लोकवार्ता आयोग जरुरी छ : सत्यमोहन जोशी


राजधानीमा दुईदिने लोकवार्ता सम्मेलन 
कान्तिपुर संवाददाता
काठमाडौँ — वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको सांस्कृतिक विविधता पहिचान अध्ययन अनुसन्धानका निम्ति लोकवार्ता आयोग गठन हुनुपर्ने बताएका छन् । साथै तीनवटै तहका सरकारले स्थानीय लोकजीवनले परापूर्वदेखि पालना गर्दै आएका परम्पराका प्रवर्द्धन गर्न बजेटका तर्जुमा गर्न आवश्यक रहेको जोशीले जोड दिए । 

नेपाली लोकवार्ता तथा संस्कृति समाजले काठमाडौंमा आयोजना गरेको ‘तेस्रो राष्ट्रिय लोकवार्ता सम्मेलन’को शुक्रबार उद्घाटन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक मुलुक भनेर संविधानमै छ,’ जोशीले भने, ‘लोकजीवन, लोककथा, लोककला, लोकपरम्परा, लोकधारणा, मूल्यमान्यताहरु छन् । तर मुलुक संघीय प्रदेशमा बनिसकेको अवस्थामा यी सांस्कृतिक पक्षलाई बिर्सिने काम भएको छ ।’ राष्ट्र निर्माणमा लोक साहित्य, लोकसंस्कृति, लोक परम्पराको महत्वपूर्ण हुने जोशी उल्लेख गर्छन् ।

संस्कृति मन्त्रालयले २०६७ सालमा ‘सांस्कृतिक नीति’ निर्माण गरेको छ । नीति निर्माण आफूसमेत संलग्न रहेर उल्लेख गर्दै संस्कृतिविद् जोशीले भने, ‘नीति बन्यो, कार्यान्वयन भएन । विश्वव्यापीकरणको चापमा हाम्रो देशको भौतिक र अभौतिक सम्पदाहरू लोप हुँदैछन् ।’ संघ, प्रदेश र स्थानीय सरकारले लोकसंस्कृतिलाई प्राथमिकतामा राख्न नसकेको उनले गुनासो गरे ।

‘सरकारले भनेको समृद्ध नेपाल सुखी नेपाली बन्न ठूलो बाटो, हाइड्रो पावरमात्रै पुग्दैन,’ मेचीदेखि महाकालीको सांस्कृतिक वैभवलाई शासन पद्धतिले अध्ययनको विषय बनाउन जरुरी रहेको उल्लेख गर्दै जोशी भन्छन्, ‘नेपाल लोकसंस्कृतिका निम्ति समृद्ध धनी मुलुक हो । त्यसैले युनेस्कोले प्राथमिकता दिएको लोकसंस्कृतिहरू छन् । विविधतालाई जोगाउन र प्रवर्द्धन गर्न जरुरी छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत् आफूले कर्णालीको लोकसंस्कृति अध्ययन गर्न पाएको सुनाउँदै जोशीले राजनीतिक परिवर्तनसँगै लोकजीवन ओझेलमा परेको गुनासो गर्छन् । ‘लोकसंस्कृतिको अध्ययन अनुन्धान गरेर सदुपयोग हुन सके सांस्कृतिक एकता हुनसक्छ,’ उनले भने, ‘त्यसैले लोकवार्ता आयोग निर्माण जरुरी छ । त्यसो भएमा आयोगले देशव्यापी लोकजीवनको अध्ययन अनुसन्धान गर्न सक्नेछ ।’ लोकसंस्कृतिबारे निजी क्षेत्रबाट केही काम हुन सकेको तर पर्याप्त नरहेको बताए । तीनवटै तहका सरकारले लोकसंस्कृति प्रवर्द्धनका निम्ति बजेटको थोरै अंक छुटाउनु पर्ने जोशीको सुझाव छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली लोकजीवन, सांस्कृतिक विविधताको चर्चा गरेका थिए । नेपालका निम्ति फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले आफनो मुलुकले लोकसंस्कृतिलाई विश्वव्यापी बनाउन सकेको र पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे । ‘विश्वव्यापीकरणले वर्तमान विश्वमा लोकजीवन र संस्कृतिमात्र नभई सबै पक्षलाई प्रभावित तुल्याएको छ,’ उनले भने, ‘यसतर्फ हरेक मुलुकको ध्यान पुग्न आवश्यक छ ।’

समाजका अध्यक्ष संस्कृतिविद तुलसी दिवसले पच्चीस वर्षको प्रयासमा ६ वटा अन्तर्राष्ट्रिय लोकसांस्कृतिक सम्मेलन र अहिले तेस्रो राष्ट्रिय लोकवार्ता सम्मेलनको आयोजना गरेको बताए ।

जुरेली चरीको चर्चा
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली लोकसंस्कृतिका एक धरोहर भएको अध्यताले उल्लेख गरेका छन् । ‘सत्यमोहन जोशीले नै नेपाली लोकजीवनको अध्ययन आरम्भ गर्नुभएको हो,’ प्राध्यापक चूडामणि बन्धुले ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाली जातिसंगीत शास्त्रको परम्परा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै भने, ‘के खायो के लायो होला, वनको जुरेली चरीले ? उहाँ यही जुरेलीकै जीवनदर्शनमा आधारित भएर जुरेलीजस्तै जीवन जिउन चाहन्छु भनेर लेख्नु भएको छ ।’

जोशीको ‘हाम्रो लोकसंस्कृति’ पुस्तक प्रकाशनमा आएपछि लोकजीवन, लोककला, लोकभाषाको खोजविन सुरु भएको बन्धुले उल्लेख गरे । सन् १९९६ देखि काठमाडौं विश्वविद्यालयले ‘जाति संगीतशास्त्र’ (एथ्नो म्युजोलोजी) पठनपाठन सुरु गरेपछि अध्ययनको नयाँ चरण सुरु भएको बताए । प्राध्यापक अभि सुवेदीले ‘भूकम्पको लोकसाहित्य प्रभाव’लाई कार्यपत्रमार्फत् प्रस्तुत गरेका थिए । भाषाशास्त्री भीमनारायण रेग्मी ‘नेपाली लोकनृत्यको संरचनागत वर्णन’ गरेका थिए । सम्मेलनमा भारतको गोहाटी विश्वविद्यालयकी विद्यावारिधि शोधार्थी साश्वती बोर्डोलोइले ‘असमको अभौतिक सांस्कृतिक सम्पदा र लोकजीवन’बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी दिलविक्रम आङदेम्बेले ‘ताप्लेजुङ याङमा गाउँको लोकजीवन’, जगबहादुर बुढाले ‘डोल्पाको तिचुरोङ क्षेत्रका तराली मगरहरुको रुङ पर्व’, डा. अम्बिका रेग्मीले ‘काइके लोकसंस्कृतिका केही पक्ष’ प्रस्तुत गरेका थिए । साथै, शशी थापा पण्डितले ‘काँठे क्षेत्रको जीवन्त नाच रत्यौली’, सलिल सुवेदीले ‘नेपाल र मंगोलियाको लोकबाजा तथा प्रविधि भिन्नता’, प्रवीण पुमाले ‘मुन्दुम र नाट्य प्रस्तुति’, प्राध्यापक ध्रुव कार्कीले ‘चर्चित लोकसंगीत ब्यान्ड’, डा. अरुणा उप्रेतीले ‘हजुरआमाको भान्सा, लोककलादेखि विज्ञानसम्म’लगायत कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाश राई, आभाष राजोपाध्याय, कल्पना थापा, बन्दना श्रेष्ठ, सरोज अर्याल, शिव रिजाल, यमुना घले, डा. रुद्रलक्ष्मी श्रेष्ठ, केशव प्रजापति, ऋषिराम अधिकारी, सुलोचना सिजख्वालगायत विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन शनिबारसम्म चल्ने छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ २०:३
https://www.kantipurdaily.com/literature/2019/06/14/156052403361348610.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal