कोसेली - आयोनिका, डिजरुडुु र सलिल

प्रभाकर गौतम
काठमाडौँ — सलिलको बुबाको गाउँ पूर्वी पहाड तेह्रथुम र मावली हजुरआमाको गाउँ दोलखा । चाडबाड र अन्य अवसरमा ती ठाउँ घुम्न पाउँदा उनलाई प्रकृतिको नजिक पुगेको भान हुन्थ्यो ।
ट्रमा, डिजरुडु र पुनर्जन्म
‘आयोनिका !’ एक छिन त लाग्यो, उनी प्रेमिकाको नाम लिँदै छन् तर रहेछ, प्रेमको नाम । संगीत प्रेमको । त्योभन्दा अघि उनले यत्ति मात्रै भनेका थिए, ‘मलाई ट्रमा भएको रहेछ ।’

झन्डै तीस वर्षअघि । काठमाडौंको गोंगबु र बालाजु आसपासका पाँच युवा मिलेर रक ब्यान्ड खोले । सलिल सुवेदी ब्यान्ड सदस्यहरूका ‘दाइ’ थिए । ‘आयोनिका’ नाम जुराउनेदेखि मुख्य गायक पनि उनै । सहरका मुख्य चोकदेखि रसियन कल्चर सेन्टरसम्म प्रस्तुति दिएर ब्यान्डले चर्चा कमाएको थियो ।

अचानक ‘आयोनिका’ का सदस्य प्रवीणलाई छुरा प्रहार भयो, महाराजगन्ज चोकेमा ।
यो दुर्घटना ‘आयोनिका’ अध्यायको अन्त बनिदियो ।

सलिल सानैदेखि टेप रेकर्डर सुन्दै–पज गर्दै गीतका शब्द टिप्थे र गुनगुनाउँदै गायक बन्ने सपना देख्थे । ‘आयोनिका’ मार्फत सपना साकार हुँदा नहुँदै ब्यान्ड विघटित भयो र रहर धर्मरायो । उनले ‘गायकको मृत्यु’ भनी उद्घोष त गरेनन् तर संगीतबाट टाढिए ।
कला र साहित्यप्रतिको अनुराग सलिलको पारिवारिक विरासत हो । बुबा उही भर्सटाइल, सबका अभि सर । आमा उही, ‘मेरी दिदी र ऊ’ कथासंग्रहकी लेखक विन्दु सुवेदी । कला–संस्कृतिको आलयमा हुर्केर सलिल मात्रै नभई भाइ गिरीश पनि संगीत र पत्रकारितातिर लहसिए ।

नेपाली राजनीतिक जीवनमा विसं १९९७ । सलिलको कला जीवनमा सन् १९९७ । सन्तानब्बेको एक साँझ ।
आवाज खेलाउने दुनियाँँबाट शब्द बुन्ने संसारमा पुगेका सलिल ‘काठमान्डु पोस्ट’ मा काम गर्थे । अस्ट्रेलियन समूह ‘सिरोको’ का सदस्यसँग अन्तर्वार्ता गर्न रसियन कल्चर सेन्टर पुगे । ‘सिरोको’ को समग्र प्रस्तुतिमा भन्दा उनका आँखा एउटा अनौठो बाजामा गएर अडियो । आगो फुक्ने बाँसको ढुंग्रोजस्तै लामो गोलाकार बाजा देखे–सुनेपछि उनलाई लाग्यो, ‘हो, यो बाजा बोकेर म फेरि स्टेजमा फर्किनेछु । यही बाजा मेरो अन्तर्यका भावना अभिव्यक्त गर्ने माध्यम बन्नेछ ।’

त्यो बाजा डिजरुडुु देखेको क्षण सम्झिन्छन्, ‘सिरोकोको प्रस्तुति लगत्तै म डिजरुडु नजिकै गएँ । त्यसको गन्ध सुघेँ र धेरै बेरसम्म सुमसुम्याइरहेँ ।’

मानौँ, उनी कुनै बाजा नभएर प्रेमिकासँगको प्रथम भेट सम्झिइरहेका छन् । अस्ट्ेरलियाका आदिवासीले बजाउने यो बाजा उतैबाट मगाउन उनले माइक स्ट्यान्ड, एम्प्लिफायर र मिक्सरहरूसमेत बेचेर २५ हजार रुपियाँ जुटाउनुपरेको थियो ।
धमिराले खाएको रूखको हाँगोबाट बनाइन्छ, डिजरुडु ।

आफ्नै रहरलाई गुरु थापेर १९९७ देखि डिजरुडुसँग पाँच वर्ष संगत गरे । संगत नै साधना बन्यो ।

त्यो पाँच वर्षको खास महत्त्व छ । किन त ? ‘यो त्यही समय हो, जतिबेला म निकै भट्किएको थिएँ । यो बाजाले मलाई नयाँ आशा र दिशा दियो,’ उनी थप्छन्, ‘सबै अर्धचेतनमा भइरहेको परिवर्तन रहेछ ।’ आफ्नै यादहरू ओल्टाउँदै–पोल्टाउँदै ‘रिक्रियट’ गर्न मन पर्छ उनलाई । यसो गर्दा पुरानो बुझाइ र अर्थ भत्किन्छ ।

सलिलका बुबाले सुनाउने हिप्पीका कथाले उनमा जादुयी प्रभाव पारेको थियो । उमेर बढेसँगै हिप्पीका रोमाञ्चित कथाले धित मर्न छोड्यो । बरु, ‘बुबाभन्दा दुई कदम अगाडि बढेर’ हिप्पी जिन्दगी बाँच्ने जिद्दी पलायो । यही जिद्दी जिन्दगीको बुई चढेर उनी एक दिन परिवार छोडेर हिँडे । ‘सान्दाजुको महाभारत’ का सूत्रधारकै शैलीमा बोले, ‘मनमा सलबलाउने अनेक प्रश्नको उत्तर खोज्न जानी–नजानी यो आदिम बाजा फुक्न थालेँ ।’

२००२ सम्म आइपुग्दा डिजरुडु अभिन्न मित्र बनिसकेको थियो । एक दशकको पत्रकारिता अध्याय टुंगियो । उनी व्यावसायिक रूपमै स्टेजमा उक्लिए । पहिला आवाज लिएर उक्लेका उनी यस पटक अभिव्यक्तिको नयाँ माध्यम लिएर उक्लिएका थिए । यो थियो, उनको सांगीतिक जीवनको पुनर्जन्म ।

सूत्र, ध्वनि र कम्पन
बाल्यकालीन प्रकृति प्रेमको त्यो साइनो आजसम्म उनको काममा झल्किन्छ ।
डिजरुडु बजाउन सिक्दै गर्दा उनले आफ्नो ओजिलो आवाजलाई रंगमञ्चमा प्रयोग गरिरहे । यही समयमा रंगकर्मीहरूसँग मिलेर काम गर्न थाले । ‘सूत्र’ समूह एउटा यस्तै सहकार्य थियो । प्रकृति, संस्कृति र व्यक्तिभित्रको स्वतन्त्र अभिव्यक्तिलाई उजागर गर्ने ‘सूत्र’ लाई उनी अभियान मान्छन् । यो अभियानमा अस्मिना रञ्जित, सुजन चित्रकार, गोपाल कलाप्रेमी, मनीष लाललगायतका कलाकार साथ थिए ।

नागार्जुनको डाँडामा एउटा प्रदर्शन थियो ‘सूत्र’ को । त्यसबेला पनि उनको साथी डिजरुडु नै बन्यो । बाजा र धुनबारे काम गर्ने धेरै छन् नेपालमा । तर, ध्वनि कलाबारे खासै काम भएको छैन । यही रिक्तता मनन गर्दै सलिल ध्वनि कलाका आयाम खोतल्ने जमर्कोमा थिए । नागार्जुनमा उनले ध्वनि कलाको नयाँ ‘सूत्र’ फेला पारेको क्षण सम्झन्छन्, ‘त्यो बेला नागार्जुनको रूख, माटो, ढुंगाहरूमा साथीहरूले थरीथरीका रङ पोतेका थिए । मसँग भने ध्वनि मात्र थियो ।’

त्यसबेला उनले कुहिएका पात पतिंगरले जंगलको जीवनलाई रिसाइकल गरिरहेको महसुस गरे । उनलाई वरपरबाट आइरहेको कुहिएका पातको गन्ध पनि प्रिय लाग्यो । त्यो गन्ध अकृत्रिम र काँचो थियो । उनलाई त्यहीँ लडीबुडी खेलेर प्राकृतिक बन्ने रहर जाग्यो । उनले आफ्नो शरीरमा रंग पोते र स्वयंलाई क्यानभास बनाए । अनि, खाल्डो खनेर टाउको मात्रै बाहिर निस्कने गरी आफ्नो शरीर त्यही खाल्डोमा छिराए ।

सुरुमा माटोको भारले थिच्दा उनलाई उकुसमुकुस भएछ । तर, जब डिजरुडु बजाउन थाले, शनै:शनै: पूरै पृथ्वी तरल लाग्न थालेछ ।
घुम्रिएको कपाल सर्लक्कै बाँध्दा चाक्लो बाटोझैं देखिने निधार खुम्चाउँदै त्यो अनुभूति पोखे, ‘वाह † आजसम्म ध्वनि सुनेको मात्रै थिएँ, मेरो शरीरले पहिलो पटक कम्पन पनि महसुस गर्‍यो । आहा † कस्तो अद्भुत आनन्द । बल्ल पो भाइब्रेसन भन्ने चक्षु खुल्यो ।’ यसरी डिजरुडु जमिनभित्रको प्राकृतिक आवाज अनुभूत गर्ने माध्यम बन्यो । उनी दोहोर्‍याइरहन्छन्, ‘यो सांगीतिक बाजा मात्रै हैन, ध्वनि कलाको माध्यम पनि हो ।’ यस्तै प्रयोग र अनुभवले उनलाई ध्वनि कलाको विधामा प्रवेश गरायो । त्यसयता ध्वनि कलाबारे देश विदेशमा उनले धेरै पटक कार्यशाला लिने–दिने गरिसकेका छन् ।

वाद्यवादकहरूलाई रेडियो नेपालकालीन समयदेखि प्राविधिक कर्मचारीका रूपमा हेरिने संकीर्ण बुझाइप्रति असन्तुष्टि पोख्छन् । प्रकृति, संस्कृति, ध्वनिकला र कम्पनका अन्तर्सम्बन्धबारे बहस नभएको दु:ख पोख्छन् । सलिलका दु:ख नि !
‘बजारको माग पूरा गर्ने नाममा कला क्षेत्र खोक्रो हुँदै छ । केही युवाले राम्रो गरे पनि अकृत्रिम, निश्चल र वाइल्ड सांगीतिक–कलात्मक भावना मुखर हुन अझै बाँकी छ । कलाका हरेक विधामा ओपननेसको तत्त्व अझै सुषुप्त अवस्थामै छ । केही छुटिरहेको छ । त्यसको पहिचान गर्दै उन्मुक्त अभिव्यक्ति उजागर गर्ने वातावारण बनाउनु आजको समयको माग हो,’ उनलाई लाग्छ, यो उनकै पुस्ताको दायित्व हो ।

‘सूत्र’ यस्तै कमी पूरा गर्ने अभियान थियो र त्यो अभियानको मुख्य सेतु उही डिजरुडु बन्यो ।

‘सेल्फ ट्रान्सफर्मेसन’ को चक्र
डिजरुडुकै संसर्गमा उनले ध्वनि कला, प्रदर्शनी कला, कम्पन, संगीत र अन्तर्मनको उन्मुक्त अभिव्यक्तिका नयाँ तह र आयाम फेला पारे । झोँछे र ठमेलका प्राचीन–आधुनिक गल्लीदेखि मानवविहीन आदिम डाँडाकाँडा र हिमालसम्म यही बाजा फुक्दै रत्तिए उनी ।
रत्तिएका मात्रै थिएनन्, यसकै सहारामा सम्हालिएका पनि थिए । यो बाजा उनका लागि ‘एक्सप्रेसन अफ इनर साउन्ड’ को प्रतीक बनिसकेको थियो । बिस्तारै ‘सेल्फ ट्रान्सफर्मेसन’ को सहारा पनि बन्न थाल्यो । उनी व्यावसायिक डिजरुडुवादक बनेर देश–विदेशका स्टेजमा व्यस्त भए । अर्कोतिर, बाजासँग उनको अनौठो अन्तर्संवाद पनि चलिरह्यो ।

त्यो उनको जीवनकै संक्रमणकालीन चरण थियो । यही चरणमा डिजरुडु थेरापी र हिलिङ इन्स्ट्रुमेन्ट बन्यो । यही बेला उनले चुरोट पिउन छोडे । हिप्पीमयी वैराग्य घटेर अध्यात्म र योगतिर रुचि जागेको समय पनि यही हो । यो प्रक्रियालाई उनी ‘सेल्फ ट्रान्सफर्मेसनको चक्र’ का रूपमा अथ्र्याउँछन् । उनको निष्कर्ष, ‘जानी–नजानी डिजरुडुसँग भ्यालु स्थापित भयो । यो बाजा मात्रै रहेन, मभित्रको पोजिटिभ एनर्जी निकाल्ने मेडिटेटिभ माध्यम पनि बन्यो ।’

‘सिङ्गिङ बल : हिलिङ द बडी ट्युनिङ द माइन्ड’ किताबका लेखक सलिल हाल ध्वनि पात्रो (सिङ्गिङ बल) बारे अनुसन्धान गर्दै, यसका विज्ञहरूसँग संगत गर्दै, डिजरुडुसँगको सम्मिश्रणमा हिलिङ गराइरहेका छन् । सिङ्गिङ बलको नेपाली नाम ध्वनि पात्रो भने लोक सर्जक अर्जुन चयनपुरेले फुराएका हुन् ।

सलिलले बहुल अर्थमा बुझे पनि धेरैका लागि डिजरुडु विदेशी बाजा थियो । तिनै धेरैमध्येका एक असन्तुष्ट मनुवाले उनलाई प्याच्चै सोध्यो, ‘विदेशी बाजा भिरेर हिँड्छौं, हामीले के पाउँछौँ विदेशी बाजाबाट ?’

आफैँसँग फुसफुसाए, ‘यो आदिम अस्ट्रेलियन बाजालाई नेपाली रैथाने संस्कृतिसँग अवश्य जोड्नेछु ।’

फम्र्याटभित्र, फम्र्याटबाहिर
सलिलको रुचि प्रकृति प्रेम, अन्तर्मनको अभिव्यक्ति, उन्मुक्तिको खोज, अनुभव र ज्ञानको जीवन्त आदानप्रदानसँग जोडिन्छन् । रंगमञ्चमा होस् वा समुदायमा जहाँ र जुन विधामा काम गरे पनि उनी भावनात्मक र रचनात्मक माहोल बनाउने प्रयास गर्छन् ।
डिजरुडु लिएर उनी जहाँजहाँ पुगे त्यहाँ उनले चाहेभन्दा बढी भइदियो । मानिसहरू अचम्मसँग उनको नजिक आए । बाजाको पृथक् ध्वनिको असर थियो यो । यस्तो अनुभूति सबैभन्दा पहिलो पटक एन्टेना फाउन्डेसनको डोको रेडियो अभियानमा हिँड्दा पाए । जहाँजहाँ पुगे, डिजरुडुको सम्भावना र सीमा महसुस गर्दै गए ।

सलिललाई यो बाजाको आवरण र ध्वनिले तानेको थियो । दूरदराजका श्रोता–दर्शकलाई चाहिँ बाजाको ध्वनिसँगै र स्वयम् सलिलकै फरासिलो स्वभावले पनि तान्यो । मानिसको आकर्षण देखेरै उनी समुदायको बीचमा बसेर डिजरुडु बनाउँदै, सिकाउँदै हिँड्न हौसिए । यही बहानामा रैथाने सीप, भाका र कलाकारका नजिक पुगे उनी । स्थानीय ज्ञान र जीवन्त अनुभव साट्ने अवसले हौस्यायो । विदेशी बाजा भए पनि त्यसले सिर्जेको माहोल र संगीतसँगको अन्तर्सम्बन्ध उनलाई मौलिक लाग्यो ।
डिजरुडु आदिवासीहरूले बजाउने आफ्नै तरिका छ । औपचारिक रूपमा सिकेको भए त्यस्तै छाप पथ्र्यो होला उनमा । ‘औपचारिक रूपमा नसिकेकैले होला, मैले जानअन्जानमै आफ्नै मौलिक शैली बनाएँ, जुन मेरो सिग्नेचर टोन बन्यो,’, आत्मविश्वाससाथ भन्छन् ।
एकातिर, एकलकाँटे पारामा ध्यानमग्न हुनु र अर्कोतिर समूहमा काम गर्न रुचाउनु । एक सलिलका दुई पाटा हुन् यी । यस्तो स्वभावको असर उनको काममा पर्दै गयो । अरूसँग काम गर्दा उनी स्थापित शैली र संरचनाभित्र बाँधिन्थे र त्यस्तै तौरतरिका सिक्थे ।

यस्तै सहकार्यमध्ये चर्चित ‘त्रिकाल’ ब्यान्डसँगको सहयात्रा विशेष बन्यो । ‘त्रिकाल’ को सदस्य भई देश विदेशमा सामूहिक प्रस्तुति दिए । नाम राख्न माहिर छन् सलिल । ‘त्रिकाल’ नाम राख्ने र यसका ट्रयाकहरूको टेक्स्ट लेख्ने पनि उनै हुन् । दर्जनौँ फ्युजन ब्यान्डको नाम राखेका उनले २५० भन्दा बढी ‘वल्र्ड म्युजिक ट्रयाक’ मा काम गरिसकेका छन् ।
उनको धेरै समय डिजरुडुको धुनलाई विविध विधासँग जोड्ने प्रयास र प्रयोगमा बितेको छ । उनी अथ्र्याउँछन्, ‘यस्ता प्रयासहरू एक्सपेरिमेन्टल हुन्छन् र यस्तो बेला संगीतका बनिबनाउ सीमाहरू नाघ्ने स्वतन्त्रता हुन्छ । एउटै बाजालाई फरक तरिकाले बजाउँदा नयाँ अनुभूति र सम्भावनासँग साक्षात्कार भइन्छ ।’ यसरी फम्र्याटभित्र र फम्र्याटबाहिर बसेर डिजरुडु बजाउनु उनको दोहोरो उपलब्धि हो ।

आवाजको पुनर्भोक
गत वर्ष ‘स्विजेरिडु फेस्टिभल’ मा दोस्रो पटक प्रस्तुति दिए उनले । विदेशी कलाकारले डिजरुडु बजाउने शैलीको सीमा महसुस गरे । त्यही क्षण उनलाई अरूभन्दा फरक काम गर्ने नयाँ सम्भावनाबारे बोध भयो । यही आत्मबोधसँगै सलिललाई आफूभित्रै दबिएको स्वर याद आयो । एकाएक, कुनै जमानामा क्विन, बिटल्स, बब डिलन आदिका गीत गाउने गायक सलिलको माया लागेर आयो । तत्त्वज्ञान मिलेको भाकामा भन्छन्, ‘बाजाबाट मात्रै मैले आफ्नो अभिव्यक्ति दिन सक्दिनँ । अब फेरि मैले गाउने बेला आएको छ ।’
ऋतुहरू आए–गएझैं रहरहरूको पनि याम हुन्छ । सलिलका रहरका चक्रहरू ध्वनि, आवाज, सुर र शब्दको चक्रमा घुमिरहेका छन् लामो समयदेखि । यही चक्रमा उनको स्वरदेखि स्वरसम्मको यात्रा पूरा हुने समय आएको छ । यो यात्रामा पनि डिजरुडु ‘एक्सप्रेसन अफ इनर साउन्ड’ को प्रतीकका रूपमा उनको साथै छ ।

सन् २०१९ मै उनलाई गायकका रूपमा सुन्न पाइनेछ । आफूले माया गरेको बाजाको सीमा आत्मसात् गरे पनि उनको डिजरुडु प्रेम भने यथावत् छ । भन्छन्, ‘मलाई बाजाकै अभिव्यक्तिलाई अझ सशक्त बनाउन पनि आवाज चाहिएको हो । गायन यात्रामा पनि डिजरुडु साथै हुनेछ ।’

फरक यत्ति हो, यसअघि ढ्यांग्रोलाई डिजेरेडुसँग जोडेजस्तै अबचाहिँ सारंगी, मादल, ध्वनि पात्रो, मुर्चुंगाबीच फ्युजन हुनेछ । र, सलिल फेरि गायक बन्नेछन् ।प्रकाशित : पुस १४, २०७५ ०९:३०https://www.kantipurdaily.com/koseli/2018/12/28/154597735817393830.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal