फिचर - सीपसँगै शिक्षा


विभिन्न व्यावसायिक क्षेत्रको आवश्यकताअनुसार जनशक्ति विकास गर्न प्राविधिक शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । सीपमुखी शिक्षा सिकाउँदा युवाको भविष्यका साथै देशको आवश्यकता समेत परिपूर्ति हुन्छ ।
गणेश राई
 भनिन्छ, जसको हातमा सीप उसैलाई अवसर  । प्रमाणपत्रभन्दा सीपको बढी कदर हुन्छ  ।

चाहिने दुवै हो, सीप र शिक्षा । समय बदलिएसँगै एक युवाको अँगालोभरि छ, ‘डिजिटल’ अवसर । वर्तमान र भविष्य कसरी अजमाउने उसैमा निर्भर छ । समय, परिवेश र परिस्थिति आफूअनुकूल तुल्याउने चेष्टा निरन्तर हुनैपर्छ ।
औपचारिक शिक्षा आर्जन, उद्यम गर्ने बाटोको खोजी गर्नु र छरछिमेकीमा सक्षम व्यक्तिको चिनारी बनाउनु साधारण नागरिकको कर्तव्य हो । सम्भावना छ, भन्दैमा ‘अल इन वान’ (एकै जनामा सबै खाले प्रतिभा) हुनुहुन्न । एकपछि अर्को हुन सक्छ । एसईईको नतिजा सार्वजनिक भएसँगै अधिकांश विद्यार्थीको मनमा खेलिरहेको कुरा हो, ‘अब कहाँ पढ्ने ?, के पढ्ने ? अनि कता पढ्ने ? सहरका विद्यार्थीको तुलनामा ग्रामीण तथा दुर्गम भेगकालाई झनै समस्या छ । जीपीए ४ हासिल गर्ने हुन् या ग्रेड ईमा चित्त बुझाएका सबैका आ–आफ्नै समस्या छन्, उच्च शिक्षा हासिल गर्ने या सीप सिकेर जीविकोपार्जन गर्ने । तर एसईईमा डी वा ई ग्रेड ल्याउने विद्यार्थीले पनि खासै चिन्ता लिनु पर्दैन । जीपीए २ तथा अंग्रेजी, गणित तथा साइन्समा सी ग्रेड भए पनि उसले १८ महिने तालिम लिन सक्छ । ३ वर्षे डिप्लोमा पढ्न पाउँछ । यो नै कामका लागि तालिमसहितको शिक्षा हो । परम्परागत पेसा, विज्ञान तथा प्रविधि, कृषि, उद्यम जुनसुकै विषय हुन सक्छ ।

देशको शिक्षा प्रदायक एक मात्र निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) हो । २०४५ सालमा स्थापित यो संस्था शिक्षा मन्त्रालय मातहतमा छ । सीटीईभीटी आधारभूत तथा मध्यमस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित छ । उसले स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, हस्पिटालिटी र अन्य विषयका प्राविधिक तथा सीपयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सीटीईभीटीको देशभर ४५ आंगिक प्राविधिक शिक्षालय र पोलिटेक्निकल स्कुल छन् । विभिन्न विषयका ४ सय २९ सम्बन्धन र ६ साझेदारीका प्राविधिक शिक्षालय छन् । त्यसैगरी ३ सय ९७ सामुदायिक विद्यालयमा प्राविधिक धारको शिक्षा ‘टेक्स’ पठनपाठन सुचारु छ । यो वर्ष थप २ सय १२ सामुदायिक विद्यालयमा ‘टेक्स’ थपिनेछन् ।

आर्थिक वर्ष २०७६/७७ मा सातै प्रदेशमा एक–एक नमुना पोलिटेक्निकल शिक्षालय स्थापना गर्ने जनाइएको छ । नमुना शिक्षालय संघ मातहत रहनेछन् भने अन्य शिक्षालय प्रदेश मातहत । यसै वर्ष पोखरा, भरतपुर र विराटनगरमा महानगर महिला पोलिटेक्निकल विद्यालयक स्थापना गरिँदै छ । अन्य महानगरमा अर्को वर्ष गरिने जनाइएको छ । ब्युटिसियन एन्ड कस्मेटोलोजी, होटल म्यानेजमेन्टलगायत विषय छन् । त्यसैगरी पालिका नदोहोरिने गरी १ सय ६२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा थप गरिने जनाइएको छ ।

सीटीईभीटी निर्देशक रमेशकुमार बखतीका अनुसार एसईईपछि पढाइने ३० प्रोग्राम सुचारु छन् । त्यसमा यो वर्ष २३ हजार ४ सय ९८ विद्यार्थी रजिस्टर्ड छन् । एसईईसहित ३ वर्षे कार्यक्रम हो । डिप्लोमा गरेको युवा जसको आर्थिक स्थिति कमजोर छ ऊ जबमा जान सक्छ । तीनवर्षे कोर्स पढ्ने सबैले माथिल्लो तहको शिक्षा आर्जन गर्न सक्छ । ब्याचलर्स डिग्री हासिल गर्न सक्छन् । इन्जिनियरिङतर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक, जियोमेट्रिक्स, हाइड्रोपावर इन्जिनियरिङलगायत १३ विषय छन् । स्वास्थ्य र कृषिमा पनि त्यही व्यवस्था छ । साधारण लेखपढदेखि एसईई कम ग्रेडकाले छोटो अवधिका तालिम लिएर जीवनयापन गर्न सक्छन् । कुकिङ, वेटर, इलेक्ट्रिसियन, प्लम्बिङ तालिम लिएर स्वरोजगार बन्न सक्छन् । १८ महिने र तीनवर्षे डिप्लोमा कोर्समा छात्रवृत्तिको व्यवस्था छ । हरेक इन्स्टिच्युटमा १० प्रतिशतले छात्रवृत्ति पाउँछन् । अहिले सात प्रदेशका ४२ हजार जनालाई छोटो अवधिको तालिम दिइयो । अब आर्थिक वर्ष ७६/७७ मा ४५ हजारलाई निःशुल्क तालिम दिइनेछ । स्थानीय निकायसित समन्वय गरेर विभिन्न विधामा तालिम दिनेछौं । स्थानीय निकायलाई चाहिएअनुसारको जनशक्ति हुनेछ । सरकारको लगानीबाहेक अन्य निकायले समेत युवालक्षित कार्यक्रम सुचारु रहेका छन् ।

साधारण लेखपढ गर्न जान्नेले तीन महिनेदेखि १ वर्षसम्म सीपमूलक तालिम लिन सक्छ । ‘जस्तो चाइनिज कुक भनेमा ३ महिने हुन्छ,’ निर्देशक बखती भन्छन्, ‘चाइजिन, नेपाली, इन्डियन, कन्टिनेन्टल कुक भनेमा त्योचाहिं एक वर्षको १६ सय ९६ घण्टाको हुन्छ ।’ दलित, मुस्लिम र लोपोन्मुख समुदायका युवालाई छात्रवृत्तिको समेत व्यवस्था छ । सीटीईभीटीले २०४५ सालमा टीएसएलसी तहका कार्यक्रम सुचारु राखेको छ । २०५० सालेखि निजी क्षेत्रलाई टीएसएलसी कार्यक्रम सञ्चालन अनुमति दियो । ०५८ सालदेखि डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा सिभिल, इलेक्ट्रोनिक इन्जिनियरिङ, आर्किटेक्चर, स्वास्थ्य ल्याब, स्टाफ नर्सलगायत विषय सुचारु छन् । तीनवर्षे डिप्लोमा कार्यक्रम ४० वटा छन् । एसईईमा डी र ई ग्रेड प्राप्तले १८ महिने कोर्ससमेत गर्न पाउँछन् । अनमी १५ महिना पढाइ र ३ महिना ओजेटी गर्नुपर्छ । अन्यमा १२ महिना पढाइ र ६ महिना ओजेटी गर्नुपर्छ । कक्षा ११ र १२ मा पनि होटल म्यानेजमेन्ट, टुरिजम पढाइन्छ । तर त्यो सैद्धान्तिक कक्षा मात्र हो । सीटीईभीटीअन्तर्गत पढाइने होटल म्यानेजमेन्ट विषय सैद्धान्तिक, व्यावहारिक र तत्कालै जागिर पाउने हुन्छ ।

‘सीटीईभीटीले सीप मात्र दिने तर उद्योग, कलकारखानाको आवश्यकताअनुकूल भएन भन्ने गुनासो छ,’ निर्देशक बखती भन्छन्, ‘त्यसैले न्यू टेक्नोलोजीअनुसार कलकारखाना, उद्योग व्यवसायलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि उहाँहरूकै निर्देशनअनुसार करिकुलम विकास गरी पठनपाठन सुरु गरेका छौं । अबचाहिं सप्लाईभन्दा पनि डिमान्डअनुसारको जनशक्ति उत्पादन हुनेछ ।’ उद्योग मन्त्रालयअन्तर्गत उद्यमशीलता विकास सहजकर्ता उत्पादनसमेत अघि बढेको छ । शिक्षाविद् डा. टंकनाथ शर्मा औपचारिक शिक्षा मात्रै बढी ध्यान दिंदा मुलुकमा धेरै युवा सीपबाट वञ्चित भएको बताउँछन् । प्राविधिक र व्यावसायिक शिक्षा धेरैलाई चाहिने विषय हो । ‘कक्षा १ मा भर्ना भएको विद्यार्थीमध्ये ४५ प्रतिशत मात्र कक्षा १० मा पुग्छन्, बाँकी ५५ प्रतिशत बीचैमा ड्रपआउट हुन्छन्,’ विविध कारणले औपचारिक शिक्षा हासिल गर्न नसकेका नागरिकलाई सीप महत्त्वपूर्ण हुने उल्लेख गर्दै शर्मा भन्छन्, ‘ती सबै हाम्रै युवा शक्ति हुन् । त्यही युवा समुदायलाई प्राविधिक सीप दिलाउनु सरकारको दायित्व हो । तर लगानी गर्न सकेको छैन ।’ स्कुल पढेका र बीचैमा छाडेका युवा लक्षित छोटो र लामो अवधिका व्यावसायिक, प्राविधिक, सीपमूलक तालिमको जरुरी रहन्छ ।

प्राविधिक तथा व्यावसायिक सीप धेरै ठूलो जनसमुदाय लक्षित हुन्छ । राज्यले आफ्नो राष्ट्रिय आवश्यकता अनुकूल प्राविधिक र व्यावसायिक शिक्षा दिने संस्था स्थापना गरेको हुन्छ । त्यसैअनुसारका पाठ्यक्रम, मापदण्डहरू निर्धारण गरी भौतिक पूर्वाधार निर्माण गर्छ । जनशक्ति उत्पादनका निम्ति लगानी गर्छ । उत्पादित जनशक्तिलाई आकर्षक पारिश्रमिक, तलब, सुविधासहित अवसर दिन्छ । तर, एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सका निर्देशक डा.रोशन राठी प्राविधिक र व्यावसायिक सीपमा सरकार नियन्त्रित निकायमात्र पर्याप्त नहुने बताउँछ । ‘विभिन्न व्यावसायिक क्षेत्रको आवश्यकता र चाहनाबमोजिमको जनशक्ति विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले व्यावसायिक शिक्षाको विकासमा निजी क्षेत्रलाई अग्रपंक्तिमा राखेर सहभागी गराउनुपर्छ । विकसित मुलुकहरूमा रहेको प्रचलन यही छ ।’

सीटीईभीटीका संस्थापक निर्देशक सुरेशराज शर्मा सीपमुखी व्यावसायिक शिक्षा सकेसम्म कार्यस्थलमै सिकाउनुपर्नेमा जोड दिन्छन् । ‘आर्थिक क्षमतामा पनि सम्पन्न वर्ग, मध्यम वर्ग र विपन्न वर्ग छन्,’ सैद्धान्तिक ज्ञानमुखी शिक्षाको संसार अर्कै रहेको उल्लेख गर्दै शर्मा भन्छन्, ‘कसैमा बौद्धिक प्रतिभा भएको तर आर्थिक क्षमता नभएको पनि हुन सक्छ । त्यही वर्गका निम्ति प्राविधिक, व्यावसायिक शिक्षा महत्त्वपूर्ण हुन्छ ।’ शर्माको ठम्याइ छ, सीपमुखी शिक्षा सिक्न र सिकाउँदा युवाको कल्याण र मुलुकको आवश्यकता परिवपूर्ति हुनेछ ।

एसईईपछि प्राविधिक शिक्षा स्वास्थ्य प्रमाणपत्र तह
नर्सिङ, नेत्रविज्ञान (अप्थाल्मिक), सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, डायाग्नोस्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अकुपन्चर, अकुप्रेसर, फिजियोथेरापी तथा डिप्लोमा इन फार्मेसी र डिप्लोमा इन फिजियोथेरापी ।

इन्जिनियरिङ डिप्लोमा
सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, जियोम्याटिक्स, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, मेकानिलक, अटोमोबाइल, इन्फर्मेसन टेक्नोलोजी, आर्किटेक्चर, बायोमेडिकल इक्विपमेन्ट र रेफ्रिजेरेसन एन्ड एअर कन्डिसनिङ ।

कृषि तथा वनविज्ञान डिप्लोमा
एग्रिकल्चर (बालीविज्ञान), एग्रिकल्चर (पशुविज्ञान), एग्रिकल्चर प्लान्ट साइन्स, भेटेरिनरी साइन्स, फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री ।

हस्पिटालिटी र अन्य डिप्लोमा
होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट र सोसियल वर्क ।

टीएसएलसी (प्राविधिक एसएलसी तह)
स्वास्थ्यतर्फ
कम्युनिटी मेडिसिन असिस्टेन्ट, अग्जुलरी नर्स मिडवाइफरी, मेडिकल ल्याबोरेटरी टेक्नोलोजी, आयुर्वेद र कम्युनिटी आम्ची ।
इन्जिनियरिङतर्फ
इलेक्ट्रिकल, सर्भे (अमिन), सिभिल, कम्प्युटर, मेकानिकल, रेफ्रिजेरेटर एन्ड एसी, अटोमोबाइल, इलेक्ट्रोनिक्स, वाटर सप्लाई एन्ड सेनिटेसन ।

कृषितर्फ 
पशुविज्ञान र पशु स्वास्थ्य विज्ञान, बालीविज्ञान (जेटीए)
हस्पिटालिटी र अन्य
कुलिनरी आर्ट, सोसियल मोबिलाइजेसन, इन्टरप्रेनरसिप डेभलपमेन्ट, कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरियल म्यानेजमेन्ट ।

प्रकाशित : असार १८, २०७६ १०:४१https://www.kantipurdaily.com/feature/2019/07/03/156212980653876352.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal