तिलुङ भाषा संरक्षणमा जनप्रतिनिधि


तिलुङसहित ३१ वटा किराती भाषाका गीत गाउँदै राजेश पायल
गणेश राई
काठमाडौँ — खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार क्षेत्रमा बोलिने तिलुङ राई भाषामा गीत रेकर्ड भएको छ । भर्सटायल गायक राजेश पायल राईले उक्त गीत गाएका हुन् । सोही नगपालिकाकी उपप्रमुख बिमला तिलुङ राईको शब्द संकलन र संगीतकार मनोज साङसोन राईको संगीत छ ।

काठमाडौंको बानेश्वरस्थित स्टुडियो किङमा यसै साता उक्त गीत रेकर्ड गरिएको हो। ‘हाम्रो मातृभाषा (तिलुङ) बोल्न जान्ने मान्छे मेरो बुवालगायत केही बूढापाका मात्र हुनुहुन्छ,’ शब्द संकलक बिमलाले भनिन्, ‘कमसेकम संगीतबद्ध गर्न सकेमा मातृभाषाप्रति अरुको रुचि बढ्छ भनेर संगीतकार मनोज साङसोनको अनुरोधमा मैले गीत संकलन गरेकी हुँ।’
उनले ७८ वर्षीय पिता दानबहादुर राईको सहयोगमा गीति शब्द संकलन गरेको बताइन्। ‘गीतमा हाम्रो देउता पहाड भुम्जु, प्राकृतिक उपहारका रूपमा रहेको बोजेढुंगा, जोरकाफलबाट देखिने चोमोलुङमा (सगरमाथा), दायाँबाट फन्को मार्दै पूर्व बगेकी दूधकोसीको बयान रहेको छ,’ जनप्रतिनिधिसमेत रहेकी बिमला तिलुङले भनिन्। तथ्यांकअनुसार तिलुङ भाषा बोल्नेको संख्या १ हजार ४ सय २४ छन्। तर, व्यवहारिक रूपमा बोल्ने भने केही बुढापाकामात्र छन्।
त्यसैगरी लोपोन्मुख जेरुङ भाषाको गीत राजेशपायलले रेकर्ड गरेका छन्। जेरुङ भाषाको वक्ता १ हजार ७ सय ६३ रहेका छन्। उक्त भाषाको गीत नैन जेरुङको शब्द र मनोजकै संगीत छ। भाषा आयोगले लोपोन्मुख भाषा संरक्षणलाई प्राथमिकता दिएको छ। आयोगका अधिकृत मनोज पौडेलका अनुसार यो वर्ष तिलुङ भाषाको वृत्तचित्र निर्माण र ९० घण्टाको भाषा प्रशिक्षण कार्य सम्पन्न भएको छ भने जेरुङ भाषाको शब्दकोश निर्माण जारी छ।

गायक राजेश पायलले झण्डै दशकदेखि ती किरात भाषाहरूको प्रतिनिधि गीत संगीतबद्ध गर्ने अभियानमा जुटेको बताए। लिम्बु भाषामा नौवटा गीतको ‘आसेवारो’ एल्बम धेरै अघि प्रकाशनमा ल्याएका छन्। करिब दशकदेखि याक्खा, सुनुवार र राई समूहका भाषाहरूको संयुक्त एल्बम ‘स्यामुना’ (अभिवादन) निर्माणमा लागीपरेको जनाए।

किरात राई जातिभित्र २८ वटा भाषा रहेका छन्। तीमध्ये बान्तावा, चाम्लिङ, कुलुङ भाषा बहुसंख्यकले बोल्दछन् भने अरु भाषा थोरै संख्याले बोल्दछन्। उनले अहिलेसम्म २२ वटा भाषामा रेकर्ड गराएको जनाएका छन्।

गायक राईले अहिलेसम्म कोयी, वाम्बुले, बाहिङ, दुमी, दुङमाली, बान्तावा, चाम्लिङ, पुमा, थुलुङ, नाछिरिङ, मुगाली, फाङदुवाली, जेरुङ, खालिङ, साम्पाङ, कुलुङ, याम्फु, लोहरुङ भाषाका गीत रेकर्ड गराएका छन्। त्यसैगरी सुनुवार, याक्खा भाषाको रेकर्ड भइसकेका छन्। ‘आफ्नो किराती भाषाहरूको गीत गाउँन पाउँदा खुशी लागेको छ,’ व्यस्त सांगीतिक दैनिकलाई बचाएर किराती भाषाहरूको गीत रेकर्ड गर्दै आएको सुनाउँदै राजेशपायलले भने, ‘यी गीतमा भाषामात्र होइन, यसमा संस्कृति, संस्कार, परम्पराहरू लुकेका छन्। यो ऐतिहासिक कामको निम्ति जुट्दै आएको छु। आउँदो भदौभित्र ३१ वटै भाषाको गीत रेकर्ड गरिसक्ने लक्ष्य राखेको छु।’ छिन्ताङ, छिलिङ, आठपहरिया, लिङखिम लगायत भाषाका गीत रेकर्ड गर्न अझै बाँकी रहेका छन्।

किराती भाषाहरुको खोजी तथा संगीत संयोजन कार्यमा मनोज साङसोनले गरेका छन्। ‘यी भाषा किराती जातिको मात्रै होइन, देशको सम्पदा हो,’ मनोजको बुझाइ छ, ‘हामी किराती विविध भाषी हुनु नै यसको विशेषता हो। हामीले मातृभाषाप्रति गर्व गर्नु पर्छ।’ गायक राई र संगीतकार साङसोनले आफ्नै खर्चमा यी गीतहरू संगीतवद्ध गरेको जनाएका छन्। ‘स्यामुना’ एल्बममा राई नविन, विनोद खम्बु, पारस मुकारुङ, सन्तोष दुमीलगायतले संगीत दिएका छन्।प्रकाशित : असार ४, २०७६ १७:५४https://www.kantipurdaily.com/literature/2019/06/19

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal