


सुरक्षार्थ दरबारकै पूर्वतर्फ नेपाली सेनाको श्रीनाथ गण पोष्ट रहेको छ । साथै नेपाल प्रहरी पोष्ट नजिकै रहेको छ । दरबारको ठीक पूर्वतर्फ रहेको तिलंगादरबार (गारदघर) भग्नावशेषमा परिणत भएको छ भने परिसरभित्रका कलात्मक दुईतले रंगमहल, ससना दुई मन्दिरहरु जीर्ण बनेका छन् । यहाँ पुग्ने जोकोहीले सम्झनाका लागि बाहिरै बसेर फोटो खिच्ने, खिचाउनेबाहेक दरबार संग्राहलयको अवलोकन गर्न पाउँदैनन् । 



टेकोले धानिएको नुवाकोट साततले दरबारको पश्चिमी मोहडा ।
‘२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा त्यसपछिका पटकपटकको पराकम्पनको कारण यस जिल्लाको पुरातात्विक महत्व रहेको साततले दरबार र सो परिसरभित्रका अन्य दरबार संरचनाहरु जीर्ण भएको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि साततले दरबार संग्राहलय बन्द रहेको व्यहोरा सबैको लागि यो सूचना प्रकाशित गरिएको छ,’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले भित्तामा टाँसेको सूचनामा छ । 
बन्द संग्राहलयमा राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्रीहरु, ढाल, तरबार, खुँडालगायत ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु रहेको जनाइएको छ ।

साततले दरबार संग्राहलय १९९० सालको भूकम्पअघि नौतले थियो भन्ने छ । उतिखेरको भूकम्पले माथिल्लो दुई तला भत्काएपछि साततलामा सीमित गरिएको स्थानीयवासी श्रीराम श्रेष्ठले बताए । 
यसबारे राणाशासकबीच आन्तरिक द्वन्द्वले आफूअनुकुल बनाउन नौतलालाई साततलामा सीमित गराएको भन्ने अर्को पनि मत पाइएको छ । २०७२ को गोरखा भूकम्पपछि भने सातैतला टेकोले धानिरहेको छ । 
‘अब धेरै होइन ५/६ रेक्टरकै धक्का लागेमा यो ऐतिहासिक दरबार माटोमा मिल्ने अवस्था छ,’ नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका श्रेष्ठले भने । 
यो दरबार त्रिशूली नदीदेखि पूर्वतर्फ विदुर नगरपालिका–३ मा रहेको छ । उत्तर–दक्षिण चुलिएको पहाडमाथि बनाइएको यस दरबार संग्राहलयको उत्तरतर्फ तलेजु (तुलजा) भवानीको पाँचतले मन्दिर जरजर अवस्थामा छ । 
दक्षिणतर्फ भैरवको मन्दिर पूर्णरुपमा ध्वस्त भएपछि भक्तजनले खुल्ला मूर्तिलाई पूजा गर्ने गरेका छन् । त्यहीं बलि चढाउने गरेका छन् । जीर्ण सत्तल, पाटीमै स्थानीयले भजनर्कीतन गर्ने गरेका छन् । इँटा, काठ, ढुंगा, झिंगटीका अवशेषहरुलाई बाटामा थुपारिएका छन् ।


नुवाकोट साततले दरबारको पूर्वतर्फ जीर्ण गारदघर र साना मन्दिर ।
भत्किएका घरहरुका भित्तामा जस्तापाताले टालेर स्थानीयहरु बस्दैआएका छन् । टहरोमै आगन्तुकलाई चिया, नास्ता गराउने गरेका छन् । दरबार हाता प्रवेशद्वारमा ‘सवारी साधन प्रवेश निषेध’ सूचना टाँसिएको भएपनि सर्वसाधारणले त्यसको पालना गरेका छैनन् ।

यो ऐतिहासिक नुवाकोट दरबारको वरिपरि राजधानी काठमाडौंको झल्को दिने ठाउँका नामाकरण गरिएका छन् । ब्रह्मटोल, इन्द्रचोक, नयाँ बजार, मैदानटोल, तीनधारे, कुवापानी, महामण्डल, पाटीपानी, सहरपानी, टुँडिखेल, अशोकबाटिका, धोबीधारा, सुलिडाँडा, तुर्केचौर, केउरेनी, बाहुनडाँडा, सितापोखरी, कुसुमबारी लगायत नामका ठाउँहरु छन् । दरबार परिसरमा खाल्टादेवी, तलेजुभवानी, भीमसेनस्थान, आकाश भैरव, शोभाभगवती, भृकुटीलगायतका मन्दिर छन् ।

दरबार हाता पूर्णरुपमा फोहरमैला सरसफाई गरिएको छैन । ऐतिहासिक दरबार, मठमन्दिरहरु भूकम्पअघि र पछिको अवस्थाको फोटो सार्वजनिक रुपमा राखिएका छन् । 
भैरवी मन्दिर निर्माणका निम्ति पुन:निर्माणका निम्ति काठहरु, गिटी, फलामका डण्डीहरु थुपारिएका छन् । उक्त मन्दिर निर्माणका निम्ति पुरातत्त्व विभागले चालू आर्थिक वर्षको बजेटमा निर्माण तयारी गरेको जनाइएको छ ।

स्थानीय अनुपराजसिंह खड्का दरबार पुन:निर्माण चाँडो हुनसके पर्यटन प्रवद्र्धनमा सहज हुने बताउँछन् । ‘भूइँचालो अघि जे जसरी पर्यटन प्रवद्र्धन भए, होटेल बन्दाबन्दै भूइँचालो गयो र रोकियो,’ होमस्टेसमेत सुरु भएको उल्लेख गर्दै उनले भने, ‘अहिले पुन:निर्माण भइसके राम्रो हुने आशामा छौं ।’
दरबार परिसरमा रहेको कृष्णमन्दिरका पूजारी गोपी पाण्डे भूइँचालोपछि श्रद्धालुसमेत घटेको बताए । अर्का स्थानीय अर्जुन तामाङ भूकम्पपछि जनजीवन माथि उठाउने प्रयासमा जुटेको बताए । 
‘ऐतिहासिक दरबार पुन:निर्माण गर्न दातृनिकायको सहयोगको भारी आशा राखेका छौं,’ उनले भने । बर्खामास सकिएपछि पुन:निर्माणले तीव्रता लिनसक्ने स्थानीयले बताएका छन् ।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार काठमाडौंको हनुमानढोका नौतले दरबार र नुवाकोट साततले दरबार पुन:निर्माणका निम्ति चीन सरकारले सहयोग गर्नेछ । ‘नेपाल सरकार र चीन सरकारबीच हनुमाढोकाको नौतले दरबार र नुवाकोटको साततले दरबार पुन:निर्माण गर्ने सम्झौता भएको छ,’ हनुमाढोकाको पुन:निर्माण सुरु भएको उल्लेख गर्दै महानिर्देशक दाहालले कान्तिपुरसित भने, ‘चिनियाँ टोलीले नुवाकोट दरबार निरीक्षण गर्न बाँकी छ । ढिलो/चाँडो नुवाकोट दरबार पुन:निर्माणको काम सुरु हुन्छ ।’ 
चीन सरकारको सहयोगमा नुवाकोट दरबार परिसरमा रहेका गारदघर, तलेजु भवानी मन्दिर, रंगमहललगायतको सम्पदा पुन:निर्माण हुने दाहालले जनाए । 
दरबार पुग्ने सडक चौडा बन्दै
विदुरदेखि नुवाकोट दरबार पुग्ने ६ किलोमिटर सडक चौडा बन्ने क्रममा छ । यस बीचमा जंगल रहेको छ । सडक विभागले अहिलेसम्म सिंगल ट्रयाक रहेकोमा डबल लेनको बाटा निर्माण थालेको हो । 
यो सडक विदुरचोकदेखि पुरानो सदरमुकाम नुवाकोट साततल्ले दरबार, नुवाकोट भैरवी, कालभैरव देवस्थल, फलाँटे, चोगते, लच्याङ, उर्लेनी र रसुवाको सरमथलीसम्म फैलिएको छ । उक्त सडक २०२८ सालमा डाँडामा रहेको ऐतिहासिक नुवाकोटबाट विदुर सदरमुकाम सारिएको हो । वि.सं. २०२९ सालमा पुरानो सदरमुकाम यही नुवाकोट जान कच्ची रुपमा सडक निर्माण गरिएको स्थानीय रामकृष्ण पाण्डेले बताए । 
डिभिजन सडक कार्यालयले वि.सं. २०५३ सालमा ओटासिल प्रविधिबाट नुवाकोटको साततल्ले दरबार जानेको लागि पिच गरिएको थियो । उक्त सडक गत वर्ष फराकिलो र पीच गर्नका लागि ठेक्का सम्झौता गरिएपनि द्रुतस्तरमा काम हुने सकेको छैन । 
सडकस्तारोन्नति गर्ने जिम्मा सपना निर्माण सेवा प्रालि हेटौडा २, मकवानपुरले २०७२ असोजमा  ८ करोड ८० लाख ३९ हजारमा ठेक्का सम्झौता गरेपनि दुई/तीन ठाउमा वाल उठाउने बाहेक केही काम भएको छैन । सडक डिभिजन कार्यालय रसुवा—नुवाकोटले उक्त सडक ठेकेदारको जिम्मा दिइसकेकाले आफ्नो जिम्मामा नपर्ने जनाएको छ ।
नुवाकोट साततले दरबारको दक्षिणतर्फ रहेको जीर्ण रंगमहल ।
नुवाकोट साततले दरबारको दक्षिणतर्फ भैरबी मन्दिर निर्माणका निम्ति सत्तलमा थुपारिएका सामग्री ।

तस्बिरहरु : गणेश राई/कान्तिपुर

प्रकाशित: कार्तिक ८, २०७३

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी