अपांगता भएकालाई पढाइसँगै सीप


गणेश राई
काठमाडौँ — १८ वर्षीय संगम थापामगर साथीहरूसित संगीत कक्षामा रहँदा आफू दृष्टिविहीन भएको बिर्सिन्छन्, जतिखेर उनी सुर र ताल मिलाएर बाजा बजाइरहेका हुन्छन् । कक्षा सकिएपछि निस्किने बेलामा साथीहरू हुरुरु दौडेर बाहिरिन्छन् । त्यति बेलामात्र उनी आफ्नो शारीरिक दोषको पत्तो पाउँछन् ।
उनी ललितपुर महानगरपालिका–२२ बुङमतीस्थित आदर्श शौल युवक मावि कक्षा ९ का छात्र हुन् । ‘हामी अपांगता भए पनि सपांग साथीहरूसँगै बसेर पढ्न पाउँदा ज्यादै रमाइलो लाग्छ । म दृष्टिविहीन छु । नियमित स्कुल जाने, पढ्ने र होस्टलमा म्युजिक सिकिरहेको छु,’ पाँच वर्षदेखि आदर्शमा अध्ययनरत संगमले भने ।

उनी बाँसुरी, नेवारी बाजा धिम्या, तबला, क्याजन, मादल बजाउन सिपालु छन् । उनको भावी योजनाचाहिँ अलि फरक छ । भन्छन्, ‘मेरो भविष्यको योजना पोलिटिसियन बन्ने छ । त्यसका निम्नि नयाँ नयाँ योजना चाहिन्छ । नीति निर्माण गर्नुपर्छ ।’

सांग साथीहरूसँग घुलमिल हुँदा समाजसँग अन्तरक्रिया हुने संगमको ठम्याइ छ । ‘अपांगता भएकाहरू मात्र बसेर पढ्ने हो भने हाम्रो बौद्धिक क्षमता कम हुन्छ,’ आफूले पाएको अवसर अरू अपांगता भएका युवाले पनि पाउनुपर्ने उल्लेख गर्दै उनी थप्छन्, ‘त्यसैले हामी अपांगता भएकालाई मात्र राखेर होइन, आदर्श शौल युवक माविमा जस्तै समावेशी विद्यालयमा पढ्ने व्यवस्था हुनुपर्छ ।’ दृष्टिविहीनका निम्ति परीक्षामा लेखिदिने व्यक्ति (राइटर) को समस्या रहेको उनले बताए ।

रामेछापको सुनापाती गाउँपालिका–२ मानपुर गाउँमा जन्मिएका उनको सानैदेखि आँखा कमजोर हुँदै गयो । आँखा अस्पताल धाउँदाधाउँदै पनि उनको नेत्रज्योति फर्किन सकेन । अन्तत: बुङमतीस्थित अपांग सेवा संघमा ल्याइपुर्‍याएपछि पढ्ने अवसर पाएको संगमका बुबा भीम थापा मगरले बताए । संघले खाने, बस्ने र नजिकैको सामुदायिक विद्यालय आदर्श शौल युवक माविमा पढ्ने जोहो गरि दिएको छ ।

प्रधानाध्यापक सरोजभक्त आचार्यका अनुसार यस विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म १ हजार ८ सय ३५ विद्यार्थी पढ्छन् । त्यसमध्ये ७३ विद्यार्थी दृष्टिविहीन, बहिरा र शारीरिक अपांगता भएका छन् । जसमा दशजना विद्यालयकै छात्रावासमा बसेर पढ्छन् भने अरूलाई अपांग सेवा संघले आश्रय दिएको छ ।

आदर्शकै कक्षा तीनमा पढ्ने जुम्लाकी रिता खत्री कम्प्युटर चलाउनसमेत सक्छिन् । उनको दुवै गोडा चल्दैनन् । पढ्न पाएकामा उनी खुसी छिन् । अर्घाखाँचीकी दृष्टिविहीन अन्जना चुदाली कक्षा ६ मा पढ्छिन् । ‘आँखा नदेखे पनि लेख्न, पढ्न र कम्प्युटर सिक्दै छु,’ उनले भनिन्, ‘भविष्यमा असल काम गर्न सक्छु भन्ने सोचेको छु ।’ सिन्धुपाल्चोककी आइतीमाया तामाङ दृष्टि गुमे पनि शिक्षा आर्जन गर्न पाएकाले प्रगति पथमा लाग्न पाएको सुनाउँछिन् । यतिखेर १२ कक्षामा पढ्दै छिन् । सिन्धुपाल्चोकका दृष्टिविहीन विश्वराम दनुवार कक्षा ७ मा पढ्छन् । उनी तबला बजाउन सिपालु छन् । लेखपढका अतिरिक्त संगीतमा चासो रहेको सुनाउँछन् । शारीरिक अपांगता भएकी हुम्लाकी जुनमाया बिक कक्षा ६ मा पढ्दै छिन् । उनी यतिखेर कपडा बुन्ने, आर्ट सिक्दै गरेको सुनाइन् ।

हातको अपांगता भएकी हुम्लाकी देउली बुढाथोकी र सोलुखुम्बुका दृष्टिविहीन २५ विनायक राई मानविकी संकाय बिए दोस्रो वर्षमा पढ्दै छन् । बुढाथोकी र राईले आफ्नो इच्छा शिक्षक बन्ने रहेको बताए । राई संगीतप्रति उत्तिकै रुचि राख्छन् । बाँसुरी, तबलालगायत बाजा बजाउने गरेको उनी सुनाउँछन् ।

संघका संस्थापक अध्यक्ष तथा आदर्श शौल माविका शिक्षक दयाराम महर्जन आफ्नो विद्यालयले ३३ जिल्लाका अपांगता भएका विद्यार्थी खाने, बस्ने, पढ्ने, सीप सिक्ने अवसर दिएको बताउँछन् । विद्यालयमा ३४ जना दृष्टिविहीन, २९ जना बहिरा र अरु शारीरिक अपांगता भएका छन् ।

संघमा बस्ने अपांगता भएका विद्यार्थीको दैनिक, साप्ताहिक कार्यतालिका छ । हरेक बिहान उठेर मुख धोएपछि आनापाना ध्यान गर्छन् । प्रेरणादायी महावाणी सुन्छन् । दैनिक आलोपालो एकजनाले आफूलाई लागेको विषयमा बोल्छन् । सामूहिक समस्या पहिल्याउँछन् र समाधानको उपाय खोज्छन् । दिनमा सांग दुवैथरी साथीहरूसँग सँगै बसेर पढ्छन् । आफ्नो रुचिअनुसार संगीततर्फ मादल, बाँसुरी, तबला, शास्त्रीय संगीत, हार्मोनियम, स्वर प्रशिक्षण लिन्छन् । कम्प्युटर, थाङ्का, कराते, कृषि, बुनाइ तालिम लिन्छन् ।

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा दश किसिमका अपांगता उल्लेख छ । जसमा शारीरिक अपांगता, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिजमसम्बन्धी र बहुअपांगता पर्दछन् । एउटै सामुदायिक विद्यालयमा धेरै किसिमका अपांगता भएका विद्यार्थीलाई समावेशी कक्षा पढाउने विद्यालयमध्ये आदर्श शौल एक हो । काठमाडौं उपत्यकाभित्र लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा दृष्टिविहीन विद्यार्थी पढ्छन् । कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा ५३ जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । ‘कम्प्युटर, ट्याबलोइड चलाउँने अभ्यास गराइन्छ, कक्षामा ब्रेलका माध्यमबाट पढ्छन्,’ प्रधानाध्यापक लाक्पा शेर्पाले भने, ‘आँखा देख्ने र नदेख्ने सँगै बस्छन् । पढ्छन् । छात्रावासमा बस्ने व्यवस्था छ ।’

त्यसैगरी, काठमाडौंको नक्सालस्थित केन्द्रीय बहिरा माविमा शिशुदेखि कक्षा १२ सम्म ३ सय ६८ विद्यार्थी अध्ययनरत छन् । यहाँ बहिरा विद्यार्थी मात्र पढ्छन् । सीमित विद्यार्थीका निम्ति आवासीय छात्रवृत्तिको सुविधा छ । विद्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन । विद्यार्थी र शिक्षक सबैका निम्ति सांकेतिक भाषा अनिवार्य छ । अपांगता भएका विद्यार्थीलाई आवासीय सुविधावापत मासिक ४ हजार रुपैयाँ छात्रवृत्ति पाउँछन् । वर्षमा दस महिनाको छात्रवृत्ति उपलब्ध हुने गरेको प्रधानाध्यापक उपेन्द्र पराजुलीले जनाए । ‘कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई कम्युटर सिकाइन्छ,’ उनले भने, ‘एसईईपछि सीप बजारमा जान चाहनेलाई खुला गरिएको छ ।’

समावेशी शिक्षा (स्पेसल निड्स/एक्स्क्लुसिभ एजुकेसन) विषय पढेका स्नातक र सोभन्दा माथि औपचारिक डिग्री हासिल गरेकाले अपांगता भएकालाई पढाउने गरेका छन् । आयोगले यस्ता व्यक्तिलाई ‘विशेष शिक्षक लाइसेन्स’ दिने भएको छ ।

शिक्षक सेवा आयोगका प्रकाशकीय प्रमुख वैकुण्ठ अर्यालले अर्को वर्ष आह्वान हुने शिक्षक लाइसेन्सको परीक्षामा विशेष शिक्षा पढेकालाई सम्बोधन गरिने बताए । ‘यो वर्ष साढे दुई लाख जनाले शिक्षक लाइसेन्सको परीक्षा दिए तर विशेष शिक्षा पढेकालाई सम्बोधन गर्न ढिलाइ भयो,’ उनले भने, ‘अर्को वर्ष विशेष शिक्षा पढेकालाई के कसरी फरक लाइसेन्स दिलाउने भन्ने गृहकार्य गरेर निकास दिइनेछ ।’

प्रकाशित : माघ १, २०७६ ०८:५२https://ekantipur.com/national/2020/01/15/157905763789356918.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal