क्यानभासमा किरात


सुशीला तामा‌ङ
काठमाडौँ — खरले छाएको चिटिक्कको घर । कमेरो र रातोमाटोको लिउन पोतिएको भित्ता । आँगनवरिपरि फुलैफूल, हरियाली अनि मकैको घोगा र सुँगुरको खोर । मौलिक र सांस्कृतिक पक्ष झल्किने यस्ता पुराना घर अब गाउँतिरबाट पनि हराउन थालेका छन् ।

बढ्दो सहरीकरण र बाहिरिया प्रभावले नेपाली मौलिक वास्तुकला, भेषभूषादेखि खानपान शैलीसम्ममा परिवर्तन आइरहेको छ । सुदूरपूर्वको अवस्थाचाहिँ कस्तो होला ? कवि हृदयका चित्रकार अर्जुन खालिङले केही वर्षअघि ग्रामीण किरात समुदायको संस्कृति, भूगोल र जनजीवन झल्किने गरी यथार्थवादी चित्रहरू कोरेका थिए । ‘सूर्य डढिरहेछ निरन्तर’, ‘गोयाङको सुगन्ध’ जस्ता कविता कृति दिएका दिवंगत खालिङका ती चित्रहरू यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा प्रदर्शनरत छन् ।

झन्डै साढे दुई वर्षअघि दिवंगत खालिङले लेखन, चित्रकलादेखि फेसनसम्म किरात सौन्दर्य र पहिचानलाई प्रवर्द्धन गरेका थिए । किरात राई लेखक संघका अध्यक्षसमेत रहिसकेका सोलुखुम्बुका उनी चिन्डो बुक्स, चिन्डो आर्ट्स र चिन्डो फेसनका संस्थापक थिए । उनका चित्रहरू हेर्दै जाँदा सिंगो किरात बस्ती घुमेको अनुभूति हुन्छ ।

उनका पाँचवटा यथार्थवादी कलाहरूले किराती समुदायको परिचय मात्र नभएर माटो र यसको औचित्यसमेत खुलाएको किराँत ललितकला समाजका संस्थापक अध्यक्ष तथा अग्रज चित्रकार रतनकुमार राईले बताए । खालिङले बनाएका किराती घर, चिन्डो (किरात समुदायमा जाँडरक्सी राख्ने भाँडा), किराती गहनामा सजिएर थुन्चे बोकेकी महिला, नीलो डस्टबिनमा फैलिएको रातो मकैको बोटलाई नियाल्दै अध्यक्ष राईले भने, ‘खालिङले आफ्नै मौलिक परिवेशको रंगलाई खोतल्दै मकैको बोटमा माटोको अर्थ खुलाएर गए । माटो भनेको रगत र आत्मा पनि हो ।’

खालिङसँगै अर्का दिवंगत चित्रकार शान्तकुमार राईका चित्रहरू पनि प्रदर्शनीमा हेर्न सकिन्छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञसमेत रहेका राई पनि केही वर्षअघि दिवंगत भएका थिए । उनी प्रायः महिलालाई कलाको केन्द्रमा राख्थे र धुमिल क्यानभासमा नारी फिगरमार्फत नारीकै दुःख अभिव्यक्त गर्थे ।

महिलाका पीडालाई केन्द्रमा राख्दै महिलालाई चराको जस्तै स्वतन्त्रता चाहिन्छ भन्ने भावका साथ उनी चित्रमा कहीँकतै चरा पनि उतार्थे । किरात ललितकला समाजले गरेको प्रदर्शनीमा मुन्धुम संस्कृतिको सघनता झल्किने चित्रहरू छन् । उँधौली, उँभौली होस् या च्याब्रुङ र मुर्चुङ्गा । यिनै संस्कृति र लोकबाजाले किराती संस्कृतिको चिनारी दिन्छ । किरातीहरूको पर्व एवं विवाहदेखि मृत्युसम्मका संस्कार, भेषभूषा, रहनसहन र जीवनशैली आफ्नै किसिमका छन् । तिनै संस्कृतिका झलकहरू चित्रकारहरूले कलामा दुरुस्तै उतारेका छन् ।

२६ जना कलाकारका ३९ वटा कलाकृति समेटिएको प्रदर्शनीमा रतनकुमार राईले तैल माध्यमबाट क्यानभासमा उतारेको राई समुदायको महिलाको चित्र एवं टेकवीर मुखियाको ‘सुनुवार लेडी’, टीका माया राईको ‘अ किरात लेडी’ शीर्षकका चित्रहरूले किरात संस्कृतिको सघनतालाई प्रस्तुत गर्छन् । कलाहरू नियाल्दै राईले समग्रमा किरात संस्कारका पक्षहरू फराकिलो हुँदै गए पनि अझै गहिरो रूपमा कलामा ल्याउनुपर्ने धारणा राखे । ‘कलाबाट नै किरात समुदायको मौलिक पहिचान खोजी गर्न सकिन्छ,’ उनले भने ।

प्रदर्शनीमा किरणकुमार सिगुले अर्धअमूर्त शैलीमा बनाएको एक्रेलिक माध्यमको ‘अर्नामेन्टस्’ उतिकै सुन्दर छन् । चित्रकार सन्तोष राईले भने एक्रेलिक माध्यममार्फत किरात समुदायको मृत्यु संस्कारमा हुने मुन्धुम संस्कार, मुन्धुमीको पहिचानको साथै नयाँ पुस्तालाई बुझाउनुपर्ने यसको औचित्यलाई प्रस्ट रूपमा क्यानभास उतारेका छन् ।

पुस्तान्तरण हुँदै जाँदा मुन्धुम संस्कृतिलाई नबिर्सिऊन् भन्ने ध्येयका सांस्कृतिक विषय छानिएको उनले बताए । प्रदर्शनीमा विजया लावतीले फूल र जूनको कम्पोजिसन, विनिता इजम याक्खाले किराँत गाउँको दृश्यचित्र, डीबी राईले अमूर्त चित्र, धनबहादुर याक्खाले किरात युवती र भेषभूषा, दीपेन्द्र राईले दृश्यचित्र, हिम्मत नेम्वाङले किरात मिथकीय पात्र युमा, कुवीर देवानले जंगलको भित्री दृश्यचित्र पस्केका छन् ।

त्यस्तै मेख लिम्बूले सानु छँदाको सम्झनालाई मल्टिमिडिया इलुस्ट्रेसनमार्फत देखाएका छन् भने नविन्द्र लिम्बूले सुक्खा फूल, नीरबहादुर याक्खाले किरात गाउँ, राजकुमार राईले ‘वासेली’, सञ्जय बान्तवाले मुन्धुम, सोनी राईले किरात गरगहना, टारजन साङपाङले दृश्यचित्र, टीकावीर राईले चौंरी र बालकसहितको कम्पोजिसन पस्केका छन् । विवेक मुकारुङ, सुम्निमा राई र दुर्गा सुनवारका चित्र पनि प्रदर्शनीमा छन् । प्रदर्शनी साउन २४ गतेसम्म जारी रहने छ ।प्रकाशित : श्रावण २२, २०७६ ०८:४६https://www.kantipurdaily.com/entertainment/2019/08/07/15651469011421399.htm
l

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal