मेरो गणना, मेरो सहभागिता : शरु जोशी
फाल्गुन ५, २०७७ शरु जोशी नेपालले २०७८ असारमा बाह्रौं राष्ट्रिय जनगणना गर्दै छ । नेपालले दिगो विकास लक्ष्यको मार्गचित्रले सन् २०१६–२०३० तथा पन्ध्रौं योजनामा लैंगिक समानता तथा सामाजिक समावेशी सूचकहरूको अनुगमन र मूल्यांकनका लागि चाहिने खण्डीकृत तथ्यांक उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । २०५८ को जनगणनामा महिलाका नाममा घरजग्गा राख्ने परिवारबारे प्रश्न सोधिएको थियो । त्यस बेला करिब १० प्रतिशत परिवारले मात्र महिलाका नाममा घरजग्गा राखेको देखियो भने २०६८ मा १९.७ प्रतिशतले । यो तथ्यांकले प्रगति त देखाउँछ तर घरजग्गा पास गर्दा २० देखि ५० प्रतिशतसम्म छुट दिने नीतिका बावजुद ८० प्रतिशत परिवारले महिलाका नाममा घरजग्गा नराखेको देखिनुचाहिँ चिन्ताको विषय हो । नेपालले समानताका लागि ठूलठूला पहल गरेको देखिए पनि परिणाममा समानता ल्याउन नसकेको यो तथ्यांकले देखाउँछ । त्यसका लागि पनि आगामी राष्ट्रिय जनगणना–२०७८ ले समानता र समावेशीकरणका लागि बृहत् रूपमा आधार तथ्यांक तयार गर्दै छ । संघीय प्रणालीको पहिलो जनगणना भएकाले यो ऐतिहासिक हुनेछ । अधिकांश मुलुकले जनगणनामा अक्सर बाह्र प्रश्न सोध्छन्, किनकि प्रत्येक प्रश्नले ब...